
कविताः प्रिय चित्लाङ !
सुमन वर्षा
जीवनको त्यो कठोर उकाली काटेर
सुस्ताउदै अलिकति भन्ज्याङमा झरेर
ओरालो समथर फाँटमा
बिसाएर अलिकति थकाई
प्रिय चित्लाङ्ग !
म तिम्रो सुन्दरताले मोहित भएको छु
तिम्रो मौलिकताले आह्लादित भएको छु
तिमी सुन्दर भएरै हो
सक्षम भएरै हो
तिमीलाई
राजा महाराजाले प्रयोग गरे
कविहरूले प्रयोग गरे
नेतृत्वहरूले प्रयोग गरे
उद्योगपतिहरूले
अनुसन्धानकर्ताहरुले
अवलोकनकर्ताहरूले प्रयोग गरे र गरिरहेछन्
प्रिय चित्लाङ !
नतमस्तक छु म तिम्रो महानताको अगाडि
दिन मात्र जान्यौं
नाइँ भन्न नै पाएनौ
अग्ला अग्ला पहाडहरुले बाटो छेकेको बेला
बौद्ध धर्मावलम्बी हुवान साङलाई
बौद्ध धर्मको खोजीमा जाने पदमार्ग दियौं
पृथ्वीनारायण शाहलाई एकिकरणका लागि
सिद्ध महात्माको आशिर्वाद लिन
काँशी जानलाई निकास दियौ
तिम्रै छाति टेकेर हो
कान्तिपुरमा पहिलो गाडी भित्रिएको
राजा महाराजाहरूले थकाइ मेटाउने पनि तिम्रै
शितलु काख हो
महाकविको ‘यात्री’ कविता गर्भ
तिम्रो माया रसाएर बग्ने गुर्जो धारो थियो
नेतृत्वले प्रयोग गर्ने
तिम्रो कोमल अनि उर्वर काख भयो
आधुनिक प्रविधिसंगै
कृषि क्रान्ति गर्ने फोस्रो आश्वासनले
ढाटिरहेछन्
तिम्रो कुमारीत्व भंग गर्ने उद्योगमा उद्धत
उद्योगपतिले आँखा गाडिरहेछन
प्रिय चित्लाङ्ग
तिमी बिचलित नहुनु
तिमी भित्र रसाईरहने मुहान छ
तिमी यसरी नै दिइरहनु छहारी
तिमीलाई अंकमाल गर्न आउने तिम्रा प्रियतमहरूलाई
चिसो बतासले सुमसुमाइ रहनु
तिम्रो काखमा आउने तिर्थ यात्रीहरूलाई
मलाई बिश्वास छ
एक दिन अवस्य नै
तिम्रो गाथा गाइने छ
देश देशान्तरसम्म
सम्झिरहनेछन् सबैले
हरेक शहरी उकुसमुकुसमा,
प्रकृतिको सौन्दर्य समेटेर
तिमी यसरी नै मुस्कुराई रहनु
प्रिय चित्लाङ !!
…
प्रिय साथी !
तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।