त्यो ‘रोमान्टिक’ साँझ र साथीसँग मनका कुरा
शेखर खरेल पत्रकार र डकुमेन्टी निर्माता हुन् भने डा. ईशान गौतम वैज्ञानिक । समानता के भने दुवै लेखक हुन् । गौतमको नियात्रा ‘मायालु बतास अनि रंगहरु’ र खरेलको निबन्धसंग्रह ‘मैले नदेखेका हिप्पी’ र अरु कृति पनि ।
कलेज जीवनदेखि नै उनीहरु साथी । भेट त भइरहन्थ्यो होला बीचबीचमा । तर, दरबारमार्गको त्यो साँझ विशेष । र, यी दुई गफिए, साहित्य, संगीत, समाज र अरु थुप्रै विषयमा । रमाइलो के भने रात छिप्पिदै जाँदा टेवल अझ रोचक हुँदै थियो ।
केही बर्षअघिको त्यो साँझकालीन ‘साथी सम्वाद’ नेपालनाम्चामा पढेपछि फेरि भेट्नु है ।
…
शेखर: ईशान तिमी लेखकहरुका परिवारको सदस्य भएकोले तिमी र तिम्रो परिवारबारे सधै रहिरहने रुचि वा कौतुहल तिम्रो घरको साहित्यिक वातावरण कस्तो हुन्थ्यो भन्ने हो । खासगरी तिम्रो बाल्यकालको अवस्थातिर । तिम्रो बुवा धु्रवचन्द्र गौतम र उहाँका दाइहरु धनुषचन्द्र गौतम, गोपाल गोतामे आदि मुलुकले चिनेका विशिष्ट साहित्यिक साधक हुनुहुन्छ । तिमी आफ्नो बाल्यकालतिरको घरको साहित्यिक वातावरण कसरी सम्झन्छौ र तिमीमा त्यस बेला कस्तो प्रभाव पर्ने गथ्र्यो ?
ईशान: बुबा, धच र गोपाल गोतामे विशेषगरी साथी जस्ता थिए । एउटाले लेख्ने अर्कोलाई सुनाउने, अर्कोले लेख्ने फेरि उसलाई सुनाउने अनि सुझाव दिने । त्यस्तो खालको माहोल थियो ।
शेखर: के त्यो बेला संयुक्त परिवारमा तिमी थियौ ?
ईशान: संयुक्त परिवारजस्तै थियो । भान्छा छुट्टै हुन्थ्यो तर घर सँगसँगै थियो । यो म सानो छँदाको वीरगन्जको कुरा हो । एक अर्कोको ‘फिडब्याक’ लिने साहित्यिक गफ गर्ने, पारिवारिक गफ गर्ने वातावरणमै म हुर्के बढें म ।
शेखर: त्यो बेला तिमीलाई कस्तो अनुभूति हुन्थ्यो ? बुवा, ठूलो बुवाहरुबीच साहित्यिक गफ हुँदा र संगसंगै उहाँहरुको राष्ट्रिय चिनारी बनिरहेको त्यस महत्वपूर्ण मोडतिर ?
ईशान: उहाँहरुका कतिपय कुराहरु म आन्तरिक रुपमै ग्रहण गर्थें । साहित्यिक कुरा हुन्थ्यो, व्यक्ति लेखकहरुका कुरा हुन्थ्यो फलानो लेखक यस्तो फलानो उस्तो भन्ने जस्तो । त्यो मेरो मनमा अमीट छाप बनेर रह्यो । घरमा किताबै किताब, साहित्यिक पत्रिकाहरुको थुप्रो हुन्थ्यो । त्यो संगसंगै हुकिर्एकोले सानैदेखि ममा साहित्यिक रुचि हुन थाल्यो । मैले चौध वर्षकै उमेरमा स्यामुयल बेकेटको हिन्दी भाषमा अनुदित ‘वेटिङ् फर गोदो’ पढेको थिएँ । पछि अंग्रेजी पनि पढ्न थालियो, कामु, सात्र, काङ्खकाका किताबहरु । त्यस्तै नेपाली साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, विश्वेश्वरप्रसाद कोइराला, दौलतविक्रम विष्ट, परिजात अनि संगसंगै वुबा, धच गोतामे आदि पनि पढिन्थ्यो । साहित्यकारहरुको हाम्रो घरमा ‘गेट टुगेदर’ हुन्थ्यो ।
शेखर: इशान म तिमीलाई यहीँ रोक्छु । तिमीलाई सम्झना भएसम्म तिम्रो घरमा आइरहने साहित्यकार वा आगन्तुक को–कस्ता हुन्थे ?
ईशान: केदारमान व्यथित, मदनमणि दीक्षित, वासुदेव त्रिपाठी, तुलसी दिवस, कृष्णचन्द्रसिंह प्रधान आदि । चालिस साल लाग्दाको नयाँ वर्षमा हो कि ‘सौन्दर्यकी शिखर पर क्या क्या हैं मेरी कविता’ भनेर व्यथितले हिन्दीमा वाचन पनि गर्नुभएको म अझै सम्झन्छु ।
शेखर: इशान मैले धु्रवचन्द्र गौतमको संस्मरण पढ्दा उहाँले वीपी कोइरालाई भेटेको र उहाँमाथि वीपीको प्रभाव परेको कुरा पनि गर्नु भएको छ । तिमीलाई सम्झना होला बीपीबारे तिम्रो घरमा के कस्तो कुरा हुन्थ्यो ?
ईशान: वीपीको प्रसंग आउँथ्यो । काठमाडौं आएपछि हामी चावहिलमा बस्न थाल्यौं । वीपी पनि बनारसबाट नेपाल फकिर्एर चावहिलै छेउ जयवागेश्वरीमा बस्न थाल्नु भयो । बुवा वारम्वार वीपीलाई भेट्न गइरहनुहुन्थ्यो । घर आएर वीपी यसरी बसेका थिए, यस्तो भने, यसरी खोके भनेर सुनाउनुहुन्थ्यो । त्यही चावहिलतिर बस्दा नै नारायण ढकाल, गोविन्द वर्तमान, सार्दूल भट्टराईहरु पनि घरमा वारम्बार आइरहनुहुन्थ्यो ।
शेखर: ईशान, तिमी यदाकदा लेखिरहेता पनि पेशाको रुपमा जीव वैज्ञानिक छौ अहिले । तर, आफू पनि आफ्ना बुवा, ठूलाबुवाहरु जस्तै साहित्यिक लेखकै बनेको भए हुन्थ्यो भने जस्तो लाग्दैन ?
ईशान: अहँ, लाग्दैन । विज्ञान मेरो ‘प्रोफेसन’ हो, साहित्य मेरो ‘प्यासन’ । तर, पूर्णकालीन लेखक भएर बस्छु भन्ने अहिलेसम्म लागेको छैन, जिन्दगीमा लाग्दा पनि लाग्दैन । किनकि म रिटायर्ड भएपछि पनि बाचुन्जेल विज्ञानकै अनुसन्धानमा लागिरहन सक्छु भन्ने लाग्छ ।
शेखर: तर तिम्रो बुवा र ठूलोवुबाको जुन ख्याति छ मुलुकमा, त्यो हेर्दा लेखकको ख्याति त भयानकै हुन्छ भन्ने जस्तो लाग्यो कि लागेन ?
ईशान: त्यो त पक्कै लाग्छ । लेखक जति प्रख्यात–विख्यात त वैज्ञानिक हुनै सक्दैनन् नेपालमा । फिल्म अभिनेता जस्तो प्रख्यात फेरि लेखक हुदैनन् ।
शेखर: तर, फिल्म अभिनेताहरु लेखक जस्ता टिकाउ पनि त हुँदैनन् नि । लेखक त कालान्तरसम्म बाँचिरहेका हुन्छन्, कालिदास भन वा शेक्सपियरकै उदाहरण लिऊँ न ।
ईशान: हो, त्यो स्तरीय अनि टिकाउ ख्याति हो । कि अमिताभ वच्चन जस्तो टिकाउ ख्याति हुनुपर्यो । लेखक बनेर धेरैले चिनुन भन्ने त लाग्छ । तर, विज्ञानको क्षेत्रमा धेरै काम गर्नै बाँकी छ । यो बिल्कुलै ‘भजिर्न फिल्ड’ छ । तिमी र म अघिसम्म कुरा पनि गर्दै थियौं नि, विदेशमा गएर बस्ने न त तिम्रो इच्छा छ न त मेरो नै । यहाँ केही गर्नु पर्छ भन्ने मेरो संकल्प हो ।
शेखर: म तिमीलाई यहीँनेर लेखनसँग जोड्छु । तिमीले लेख्दै र भन्दै पनि आएका छौं कि नेपालमा विज्ञान विषयक लेखन ओझेलमा परेको छ भन्ने । तिमीले दयानन्द बज्राचार्य सरसंग सहलेखनमार्फत पनि यस्तै विचार राखेका छौं । हामीकहाँ विज्ञान विषयक लेखन र अझ भनौं साहित्य किन खासै लेखिएनन् ?
ईशान: हो यो अत्यन्तै कम छ यहाँ । विज्ञान इतरका लेखकहरुले लेखेका हुनाले यसमा संवेदनशीलता नदेखिनु एउटा कारण हो । केही अपवाद पनि छन् । जस्तो विजय चालिसेमा विज्ञान क्षेत्रका नभएर पनि त्यो संवेदनशीलता देखिन्छ । यहाँ विज्ञान भनेको हानिकारक हुन्छ, मानवको अहित गर्छ, ध्वंसै मच्चाउछ भन्ने जस्तो बुझाइ छ । हातहतियार र परमाणु बमसंग जोडेर विज्ञानको मूल्याङकन गरिन्छ । तर, यथार्थ विज्ञानले हामीलाई बचाएको छ । एन्थ्राक्सको महामारी चल्दा लुई पाश्चरले यसको खोप पत्ता लगाएर करोडौं मान्छेको ज्यान जोगाए सन् १८७५ तिर । विज्ञान भनेको त्यो विशेष ज्ञान हो जो अनुभव, तर्क र अनुसन्धान, प्रयोगद्धारा सिद्ध भएको हुन्छ । यहाँ हामी ज्ञानलाई आध्यात्मतिर जोड्छौं र भन्छौं ‘ज्ञान हाँसेर मर्छ, विज्ञान रोएर ।’
शेखर: यसो भए विज्ञानलाई साहित्य वा लेखनसंग कसरी जोड्न पर्छ ?
ईशान: साहित्यकार र वैज्ञानिक दुवै सिर्जनशील जीव हुन् । त्यसैले यी दुई सिर्जनशील विधाहरुको ‘फ्युजन’ किन नगर्ने ? यसका निम्ति सबैभन्दा पहिले विज्ञान हानिकारक होइन भनेर बुझाउन सक्नु पर्यो र विज्ञानलाई सरल भाषामा बुझाउन सक्नु पर्यो । हामी बिहान उठेदेखि दिनभर र सुत्दासम्म विज्ञानबाट लाभान्वित भइरहेका हुन्छौं, तर त्यो बुझाउन सकिरहेका छैनौ । पहिले त्यो बुझाउन जरुरी छ, त्यसपछि साहित्यसँग कस्तो सम्बन्ध हुन्छ, त्यो भन्नु पर्छ ।
शेखर: इशान म यो गहन वहसबाट तिमीलाई रमाइलो विषयतिर लान्छु । तिमी कलेजका दिनतिर मजाले गाउँथ्यौ । निकै गहिरो रुचि देखिन्छ तिम्रो गायनमा, तिमीले शौखले गाएका हौ कि हामीलाई समेत थाहा नदिइ कतै शास्त्रीय गायनको तालिम लिएका त थिएनौ ?
ईशान: हो, संगीतमा मेरो निकै रुचि छ, यसबिना म बाँच्न पनि सक्दिनँ । शास्त्रीय संगीत कहिल्यै सिकेको होइन, वास्तवमा गीत गाउन पनि सिकेको होइन । मोहम्मद रफी, किशोरकुमार, मुकेश, मन्नाडे सुनी–सुनी मैले गाउन थालेको हुँ । अनि म आरडी बर्मनको कम्पोजिसनको ठूलो फ्यान रहदै आएँ ।
शेखर: नेपालमा तिम्रो रुचिको गायक संगीतकार को छन् नि ?
ईशान: नातिकाजी, गोपाल योञ्जन, नारायण गोपाल, बच्चु कैलाश, प्रेमध्वज, फत्तेमान र पछिकोमा कर्णदास ।
ईशान: शेखर तिमी र म त्रि–चन्द्र (टिसी) कलेजको स्नातक तहदेखि संगै रहदै आएका छौं, तिमी टिसीको पर्खालमा निकै बस्थ्यौ । सुनाउन पर्खालका कुराहरु ।
शेखर: हा..हा । त्यो मुक्त समय थियो । र, पर्खाल पनि मुक्तिकै विम्ब जस्तो थियो । त्यो पर्खालमा सबै जना अटाउने, त्यहाँ कोही नअटाउने भन्ने नै थिएन । धेरै साथीहरु प्लान अनि छात्रवृतिको चक्करमा थिए । म जस्ता कतिपय करकापको विज्ञानको पढाइबाट रोजाइको मानविकीतिर मोडिएका थियौं । हसिमजाक, बसिबियालोको बेला थियो । चिया पिउने, गफ चुट्नेदेखि केटी जिस्काउनेसम्मका काम त्यही पर्खालबाट हुन्थ्यो । तर, अहिले बस्न मिल्ने खालको त्यही पर्खाल त्यहाँ छैन, न त त्यस्तो समय नै छ ।
ईशान: कितिर्पुर युनिभसिर्टी पढ्दा पनि तिमी बिन्दास तर सधै सिर्जनशील रहन्थ्यौ । तर, अहिले तिमीमा धेरै परिवर्तन आएको देख्छु । त्यो उमेरले हो कि, अनुभवले हो कि वा तिमी बाहिरबाट मात्र यस्तो देखिएका हौ । यसको कारण के होला ?
शेखर: त्यस्तो गम्भीरपना केही छैन । जीवनलाई सहजरुपमा चल्न दिनु पर्छ भन्ने मेरो विश्वास ज्यूँका त्यूँ छ अहिले पनि । चूरो कुराचाहिँ, सिर्जना गर्ने कुरा मैले छोडेको रहेनछु । मैले जति ठाउँमा जागीर गरे पनि अन्तत ः म सिर्जनशील कर्मतिरै तानिदै आएछु । फोटोग्राफी गर्ने, लेख्ने, वृतचित्र बनाउनेतिर नै लागें म । यो मेरो रुचि मात्र नभएर अब त व्यवसाय नै बनिसकेको छ ।
ईशान: तर तिमी आज पनि त्यही टिसीको शेखर छौ कि छैनौ ?
शेखर: मानिसमा समय अनुसार परिवर्तन त आइहाल्छ । यो स्वभाविक कुरा हो । तर, हिजैको टिसीको जस्तो बन्दै हिडें भने त मानिस हास्लान (लामो हाँसो) । सायद सद्धे पनि नभन्लान् ।
ईशान: शेखर तिमीले नेपालमा र बेलायतमा अंग्रेजी साहित्य पढेका छौ । तिमी फोटोग्राफी पनि राम्रो गर्छौ, कलेज पढ्दै गर्दा राष्ट्रिय स्तरको ठूलो पुरस्कार हात पार्यौ । तिमी अनुवादक–सम्पादक पनि हौ अनि वृत्तचित्र निर्माता पनि । र, तिमीले आफूलाई एउट राम्रो निबन्धकारमा पनि औपचारिक दर्ज गरिसकेका छौ । यो व्यक्तित्वका पाँच आयामलाई तिमी कसरी सन्तुलनमा राख्छौ ?
शेखर: यसलाई सन्तुलनमा राख्न सजिलो छ । किनकि, यीमध्येका एक तत्वले अर्कोलाई सघाइरहेका हुन्छ । जस्तो वृतचित्रमा कथानक चाहिन्छ, त्यसलाई पत्रकारिताको अनुभवले सघाउँछ । यस्तै फोटोग्राफीको फ्रेम र कम्पोजिसनको अनुभव वृतचित्रमा झनै मिल्दो हुन्छ । साहित्य त चाहियो नै कथा भन्नदेखि सवटाइटल आदि लेख्नसम्म ।
ईशान: तिमी हिजो–आज पत्रिकाहरुमा जस्तो समीक्षा लेख्दै आएका छौ, त्यो हेर्दा लाग्छ तिमी राम्रो पढ्न जान्ने र त्यतिकै राम्रो लेख्न सक्ने पनि देखिन्छौ । तिम्रा समीक्षाहरु पनि निबन्ध जस्ता लाग्छन् । यही कुरा तिम्रा वृतचित्रमा पनि आएको जस्तो लाग्छ ।
शेखर: मलाई रमाइलो लाग्ने पनि यही कुरा हो । मैले लण्डनमा ‘साहित्य र समालोचना’ विषयमा मास्टर्स् गर्दा त्यहाँ पढाइको मुख्य माध्यमै वृतचित्र हुन्थ्यो । त्यहीँबाट ममा वृतचित्रको हुटहुटी जागेको हो । म कुनै तालिमप्राप्त वृतचित्र निर्माता पनि होइन । वृतचित्र बनाउदा होस् वा रिपोटिङ गर्दा वा समीक्षा नै लेख्दा म कथानकको खोजीमा हुन्छु र मलाई कथा भन्न मन लाग्छ । र, त्यस कथालाई सन्दर्भहरुसँग जोड्न मन लाग्छ । आमसंचार माध्यममा मैले युनिभर्सिटीमा पढेजस्तो विषयगत र औपचारिक लेखे भने त्यो बहुसंख्यक पाठकले रुचाउदैनन् । त्यसैले मैले निबन्ध जसै गरी कथानक र सन्दर्भ राखेर समीक्षा लेख्न रुचाएको हुँ ।
ईशान: शेखर म तिम्रो प्रशंसक भएको अर्को कारण पनि छ । तिमी स्वाभिमानी छौ र आत्मसम्मानसंग कहिल्यै सम्झौता गर्दैनौ । तिमीले धेरै जागीर यही कारणले छाडेको मेरो जानकारीमा छ ।
शेखर: ईशान, यो तिम्रो मप्रतिको स्नेह हो । र, म पनि तिम्रो स्वाभिमानबारे भलिभाँती जानकार छु । हामीबीचको घनिष्टताको सेतु हाम्रो स्वाभिमान पनि हो । जस्तै प्रतिकूल परिस्थितिमा पनि आत्मसम्मान र स्वाभिमानलाई तिलाञ्जली दिने कुरा आउँदैन्, यसलाई जोगाउन धेरै कष्ट उठाउनु पर्छ । र, त्यस कष्टको छुट्टै आनन्द पनि त छ नि ।
ईशान: तिमीले आफ्नो रुचिको काम गरी छाड्नुको कुनै खास रहस्य छ कि ?
शेखर: खासमा यो मेरो गम्भीर रुचि र प्रतिवद्धता वा इच्छाशक्तिसँग जोडिएकै कुरा हो । लण्डनमा म पढ्न पुग्दा एमबीएको लागि भनेर यहाँबाट बैंक ड्राफ्ट लिएर गएको थिएँ । तर, त्यहाँ पुगेर केही कलेजहरु चहारेपछि मलाई साहित्य पढ्ने रुचि जाग्यो । म आफू पढ्ने कलेज पुगिन । त्यहाँबाट मलाई फोन बाट ‘तँ नपढेर लुकेर बसिस्, पख तँलाई पक्राउँछौ’ भन्नेसम्मको धम्की आयो । म बिल्कुलै डगिन बरु आफूले लगेको ड्राफ्ट घर फर्काइदिए र नयाँ ड्राफ्ट बनाएर पठाइदिन भनें । र, अन्तत: अंग्रेजी साहित्यमा भर्ना भइ छाडें । अहिले सम्झँदा यो रुचि र तीव्र इच्छाशक्तिको परिणाम थियो हो भन्ने लाग्छ ।