
कविताः सौन्दर्य

शम्भु अर्याल
निस्पट्ट रातको चाँदनीजस्तै
मन्द उज्यालो
झरीपछिको आकाशमा
उदाउँदै गरेको घामजस्तै मन
बगैंचाको फूलमा ढकमक्क
लागिदिन्छ कोपिला
फूलिदिन्छ फूल
र, झरिदिन्छ फक्रक्क
हिज सौन्दर्यले ढकमक्क फूलेको
आरूको बोटमा
आज चिचिला लाग्छ
भोलि आरूको बोक्रामा
बिझाउँछ झुस
ओखरजस्तो कठोर बिउलाई
नौनीजस्तो नरम फलले
राखिदिन्छ लुकाएर
हलहल्ती गनेर दिन
बढेको तामाको मुना
कति छिटो छोइदिन्छ भुँइ टुप्पाले
बगरको काँश
सेतै बन्न कपासजस्तै
कति नै समय लाग्छ र ?
यति नै समयमा
खोजेर ल्याउनु तिमीले
प्रातकालको जस्तै उज्यालो रूप
लगाउनु जलप
हालको ज्योतिर्मय तस्विरमा
ममताले कोरिएको तस्विर
समताको यो आफन्तहरू माझ
लाग्न माखी
कति समय नै कुर्नुपर्छ ?
पुर्वबाट झुल्केको
वैजनी रङ्गको घाम
पँहेलपुरमा अस्ताउन
कति नै समय लाग्छ र ?
रूप तिम्रो बिरुप होइन
कुरुप तिम्रो अनुहार होइन
सौन्दर्य तिम्रो पहिचान होइन
बिरुप तिम्रो यथार्थ होइन
सजावट तिम्रो सम्पत्ति होइन
बस् जिन्दगीका भिडहरूमा
कोरिदिनु चित्रकारको चित्रजस्तै
आफ्नो अनुहारको सौन्दर्य
बालाजु बसपार्कको
आकाशे पुलमा
हतारहतार दौडिरहेको भिडमा
कतै खोज्नु सौन्दर्य
जिन्दगीको
जहाँ निकै सुन्दर देखिन्छ जीवन
रहस्य सौन्दर्यको
अनन्तकालसम्मको कालजयी यात्रामा
(वालिङ-६, मिर्दी, स्याङ्जा)



