कविताः एउटा नमिठो सपना
रतन साउद
जनैमा ट्याङ्काको साचो थियो, खै कता हराएछ ?
सन्दुकमा दौरा सुरुवाल थियो, खै कसले लगाएछ ?
घुड्किलामा उहिलेको टोपी थियो, खै कसले लगेछ ?
मेरो मनमा अलिकति साहस थियो, खै कता हराएछ ?
घर बाहिर निस्केँ, धुरीमा टाँगेको झन्डा हावाले उडाएछ
मेरो घरको आँगनबाट देखिने जुन तारा सारा बिलाएछ
जमिन हल्लिएको आभास फनफनी घुमेको भान भएको छ
म त आत्तिए आज, के भयो भनि यो मन त्यसै टोलाएको छ ।
आत्तिएर दुगुर्दै धनसारमा जाँदा भकारीको अन्न रित्तिएको छ
दुगुर्दै फेरि पँधेरामा जाँदा पानीको मुहान टपक्क सुकेको छ
के भयो आज, फेरि मेरो मनमा त्यसै अन्योल छाएको छ
आज जता जे सुकै गर्दा पनि मनमा उदासी छाएको छ ।
आत्तिदै बिहानै हतारिदै खेततिर लागे खेतबारी बाँझै छ
आकाशतिर हेर्छु, कालो बादल डरलाग्दो गरी मडारिएको छ
सुर्यको किरणको त झिनो आसै छैन, मन भयभित भएको छ
खेतको आलीमा टुक्रुक्क बसेँ, ज्यान मेरो शिथिल भएको छ ।
हिजो रातिदेखि मलाई एक पल पनि न निन्द्रा लागेको छ
दुई दिन भयो, ज्यानलाई किन हो न भोक न प्यास लागेको छ
किन हो किन, यो बुझ्न सकिएन, मन कटक्क खाएको छ
किन हो, संसार खुल्लै छ, सास फेर्नलाइ अलि गार्हो भएको छ ।
एकहोरो कुकुर घुकेको आवाजको मनलाई भान भएको छ
बिस्तारै मेरो आँखाको परेली उघ्रिदै गरेको चाल भएको छ
झसक्क झस्किन्छु निन्द्रा खुलेको छ, डर त साँच्चै लागेकै छ
उपरोक्त सबै डरलाग्दा भावनाहरु नमिठो सपना पो रहे छ ।