‘परामर्श’ कथाः पेन किलर

बबिता बस्नेत


‘तिमी मेरो लागि यस्तो अम्मल हौ, जसलाई नखाँदा बाँच्नै सक्दिन म भन्दिन तर म अभ्यस्त भइसकेको छु, हिजो साँझको कुराका लागि मलाई माफ गर’ फोनमा उसले भनेका यी शब्दहरु पछि ‘तिमी मैंले खाने गरेको खैनीजस्तै हौ भननँ, किन अम्मल भन्छौ?’ भन्दै ऊ मजाले हाँसी ।


त्यसपछि खै के के भनेर उसले थप हँसाउने कोशिस ग¥यो र आफु पनि हाँस्दै फोन राख्यो । खै किन हो ! हिजोआज उसलाई दुखी मानिसहरु बढी हाँस्ने कोशिस गर्छन् कि जस्तो लाग्छ । त्यो मानिस पनि यस्तै मध्ये एउटा हो, जोभित्र अनेक दुखहरु छोपेर बाहिर आफु हाँस्ने र अरुलाई हँसाउने कोशिस गर्छ ।


दुई दशकको आफ्नो कामको अनुभवमा उसले कमै मात्र यस्ता मुद्दाहरु हेरेकी छ, जसले आफुलाई श्रीमतीबाट पीडितका रुपमा प्रस्तुत गरेको होस् । त्यसो त, ऊ वकिल होइन तर उसको कामको प्रकृतिले उसलाई वकिललाई जस्तै गरी मुद्दाका फायलहरु हेर्नु पर्ने बनाइदिएको छ । एउटा गैरसरकारी संस्थाको मनोपरामर्श केन्द्रमा उ ‘काउन्सिलर’ को रुपमा काम गर्छे ।


कुनै पनि व्यक्ति ऊसम्म पुग्नुअघि के भएको हो पृष्ठभूमिसहितको सबै जानकारी लिने उसको बानी छ । कतिपय परामर्शकर्ताहरु ‘तपाइको कुरा भन्नुस् त’ बाट कुराकानी सुरु गर्छन् तर ऊ भने आफुले पाएको जानकारीको आधारमा उनीहरुको वर्तमान ‘स्टेटस’ बताइदिन्छे र त्यसपछि मात्रै कुराकानीको सुरुवात गर्छे । यसैक्रममा मधुरसंग उसको भेट भएको थियो ।


‘तपाईकी श्रीमतीको अरु कसैसंग सम्बन्ध छ भनेर तपाई कसरी भन्न सक्नुहुन्छ ? कुनै आधार ?’ जवाफमा उसले भनेको थियो— ‘एउटा लोग्नेमान्छेका लागि मेरी श्रीमतीको अरु कसैसंग अफेयर छ भन्नु पर्ने अवस्था आउनु भनेको मर्नु सरह नै हुँदो रहेछ…आधारभन्दा पनि मसंग प्रमाणहरु छन् …यस्तो बिषयमा आफुलाई खासै जानकारी नभएकाले विगतमा देखिएका अनेक आधारहरुको पहिचान नै गर्न सकिएन । करिब दुई बर्ष अघिदेखि एक्कासी उनी एक्लै बस्न रुचाउन थालिन्, अँध्यारो कोठामा आँखा चिम्लएर बस्ने, कम बोल्ने । करिब १५ बर्षको दाम्पत्य जीवनमा मैंले उनलाई कहिल्यै त्यस्तो पाएको थिइन, त्यसैले डर लाग्यो र डाक्टर कहाँ लगें । म असाध्यै व्यस्त, समय दिन नसकेकाले उनको फ्रस्ट्रेसनले डिप्रेसनको रुप लियो कि जस्तो पनि लाग्यो । तर, डाक्टरले खासै त्यस्तो केही नभएको बताए, लामो समय सम्म छटपटी नै भयो । मैंले आफैले मन भित्रबाट ‘फिल’ गरेको कुरा चांही नो इमोशन एन्ड… नो रेस्पोन्स इन माइ टच… ।’


त्यस भेटमा उसले प्रमाणहरु के थिए भनेर हेर्न मागिन र अर्को दिन भेट्ने गरी बिदा गर्दै गर्दा एउटा परिपक्व पुरुषको मुहारभरी देखिएको असुरक्षित भावनाले उसलाई आश्चर्यचकित बनाएको थियो ।
त्यस दिन घरमा गएर कम्प्युटर खोल्दा उसैको इमेलमा पहिला आँखा परेको थियो— ‘डियर राजी, थ्याङ्क्यू फर टी एण्ड टाइम, चिया खासै मिठो थिएन तर तपाइसँगको कुराकानीको समय मेरो लागि धेरै नै अमूल्य रह्यो…’ साथीले राम्रै गफ दिदो रै’छ भन्दै उसले जवाफ लेखी— ‘माइ प्लेजर…सरी फर टी…खासमा लेख्न मन लागेको थियो— जति पनि मानिसहरु मसँग आए, स्वास्नीमान्छे नै आए, तिनका कहानी, उनीहरुले पाएको शारीरिक चोट र खतभन्दा भावनात्मक पीडा कैंयन गुणा डर लाग्दा हुने गर्थे । अचम्मैं भयो, तिमी मेरो जीवनमा नयाँ अनुभव नै भने पनि हुन्छ…तर उसले लेखिन…उसले भनेको संझिई— ‘मेरी श्रीमतीलाई असाध्यै माया गर्छु भन्ने लाग्थ्यो मलाई, उनलाई मनपर्ने खानेकुरा र लगाउने कपडामा सधै ख्याल गर्थें, एउटा बच्चा छ हाम्रो, उसको भविष्यका लागि पनि म उनीसंग सम्झौता गर्न चाहन्छु ।’


यो सम्झौता भन्ने कुरा पनि अचम्मको छ, अनिश्चित समयको एउटा जीवन बाँच्नका लागि मानिसले अनेक किसिमका संझौताहरु गर्नु पर्छ र पनि जीवन सोचेजस्तो हुन्छ भन्ने कहाँ छ र ? के हुन सक्छन ती प्रमाणहरु ? आँखा वरीपरी अनेक प्रश्नहरु आउदैजाँदै गर्दागर्दै ऊ निदाई ।


‘राती राम्ररी सुत्न सकिन, यो कुरा सकेसम्म बाहिर नआओस भन्ने चाहन्छु, मेरा सबै वास्तविकताहरु तपाइमैं सीमित हुनेछन् भन्ने अपेक्षा गरेको छु’ भोलिपल्ट बिहान उसैको यस्तो एसएमएसले बिउँझाएको थियो । बिचरा लोग्नेमान्छे यस्ता कुराहरु ब्यक्त गर्नु पर्दाको आत्मग्लानी एसएमएसमा पोखिइरहेको थियो । वास्तवमा हाम्रो सामाजिकीकरणले पुरुषहरुलाई कति साँघुरो घेराभित्र सीमित गरिदिएको छ भन्ने उसलाई लाग्यो । त्यसो त, ऊसम्म आइपुगेका महिलाहरु पनि आफ्नो कुरा बाहिर जाला कि भनेर नडराउने होइनन् । महिलाहरुको सन्दर्भमा परामर्शले मात्र नपुगेर भोलि मुद्दा नै लड्नु प¥यो भने तिनलाई कसरी प्रमाण जुटाइदिने होला भन्ने चिन्ता भने उसलाई सधै लाग्ने गथ्र्यो । अहिलेसम्मको उसको अनुभवमा धेरै जसो महिलाले पाउने भनेको धोखा र अपमान हो, जसको कुनै प्रमाण हुँदैन । अदालतले सधै प्रमाण खोज्छ, कानून ब्यवसायीहरु प्रमाणको पछाडि दौडिन्छन् तर जिन्दगीमा कतिपय कुराहरु यस्ता हुन्छन् जसको कुनै प्रमाण हुदैन । सम्बन्धित व्यक्तिको मनबाहेक अर्को साक्षी पनि हुँदैन ।


एक पटक लामो समयसम्म आफुले काउन्सिलिङ गरेकी एक महिलाको पक्षमा अदालतमा बयान दिन जाँदा न्यायधिश समक्ष उसले भनेकी थिइ— ‘धोखाको कुनै प्रमाण हुदैन श्रीमान…उनले काटेका अनिदा रात र आँखाबाट बगेका नुनिला आँशुसहितको गहिरो पीडिालाई मैले जस्ताको तस्तै महशुस गरेकी छु तर तिनलाई म कसरी पेश गरुँ ? कुनै उपाय भए जानकारी पाउँ ।’ राजीको यो बयानपछि अदालत भावनात्मक कुरा गर्ने थलो नभएको भन्दै उनको मुद्दा त्यसै अन्त्य भएको फैसला सुनाइएको थियो ।


तर, मधुर प्रमाणसहित आएको थियो र उसको आँखामा आँशु थिएनन् । अर्को भेटमा पानाका पाना एसएमएस देखाउदै उसले भन्यो— ‘ल हेर्नुस् ! मेरी श्रीमती र उसको प्रेमीबीच भएका प्रेमालाप ।’ मिति, समय सबै स्पष्ट उल्लेख भएका ती एसएमएसहरु रोमाञ्चकारी मात्र नभएर निकै भावनात्मक पनि थिए । प्रत्येक साँझ केटीले ‘आइ एम मिसिङ यु सो मच’ भन्न छुटाएकी थिइन । अघिल्लो दिनका भेट, आनन्ददायी स्पर्शलगायतका कुराहरुमा केटाले निकै शब्द खर्चिएको थियो । ती सबैबाट केटाको विवाह भएको थियो या थिएन तर उ ‘सिङल’ हो भन्ने बुझिन्थ्यो । केटा शारीरिक रुपमा बढी आकर्षित र केटी भावनात्मक रुपमा अघि बढेको भन्ने बुझ्न कठिन थिएन । केटीले कतै कतै बच्चाको कुरा उल्लेख गरेकी थिई तर श्रीमानको उपस्थिति उल्लेख थिएन । केटा र केटी काम गर्ने ठाउँको दुरी खासै टाढा थिएन भन्ने पनि स्पष्टै बुझिन्थ्यो । सबै हेरिसकेपछि राजीले सोधी— ‘तपाइले केटालाई भेट्नु भो ?’


अँह, छैन भन्दै मधुरले भन्यो— ‘मैले भेट्नु पथ्र्यो र ?’


‘हैन । सोधेको ’, उसको जवाफ ।


‘के गर्ने ? काउन्सिलिङ त्यति सजिलो थिएन । श्रीमतीप्रतिको उसको विश्वास एसएमएसमार्फत छरपस्ट भएको थियो । प्रविधिले के के ग-यो–ग-यो !’, मन–मनमा यसो भन्दै उसले सोधी, ‘तपाईका केटी साथी छन् ?’


‘छन् तर म यस्तो एसएमएस लेख्दिन’, उसले भन्यो ।


‘त्यही त जे गर्नुछ गरे भइहाल्यो नि ! मोबाइलबाट प्रमाण किन जुटाइ रहनुपर्छ र ?’, राजीले वाक्य पुरा गर्दा नगर्दै उसले भन्यो, ‘खास त्यस्तो पनि होइन । तपाईंलाई यो सब कुरा थाहा छ भन्ने तपाइकी श्रीमतीलाई थाहा छ ?’


‘छैन तर मलाई केही न केही थाहा छ भन्नेचाहिँ उसलाई लागेको छ ।’


‘म तपाईकी श्रीमतीलाई भेट्नसक्छु ?’


‘हुन्छ तर म यसरी आफ्नो कुरा बाहिर भन्दै हिडेको छु भनेर उसलाई जानकारी दिन चाहन्न ।’


‘त्यसो भए कसरी भेट्ने त ?’


यस्तै कुराकानीमा त्यो दिन बितेको थियो ।


निश्चित कुराकानीकै क्रममा भए पनि कहिले भेट्ने, कहिले फोनमा कुरा गर्ने, इमेल, एसएमएस मधुर राजीसँग नजिक हुँदै गएको थियो । बोलीचालीमा तपाई तिमीको कुनै बारना थिएन, जतिबेला जे सजिलो लाग्छ, त्यही भन्न थालेका थिए उनीहरु । एक दिन कफीसपमा बसेर कफी खाँदै गर्दा मधुरले सोध्यो, ‘कसैलाई कहिल्यै प्रेम गरेकी छ्यौ ?’


‘थिएँ’, उसले इमान्दारीपूर्वक भनी ।
‘के भयो त ?’


‘केटा मान्छेलाई प्रेम, आफ्नोपन, सम्मान, भावनात्मक आत्मियताजस्ता कुराले खासै अर्थ राख्दैन भन्ने मेरो अनुभव छ ।’


‘छोडिदेउ मेरो कुरा नगरुँ । हो, रक्सी खाने रहेछन भने रक्सी खाएर कम्पनी दिने केटी केटाहरुलाई मन पर्छ, नाँच्न सौखिन छन भने सँगै नाचिदिने केटी मन पर्छ, अन्य कुराका पारखी पनि हुन्छन, यसको अर्थ प्रेम र विवाहका लागि होइन । तर, कहिलेकांही यिनै क्षणिक कुराहरुमा लाग्दालाग्दै केटाहरु फस्ने पनि गर्छन्’, उसले पनि इमान्दारीपूर्वक नै भन्यो ।


साँझ आ–आफ्नो घरतिर लाग्दै गर्दा उसले राजीलाई भन्यो, ‘तिमीलाई भेटेपछि म धेरै हल्का भएको छु, मलाई संसार रमाइलो लाग्न थालेको छ । श्रीमतीलाई देख्नासाथ मलाई एक प्रकारको ग्लानी र पीडा दुबै भएर आउँथ्यो म ‘न्युट्रलाइज’ भएको छु, थ्याङ्क्यु फर द कम्पनी । त्यसपछि पटकपटकका भेटमा उनीहरुले प्रेम र जीवनका कुराहरु गरे ।


एक दिन राजीले भनी, ‘जब मानिसलाई कसैसंग साँच्चीकै प्रेम हुन्छ, उसले आफ्नो प्रेमी÷प्रमिकालाई कुनै पनि अर्थमा दुखी देख्न सक्दैन । मलाई लाग्छ, यसमा महिला या पुरुष भन्ने कुरै होइन, प्रेमको भावना मान्छेमा एकै प्रकारको हुन्छ तर वास्तविकता त के हो भनें साँच्चीकै नभएर जीवनमा प्रेम गरे जस्तो गर्ने मान्छेहरु यहाँ धेरै छन् । तिमी पनि तिम्री श्रीमतीलाई प्रेम गरे जस्तो गर्छौ तर खासमा श्रीमतीप्रतिको प्रेमले तिमीले उसलाई छोड्न नसकेको होइनौ, तिम्रो बच्चा र घरपरिवार लथालिङ्ग हुने डरले तिमी अझै पनि उसँग संझौता गर्न चाहन्छौ ।’


उसले सहमत भए झैं गरी टाउको हल्लायो र भन्यो, ‘मेरी श्रीमतीको त्यो मान्छेप्रतिको भ्रम कसरी टुटाउने होला !’


आफ्नी स्वास्नीप्रति त्यति सहनशील लोग्नेमान्छे उसले कहिल्यै भेटेकी थिइन । भनी, ‘तिमी उसलाई माया गर्दैनौ मलाई थाहा छ तर तिमी उसलाई धेरै माया गछौं भन्ने कुराको महशुस गराउ, दिनमा पाँच पल्ट फोन मलाई होइन उसलाई गर । आफ्नो जीवनमा आएको असहज परिस्थितिको सामना गर्न र आफुलाई भुलाउन मधुरले आफुलाई माध्यम बनाइरहेको छ भन्ने कुरामा उसलाई कुनै शंका थिएन । पछिल्लो चरणमा कहाँ छौ ? के गर्दैछौ ? खाना खायौ ? खुशी छौ ? कफी खाने हो ? आज कस्तो राम्रो देखिएको मैले त झन्नै नचिनेको ? जस्ता कुराहरु ऊ राजीलाई सोध्ने मात्रै गर्दैनथ्यो, आफु पनि त्यस्तै कुराको अपेक्षा गर्न थालेको थियो । एक दिन उसले भन्यो, ‘हेर न ! आफुलाई अलि गाह्रो भयो कि म सधै तिमीलाई संझिने गर्छु । हिजो पनि राती एउटा एसएमएस आएको थियो, मैले देख्ला भनेर उसले नपढी डिलिट गरी दिई । मलाई हिजो आज केटीमान्छेका बुढी औला देख्यो कि घृणा लाग्छ, एसएमएस थिच्ने औंला हुन जस्तो लाग्छ ।’


जवाफमा उसले केही भनिन । सोची, ‘हरे ! यसरी पनि मानिसको जीवन चलेकै छ । बाहिरबाट यिनीहरुलाई हेर्नेले कति राम्रो परिवार भन्ने ठान्दा हुन् । यसबीचमा आफुले काउन्सिलिङ गरें, मानसिक रुपले उपयोग भएँ या के भएँ भन्ने कुराले राजीलाई पटक पटक घोच्ने गरेको थियो ।
एक साँझ उसले फेरि फोनमा भन्यो, ‘हेर न ऊ अहिलेसम्म आएकी छैन, घरमा बत्ती पनि छैन, आज दिउसैदेखि म तिमीलाई सम्झिरहेको थिएँ, तिमीसँग खाना खान मन लाग्यो, हामी भेटौं ?’
उसलाई एकदमैं नरमाइलो लाग्यो । भनी, ‘तिमीलाई नरमाइलो लागेकोमा मलाई दुख छ । मधुर ! भयो अब मलाई धेरै पेन किलर नबनाऊ ।’


(प्रिय साथी !
तपाईं पनि पत्रकार तथा कथाकर बबिताजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button