कविताः मन १ (मेरो), २ (तिम्रो)
गंगा महर्जन
मन १
मेरो मन हो, म जे सुकै गरुँ
मन बुझाउँ, जलाउँ के गरुँ
मेरो मनको कुरा के गरुँ
आज रुन्छु भोलि हाँस्छु
आज चित्त बुझाउँँछु म
भोलि चित्त दुखाउँछु म
मन हो मेरो, म जेसुकै गरुँ
कसैले के गर भन्नु पर्दैन
मलाइ थाहा छ, यो मनलाई
के गर्नु पर्छ भनेर
म जेसुकै गरुँ मेरो मन हो ।
मेरो मन हो, म दुखाउँछु
मलाई मन पर्छ दुखेको
जीवनमा दुखमा रमाउन
सिकेको मन हो मेरो
जीवनमा अरुलाई दुख्छ भनेर
नबोलेको मेरो मन हो
अब त हाँसो आयो भने पनि
कस्को हो यो हाँसो भन्ने
यो मेरो आफ्नै मन हो
हो, मेरो आफ्नै मन हो ।
…
मन २
तिम्रो पनि मन छ
थाहा छ त मलाई
तिम्रो पनि मन दुख्छ
थाहा छ मलाई तर
मैले दुखाएको होइन
तिमी आफै मलाई
तिम्रो मन मन्दिरबाट
एकदमै सारो अनि गाह्रो
दिमागमा राख्यौ अनि
दुख्यो तिम्रो टाउको
मन होइन, मात्र टाउको
दुखेको किन थाहा छ ?
तिमीले दुषित फूल
तिम्रो मनमा सजायौ
र, मलाई पनि बस्न गाह्रो बनायौ
तिम्रो सारो अनि गह्रौ टाउकोमा
म सधै रहने छु
जबसम्म तिमीले त्यो दुषित
अनि दुर्गन्धित फूल
तिम्रो मन मन्दिरमा सजाउँछौ
तबसम्म तिमीलाई
दुख्छ टाउको, मन होइन ।
(प्रिय साथी !
तपाईं पनि गंगाजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । nepalnamcha@gmail.com कलाक्याफेको इमेल । सम्पादक)