त्यो दशैँ कहिल्यै आउँदैन अब

कथा

बबिता ढुङ्गेल

बारी भरि कोदो फुल्न अनि धानका बाला लहलह भै झुल्न थालिसकेका थिए । चौबाटामा ठूलाठूला लिङ्गे पिङ अनि साना बाबुनानीहरुका लागि घरकै दलिनमा बनाइएका पिङले दशैँ आएको संकेत दिइसकेको थियो । मानिसहरु घर सरसफाइ अनि किनमेलमा जुटिसकेका थिए । सरलाका आमाछोरा पनि सरसफाइमा व्यस्त देखिन्थे ।

‘मामु, यो दशैँमा चाहीँ म र भाइ दुवै जनालाई राम्रो लुगा किनिदिनु है । प्रभातलाई त उसको बुवाले सहरबाट कति राम्रो राम्रो लुगा, जुत्ता अनि कालो चश्मा पनि ल्याइदिनु भएको रहेछ ।मेरो पोहोर किनिदिनुभएको जुत्ता फाटेर बुढी औँलाले कछुवाझैँ बाहिर हेर्न थालिसक्यो । हाम्रो घरमा किन कहिल्यै खसी नकाटेको ? यसपाली त काटौँ न । प्रभातको बाबा घर आएको भोलिपल्टै खसी काटेका थिए ।म र भाइ हेर्न गएका थियौँ । हाम्रो घरमा के हेर्न आएको ? आफ्नै घरमा काटेपछि हेर्नु नि भन्दै प्रभातले हाम्रो भाइलाई ठेलेर पर हुत्यायो । भाइ नराम्रोसँग लड्यो । लुगामा लागेको धुलो टक्टक्याएर फकाइ फुल्याइ घर त ल्याएँ । भाइ धेरै बेरसम्म रोयो । यसपाली हामै्र घरमा एउटा खसी काटेर देखाइ दिऊँ न त्यो प्रभातलाई । अनि चाल पाउँछ । हाम्रो पनि बाबा हुनुभएको भए कति रमाइलो हुन्थ्यो होला है !’

दसवर्षे छोरो सायुधका कुराले सरलाका आँखा सजल भए । मनभरि भएर सुस्केरा निस्के । ‘हुन्थ्यो नि बाबु, मलाई पनि तिमीहरुलाई राम्रो राम्रो लगाइदिन अनि मीठो मीठो खुवाउन मन लाग्छ नि । आफ्ना छोराछोरीलाई खुसी राख्न कसलाई मन लाग्दैन होला र ! के गर्नु परिस्थितिले यस्तै जुरायो । सायद तिमीहरुका बाबा हाम्रै साथ भइदिएको भए यस्तो दिन पक्कै आउँदैनथे होलान् ।’ भन्दै आँसु पुछ्न थाली ऊ ।

सागर र सरलाको पे्रम विवाह भएको थियो । सागर टुहुरो भएकाले दिदीकै छत्रछायामा हुर्किएको थियो । सरलाका भने एउटा दाइ र आमा मात्रै । गाउँमा दिदीकै घरमा बस्दै आएको सागरलाई विवाहपश्चात् पनि त्यहीँ बसिरहन उचित हुँदैन । अब आफ्नो व्यवस्था आफैँ गर्नु पर्छ भनेर बारम्बार सरला सुझाइरहन्थी । हुन पनि त्यस्तै भयो एक दिन सागरकी दिदीको सुनको सिक्री हरायो । सरला माथि शंका गरियो । हुन पनि शंका गर्ने भनेको त्यही गरिब, असहाय अनि निमुखालाई त रहेछ नि । उनले गरेको गालीको त कुरै छोडौँ । वास्तवमा त्यो सिक्री दिदीकै जँड्याहा देवरले चोरेको कुरा सुन पसलेबाटसागरले थाहापाइसकेको थियो । जे हुनु त भैहाल्यो भन्ने सम्झेर उसले यो कुरा दिदीलाई बताउन उचित ठानेन ।

उक्त घटना भएको केही दिनमा नै राजधानी छिरेका थिए सागर र सरला । सागरका सहपाठीले कामको व्यवस्था मिलाइदिए । सरलाले पनि सानो तिनो काम पाएकी थिई । सानो जहान दिनचर्या रामै्र चलिरहेको थियो । यस्तैमा सायुध जन्मियो । सरलाले काम छाड्नै प¥यो । बच्चाको रेखदेख अनि स्याहारसुसारकै लागि भए पनि । सागर एक जनाको कमाइ अनि सहरको बसाई दैनिकी गुजार्नै हम्मे हम्मे पर्न थाल्यो । पढाइलाई खासै महत्व नदिने सागरलाई बल्ल आएर आफूले नपढेकामा पश्चाताप भएको थियो । त्यही पनि केही वर्ष त दुःख जिलो गरेरै भएपनि व्यवहार चलाए उनीहरुले । गाउँ फर्किऊँ, न त पैत्रिक सम्पत्ति नै छ । सहरै बसिरहूँ, सधैँ गाँस बासकै समस्याले पिरोल्ने । त्यसैले विदेशिने सोच आयो उसमा ।यो निर्णयले सरला भने निकै भावुक भएकी थिई । उसको गर्भमा अर्को बच्चा पनि खेल्न थालिसकेको थियो । ‘यिनै बच्चाहरुको सुन्दर भविष्यका लागि भए पनि मैले विदेशिनै पर्छ । होइन भने तिनै छोराछोरीले धिक्कार्ने छन् । केही समयका लागि त हो । पछि त सँगसँगै रमाऔँला नि’ भनेर सरलालाई सम्झाई रहन्थ्यो ऊ । सरला सत्यता नै भेट्थी सागरका कुरामा ।

साथीहरु र आफ्ना आफन्तसँग ऋण लिएर हानियो सागर खाडीतिर । पराया देश न हो कहाँ राम्रो काम पाउनु । उसले त्यहाँ गर्ने काम खासै सहज थिएन । त्यही पनि आफ्नो परिवार अनि सुखद भविष्य सम्झेर दुःखै खपेरै भएपनि काम गर्दथ्यो ऊ । सुन्दर गहना बन्न सुनले र सुन्दर मूर्ति बन्नपत्थरले चोट खपेझैँसुन्दर भविष्यका लागि मान्छेले पनि चोट सहनुपर्ने रहेछ भन्ने कुरा उसले यहीँ आएर अझै बढी बुझेको थियो ।

ऊ गएको केही महिनामै अर्को छोरा जन्मियो । म्यासेञ्जरमा सरलाले पठाएका फोटोहरु हे¥यो । अनि मनमनै आफू दुईवटा सन्तानको बाबु बनेकोमा प्रफुल्लित भयो । कता कता आफूले सुत्केरी अवस्थामा पनि सरलासँगै बसेर उचित रेखदेख अनि स्याहारसुसार गर्न नपाएकोमा नमज्जा पनि लाग्यो उसलाई । यता सरला आफूलाई अर्को कोठामा बस्ने छिमेकी साथीहरुले स्याहारेको कुरा पनि सुनाउँथी । आमाबुवा छउञ्जेल त रहेछ माइती पनि । समयमा ऋण तिर्न नसक्दा दाइले बहिनीसँगको नाता नै तोडिहाल्नुभयो नि ! धन्न ऋण चाहीँ तिरी सकियो । त्यही पनि सम्बन्धमा सुधार हुन सकेन भन्दै फोनमै कुराकानी हुँदा पनि सागरसँग भक्कानिन्थी ऊ । सुत्केरी अवस्थामा मन पनि कमजोर हुँदो रहेछ कि क्या हो ।सरला रोई हाल्थी । मनको बह कसलाई पो पोखोस् उसले पनि । सरलाकी आमा मात्र जीवित हुनुभएको भए पनि पक्कै सुत्केरीमा साथ र स्याहार पाउँथी होला भन्ने ! सागर सम्झन्थ्यो । टाढाबाट केवल सान्त्वना दिनुको विकल्प उसँग केही थिएन ।

सरला नामझैँ वास्तवमै सरल स्वभावकी थिई । ऊ आफ्नो श्रीमानको श्रम र पसिनाको उच्च कदर गर्थी । श्रीमानले भोक तिर्खा अनि दिनरात नभनी कमाएर पठाएको पैसा दुरुपयोग नहोस् भनेर सँधै सजग रहन्थी ऊ । उसलाई उच्च सुखसयल अनि मोजमस्ती भन्दा पनि पारिवारिक सुखद मिलनको अभिलाषा थियो । उसले कैयन चाडवाड, हिउँद वर्षा,सुख दुःख एक्लै झेलेकी थिई ती साना बाबुहरुका आमाबाबु नै बनेर । कैयन रातहरु नसुती बिताएकी थिई । ती साना बालकहरु व्यूँझिन्छन् कि भनेर । ती सबै सुखद मिलनकै प्रतिक्षाका लागि न थिए । सागरसँग टाढिएको पाँच वर्ष उसकालागि पाँच युग जतिकै भएको थियो । कैयन चाडवाड आउँथे जान्थे, खासै रौनक थिएन । सायद सागर साथमा नभएर पनि होला ।

सागरले आउँदो दशैँमा आफ्नै देश फर्कने कुरा सुनाए । सरलामा खुसीको सीमा रहेन । दशैँ आउन दुई महिना बाँकी भए पनि उसले दिन गन्न थालिसकेकी थिई । छोराहरु अनि सरलाका लागिसपिङ्ग गरिसकेको कुरा पनि बेला बेलामा सुनाउँथ्यो ऊ । सरलाले किनेका सामग्री के कस्ता छन् देखाउनु न भनी हठ गर्दा सरप्राइज भन्दै मुस्कुराउँथ्यो ऊ ।

‘ठूलो छोराले त राम्ररी आफ्नो बाबासँग खेल्ने मौका पनि पाएन । विचरा !म हिँड्ने बेलामा कति रोएको थियो । मलाई पनि सँगै लैजानु न बाबा भन्दै मेरो हात छोडेकै थिएन उसले । म उसको हात जवरजस्ती छुटाएर आँसु पुछ्दै हिँडेको थिएँ । आजकल भिडियो कल गर्दा मुसुक्क हाँस्दै बाबा कहिले आउनुहुन्छ ? भनी प्रश्न गर्छ । माया उर्लेर आउँछ । सानो छोरा अझै सानै छ । मसँग मान्छ कि मान्दैन होला ! अब उसलाई भने धित मर्नेगरी खेलाउने छु । सरला पनि मलाई भेटेपछि खुसीले आप्लावित हुन्छे होली !कयौँ वर्षपछि एक पूर्ण परिवारको मिलन हुने भयो ।’ आजकल यिनै अनि यस्तै कुरा खेल्छन् सागरका मनमा सायद घर जाने दिन नजिकिँदै गरेर पनि होला ।

सागरसँग सरलाको कुराकानी नभएको पनि झण्डै एक हप्ता भइसकेको थियो । हुन त पहिला पहिला पनि कहिले काहीँ यस्तै हुन्थ्यो ।‘मेरो ओभरटाइम ड्युटी प¥यो भने यस्तै हुन्छ ।मैले बोल्ने पनि फुर्सद पाउँदिन । नराम्रो नमान है’ भनेर सरलालाई बेला बेलामा सम्झाउने गथ्र्यो ऊ । यसपटक पनि सरलाले त्यस्तै ठानी । सायद काममै व्यस्त छ होला सागर ।

तर केही दिनमै सागरले संसार छोडिसक्यो भन्ने दुःखद खबर आयो । सुखद मिलनको कल्पनामा डुब्न लागेकी सरलाले एक्कासि त्यस्तो खबर सुन्नु पर्दा ऊ अचेत नै भई । हुन पनि किन नहोस् । उसले संसारकै सर्वप्रिय कुरा गुमाएकी थिई । उसको सपना चकनाचुर भएको थियो । सहयात्रा गर्ने एउटा पाङ्ग्रा नै भाँचिएको थियो । ऊ नितान्त एक्लो भएकी थिई । केही समयपछि होसमा आए पनि ऊ केही गर्न सक्ने अवस्थामा थिइन । धन्न छिमेकी चाहिँ राखेकी रहिछ उसले । उसको यस्तो अवस्थामा पनि साथ र सहयोग गर्न कुनै कसर बाँकी राखेनन् उनीहरुले ।

दशैँको यस्तो रमाइलो चहल पहल,खुसी हुने अनि खुसी साट्ने बेला यत्रो बज्रपात सहनु प-यो तिनीहरुले । नियति पनि कतिसम्म क्रुर रहेछ । ऊ बारम्बार आफ्नो भाग्यलाई सराप्थी । यस्तैमा सागरको मृत शरीर आइपुग्यो ।सुखद भविष्यको आसमा सानो सुटकेस लिई विदेशिएको सागर एक्कासि बन्द बाकसभित्र थुनिएर आउँदा कसको आँखा रसाएन होला र ! सरलालाई थेग्नै मुस्किल भएको थियो त्यहाँ । आफू पनि सागरसँगै जान पाए पनि हुन्थ्यो भनी बारम्बार भगवान्सँग कामना गरिरहेकी थिई ऊ । भवितव्यका अगाडि कसको के लाग्छ र ! मन बुझाउनै प¥यो । सपरिवार मिलेर हाँसीखुशी दशैँ मनाउने उनीहरुको उच्च अभिलाषा थियो । अब त्यो दशैँ कहिल्यै आउँदैन । प्रत्येक दशैँ सधैँ अपुरो अनि अधुरो । झन सानो छोराले त बाबाको स्पर्श समेत महसुस गर्न पाएन ।

आफ्नो आधारै गुम्दा ऊ घरकी न घाटकी जस्तै भएकी थिई । उसको काँधमा अझ जिम्मेवारी थपिएको थियो । ऊ एक्लै छोराहरुको आमा र बाबा दुवै बन्नु थियो । एक शैक्षिक सत्र सम्म छोराहरुको पढाइ नबिथोलियोस् भनी सहरै बसी ऊ । टार्नु पु-याउनु अनि सहरीया महँगी निकै गाह्रो भयो उसलाई । अन्ततः पुख्र्यौली गाउँ नै गएर बस्ने निधो गरी सरलाले । हरेक आमाबाबु आफ्ना छोराछोरीको सुन्दर भविष्य खोजिमा सहरतिर हानिन्छन् । आज सहरमै बसिरहेका यी तीन प्राणीलाई भने नियतिले पुनः गाउँ नै फर्काइदियो । आँखाभरि आँसु अनि मनभरि पीडा लिएर फर्किई सरला, आफ्ना कलिला छोराहरु च्यापेर ।

Ad

धन्न सागरले पठाएको एक एक पैसा उसले फजुल खर्च नगरी जोगाएर राखेकी थिई । र त गाउँमा सानै भए पनि घर घडेरी जोड्न सकी । गाउँमै मेलापात गरेर भए पनि छोराहरुलाई शिक्षाको घामबाट बञ्चित हुन दिइन उसले ।

समय बदलिन्छन् । ऋतुमा फेरबदल आउँछ । अनि वर्षेनी चाडवाड पनि । सरला आफ्ना छोराहरुले बाबाको कमी महसूस नगरुन् भनेर हर सम्भव प्रयत्न त गर्थी तर कता कता समय, काल अनि परिस्थितिले अभाव त महसूस भइहाल्दो रहेछ । त्यसैले त भनिएको रहेछ ‘संसारमा सबै थोक अन्त पनि पाइन्छ तर आफूलाई जन्मदिने बुवाआमा कतै पाईँदैन ।’ छोराहरुलाई बाबाको अभाव कहिलेकाँहि मात्र हुन्थ्यो । तर सरलालाई त झन् कति खड्कन्थ्यो कति । उनी चाडवाड मनाउँथिन्,आफ्ना छोराहरुलाई चाडवाडको महत्व, रीतिरिवाज अनि चलिआएको परम्परा सिकाउन । तर उनलाई भने हरेक चाडले सागरको याद अझ प्रखर बनाएर जान्थे ।

खसी काटेर प्रभातलाई देखाइदिने कुरा गर्नुभन्दा देखासिकी होइन, घाँटी हेरेर मात्र हाड निल्नु पर्छ भन्ने सिकाउँथी । लुगा मैलो पो लगाउनु हुँदैन । सुकिलाले त नयाँ कै काम गर्न सक्नेमा विश्वस्त पनि पार्थी ऊ। कछुवाझैँटाउको देखाउने जुत्ताको विकल्प स्कुले जुत्ता किनेर काम चलाउने वचन पनि दिएकी थिई उसले । सरला वचनकी पक्का थिई । यति मात्र नभई सिंगो खसीको सट्टा चाहिने अनि ठिक्क सामग्री ल्याएर बरु सेकेण्ड ह्याण्ड साइकल किनिदिने कुरा गरी सरलाले । साइकलका कुराले त सायुधको खुसीको सीमै नाघेको थियो ।

जे होस् हाम्रो ममी पनि नयाँ नयाँ आइडिया निकाल्नु हुन्छ भन्दै मुस्कुराउँदै जालो झार्न हिँडेको सायुध । अनि साइकल किन्ने रे ! हुर्रे ! भन्दै रमाइ रहेको सानो छोरा आयुध । यी दुवैका खुसीले केही क्षणका लागि भए पनि उसले हरेक पीडा भुलेकी थिई । हुन पनि हो बाबुआमालाई सन्तानको खुसीमा जस्तो सुख सायद केहीमा पनि मिल्दैन होला ! सरलाको अनुहारमा प्रष्टै झल्कन्थ्यो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. शीर्षक नै काफी छ…! मन छोयो…!! विप्रेषणमा आधारित हाम्रो समाजको आर्थिक सामाजिक पाटोलाई कथाकारले अत्यन्त मार्मिकढङ्गले उठान गर्नु भएको छ । हो नि, सुखद भविष्यको आसमा सानो सुटकेस लिई विदेशिएको प्यारो मान्छे एक्कासि बन्द बाकसभित्र थुनिएर आउँदा परिवारलाई अपूरणीय क्षति पुगेको छ । कथाकारले भन्नू भएजस्तै दशैको मूखमा घटेको उक्त घटनाले त्यो परिवारमा अब दशैँ कहिल्यै आउँदैन । प्रत्येक दशैँ सधैँ अपुरो अनि अधुरो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button