शाहको साइकल चट्नी
(नेपाल साइकल उत्सव सम्पन्न भएको छ । पश्चिम महाकालीदेखि पूर्व अन्तुसम्मको १७ सय प्लस किलोमिटरको साइकल यात्रा अनेक घटना, अनुभव र सिर्जनशीलताले देशकै एक ऐतिहासिक दस्तावेज बनिसकेको छ । त्यसैको तीन टुक्रा कोरेका छन्, विश्व साइकल यात्री र यो यात्राका लिडर पुष्कर शाहले आफ्नै फेसबुकमा । यहाँ हल्का मिलाएर त्यसैलाई प्रस्तुत गरिएको छ । सम्पादक, नेपालनाम्चा ।)
१
पृथ्वीनारायण कुन पार्टीको ?
शेरा शेर्पा मजस्तै राम्रो भाँडा टल्काउँछन । तर, उनलाई सम्माननीयको हेलिकोप्टरले देख्ला र पाइलट के भन्ला भन्ने चिन्ता छैन ।
हेटौडाबाट हिड्ने बेला मैले सेरालाइ सोधेँ, ‘पहिला पनि यहाँ आउनु भा’को थियो ?’
‘थिएन सार !’
‘यो एकदमै ऐतिहासिक ठाउँ हो ।’
‘ए हो र ! सार ?’ उनले चाख मानेर सोधे ।
‘हजुर !’
‘त्यस्तो के हो सार ?’, उनले फेरि सोधे ।
‘यो ठाउँ पृथ्वीनारायण शाहको ससुराली हो ?’
‘ए ! हाजुर ! हाजुर ।’
एकछिन उनी मौन रहे र फेरि बोले, ‘सार ! त्यो मान्छे कुन पार्टीको पो हो ?’
२
फाल्ने समोसा सित्तैमा
धनगढीबाट बिहानको यात्रामा २ घण्टा हिँडेपछि साथीहरुलाई भोक लाग्यो । सानो बजारमा एउटा डेरी भेटियो । हामिले तिर्खा मेटाउन मोही माग्यौँ । साहुजी गिलासमा मोही भर्दै थिए ।
एक्स्प्यान्सन र सम्राटले टेबलमा राखेको दुई–दुईटा समोसा खाए ।
मोही आयो । हामीले मोही पियौँ ।
हिँड्ने बेलामा मैले पैसा कति भयो भनेर सोधेँ ।
‘३० रुपैँया’, साहुजीले भने ।
‘हामीले समोसा पनि खाको छ ।’
हँ ! समोसा पनि खानु भो ?’, साहुजी अत्तालिए ।
उनले हामीलाई हेर्दै मलिन स्वरमा भने ‘भो, त्यसको
पैसा पर्दैन ।’
‘किन ?’, मैले सोधेँ ।
‘त्यो त फाल्न्या थ्यो’, साहुजी बोले ।
३
घाम हो कि चन्द्रमा ?
बिहानको चिसो बादलभित्र छठी महाराज (सूर्य) को मधुर मुहार देखिन्थ्यो । लक्ष्मीले चस्मा नखोली आकाशतिर हेर्दै निरालाई सोधिन्, ‘यो घाम हो कि चन्द्रमा हो ?’
खै दिदी ! थाहा भएन । म पनि पहिलो पटक आ‘को यो ठाउँमा’, निराले भनिन् ।