
तिम्रो हराउँदा मैले मेरो सिसाकलम तिम्रा लागि भाँचेको छु
कविताः साथीलाई जन्मदिनमा कविता उपहार
स्पर्श भट्टराई
कक्षा ७, युनाइटेड स्कूल, इमाडोल, ललितपुर ।
तिम्रो जन्मदिनमा म के दिऊँ उपहार
दिन्छु तिमीलाई सधैँ मित्रवत् प्यार
हामीबीचको मित्रता अपार,
भनून् सबैले यो बारबार ।
तिमी हाँस्दा म सँगै हाँसेको छु
भेटेका चिज पनि बाँढेर लिउँला भनी साँचेको छु
तिम्रो सिसाकलम हराउँदा
मैले मेरो सिसाकलम तिम्रा लागि भाँचेको छु
त्यो मात्रै कहाँ हो र साथी !
तिमीले विद्यालयको बगैँचामा फूल टिप्दा
तिम्रो मिल्ने साथीको नाताले
तिमीसँगै म पनि फसेको छु ।
कति कुरा भन्नु थियो
भेट होस् जस्तो लाग्छ झट्टै
साथीसँगको रमाइलो नै छुट्टै
सम्झिएर पनि खुसी हुन्छु विछट्टै ।
लकडाउनले हामीलाई टाढा पु-याए पनि
आशा गर्छु, अब भेट हुन्छ छिट्टै ।
सँगै भए त तिमीलाई
केही दिन्थेँ होला उपहार
यो साल यस्तै भयो साथी
तिमीलाई सम्झना छ बारबार ।
मन खिन्न नपार्नू नि !
यो सानो कविता हुन सक्छ
तिम्रा लागि अमूल्य उपहार ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



