
म अहिले पनि राजधानी दैनिकमै छु
ब्राह्मणपुत्र लकडाउन डायरी–३९
भरत शर्मा
स्वामी सचिदान्नन्द सरस्वती (खप्तड बाबा)को पुस्तक ‘म र मेरो कर्तव्य’ पढ्न थालेको २१ बर्ष पुगेछ । २० रुपैयाँ तिरेर भोटाहिटीको पुस्तक पसलबाट २०५८ बैशाखमा किनेको यो पुस्तक अहिले मेरो गृहपुस्तकालयमा सुरक्षित छ । पुस्तक २०५४ सालमा पहिलोपटक प्रकाशित भएको रहेछ ।
हरेक बर्षजसो पुस्तक पढ्दै छु । जति पटक पढ्यो, त्यति पटक नै नयाँ सोच, नयाँ चिन्तन, कर्तव्य बोध हुने सन्देशमात्र पाउँछु । डिमाई साइजमा ६० पेजको पुस्तकले मेरो त जीवनप्रतिको दृष्टिबोधमा नैं परिवर्तन ल्याइदिएको छ । तपाईंहरुले पढ्नु भएकै होला । छैन भने लकडाउन खुलेपछि पढ्नका लागि अनुरोध गर्छु ।
केही बर्षअघि भारतको हरिद्वारको कुम्भमेलामा सम्पन्न सनातन धर्म सम्मेलनमा सहभागी भएको थिएँ । सम्मेलनमा एकजना जिज्ञासु भक्तले उपल्लो आसनमा बसेका एकजना सन्तलाई प्रश्न गरे, ‘म को हुँ ? मेरो कर्तव्य के हो ? मलाई ‘म’ शब्दको अर्थ जान्ने मन छ आज मौका मिल्यो । यसबारे प्रष्ट गरिदिनु हुन्छ कि ?’
सम्मेलनमा सहभागी सबैले प्रश्न गर्नेको अनुहार हेर्न थाले ।
सायद त्यो सबैको मनको सामूहिक प्रश्न भएर होला प्रश्नकर्ता सनातक धर्म सम्मेलनका आकर्षणका केन्द्र भए । प्रश्न सुनेर आसनमा बसेका सन्तहरु मुस्कुराउन थाले । सन्त सम्मेलनमा सहभागीहरु यसको उत्तर कस्तो होला भनेर सुन्न आतुर भएका थिए ।
नेपालको तर्फबाट सहभागी प्रा.डा माधव भट्टराई र म अगाडि थियौं । सम्मेलनमा सहभागी एकजना सन्त (नाम भुलेँ । पुरानो डायरीमा खोजेको कता हो कता ? भेटिन । प्रश्न र उत्तरको सार भुलेको छैन) ले भनेः
‘म’ शब्दको अर्थ हामी सबैको शरीर हो भन्छौं तर हाम्रो शरीर जन्मदेखि अहिलेसम्म छेपारोले रङ्ग परिवर्तन गरेजस्तै बदलिरहेको छ । बालापन, युवा, बयस्क र अहिले बृद्ध भए पनि ‘म’ भन्न छोडेको छैन । मभन्दा माथि मेरो भन्ने र मेरो भन्दा माथि कर्तव्य के हो सम्झेर निरन्तर जे काम गर्दा खुसी भइन्छ त्यति काम गरेर ‘म र मेरो कर्तव्य’ सम्झेर सत्य, निष्ठा र इमानका साथ गरियो भने मात्र ‘म’को अर्थ बुझिन्छ ।
सन्तले सोधे, ‘तपाई के काम गर्नुहुन्छ ?’
प्रश्नकर्ता शिक्षक रहेछन् ।
सन्तले भने, ‘तपाईको काम पढ्ने, पढाउने, बोल्ने र लेख्ने हो । त्यही काम गर्दा नैं तपाईले आफूमित्रको ‘म’ र मेरो कर्तव्य खोज्ने हो ।’
त्यसपछि अन्य सन्तले सनातनशास्त्रका विभिन्न ग्रन्थको बारेमा ब्याख्या गरे । त्यो डायरीमा टिपेर राखेको थिएँ । खोजी गर्दैछु, कुनै दिन भेटियो भने लेखौला ।
कस्तो संयोग हैं, मैले म र मेरो कर्तव्य पुस्तक पढ्न शुरु गरेको र राजधानी दैनिक प्रकाशन शुरु भएको एकै समय भएछ । पुस्तक पढ्दै गएपछि लकडाउन डायरीमा मैले सात बर्ष काम गरेको संस्थाले २१ औं बाषिकोत्सव मनाइरहेको खुसियालीमा केही शब्द लेखौं कि भनेर सोच्दै थिएँ ।
‘भोलि म राजधानी दैनिकमा बिताएका दिनहरु सम्झेर शब्दयात्रा गर्दैछु ।’
नेपालनाम्चाका सम्पादक अशोक सिलवाल मेरो कुरा सुनेपछि हाँस्न पो थाले । उनी पनि करिब ८ बर्ष राजधानी दैनिकको विचार पेजको संयोजक थिए ।
‘लेख्नुस् । गज्जब हुन्छ’, उनले हौस्याए ।
लोक–गणतन्त्र आएपछि २०६४ बैशाखको पहिलो हप्तादेखि राजधानी दैनिकको चाबहिलस्थित कार्यालयमा शिक्षा पत्रकारको रुपमा प्रवेश गरेको थिएँ । त्यति बेलाका सम्पादक जिवेन्द्र सिम्खडाले मलाई राजधानी दैनिकमा प्रवेश दिलाएका थिए । सायद नेपालनाम्चाका सम्पादक सिलवाललाई पनि उतिबेला सिम्खडाले नै विचार पेजका लागि त्यहाँ निम्त्याएका थिए ।
राजधानी दैनिकमा जाँदैछु भनेर त्यतिबेला मैले राष्ट्रिय समाचार समिति (रासस)का श्रीरामसिंह बस्नेतसँग स्वीकृती मागेको थिएँ । ‘राससमा नअल्झनु । दैनिक पत्रिकामा काम गरेर अघि बढ्नु’, भनेर सल्लाह दिने बस्नेत मेरा अर्का प्रेरणा स्रोत हुन् ।
राजधानीमा सात बर्ष काम गर्दा अनेक सम्पादक परिवर्तन भइरहे । तर, जिवेन्द्र सिम्खडा र युवराज घिमिरे सम्पादक हुँदाको समयमा काम गर्दाको बेग्लै आनन्द थियो ।
‘साथी, मेलो के हुँदैछ’ भनेर सोध्ने सिम्खडा अहिले रातोपाटीका सल्लाहकार सम्पादक छन् । र, ‘पण्डितजी के हुँदैछ आज’ भनेर प्रश्न गर्ने घिमिरे देशसञ्चारका प्रधानसम्पादक हुन् । सिम्खडा र घिमिरेबाहेक अन्य सम्पादकसँग कुनै सम्बन्ध छैन । हाल दैनिकका सम्पादक सागर पंण्डित र राजधानी अनलाइनका सम्पादक ध्रुव लम्साल उतिबेलादेखिकैं सहकर्मी मित्रहरु हुन् ।
हिजो बिहानै राजधानी दैनिकका संचालक महेन्द्र शेरचनलाई टेलिफोन गरेर बधाइ दिएँ । शेरचन खुसी भए । ‘ल, धन्यवाद’ खुसी हुँदै शेरचनले भने ।
प्रवेश गर्दादेखि र दैनिकमा काम गर्न छोडेपछि पनि राजधानी दैनिकमा आवतजावत गर्न छोडिएन । केही बर्ष मेरा सहकर्मी मित्र डिल्ली आचार्य राजधानी दैनिकको कार्यकारी सम्पादक हुँदा उनकै हस्ताक्षरमा लिएको अनुभव पत्र चीनको विश्वविद्यालयमा पेश गरेको थिएँ ।
राजधानी दैनिकमा पत्रकारिताको व्यवहारिक काम सबै काम गरेँ । शिक्षा समाचार लेख्नेमा भर्ना भएर सात बर्षमा पत्रकारिकताको साङ्गोपाङ्गो सिकेर निस्केँ ।
राजधानी दैनिकमा छँदा काठमाडौं उपत्यकामा पहिलोपटक बर्ड्फ्लु भित्रिएको समाचार मैले नै बे्रकिङ गरेको थिएँ । खबर झुटो हो भनेर व्यवसायीको विरोधका कारण सूचना दिने पशु चिकित्सक र म दुवै कयौं दिनसम्म लुकेर हिड्यौं । त्यतिबेला म बस्ने कोठा डल्लु र मोवाइलमा आएको धम्की सम्झँदा उदेक लाग्छ । आजभोलि त उपत्यकामा बर्ड्फ्लु आएको समाचार सामान्य भयो ।
केही समयपछि कयौं समाचार झुटो भन्नेहरुले कुखुरा मर्न थालेपछि थाहा पाए, कुरो सत्य रहेछ । समाचार सत्य प्रमाणित भयो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि चीन भ्रमण गएको बेला राष्ट्रपतिसँग भेट नहुने खबरलाई पनि राजधानीमा मैले छाप्दा गलत भनेर त्यतिबेलाका सरकार र माओवादीले विरोध जनाए । नेपाली टोली र प्रचण्ड भ्रमणका नेपाली भाषा अनुवादक प्रा.डा वाङचुङ नै थिए, जो मेरा दाइमित्र हुन् । सम्पादक घिमिरेले पटक–पटक स्रोतको बारेमा सोधेपछि मैले स्रोत बलियो छ भनेपछि समाचार छापिएको थियो । त्यसबेला चिनियाँ राष्ट्रपति सि चिनपिङसँग प्रचण्डको भेटवार्ता भएन ।
बुढालिनकण्ठ स्कूलका तत्कालीन प्रधानाध्यापकले गरेको भ्रष्टाचार र उनले विद्यार्थी भर्नामा गरेको गडबडीबारे लेखेको समाचारपछि लुकेर हिँडेका दिन सम्झन्छु । त्यसबेला केही दिन म अनामनगरस्थित एकजना मित्रको घरमा बसेको थिएँ ।
चावहिलमा रहेको दैनिकको कार्यालय कुपन्डोलमा सरेपछि डेरादेखि कार्यालय आउनजान निकै सजिलो भयो । काठमाडौं र ललितपुरको सीमाना हनुमानथान नजिक बसेर सयौं कप चिया, नास्ता खाँदा समेत देशको राजनीतिक र पत्रकारिताको विषयमा गफिँदाको जोश कसरी भुल्नु !
२०६९ को अन्तिमतिर पत्रकारितामा मात्र समय बिताएर भएन, पर्यटनतिर अलि बढी समय दिनु प-यो भन्ने सोच आयो । पत्रकारिता गर्दा पनि मैले बिहानको समय पशुपतिनाथ जाने र पर्यटक घुमाउने गर्दै आएको थिएँ । एक दिन पशुपतिनाथ दर्शन र यात्रीलाई दर्शन गराएर फर्कन लाग्दा धनेश्वर महादेवको छेउमा पुगेर बसेपछि ट्राभल एजेन्सी खोल्ने र काम गर्ने सोच आयो । त्यसको केही दिनपछि नाम पनि पशुपतिनाथमा गएपछि ‘अध्यात्म’ राख्ने भनेर अंग्रेजी शब्द खोज्दा ‘स्पिरिच्युल’ भन्ने नाम जुराएँ । केही समयपछि दर्ता गरेर झोलामा ट्राभल एजेन्सी बोकेर हिँडे ।
पत्रकारिता र ट्राभलको काम एकसाथ चल्दै थियो । भारत र मलेसियाबाट यात्रीहरु आउन थाले । त्यसपछि पत्रकारिता भन्दा बढी पर्यटनमा मन जान थाल्यो । केही समयपछि नेपाल ज्योतिष परिषद्ले मलेसियामा आयोजना गरेको ज्योतिष सम्मेलनमा मलेसिया यात्रा गरेँ । त्यहाँ रहेका मेरा दक्षिण भारतीय मित्रलाई भेटेँ । केही समयपछि मित्रले ४० जना दक्षिण भारतीय यात्रीलाई पशुपतिनाथ र मुक्तिनाथ यात्रा गराउने जिम्मेवारी दिए ।
त्यसका लागि पहिले म मलेसिया जाने र एक दिन त्यहाँ बसेर भोलिपल्ट उनीहरुलाई नेपाल लिएर आउने र एक साता नेपाल घुमाएर मलेसिया पठाउने तालिका थियो ।
राजधानी दैनिकका त्यति बेलाका सम्पादक राजन शर्मा र प्रमुख समाचारदाता डिल्ली आचार्यसँग केही दिनको विदा मागेँ । विदा दिन नमिल्ने भनेर ‘बिदा पाउँ भन्ने निवेदन’ अस्वीकृत भयो । मलेसिया जाने टिकट, होटल बुकिङ र ४० जना तीर्थयात्रीको सेवा गर्ने कामलाई पहिलो प्राथमिकता राखेँ । साँझसम्म काम गरेर राती नौं बजेर विमानस्थल गएँ । ११ बजे मलेसिया गएँ । एक दिन मलेसिया बसेर नेपाल फर्के ।
कार्यालयबाट निस्कने बेलामा मेरो मोवाइल नउठ्न सक्छ भनेर जनाउ दिएको थिएँ । पर्सिपल्ट अफिस आउँदा स्पष्टिकरण पत्र लेखिएको रहेछ । सो पत्र अहिले पनि सुरक्षित राखेको छु । त्यसै दिन राजधानी दैनिकमा राजीनामा लेखेर म राजधानी दैनिकको सात बर्षे यात्राबाट विदा भएको हुँ ।
मसँग काम गरेका कयौं मित्र अझै पनि राजधानी दैनिकमा कार्यरत छन् । आवरण सज्जादेखि सबै विषयमा लेख्ने युमाश शेर्पा अहिले पनि राजधानी दैनिकमा कार्यरत छन् ।
मानिसको जीवनका कर्तव्यहरु फरक–फरक हुन्छन् । मैले राजधानी छोडेको कुरा संचालक शेरचनलाई एक सातापछि मात्र भनेँ । मेरा मलेसियाका पाहुनालाई विमानस्थलबाट उनीहरुको देश पठाएपछि मात्र फोन गरेँ । उनले गाली गर्दै भने, ‘तिमी म कहाँ आउनु पर्दैन ? मलाई भन्नु पर्दैन ? तिमीले छोड्न पाउदैनौं । तिमी भोलि अफिस आउनु ।’
‘म र मेरो कर्तव्य’ मलाई थाहा छ । म राजधानी दैनिकमा छु । म पत्रकारिता गरिरहन्छु तर केही समयका लागि मेरो कर्तव्य परिवर्तन भएको छ’, त्यति भन्दै मैले कुरा मोडेँ, ‘अस्तिमात्र तपाईको मुस्ताङ जिल्लाबाट फर्केका । त्यहाँ तपाईको भतिजोको होटलमा बसेँ, ४० जनालाई मुक्तिनाथ दर्शन गराएर फर्केको भर्खर ।’ त्यति भनेपछि शेरचन दंङ्ग परे ।
‘अब तपाईको कम्पनीको तलबतिर होइन, म त तपाईको जिल्ला मुस्ताङ र भतिजोलाई उँभो लगाउने पेशामा लागेँ’ भन्दा शेरचनले खुसी भएर भने, ‘चाहिने, तिम्ले गरेको काम काइदा छ, म मेरो केटाहरुलाई भनिदिन्छु तर तिमीले राजधानीको लागि यसो विज्ञापनका लागि सहयोग गर ।’
ब्यापारी सोच भएका शेरचनले जे भने ठीक भने । र, थपे, ‘मु्क्तिनाथतिर जाँदा त्यहाँको समाचार पायो भने पनि लेख्नु । छाप्नका लागि सम्पादकलाई भनिदिन्छु ।’
‘हस हजुर’, मैले भनेँ ।
नौं बर्षको बीचमा अनेक उथलपुथल भए । अहिले पनि म नेपाल पत्रकार महासंंघ, राजधानी प्रतिष्ठानको सदस्य छु । मालिकदेखि र पत्रकार सबैमित्र सबैसँग सौहार्दपूर्ण सम्पर्क छ ।
मालिक शेरचनसँग व्यापारको कुरा गर्छु, पत्रकारसँग समाचार र पत्रकारिताको कुरा ।
राजधानी दैनिकमा बसेर जति बर्ष काम गरेँ, काम गरेवापत पाएको पारिश्रमिकमा म खु्सी थिएँ । अहिले त हरेक पटक मुक्तिनाथ जाँदा कर तिरेकोे कुरा बेलाबेलामा शेरचनलाई सुनाउँछु । मुक्तिनाथ जाँदा शेरचनको भतिजाको होटलमा बस्छु ।
पत्रकारिताबाट पर्यटन क्षेत्रमा लागे पनि म हिजो, आज र भोलि सधैं पत्रकारिता क्षेत्रमा हुनेछ ।
अध्ययन–अध्यापनलाई ब्राह्मण कर्म, पत्रकारितालाई क्षेत्रीय कर्म, पर्यटनलाई वैश्य कर्म र मित्र र आफन्तलाई सहयोग गर्न पाउँदा शुद्र कर्म गरेको ठानेको छु । र, त्यसमा खुशी छु ।
धर्म, अर्थ, काम र मोक्ष । यी चार पुरुषार्थ नै मानिसको कर्तव्य हो भन्ने शास्त्रीय भनाई छ ।
सम्पादक सिलवालज्यू, मैले पढेको ‘म र मेरो कर्तव्य’ पुस्तकले मलाई ‘म’ र कर्तव्यबोध सिकाएको छ भन्ने मेरो धारणाबारे तपाईको चाहिँ के मत छ ?
तपाईले पनि राजधानी दैनिकमा करिव आठ बर्ष विचारका शब्दमाथि फूलबुट्टा भरेर सयौंलाई लेखक बनाउनुभएको हो नि । हैन ?
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



