गोरखा ओपन सेक्रेट हो, म दिव्यभूमि महसुस गर्छु

देशको समग्र चित्र काेर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा पारसमणि अंगाईंलाई विशेष धन्यवाद ।

१. तपाईंको जिल्ला गोरखाको कुरा गर्दा सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
गोरखा दरबार। म जन्मेको घरको अगाडिको डाँडोमा गोरखा दरबार छ। तारत्तै देखिन्छ। दरबारबारे बाल्यकालमा खासै ज्ञान थिएन। हाम्रो लागि गोरखकाली मन्दिर दरबारभन्दा बलियो ब्राण्ड थियो। एकाबिहानै उठ्दा र राती सुत्नेबेला त्यही मन्दिरको झिलिमिली बत्ती देखिन्थ्यो, परबाट। हाम्रो गाउँमा उतिबेला बिजुलीबत्ती थिएन। गोरखकाली दरबारमा बिजुली बत्ती नबलेको साँझ र बिहान निकै नरमाइलो लाग्थ्यो। अहिले पनि यदाकदा सपनामा झल्याकझुलुक हुन्छ। म २ घण्टा हिडेर विद्यालय जान्थें। ती बाटोका कुइनेटा याद आउँछन्। द्वन्द्वकालपछि लोप भएका निकै ठूला जात्राहरू खुब सम्झिन्छु।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
रमाइलो लाग्छ, अवसाद पनि। अनेकन राजनीतिक घटनाक्रमको साक्षी र सहभागी ऐतिहासिक ठाउँ। जन्मेको ठाउँबाट ५ मिनेट हिडे मन्सुली (मनास्लु) देखिन्छ। पुर्ख्यौली घरबाट बिहान आँखा मिच्दै हिमचुली र बुद्ध हिमालको दर्शन हुन्छ। मैले पहिलोचोटी पौडी खेलेको दरौंदी जन्म घरमुनि छ। पहिलोचोटि दाहसंस्कार देखेको बुढीगण्डकी छ। जन्मदेखि मृत्यु सबै महसुस हुन्छ। हिमालको उर्जा र पानीको बहाव खुब महसुस हुन्छ। द्वन्द्वकालले थमाएका कतिपय सकस सम्झिदा अवसाद पनि लाग्छ। मूलत: सकारात्मक उर्जा नै हावी छ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
ठाउँ धेरै छन। चुम उपत्यका छान्दो हूँ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
कतिपय मूर्त कुरा प्रश्न नं. २ को जवाफमा दिएको छु। अनेकन आम कुरा छदैछन। म प्रायश आत्मपरक कुरातिर फोकस हुन्छु। अलि अमूर्त र काव्यात्मक कोणतिर ढल्किन्छु- जुन सबै शब्दमा लेखिन्छ भन्ने लाग्दैन।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
गोरखा ओपन सेक्रेट हो। अरुले थाहा नपाउने प्रश्नै छैन। म दिव्यभूमि महसुस गर्छु, जुनबारे दुनियाँ जानकार छदैछ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, कस्तो स्वभावको हुन्छ ?
जिल्ला राजनीतिक नक्सा हो, नक्सामा मानव त के खोज्नु! तथापि, अन्यत्र जस्तै गोरखामा पनि जीवन छ। गोरखाको आफ्नै सुख दु:ख छ। सदियौंदेखि गर्भमा राजनीतिक भूकम्पहरू छन्, मान्छे जस्तै खुसामद गर्छन्। मान्छे भत्किएजस्तै भत्किन्छन्। मान्छेमा हुने राम्रा र सबल गुण सबै छन् गोरखामा। तर गोरखा एउटा अपूर्ण मानव हो। किनकि भूगोल र प्रकृतिको दोष हुँदैन, जो हामी मानवमा हुन्छ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
म बेखुश नै छैन। तथापि- मान्छे हुनु अलि आकाङ्क्षी हुनु पनि हो। आम गोरखालीको खुशीको कारणजस्तै होलान्- जुनमा म पनि झन् खुशी हुँदो हूँ। तथापि- प्रकृति र संस्कृतिको संरक्षण भैदिए, प्राकृतिक श्रोत साधनको सदुपयोग भैदिए, फेरि उतै फर्किएर उतै श्रम गर्दै ती तमाम प्राकृतिक सुन्दरताको स्वादबीच श्वास फेर्न पाए, कविता गम्न पाए… झन् खुशी हुँदो हूँ। यो मेरो आत्मिक खुशी हो- जुन गोरखा मात्र होइन, नेपालका अनेक भूभागप्रति पनि लागू हुन्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button