
पैसाले सम्बन्धलाई कस्तोसम्म बनाउँछ ?

रेजिना आचार्य
कस्तो अचम्मको नाता हो यो, हुँदा पनि नराम्रो नहुँदा पनि नराम्रो ! के गर्ने होला है, कसरी ब्यवस्थापन गरेर अगाडि बड्ने भन्ने थाहा भएन भने जीवन लथालिङ्ग हुन्छ । मसँग पैसा छ, म जे बोल्दा पनि हुन्छ भन्ने सोच देख्दा, आफु जतिको कोहि छैन ठुलो भनेर घमन्डले अरु आफनासँग गरेको व्यवहार देख्दा त्यस्ता मान्छेहरु कति मुर्ख, कति अज्ञानी होला जस्तो महसुस हुन्छ । के गर्नु धनले बुद्धि किन्न नसकिने !
आफुले कल्पना गरेर अरुको स्तर अन्दाज लगाएकै भरमा व्यवहार गर्ने हेप्ने, मनभरि वचन लगाउने, अरुको चित दुखाउने अनि आफुलाई ठुलो ठान्ने त्यस्ता मुर्खलाई के थाहा तिनीहरुले जसलाई कमजोर सोचेर वचन लगाए, त्यो त एक नैतिकवान, सहनशील ज्ञानी हो, जसले सबै कुराको जवाफ दिनु र मुख फर्काउन जरुरी नसझेको मात्र हो । भनिन्छ नि, मुर्खसँग तर्क गर्नु भन्दा चुप लागेर बस्नु ठिक हुन्छ ।
के हामीले अब इज्जत पाउन, आदर पाउन म त पैसावाला हुँ भनेर देखाउनै पर्ने हो त ? नत्र मान–सम्मान नगर्ने देखियो । अहिलेको समय हेर्दा त धेरै महत्व दिएको जस्तो लाग्दैन हजुरहरुलाई । यो पैसालाई खाली पैसा पैसा पैसा … ।
जमाना फेरियो । मानिस फेरिए । तर एउटा चीज कहिल्यै फेरिएन । त्यो हो सापटी माग्ने चलन । सबैजना सबैचीजले भरिपुर्ण कहिल्यै हुँदैन र छैन पनि । त्यसैले त पर्दाखेरी माग्ने चलन पू्र्खादेखि थियोे र त हरेक चिज ऐचोपैचो चलाइन्थ्यो अनि आफुले किनेर ल्याएपछि तिरिन्थ्यो ।
कति सुमधुर तरिकाले सम्बन्ध अगि बड्थ्यो त्यो बेला तर अहिले सापटी पनि काल नै भैसक्यो । माग्दा पाइए ठिक नत्र दुश्मनी सुरु । परिवार, साथी, आफन्त सबको मनमुटाब सुरु ।
कति सजिलैसँग माग्छन् है पैसा सापटी । योसँग छ, छैन, यसको व्यवहार कसरी चलिरहेको छ ? त्यो सब कुरा मतलब भएन माग्नेलाई !
यत्रो घर छ, गाडी छ, घुमिरहेका छन्, यति त कसो नदेला भनेर माग्यो, अब कुरा आउँछ, माग्ने बित्तिकै उसले पैसा त छैन यो पालि मात्र भन्यो भने, सुरु सम्बन्धमा दरार आउन ! भन्ने बितिकै दियो भने पैसा पाउन्जेल त तारिफ पनि कति हो कति ! लिन त लिए, अब फिर्ता दिहाल्छु भनेर लगेर गायव हुनेलाई गर्नु चाहिँ के ? न सम्बन्ध सुमधुर हुन्छ न केटाकेटी जस्तो नबोल्ने भनेर कटिट् गर्न मिल्छ !
कोहिसँग पनि यहाँ बाड्नको लागि भनेर पैसा हुँदैन । दिने मान्छे कति उदार, आफ्नो व्यवहारलाई थाँती राखौँला उसको लागि गर्जो टर्छ भनेर, कतितिर मिलाउनुपर्ने पैसा पनि उस्ले दिएको होला । लिनेले कहिले त्यस्तो सोच्नुभएको छ ? या त उहि लिने अनि नतिर्ने नै पो भन्छ त, कति न के के नै गरे जस्तो पो गर्छ, तिर्छु भनेरै त लेको हो, तिरिहाल्छु नि, कसैको नभको पैसा रछ !
हेर्नुस् त, आफ्नै पैसा माग्नलाई धाइरहनुपर्ने, कारण खुलाउनुपर्ने, झुक्नुपर्ने अनि अन्तिममा दुइचार महिनाको निरन्तर प्रयासपछि देलान् तर कसरी ! उफ् ! त्यो त लिन जाने र दिनेलाई याद होला र यो पढ्दै गर्नुहुनेले भोग्नुभएको छ भने पनि सम्झिनु भयो होला है !
सम्बन्धलाई पैसामा कहिले पनि नजोडौँ । नातागोतामा पनि भेदभाव कति हो कति ! किन त्यस्तो ? किन तौलिनु पैसामा ! हुनेखानेले तपाईंलाई जीवनभर न दिने हुन् ! जाँदा एक छाक खानदिने हुन् । त्यो त नहुनेले पनि खान दिएकै हुन्छन् । गरी खाने आफैले हो, सके जति गर्नुस् आफ्नो लागि ।
कहिले आपत पर्दा कोहिसँग सापट माग्नु पर्यो र उसले छैन भनिहाल्यो भने उसको पनि व्यवहारमा समस्या होला, ऊ पनि धेरैलाई दिएर उठाउन नसक्दा विरक्तिएर पो बसेको होला कि ! आश नगरौँ न । सक्ने जति आफुले गर्ने हो नि !
आपतमा दिएकोलाई समय मागेरै लिएको हुन्छ, त्यो समयमा तिरौँ । व्यवहार भनेको जहिले पनि सफा राख्नु पर्छ । पैसा त्योसँग छ, योसँग छैन भन्ने कुरा आफैले निर्धारण गर्ने गरेको देखेको छु मैले । आधारचाहिँ त्यसले लगाएको लुगा गहना, खाएको, हिडेको ठाउँ !
मैले कस्तोसम्म मान्छे देखेको छु भने आफुसँग कमाइ केहि छैन तर रवाफ भने सानो छैन ! म भयंकर हुँ म धनी हुँ भनेर देखाउनलाई जुन हद पनि पार गर्नसक्ने ! अचम्म लाग्छ, त्यस्ताको घर कसरी चलेको होला ?
कसैलाइ जीवनमा देखाउनकै मात्र सोख हुन्छ । यो देखाएँ, अब यो देखाउँछु, यति गरेपछि त म जतिको कोहि हुँदैन । मनमनमा रिस कपटसाथ कोहि हुन्छन् । फेरि जो जीवनमा देखाउन होइन, रमाउने, कसैलाई केहि नभन्ने, आफु खुशी हुने, ठुलो स्वरमा नझम्टिने, मनमा आए जति नबोल्ने, सहि गलत, सिमा, रहर बुझ्नेलाई यहाँ हेप्ने जमात छ, कप्टि भन्दै, घोसे, लोभीजस्ता उपनाम त कति हो कति ! ठुलो होइन, यहाँ त ठुलो पल्टिनेलाई सबले सम्मान दिने चलन छ अहिले त । त्यसैले त हर कोहि ठुलो बन्नतिर कम र ठुलो पल्टिनतिर धेरै आतुर छन् ।
धेरै लोभी नहुनुस्, लिएपछि तिर्न जान्नै पर्छ, लगाइ, खुवाइ, घुमाइ सामाजिक सन्जालमा फोटो हलाइले कसैको स्तरको निर्धारण गर्ने बानी छ भने त्यो बानी छोड्दिनुस् । त्यो सब स्वभाव हो, कसैलाई देखाउन मन हुन्छ, कसैको फेरि अरुलाई देखाएर के हुन्छ भन्ने सोच हुन्छ । देखाउनैको लागि यहाँ कतिको त खर्च गराइ पनि डरलाग्दो हुन्छ । परिवार तहसनहस हुने गरी कलह कति हो कति परिवारमै अशान्ति गरेर अरुलाई देखाएर, ति अरुले आफुलाई ठुलो नै भने रे, के मन शान्ति हुन्छ त ? भित्रीरुपमा आफुलाई कदापि हुँदैन !
मान्छेहरु अहिले आफुलाई एकदम स्ट्यान्डर्ड देखाउन लत्ताकपडा, मेकअप, गहना, फेसनतिर जोडदिएको जस्तो देख्छु म त । बाहिरी आवरणबाट त क्षणिकको लागि मात्र तपाइलाई वौद्धिक देख्लान्, बोल्दै जाँदा त बानी बेहोरा निस्किहाल्छ !
आफु भित्रबाट समझदार हुनुपर्छ, विद्वान हुनुपर्छ । त्यसपछि कहि कतै जाँदा पनि धक मान्नुपर्दैन, डर हुँदैन, आँट बड्छ । मेहेनत गरौँ न आफुलाई सुधार्न, न कि आफुलाई सिँगार्न !
जति हामी सरल र सादा जीवनतिर जान्छौँ, त्यति आनन्दित हुन्छौँ । सक्ने छौँ, लगाउँछौँ, देखाउँछौँ भन्ने अर्का छन् घमण्डले भरिएकाहरु, त्यस्तालाइ यहाँ म केहि भन्न चाहन्न, तर धेरैजना बुझ्नेको लागि हो यो लेखाइ । सक्न त हामी सबै सक्ने छौँ, लगाउँदा हुन्छ तर भएर नलगाउदा केहि फरक पर्दैन, याद गर्नु भएको छ ? तर नहुनेलाई कति गारो छ यहाँ, कति सकस छ । जे छ त्यहि गरौँ, भड्किलो समाज र देखावटी उच्च ओहोदा देखाउने समुदाय छन्, त्यस्ताको अगाडि मिल्न कति तनाब हुन्छ !
हामीले लगाउने, खाने, हिँड्ने, डुल्ने चीजलाई कसैको जीवनस्तरसँग नदाजौँ न बिन्ती ! सजिलो चीजमा गाह्रो बनाउने नै मानिस हो, हामी हौँ । सरलतालाई नगिराऊ, आफुले आफुलाई बनाऊ । अरुलाई घोचपेच गर्न छोडौँ ।
यो समसामयिक व्यवहारिक र देखिआएको विषय हो । यो हामी सबैले भोगेको विषय हो, व्यक्ति विशेषलाई लेखिएको होइन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


