‘धर्म’बारे व्यापक भ्रम किन ?

पुस्तक अंशः धर्म र विज्ञान

मोहन तिम्सिना

पाश्चात्य भाषाको ‘रिलिजन’ र पूर्वीयको ‘धर्म’ शब्दको अर्थ एउटै होइन । हिजोआज यिनीहरूलाई समानार्थी मान्न थालिएकाले धर्म शब्दबारे व्यापक भ्रम पैदा भएको छ । आज धर्म भन्ने बित्तिकै अन्धविश्वास वा ईश्वरवादी चिन्तन भन्ने अर्थ लगाइन्छ । पाश्चात्य ‘रिलिजन’ को अर्थमा यो कुरा ठिकै हो । तर हिमालय पर्वतीय सभ्यताका लागि यो बुझाइ भ्रम हो । हिमालय पर्वतीय सभ्यतामा धर्म, तपश्चर्या, योग र ध्यान जस्ता शब्दहरूलाई पर्यायवाची मानिन्छ । यो चिन्तनको एक अलग प्याराडाइम हो । जसमा खास आसनमा बसेर आँखा बन्द गरेर खास तरिकाले स्वनिरीक्षण गर्ने गरिन्छ । यस्तो प्रचलन वैदिक, बौद्ध, जैन, बोन, ताओ र मुन्धुम लगायतका पन्थहरूमा अपनाइन्छ । यसको अलग विज्ञान छ । यही विज्ञानलाई यहाँ धर्म भनिएको हो ।

पूर्वमा धर्महरूले नै जीवन र जगत््का गहिरा प्रश्नहरूको समाधान गर्ने प्रयत्न गरेका छन् । यहाँ धर्मले नै ज्योतिष, आयुर्वेद, योग, वास्तु, नाट्य, सङ्गीत, ज्यामिति, अङ्कगणित, मूर्तिकला, अर्थशास्त्र, नीतिशास्त्र आदि विज्ञानका विधा जन्मायो । त्यसैले पूर्वीय सभ्यताको लागि धर्म, विज्ञान हो । यहाँ धर्म र विज्ञान पर्यायवाची हुन् । धर्म र विज्ञानमा केही भेद अवश्य छन् । धर्म, विम्ब, प्रतीक र काव्यको भाषामा बोल्दछ । विज्ञान, गणित र तर्कको भाषामा बोल्दछ । धर्मले स्वनिरीक्षणद्वारा सत्यबोध गर्दछ । विज्ञानले वस्तुगत अवलोकनद्वारा । खोज र अभिव्यक्तिका यी दुई खाले माध्यमका सबलता र दुर्बलता दुबै छन् । विम्ब प्रतीकको भाषा बुझ्न सरल हुन्छ तर यो भ्रष्टीकरण हुने सम्भावना हुन्छ । गणितको भाषा बुझ्न जटिल हुन्छ तर यसको निष्कर्ष ठोस हुन्छ ।

गणित अभिव्यक्तिको सिधा माध्यम पनि हो । जब ज्ञान सूक्ष्म तहमा प्रवेश गर्दछ, तब अभिव्यक्तिको सिधा (गणितीय) माध्यमले काम गर्दैन । त्यसपछि विम्ब, प्रतीक, काव्य, कथा, कहानीको सहारा लिनु जरुरी हुन्छ । पूर्वका तपस्वीहरूको ज्ञान ‘सूक्ष्म’ हुँदै ‘शून्य’ तहसम्म विस्तार भएको थियो । जसलाई सरल माध्यमबाट व्यक्त गर्न सम्भव भएन । तब उनीहरूले कथा कहानी, विम्ब, प्रतीक आदिको सहारा लिए । इतिहासको लामो कालखण्डमा यस्ता कथा कहानी, विम्ब र प्रतीकहरू भ्रष्टीकरण भए । यिनीहरूको अपब्याख्या भयो । ईश्वर वा धर्म जस्ता शब्दको नै गलत प्रयोग भयो । धर्मका नाममा सम्प्रदाय स्थापित गरियो । जातपात र छुवाछुत परम्परा स्थापित गरियो । त्यस्ता सम्प्रदायले कथा, कहानी, विम्ब र प्रतीकको गलत ब्याख्या र प्रयोग गरे । खासगरी सम्प्रदायहरूले तपश्चर्याको कृयाकलापलाई ‘ईश्वरभक्ति’ भनी अपब्याख्या गरे । यसलाई ईश्वर (सृष्टिकर्ता) खुसी पार्ने उपायको रूपमा चित्रण गरे । प्रतीकात्मक पुराण कथालाई नै वास्तविक घटना भनेर ब्याख्या गरियो । यिनै कथामा आधारित अनेकौँ फिल्महरू बनाइयो । जसमा अमुक ईश्वरको नाममा तपस्या गर्दा सम्बन्धित ईश्वर खुसी भएर वरदान दिएको र शक्ति हासिल भएका घटनाहरू देखाइयो । यस्ता कामले पनि पूर्वीय धर्म, विज्ञानविरोधी मात्र होइन, मानवविरोधी अन्यायी परम्परा हो भन्ने भ्रम सृजना भयो । धर्मका विषयमा भ्रम पैदा हुनुको अर्को कारण यान्त्रिक तथा भौतिकवादी दृष्टिकोण हो । भौतिकवादीहरूसँग ‘बोधज्ञान’ को अवधारणा नहुनु नै भ्रमको अर्को कारण हो ।

यथार्थमा धर्म र विज्ञान समानार्थी हुन् । विज्ञानको क्रान्तिले धर्म र ‘आधुनिक विज्ञान’ बिच सम्बन्ध भएको देखाएको छ । त्यसैले अव हामीले धर्मलाई अन्धविश्वास भनेर त्यतिकै छोड्न नमिल्ने भएको छ । विज्ञानको चर्चा गर्दा धर्मको विषय पनि जोड्न जरुरी भएको छ ।

हिजोआज ‘विकासे साहित्य’ मा ‘रैथाने ज्ञान परम्परा जोगाउनु पर्दछ’ भन्न थालिएको छ । प्राचीनकालका मानिसहरूमा पनि वैज्ञानिक चेत थियो भन्ने स्वीकारोक्ति हो यो । तर यो कसरी सम्भव भयो ? प्राचीनकालमा पनि वैज्ञानिक ज्ञान कसरी सम्भव भयो ? यो प्रश्नमा भने यस्ता मानिस मौन रहन्छन् वा प्रकृतिसँगको भयबाट प्रकृति पूजा जन्मियो, त्यही व्रmममा यस्ता रैथाने ज्ञान हासिल भयो भन्दछन् । यथार्थमा भयबाट विज्ञान कहिल्यै जन्मिदैन । होसपूर्ण खोजबाट मात्र जन्मन्छ । तपश्चर्याको विज्ञान नै त्यस्तो चिज थियो, जसले प्राचिनकालमा व्यवस्थित खोजबाट विज्ञानको जग बसाएको थियो । यसको पद्धति फरक थियो, तर भयबाट होइन, प्रकृतिप्रतिको प्रेम, होसपूर्ण खोज र आत्मीयताबाट नै रैथाने ज्ञान पैदा भएको थियो । ‘विकासे’हरूलाई यो पनि भ्रम छ कि, रैथाने ज्ञान केवल जीव, वनस्पति र कृषि जस्ता व्यवहारिक विधामा सीमित छ । यथार्थमा रैथाने ज्ञानले विशुद्ध विज्ञानका सबै विधालाई समेटेको छ । भौतिकशास्त्र, जीवशास्त्र, स्वास्थ्य विज्ञान, मनोविज्ञान, समाजशास्त्र, व्यवस्थापनशास्त्र र राजनीतिसम्मका विधामा रैथाने ज्ञान उपलव्ध छ । विभिन्न धर्मशास्त्रहरूमा उपलव्ध यस्ता ज्ञानलाई हिजोको शास्त्रीय विज्ञानले खण्डन गर्दथ्यो । तर आजको आधुनिक विज्ञानले समर्थन गर्दछ ।

विज्ञानको क्रान्तिसँगै आधुनिकता र धार्मिकता परिपुरक भएर देखा परेका छन् । विज्ञानको क्रान्तिले आधुनिकता र धार्मिकतालाई एकै ठाउँमा ल्याइदिएको छ । अब धर्मको चर्चा गर्दा त्यहाँ विज्ञान स्वतः आउने, विज्ञानको चर्चा गर्दा धर्म स्वतः आउने भएको छ । दर्शनशास्त्रको खोजमा धर्म र विज्ञान बराबर जोडिने भएका छन् । त्यसकारण धर्म र विज्ञानलाई एकै ठाउँमा चर्चा गर्नुपर्ने भयो । धर्मको अध्ययन गर्दा ध्यान दिनुपर्ने केही कुरा छन् । पूर्वीय समाजमा धर्मका अनेक मत वा पन्थ छन् तर तिनीहरूको सार सन्देश एउटै छ । पूर्वीय धर्मशास्त्रमा आउने विशेष शब्द छन्, जस्तो कि, ब्रह्म, आत्मा, परमात्मा, निर्वाण, पूर्वजन्म, पुनर्जन्म, परमज्ञान, बुद्धत्व, सन्यास, ईश्वर, भगवान्, देवता आदि । पूर्वको धर्मशास्त्रमा आउने केही नाम छन् । जस्तो कि, शिव, कृष्ण, इन्द्र, ब्रह्मा, बिष्णु, महेश्वर आदि । यी शब्द र नाम ब्यक्ति वाचक होइन, विम्बात्मक हुन् । खास अर्थमा यिनीहरूले अस्तित्बका निश्चित दिव्य गुणको प्रतिनीधित्ब गर्दछन् । यी शब्द वा विम्ब जे अर्थमा प्रयोग भएका छन्, सोही अर्थमा बुझ्दा मात्र धर्मको सही अर्थबोध हुने छ । यस विषयमा चौथो खण्डमा थप चर्चा गरिने छ । यहाँ धर्म र विज्ञानविचको अन्तरसम्बन्धबारे चर्चा गरिएको छ ।

पहिलो, आधारभूत खोज र पद्धतिबिचको अन्तरसम्बन्धः धर्म र विज्ञानको खोजीको विषय एउटै हो । पद्धति मात्र फरक हो । विज्ञानले जहिल्यै सत्यका सम्बन्धमा ‘के’ र ‘कसरी’ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गर्दछ । धर्मले पनि ‘के’ र ‘कसरी’ कै उत्तर खोज्ने प्रयास गर्दछ । विज्ञान ‘प्रयोग’ मा आधारित हुन्छ, धर्म ‘योग’ मा आधारित हुन्छ । ‘किन’ भन्ने प्रश्न विज्ञान र धर्म दुबैले उठाउँदैनन् । यसबारे ओशो भन्दछन् ः

हामी ‘के हो?’ को उत्तर खोज्न सक्छौँ । ‘कसरी’? को पनि हामी जवाफ दिन सक्छौँ । …त्यसैले विज्ञानले ‘के हो’? को उत्तर खोज्दछ र प्रयोगशालामा ‘कसरी’ को पनि उत्तर खोज्दछ । धर्म पनि ‘के हो’? को खोज गर्दछ र ‘योग’ मा ‘कसरी’? को पनि उत्तर खोज्दछ । त्यसैले धर्मको जुन व्यवहारिक अङ्ग छ त्यो ‘योग’ हो र विज्ञानको जुन व्यवहारिक अङ्ग छ त्यो ‘प्रयोग’ हो । हामी अस्तित्बलाई ‘किन’ छ ? भनेर प्रश्न सोध्नै सक्दैनौँ । अस्तित्व छ । बस् यतिमै कुरो सकियो । (ओशो, १९७०, गीता.भाग १, पृ २८३)

दोस्रो, ज्ञान प्रकृयाबिचको अन्तरसम्बन्धः ज्ञान प्रकृयाका हिसाबले धर्म र विज्ञान केही फरक छन् । तर अन्तरसम्बन्धित पनि छन् । विज्ञान वस्तुगत अवलोकनमा आधारित हुन्छ र यसले तार्किक ज्ञानलाई ज्ञानको मूल स्रोत मान्दछ । यसमा तीन किसिमका ज्ञान पर्दछन् । पहिलो, वैज्ञानिक प्रयोग, दोस्रो ‘प्रकृतिसँगको सङ्घर्ष’ र तेस्रो सामाजिक अनुभव । विज्ञानका लागि ज्ञान हासिल गर्ने यिनै तीन प्रकृया हुन् । आत्मिक ज्ञान यसका लागि गौण महत्वको कुरा हो । धर्मले पनि ज्ञानका स्रोतलाई तीनओटै भागमा देखाउँछ । पहिलो, अनुमान ज्ञान, दोस्रो प्रत्यक्ष ज्ञान र तेस्रो बुद्ध पुरुषका वचन । (पतञ्जली योग सूत्र ७) माथिका तार्किक ज्ञानका तीनओटै स्रोतलाई धर्मले ‘अनुमान ज्ञान’ भित्र समेट्छ । ‘अनुमान ज्ञान’ भनेको नै वैज्ञानिक ज्ञान हो । जुन हाम्रो मस्तिष्कको त्यो परिधिमा आउँछ जहाँ विभेद, बिभाजन, तुलना, मापन र वर्गीकरण हुन्छ । हरेक चिजभित्र ‘विपरीत तत्व’ देखिन्छ । बौद्धहरू यसलाई सापेक्ष ज्ञान भन्दछन् । उपनिषदमा यसलाई ‘माया’ भनिएको छ । अमुर्तता यो ज्ञानको विशेषता हो । जसको एकलरेखीय अनुक्रमिक संरचना हुन्छ । (काप्रा,२०१४)

धार्मिक ज्ञानका बाँकी दुई शाखाले विज्ञानको सीमा अतिक्रमण गर्दछन् । प्रत्यक्ष ज्ञान भन्नाले तपश्चर्याका माध्यमबाट प्राप्त भएको बोधजन्य आत्मिक ज्ञान हो । बुद्ध पुरुषका वचन भन्नाले तपश्चर्याका माध्यमबाट परमसत्यको बोध गर्न सफल व्यक्तिहरूले बोलेका कुराहरू हुन् । तिनीहरूलाई पनि यहाँ ज्ञानको उस्तै महत्वपूर्ण स्रोत मानिन्छ । यसरी धर्मले ज्ञान सम्बन्धी धारणालाई विज्ञानभन्दा फराकिलो दायरामा विस्तार गर्दछ ।

यद्धपि धर्म र विज्ञान दुबैले ज्ञानका मूलभूत दुई खण्ड हुन्छन् भन्ने कुरा स्वीकार गर्दछन् । पहिलो तार्किक–ज्ञान र दोस्रो आत्मिक–ज्ञान । समग्र ज्ञान प्रकृयामा दुबै पद्धति अन्तरसम्बन्धित छन् भन्ने कुरा पनि धर्म र विज्ञान दुबैले स्वीकार गर्दछन् । सामान्यतया वस्तुगत अवलोकनको पद्धतिमा काम गर्ने अनुसन्धानकर्ताले कहिलेकाहीँ आत्मिक ज्ञानको सहारा लिनु पर्दछ । स्वनिरीक्षणको पद्धतिमा काम गर्ने तपस्वीले पनि खास अवस्थामा शरीर अर्थात्् सांसारिक वस्तुको आलम्बन उपयोग गर्नै पर्दछ । (काप्रा,२०१४)

यो तथ्य अनुसन्धान पद्धतिहरूमा पनि लागु हुन्छ । जस्तो कि, अनुसन्धानका चलनचल्तीका दुई विधि छन् । आगमनात्मक विधिले क्रमशः तथ्य सङ्कलन, अवलोकन र निष्कर्षको प्रकृया अपनाउँछ । निगमनात्मक विधिले क्रमशः परिकल्पना, प्रयोग र निष्कर्षको विधि अपनाउँछ । यी दुबै वौद्धिकस्तरका विधि नै हुन् । तैपनि कहिलेकाहीँ यस्तो हुन्छ कि, आगमनात्मक विधि अपनाइरहेको अनुसन्धानकर्ताले जति प्रयास गर्दा पनि समीकरण हल भइरहेको हुँदैन । अनि कुनै खास समयमा अकस्मात समाधान घटित हुन्छ । जस्तो कि, आर्केमिडिजलाई हठात् गणितको समाधान फुर्नु । कविलाई कविता फुर्नु । सङ्गीतकारलाई नयाँ धुन फुर्नु । यी आगमनात्मक विधिमा पनि आत्मिक–ज्ञान उपयोग हुनसक्ने उदहरण हुन् । त्यस्तै निगमनात्मक विधिमा काम गर्ने अनुसन्धानकर्ताले अनुसन्धानको शुरुवातमै तयार गर्ने परिकल्पनाको चरणमा बढीभन्दा बढी वस्तुगत बन्नै पर्दछ । सूचनाहरूको विश्लेषण गर्नै पर्दछ । यसरी निगमनात्मक विधिमा पनि तार्किक ज्ञानको उपयोग गरिन्छ । (काप्रा,२०१४)

ठिक यसरी नै धर्मका (तपश्चर्या) लागि पनि शरीरको आलम्बन जरुरी हुन्छ । धर्मको पद्धतिचाहिँ संसार वा शरीरबाट पुरै काटिएको हुन्छ भन्ने होइन । तन्त्र साधनाका ११२ ओटा विधिको शुरुवातमा कहीँ न कहीँ शरीर वा संसारको खास चिजलाई आलम्बन बनाउने र खास अवस्थामा ‘फड्को हान्ने’, अर्थात्् संसारको ‘अतिक्रमण गर्ने’ भन्ने धारणा हुन्छ । ध्यानका सबै विधिहरूले शुरुवातमा शरीरका खास अङ्गहरूलाई आलम्बन बनाउँछन् । (ओशो, शरीर, २००८) आत्मिक–ज्ञान प्रधान हुने पद्धतिमा पनि भौतिक तत्व वा सांसारिक ज्ञानको उपयोग गर्र्नै पर्दछ । यसरी ज्ञान प्रकृयाका हिसाबले पनि धर्म र विज्ञान अन्तरसम्बन्धित छन् ।

तेस्रो, विशुद्ध विज्ञान र प्रायोगिक विज्ञानबिचको सम्बन्धः हरेक विशुद्ध विज्ञानका व्यवहारिक विज्ञान हुन्छन् । जस्तो कि, भौतिकशास्त्रको व्यवहारिक विज्ञान, इन्जिनियरिङ हो । रसायनशास्त्रको व्यवहारिक विज्ञान, औषधि विज्ञान हो । त्यसै गरी धर्म पनि विशुद्ध विज्ञान हो । पूर्वको धर्मले भौतिकशास्त्र, जीवशास्त्र, मनोविज्ञान र समाजशास्त्र जस्ता विषयमा निश्चित नियमहरूको ब्याख्या गर्दछ । त्यसैले यसलाई विशुद्ध विज्ञान नै मान्नु पर्ने हुन्छ । र यसका प्रायोगिक विज्ञान पनि छन् । जस्तो कि, वास्तुशास्त्र, ज्योतिष, आयुर्वेद आदि धर्मका प्रायोगिक विज्ञान हुन् । यसरी हेर्दा पनि धर्म विज्ञानसँग अन्तरसम्बन्धित छ भन्ने देखिन्छ ।

चौथो, दर्शनशास्त्रसँगको सम्बन्धः दर्शनशास्त्रसँगको सम्बन्धको हिसाबले पनि धर्म र विज्ञान अन्तरसम्बन्धित छन् । दुबैले ‘किन’ भन्ने प्रश्न नै उठाउँदैनन् । ‘किन’ भन्ने प्रश्नलाई यी दुबैले व्यर्थको प्रश्न मान्दछन् वा दर्शनशास्त्रसँग सम्बन्धित प्रश्न मान्दछन् । यसबारे ओशो भन्दछन्:
विज्ञानले किन भन्ने प्रश्न उठाउँदैन । विज्ञानले सोध्छ ‘के हो’ ? यसकारण विज्ञान अँध्यारो गल्ली होइन । धर्म पनि ‘किन’ भनेर प्रश्न उठाउँदैन । धर्म पनि सोध्छ ‘के हो’ ? (त्यसैले) विज्ञान र धर्म धेरै निकट छन् । विज्ञानको पनि यदि दुश्मनी छ भने दर्शनशास्त्रसँग छ । धर्मको पनि यदि दुश्मनी छ भने दर्शनशास्त्रसँगै छ । तर आमतौरमा मानिसहरू यस्तो सोच्दैनन । मानिसहरू ठान्छन् कि, धर्म त एक दर्शनशास्त्र नै हो । धर्म बिलकुल दर्शनशास्त्र होइन । धर्म एक विज्ञान हो । धर्मले प्रश्न उठाउँछ ‘के हो’ ? ‘किन’ ? होइन । किनकि, धर्मले बुझेको छ कि अस्तित्वबाट ‘के हो’ ? को उत्तर मिल्छ । ‘किन’ ? को कुनै उत्तर मिल्दैन । विज्ञान पनि प्रश्न उठाउँछ ‘के हो’ ? विज्ञान सोध्छ, पानी के हो ? उत्तर हाइट्रोजन र अक्सिजन । हाइट्रोजन र अक्सिजन किन मिल्छन् ? तपाईँले सोध्नु भयो भने वैज्ञानिकले भन्ने छ – दार्शनिकसँग सोध । (ओशो, १९७०, गीता. भाग १,पृ २८२)

दर्शनशास्त्र विज्ञानको जगमा नै खडा भएको हुन्छ तर विज्ञान र दर्शनशास्त्र एउटै विषय होइनन् । त्यसैले ‘पूर्वीय धर्म’ र ‘पूर्वीय दर्शन’ पनि फरक विषय हुन् । यहाँ पूर्वीय धर्म भनेर वेदान्त, मिमांशा, वैशेषिक, न्याय जस्ता पूर्वीय दर्शनको चर्चा गर्न खोजिएको होइन । विशुद्ध विज्ञानको चर्चा गर्न खोजिएको हो । तर यो चर्चाले नै हामीलाई दर्शनशास्त्रको ‘जैविक ढाँचा’ निर्माण गर्न मद्दत गर्ने छ ।

पाँचौं, नीतिशास्त्रसँगको सम्बन्धः कुन विषय नैतिक र कुन अनैतिक हो ? यो कहिल्यै पनि विज्ञानको सरोकारको विषय बन्दैन । किनकि, विज्ञान नीतिशास्त्र होइन । विज्ञानले विशुद्ध नियमका कुरा गर्दछ । सत्यको खोजको कुरा गर्दछ । ती नियम वा खोज समाजका लागि नैतिक वा अनैतिक दुबै हुन सक्छन् । नैतिक–अनैतिक छुट्याउने र कुन विज्ञानलाई कसरी उपयोग गर्ने भनेर टुङ्गो गर्ने जिम्मा नीतिशास्त्रीको हो । दोस्रो कुरा, विज्ञानले न्याय–अन्याय हेर्दैन । यसले जहिले पनि समाजका सबैभन्दा राम्रा प्रतिभाको माग गर्दछ । तर नीतिशास्त्र जहिले पनि समाजको कमजोर व्यक्तिलाई ध्यानमा राखेर बनाउनु जरुरी हुन्छ । अर्थात्् न्याय–अन्याय छुट्याउने जिम्मा नीतिशास्त्रीकै हो । यसरी विज्ञान र नीतिशास्त्रको गुण र दिशा अलग हुन्छ । (ओशो, १९७०, गीता.भाग १) पूर्वको धर्म र नीतिशास्त्रबिचको सम्बन्ध पनि यस्तै नै छ । धर्मले विशुद्ध नियमको कुरा गर्दछ । यसले भौतिक संसारको उत्पति र प्रलयको नियमको कुरा गर्दछ । जन्म, मृत्यु र मोक्ष वा निर्वाणसँग सम्वन्धित नियमको कुरा गर्दछ । युग परिवर्तनका नियमहरूको कुरा गर्दछ । के सापेक्ष सत्य हो र के निरपेक्ष सत्य हो ? के माया (अधुरो सत्य) र के परम सत्य हो ? यसको परिभाषा गर्दछ । उसका यी निष्कर्षले समाजमा कसलाई कस्तो असर पर्दछ यतातिर धर्मको चासो हुँदैन । यो चासो राख्ने काम नीतिशास्त्रीहरूको हो । (ओशो, १९७०, गीता. भाग १)

पूर्वमा बुद्ध, महावीर, कृष्ण जस्ता पात्रहरूको स्थान, भूमिका र महत्व अलग हो । मनु, कौटिल्य जस्ता पात्रहरूको स्थान, भूमिका र महत्व अलग हो । यसबारे पनि ठूलो भ्रम छ । बुद्ध महावीर, कृष्ण जस्ता पात्र नीतिशास्त्री होइनन् । उनीहरूका वचन विशुद्ध विज्ञानसँग सम्बन्धित छन् । उनीहरूको भूमिका वैज्ञानिकको जस्तो हो । तर मनु र कौटिल्य जस्ता पात्रहरू नीतिशास्त्री हुन् । उनीहरूका शास्त्र र वचन धर्म होइन । उनीहरूका वचन नीतिशास्त्र हुन् । (ओशो, १९७०, गीता.भाग १) यहाँ पूर्वीय धर्म भनेर मनुस्मृति वा कौटिल्यको अर्थशास्त्रको चर्चा गर्न खोजिएको होइन । भौतिकशास्त्र, जीवशास्त्र, मनोविज्ञान तथा समाजशास्त्रका नियमहरूको चर्चा गर्न खोजिएको हो । तर यो चर्चाले हामीलाई वैकल्पिक सामाजिक नीति–नीर्माणमा भने मार्गदर्शन गर्ने छ ।

छैँठौं, ज्ञानको स्वामित्बको प्रश्नः विज्ञान र धर्ममा ज्ञानको स्वामित्व सम्बन्धी प्रश्नमा विगतमा फरक धारणा थिए । पछिल्लो समय यस विषयमा पनि समान धारणा बन्दै गएको छ । विज्ञानको परम्परामा जसले जे खोज्छ वा पत्ता लगाउँछ, त्यसका लागि उसले आफ्नो स्वामित्वको दाबी गर्दथ्यो । अर्थात्, खास नियमका लागि खास वैज्ञानिकको नाम जोडिन्थ्यो । जस्तो कि, गतिका नियमका लागि न्युटनको नाम जोडिन्छ । सापेक्षता सिद्धान्तका लागि आइन्स्टाइनको नाम जोडिन्छ । तर धर्ममा यस्तो दाबी गरिँदैन । बरु आफ्नो योगदानलाई इन्कार नै गरिन्छ । उपनिषदमा लेखकको नाम उल्लेख छैन । यसलाई अपौरुषेय (व्यक्तिले नलेखेको) भनिएको छ । यसका पछाडि खास कारण छ र यस्तो कारणबारे पछिल्लो समय वैज्ञानिकहरू पनि सहमत हुन थालेका छन् । यस सम्बन्धमा ओशो भन्दछन्:
आजभन्दा पचास वर्ष अगाडिका वैज्ञानिक भन्थे, जे खोजियो त्यो मैले खोजेँ । आज यसो भन्दैनन् । आज उनीहरू भन्दछन्, हाम्रो सामथ्र्यभन्दा बाहिर छ सबैथोक । आजका वैज्ञानिक उति नै रहस्यवादीको भाषामा बोलीरहेका छन्, जति सन्तहरू बोल्ने गर्दथे । त्यसैले हतार नगर्नुस्, सय वर्षपछि वैज्ञानिकहरू ठिक उही भाषा बोल्ने छन्, जुन उपनिषदले बोलेको छ । यदि हामीले जगत््का सारा ठूला वैज्ञानिकहरू आइन्स्टाइन, मेक्स प्लाँक, वा एडिटन वा एडीसन, आदिका, यिनीहरू सबैको अनभुव पढ्ने हो भने सबैको अनुभव यस्तो छ कि, जे पनि हामीले जान्यौँ, त्यो हामीले जानेको होइन । निरन्तर यस्तो भएको छ कि, जब हामीले जान्यौ त्यो वेला हामी अनुपस्थित थियौँ, तर ज्ञान घटित भयो । पूर्वमा शास्त्रलाई अपौरुषेय भन्नुको अर्थ यो सब ईश्वरले लेखे भन्ने होइन, यसको मतलब यति हो कि, जुन व्यक्तिमाथि यो घटित भयो (लेख्यो) त्यो समय ऊ स्वयम् अनुपस्थित थियो । जब घटना घट्यो, उपनिषदको वचन कसै मार्फत, अभिव्यक्त भयो, मोहम्मदमार्फत् कुरान अभिव्यक्त भयो, जीससमार्फत् वाइवल अभिव्यक्त भयो त्यो वेला स्वयम् उनीहरू अनुपस्थित थिए । (ओशो, १९७०, गीता, भाग १, पृ ४३÷४४)

स्वामित्व दावी गर्ने कुरा ज्ञानप्रकृयाको बुझाइसँग सम्बन्धित छ । हिजो ज्ञान प्रकृयावारे यान्त्रिक बुझाइ हुँदा वैज्ञानिकले स्वामित्वको दाबी गरे । तर प्रकृतिका रहस्यहरू व्यक्तिमा अभिव्यक्त हुने प्रकृया नै यस्तो रहेछ कि, व्यक्तिमा गहिरो ज्ञान उत्रिरहेको वेला व्यक्तिको अहम लुप्त भएको हुनेरहेछ । माथि आर्केमिडिजको प्रसङ्ग उल्लेख गरि सकिएको छ । जतिबेला उनलाई गणितको समाधान फु¥यो, त्यो बेला उनी स्नानगृहमा थिए । ‘युरेका युरेका’ भन्दै बाहिर दौडँदा आपूm निर्वस्त्र भएको उनले थाहा नै पाएनन् । यसको कारण यति नै हो कि, त्यो बेला उनी अहम् अवस्थामा थिएनन् । गहिरो ज्ञान व्यक्तिमा उत्रिरहेको बेला व्यक्ति अहम् शून्य अवस्थामा हुन्छ । यस सम्बन्धमा ओशो भन्दछन् ः
धर्म र विज्ञानको अनुभव भिन्न भिन्न छैन । हुन सक्दैन । किनकि, विज्ञानमा कुनै सत्य पैदा हुन्छ, त्यस्तो सत्य पैदा हुने मार्ग धर्ममा पनि त्यही हो । सत्य पैदा हुने एउटै मार्ग छ, जब व्यक्ति अनुपस्थित हुन्छ तब परमात्माबाट सत्य उत्रिन्छ । हामीभित्र ठाउँ खाली हुन्छ, त्यो खाली ठाउँमा सत्यले प्रवेश गर्दछ । दुनियाँमा कुनै पनि ढङ्गबाट चाहे सङ्गीतज्ञ, चाहे कोही चित्रकार, चाहे कुनै वैज्ञानिक, चाहे कुनै धार्मिक, चाहे कुनै रहस्यवादी, दुनियाँमा जस–जसले सत्यको किरण प्राप्त गरेका छन्, उनीहरूले तब प्राप्त गरेका छन्, जब ती स्वयम् अनुपस्थित थिए । यो धर्मलाई त बहुत पहिले नै महसुस भएको हो । तर धर्मको अनुभव दश हजार वर्ष पुरानो हो ।…विज्ञानको उमेर नयाँ छ, भरखरै दुई तीन सय वर्षको । तैपनि दुई तीन सय सालमा वैज्ञानिक विनम्र भएका छन् । (ओशो, १९७०, गीता, भाग १, पृ ४३)

गहिरो ज्ञान अनायास हासिल हुन्छ । यो धर्म र विज्ञान दुबैले स्वीकारेको कुरा भयो । तर धर्म र विज्ञानमा फरक यो छ कि, अज्ञातबाट ज्ञान उत्रिने प्रकृया वैज्ञानिकहरूमा अचेतन ढङ्गले घटित हुन्छ । धर्ममा त्यसलाई सचेतन प्रयत्नद्वारा हासिल गर्ने प्रयत्न गरिन्छ । त्यही प्रयत्नलाई नै ध्यान वा तपश्चर्या भनिएको छ । (ओशो, गीता दर्शन) ज्ञान प्रकृयासँग सम्वन्धित यो धार्मिक (तपस्वी) बुझाइ अब वैज्ञानिक जगत््का लागि पनि स्वीकार्य हुँदैछ । यहाँ पनि विज्ञान र धर्म निकट आउँदै छन् ।

सातौं, सत्य, गहिरो मेहनतको फलः विज्ञानमा उपपरमाणु सम्बन्धी प्रयोगलाई दोहो¥याउन व्यक्तिलाई वर्षौँको प्रशिक्षणको आवश्यकता हुन्छ, तब मात्र कुनै प्रश्न विशेषमाथि परीक्षण गरेर त्यसको उत्तर प्राप्तिमा सफलता मिल्छ । यस्तै प्रकारले धर्ममा पनि एक गहिरो रहस्यात्मक अनुभूति प्राप्त गर्न सफल हुन सामान्यतः अनुभवसिद्ध गुरुको मार्गदर्शनमा बर्षौँ साधना र प्रशिक्षण हासिल गर्न जरुरी हुन्छ । दुबै प्रकृयामा सफलताको कुनै ग्यारेन्टि हुँदैन । यसरी विज्ञानको प्रयोग र धर्मको योग दुबैले प्रकृति अवलोकनको अत्यन्त जटिल प्रणाली बिकसित गरेका छन् । जो सामान्य व्यक्तिको ज्ञानको परिधिको बाहिर हुन्छ । (काप्रा, २०१४)

आठौँ, सत्य भाषातीत हुन्छः गहन सत्य भाषामा व्यक्त गर्न सकिँदैन । यो आजको आधुनिक विज्ञान र तपस्वी विज्ञान दुबैले स्वीकार गर्ने कुरा हो । विज्ञानका स्थूल विषयहरू सार्वजनिक गर्न सकिन्छ । दस्तावेजमा सूत्रबद्ध गर्न सकिन्छ । यसबारे प्रमाण दिन सकिन्छ । तर वैज्ञानिकहरू भन्दछन्, उपपरमाणु तहका परिघटना भाषामा व्यक्त गर्न कठिन हुन्छ । त्यसैगरी तपस्वीहरू पनि भन्दछन्, ब्रह्मज्ञान वा निर्वाण वा परमज्ञान भाषातीत हुन्छ । बर्नर हाइजेन्वर्ग भन्दछन् ‘जब हामी परमाणुको संरचनाको वारेमा बताउन खोज्छौँं, तब सामान्य भाषामा केही पनि ब्यक्त गर्न सकिदैन । साँच्चै नै यहाँ भाषाको समस्या जटिल हुन्छ ।’ (काप्रा, २०१४, पृ ५९, उद््धृत गरिएको) लाओत्से भन्दछन्, ‘जे सत्य हो त्यो भाषामा व्यक्त गर्न सकिँदैन । जे भाषामा बताउन सकिन्छ, त्यो सत्य होइन ।’ (ओशो, ताओ १९७५, प्र. १, उद््धृत गरिएको)

नवौँ, शास्त्रीयता दुबैको दुश्मनः धर्म र विज्ञान दुबैको शुद्धताका लागि एउटै शर्त छ, यसले बुद्धिको तहमा होइन, बोधको तहमा उठ्नु पर्दछ । यसो नहुँदा दुबै शास्त्रीयतामा फस्छन् । विज्ञानमा आज ठिक यही भएको छ । अर्थात्् बुद्धिको तहबाट निर्माण गरिएको विज्ञानलाई आज शास्त्रीय विज्ञान भन्न थालिएको छ । धर्ममा पनि यही हुन्छ, भइरहेको छ । धर्ममा बुद्धि हाबी भयो भने त्यस्तो धर्म शास्त्रीयतामा फस्छ । हरेक व्यक्ति धार्मिक बन्न बुद्धिभन्दा माथि बोधको तहमा उठ्नु पर्दछ । ओशो भन्दछन् ः
दुनियाँमा धर्मको सबैभन्दा ठूलो दुश्मन यदि कोही छ भने त्यो अर्धम होइन, धर्मशास्त्र हो । धर्मको सबैभन्दा धेरै शत्रुता शास्त्रीयतामा छ । त्यसैले जो मानिस शास्त्रीयतामा जिउँछन् ती कहिल्यै धार्मिक हुन सक्दैनन् । यसको कारण छ । किनकि, धर्म बुद्धिभन्दा माथिको चिज हो र शास्त्र सदा बुद्धिभन्दा मुनिको चिज हो । शास्त्र बुद्धि भन्दामाथि जाँदैन, बुद्धि धर्म सम्म पनि जाँदैन । (ओशो, १९७०, गीता, भाग १, पृ १००)

दशौ, प्रेमको अभिव्यक्तिः आज प्रचलित समाजशास्त्रले भन्दछ, मानिसभित्रको भयका कारणले धर्म पैदा भएको हो । शास्त्रहरू पनि यस्तै भयका कारण नै पैदा भएका हुन् । तर पूर्वीय ऋषीहरू यो कुरा मान्न तयार छैनन् । ऋषिमान्यता अनुसार इतिहासमा धर्म एउटा क्रान्तिकारी प्रकृयाबाटै पैदा भएको थियो । प्रकृतिप्रतिको भयबाट होइन, प्रकृतिप्रतिको गहिरो आत्मीयता र प्रेमबाट धर्म पैदा भएको थियो । शास्त्रहरू पनि प्रकृतिप्रतिको प्रेमबाटै पैदा भएका थिए । पछि त्यही क्रान्तिकारी प्रकृया रुढीवादी परम्परामा रूपान्तरण भयो । तिनै शास्त्रहरू शास्त्रीयतामा सीमित भए । (ओशो, १९७२ सर्बसार उपनिषद )विज्ञान पनि प्रेमकै अभिव्यक्ति हो । विषयप्रतिको प्रेम बिना कोही पनि वैज्ञानिक बन्न सक्दैन । यसरी लगावका दृष्टिले पनि धर्म र विज्ञान अन्तरसम्बन्धित छन् ।

एघारौं, सबलता र सीमाः विज्ञानको सबलता यो हो कि विज्ञान तर्क, गणित र बुद्धिका माध्यमबाट जान्न सकिन्छ । यसको ज्ञानलाई सार्वजनिक गर्न सकिन्छ । तर यसका सीमा पनि छन् । विज्ञान पदार्थ–ज्ञानमा सीमित हुन्छ । यो बढीमा स्थूलबाट सूक्ष्मसम्म जान सक्छ । त्यसपछि विज्ञानको यात्रा अवरुद्ध हुन्छ । यो विज्ञानको सीमा हो । त्यस्तै तपस्वी–ज्ञानको सबलता यो मानिन्छ कि, तपस्वी विज्ञानले पदार्थ जगतकै अतिक्रमण गर्न सक्दछ । यो स्थूलबाट क्रमशः सूक्ष्म र शून्य तहसम्म पुग्न सक्छ । निरपेक्ष सत्य वा परमसत्य बोधसम्म पुग्न सक्दछ । तर यसका पनि सीमा छन् । तपस्वी ज्ञान वैयक्तिक अनुभवमै सीमित रहन्छ । यो धर्मको सीमा हो । (काप्रा २०१४)

सारमा धर्म र विज्ञान दुई फरक विषय होइनन् । पद्धति फरक भए पनि धर्म र विज्ञान एउटै सिक्काका दुई पाटा हुन् । दुबैले जीवन र जगत््का गहिरा रहस्यहरूको खोज गर्दछन् । जीवन र जगत््का गहिरा रहस्यहरूलाई समान ढङ्गले अन्तरबोध गर्दछन् । जैविक दर्शनको संस्लेषणमा आधुनिक विज्ञान र धर्म–विज्ञान दुबै बराबर उपयोग हुने छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button