
निर्वाचनमा जनताले दिएको खास ‘डिसिजन एन्ड मेसेज’ के हो ?

आमनिर्वाचनकाे परिणामप्रति निजात्मक टिप्पणी: राजनीतिमा आफ्ना पात्रहरूमार्फत् एकाधिकार प्रभाव कायम गर्ने बाह्य चेष्टा तुहियाे तर सत्ता राजनीतिकाे घुम्नेमेचमा चालकीय चलखेल प्रभाव कायमै !
अरविन्द रिमाल
आम निर्वाचनमा गाेप्य मतदानकाे आफ्नै रहस्य, आफ्नै महत्त्व हुनेगर्ने कुरा यसपाला पनि धेरै हदमा प्रमाणित भयाे ।
वर्तमान संविधानमा अनेक गम्भीर त्रुटिकमजाेरी हुँदाहुँदै पनि संसदीय व्यवस्थाले आफ्नाे निर्देशित कार्यकाल पूरा गरेर संस्थागत दिशा लिनेतर्फ सकारात्मक फड्काे मार्ने धाेकाे थियाे, आशा र विश्वास कताकता पलाएकाे थियाे, जनसाधारणमा । तर, नेपाल कम्युनिष्ट पार्टी- एमालेका अध्यक्ष, प्रधानमन्त्री के. पी. शर्मा ओेलीकाे पार्टीगत व्यवहारमा अपरिपक्वता, दुईतिहाई बहुमतकाे अहङ्कार, आडम्बर र दम्भका कारणले गर्दा उब्जेका घटनाक्रमबाट नेपालकाे राजनीतिक व्यवस्थालाई अस्थिरतातर्फ लैजान चाहने बाह्य शक्तिकेन्द्रकाे खुँदाे पल्टियाे ! यसबारे आफैँले अनेकपटक धेरै चर्चा गरिसकेकाेले यसलाई दाेहार्याउन आवश्यक छैन ।
त्यसपछि अवाञ्छनीय मात्र नभई अनिष्ट पनि चरित्र रहेकाे सत्ता गठबन्धनकाे परमादेशी राज स्थापित भयाे । त्यसले अब त आफ्नाे राज अबाध रूपमा चल्ने भयाे भन्ठान्दै भाँतिभाँति राष्ट्रघाती, अधम काम गर्दागर्दै पनि “नियमकाे खेल” नखेलिरहन सकेन, र त्याे आम निर्वाचनमा हाेमिन बाध्य भयाे । यस्ताे अन्याेल, भाँडभैलाे, चरम वितृष्णामा हुन गइरहेकाे आम निर्वाचन परिणामलाई आफ्ना कुटिल स्वार्थमा लगाउन बाह्य शक्तिकेन्द्रहरू चुकेनन् । तिनीहरू अनेक कार्यनीति- रणनीति तयार र लागू गर्नमा जुट्दै तिनले याेजनाबद्ध ढङ्गले मिथ्याप्रचार, दुष्प्रचार, कुप्रचार आदि अस्त्रशस्त्र प्रयाेग गरे । यिनकाे प्रभाव र नियन्त्रण क्षेत्रबाट देशभित्रका कुनै पनि राजनीतिक, मिडीया, सामाजिक सञ्जाल, आदि प्रभावित नभईरहन सकेनन् । फलत: सत्तासीन र सत्ता बाहिरका थरिथरिका राजनीतिक मठाधीशहरू पनि आफू नै सर्वेसर्वा ठानेर मानाैैँ याे सत्ता हानथापकाे भाेर जुवाझैँ, उन्मादी ढङ्गले उत्रिए, जबकि तिनकाे भूमिका नदेखिँदाे पाराले गाैण थिए र मूलपात्र बाह्य खेलाडी थिए ।
एक्कलकाँठे भाेर जुवा जिताउने चालवाजी !
नेपाल देशकाे अत्यन्त गहन भू- राजनीतिक महत्त्व बुझेका अमेरिकाकाे CIA, भारतकाे RAW जस्ता बाह्य जासूसी निकायहरूले मिलिजुली वा एक्लैले आफ्ना सत्ताधारी गठबन्धनका खासखास मतियारहरूलाई नै पूरापूर भाेर जुवा जिताउने याेजनामा लागे । बेलायतकाे कुख्यात जासूसी संस्था MI-6 ले पनि आफ्नाे “याेगदान पुर्याएकाे” बताइरहन पराेइन । चिनियाँहरू पनि लागे हाेलान् ! तर तिनकाे प्रभाव शून्यप्राय: रहेकाेमा दुई मत हुनसक्दैन ।
नेपाल कम्युनिष्ट पार्टी- एमाले नेतृत्वमा पनि अनेक ताैरतरिकाबाट आफ्नै प्रभाव राखिआएका भारतीय- पश्चिमी जासूसी सन्यन्त्रहरू एमालेलाई नै चुनावकाे माध्यमद्वारा धराशायी गर्नमा मुख्यत: जुटेकाे पनि कुनै रहस्य भएन । तर यस्ता विस्थापनकारी कर्तूतमा “अब्बल” रहिआएका निकायहरू पनि यस पटककाे निर्वाचन परिणामबाट चित् खाए भनेमा अत्युक्ति नहाेला ! त्यसैले सन् २०१७काे चुनावी परिणाम “चिनियाँ पक्ष”मा भएकाे, सन् २०२२ का चाहिँ “भारतीय पक्ष”मा गएकाे भन्ने निष्कर्ष तथ्यगत देखिन्न । “चिनियाँ पक्ष” नेपालकाे राजनीतिमा संस्थागत रूपले बलियाे वा प्रभावी कहिल्यै रहेकाे पाइन्न, जबकि CIA र RAW मिलिजुली वा बेग्लाबेग्लै ढङ्गले अपवाद विना सबै पार्टीमा सक्रिय छन् नै !
तर नेकपा- एमाले नेतृत्वमा चीनसँगकाे बहुआयामिक सम्बन्ध र मित्रता नेपालकाे सार्वभाैमिक तथा स्वाधीन अस्तित्वका लागि अपरिहार्य तत्त्व हाे भन्ने मान्यता र विश्वास रहेकाे पाइन्न ! त्यसले चिनियाँ सहयाेगलाई अनिवार्य तवरले आफ्नै पक्षमा रहने जुन मान्यता बनाएकाे थियाे हाेला त्याे त भ्रान्ति रहेकाे ओली सरकारकाे पतनताका प्रस्टै देखियाे, यद्यपि मान्छे चिन्नमा अनुभवी भन्ठानिने चिनियाँहरू पनि ओली विपरीत “नयाँ मित्र” राेजेर चित् खाएकै हुन् ! यसकाे दृष्टान्तकाे रूपमा The Rising Nepal काे 2021 July 21 काे OP-ED लेख हेरे हुन् ।
यी त पृष्ठभूमिका कुरा ! अब मूल विषयमा आओेँ । मेरा सद्गुरुदेव स्वामी सत्यदेवले नेपाली काङ्ग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद काइरालाकाे र नेकपा- एमालेका अध्यक्ष- प्रधानमन्त्री मनामाेहन अधिकारीकाे प्रधानमन्त्रीत्व नेतृत्वकालकाे सन्दर्भमा २०५८ सालकाे असाेजमा सत्सङ्गका बेला भनेका शब्दहरू आज पनि कानमा गुञ्जिएकै लाग्दछन् ! पहिलाकाे माम्लामा उनले भनेका थिए: “नालायकहरूलाई सत्तामा ल्याउनेहरू पामर हुन् ।”
“पद- सत्तामा भएका व्यक्तिहरू इमान्दार भए भने देशकाे स्वत: विकास हुन्छ ! बल प्रयाेग गरेर आफ्नाे प्रतिपक्षकाे हत्या गर्नु, आफ्नाे हातमा सत्ता आएकाे बेला कसैलाई केही नठान्नु राजनीतिक मठाधीशहरूकाे स्वभाव बन्न पुगेकाे छ । मानवताकाे लागि याे ठूलाे खतरा हाे ।”
मनमाेहन सन्दर्भमा: “आफू संसदमा ठूलाे दल भए पनि अल्पमतकाे सरकार बनाउँदा उनीहरूले आफ्ना राजनीतिक बैरीहरूलाई तटस्थ, तटस्थहरूलाई मित्र, मित्रहरूलाई अरु घनिष्ठ तवरले दाैँतरी, अनि तिमीहरू नै के भन्छाै नि, कमरेड, हाे बनाउनु पर्नेमा उल्टाे काम पाे गरे। त्यसकारण, एउटा नाैलाे ऐतिहासिक राजनीतिक अभ्यासमा आघात भएकाे हाेइन ?”
यही तथ्यलाई दृष्टिगत गरेर हाेला गुरुदेवले एकदिन यी कुरा भने: “धेरै धनजनहरूकाे हानी गरेर थाेरै भाैतिक लाभ हासिल गर्नु साम्यवादीहरूकाे ‘उपलब्धि’ देखिएकाे छ ।”
उनले एकदिन यी कुरा पनि थपे: “ब्राह्मणवाद, लामावाद, माैलवीवाद, पादरीवाद वा कामरेडवाद सवै अभावमा एक किसिमले, भावमा अर्कै किसिमले रङ्ग बदल्ने छेपाराहरू जस्ता हुन् ।” भनिरहन पराेइन, यी विशेषणमा आजका “लाेकतन्त्रवादी” र “गणतन्त्रवादी” पनि पर्दछन् ।
“लाेकतान्त्रिक” सँस्कृतिअनुसार गणेशमान सिँह मेच दुर्घटना, उनीमाथि राजनीतिक बाेक्सी लखेट्याँई -witch hunting- उनीमाथि नेपाली काङ्ग्रेस परित्यागकाे बाध्यता, त्यस बाध्यतामा कृष्णप्रसाद भट्टराई आफ्नाे अकर्मण्डताका कारण अर्काेकाे स्वार्थमा भजाइनु, त्यसकाे धेरैअघि नै विश्वेश्वरप्रसाद काेइरालाले २०३७ काे जनमत सङ्ग्रह परिणामकाे दुई दिनपछि टङ्कप्रसाद आचार्यकाे घरकाेठामा रेवन्तकुमारी तथा मणिराज उपाध्यायकाे साक्षीत्वमा दलीय अधिनायकवादकाे भयावहताकाे प्रारम्भकाे पूर्ववाणी भएअनुसार नै एकल लाेकतान्त्रिक अधिनायकवादकाे विगविगि, यसका ज्वलन्त दृष्टान्त हुन् । लाेकतन्त्रवादी पद्धतिकाे याे त चरित्रगत विशेषता नै हाे र त्यसका प्रयाेगकर्ता यसलाई लुमाउँदैन्, पनि तर जब आफूलाई कम्युनिष्ट भन्ने समूहकाे खासखास नेतृत्व समूहले आफूलाई “holy wine”ले दूषित गराउँदछ यसका कारण मदन भण्डारी- जीवराज आश्रित हत्याकाण्ड हुनजान्छ । अनि त मनमाेहन-एमाले शासनकालमा यसबारे छानविनमा आलेटाले, अरुण विद्युत परियाेजना घात, कर्णाली जल बेचबिखन काण्ड, Northwest China विमान काण्ड, मनमाेहन अधिकारी प्रधानमन्त्रीत्व कालकाे एमाले असहिष्णुता, अहङ्कार आदि अभिव्यक्ति हुनु त अनिवार्य थियाे थियाे ।
भागबण्डाकाे दूषित खेल !
यसैकारण नेकपा- एमाले नेतृत्व आफ्ना अनेक ऐतिहासिक दायित्वबाट च्युत भएकै हाे, आफ्ना पार्टीगत धर्मकर्मबाट गिरेकै हाे, पार्टीभित्र मतभिन्नताप्रति घाेर असहिष्णु भएकाै हाे, आन्तरिक एवम् विदेश नीतिमा चुकेकै हाे, आफैँ भ्रष्टाचार तथा अनियमिततामा डुबेकै हाे, आफैँ अनैतिक भागबण्डाकाे राजनीतिकाे “प्रवर्तक” भएकै हाे ।
त्यस्ताे नेतृत्वमाथि लाेकतान्त्रिक, गणतान्त्रि, आतङ्ककारी हिँसावादी, साेशल फाशिष्ट, अवसरवादी, जातिवादी, साम्प्रदायिकवादी, अराजकतावादीहरू यस चुनावअघि र चुनावक्रममा मिलीजुली वा एक्लाएक्लै किन खनिनुसम्म खनिए, त्याे पनि कुनै रहस्य रहेन । यस सामूहिक प्रहारकाे ध्येय नेपाली जनताकाे मङ्गलकल्याण गर्नेे, त्यसकाे उन्नयन गर्ने, नेपालकाे राजनीतिमा व्याप्त नकारात्मकता हटाउने, बाह्य शक्तिकेन्द्रप्रति लम्परासवादकाे अन्त्य गर्ने, भ्रष्टाचार हटाई सुशासन ल्याउने आदि सकारात्मक युग बहाल गर्ने थिएन, छँदै छैन पनि । त्यसकाे उद्देश्य त भारतीय सत्ता प्रतिष्ठान, अङ्ग्रेज-अमेरिकी-भ्याटिकनकाे स्वार्थमा नेपालकाे राजनीतिलाई “कम्युनिष्ट शून्य” गर्नुगराउनु हाे, कम्युनिष्ट आन्दाेलनकाे इतिहास अन्त्य गर्नु हाे ।
कतिपयलाई यी कुरा अतिशयाेक्ति, “फाल्तु ” लाग्लान् । तर के स्मरण हुनु आवश्यक छ भने नेपालमा कम्युनिष्ट आन्दाेलन एमालेकै रूपमा अहिलेसम्म पनि जीवित छ, सशक्त छ भने त्यसकाे मूल कारण त्यसका जन्मदाता- नेकपाका संस्थापक महासचिव पुष्पलालका राजनीतिक उत्तरदान, व्यक्तिगत आतङ्ककाे “कम्युनिष्ट” राजनीतिकाे निर्थकता बुझेर संघर्षशील मूलधारवादी जन राजनीतिकाे उपयुक्त मार्ग, नेपाल राष्ट्र र नेपाली जनताकाे हितकाे सही बाटाेप्रति सतत: प्रतिबद्ध, निष्ठावान रहेका मदन भण्डारी- जीवराज आश्रितप्रभृति नेतृत्वकाे त्याग, समर्पणकाे बाटाे नै हाे भन्ने किटान गर्न यद्यपि नसकियाेस् तर, मतदाता र समर्थकहरूले एमालेकाे सूर्यचिन्हमा आफ्नाे वर्तमान सुरक्षित र संरक्षित ठानेकाे तथ्य अकाट्य छ, भलै वर्तमान एमाले नेतृत्व यसकाे लागि याेग्य छ- छैन, त्याे बेग्लै कुरा हाे ।
गाेप्य मतदाकाे अमाेघ शक्ति !
यस चुनावमा पैसा त कल्पनै गर्ननसकिने हिसाबले बाँडिएकाे चर्चा छ, सार्वजनिक रूपमा ! रुसी जाति तथा स्लाभ सभ्यता नष्ट गर्ने दुस्साहसमा एक्लाे अमेरिकी सत्ता उक्राइनकाे नाजीवादी विदूषकका लागि ९०-९० अर्व डलर बितेका ९ महिनामा खर्च गर्नसक्छ भने, चिनियाँ सभ्यताविरुद्ध भिडाउन सकिने भाडावाल मठाधिशीय गठबन्धनका लागि पैसाकाे खाेलाे बगाउन के गाह्राे !? तर गाेप्य मतदानकाे अमाेघ शक्तिलाई त पैसा- प्रलाेभनले पनि पूरै असर गर्न सक्दाे रहेन छ नि ! पैसा त लिन लगाइएकाले लिए, तर के सबैले दिए त मत ? तथापि, एउटा कुरा के पनि स्पष्ट छ भने ने. का. का नेताहरूकाे अनुहार हेरेर त हाेइन, रूख चिन्हसित आफ्नाे गाँसबास आदिकाे सुरक्षा देखेर नै यति संख्यामा त्यसमा मत
खसेकै हाे । विश्वेश्वरप्रसाद काेइरालाकाे राजनीतिक उत्तरदानले निश्चय नै काम गरेकै हाे ।
त्यसैकारण,नेपाली काङ्ग्रेसका समर्थकहरूले माओवादीहरूलाई मत दिन भनिएता पनि, माओवादी आतङ्ककालमा छानीछानी, यातना दिईदिई प्रजातन्त्रवादीहरू मारिएकाे बिर्सेनन् ! माओवादी नाइकेहरूसित अनाैठाे मितेरी सम्बन्ध जाेडेका र तिनकाे हुकुम मुताबिक गठबन्धनीय सत्ता चलाइरहेकाे नेतृत्वले अह्राउँदैमा, नाेटकाे बिटा थमाएर फकाउँदैमा मत पनि खसालेनन् ! अनि आफ्नै पार्टीसित गद्दारी गरी साेशल फाशिष्ट भएकाहरूलाई मत खसाल्नुसट्टा त रुखवाला वा सूर्यवालामा नभए पनि, नयाँ वालामा, पुरानैका भए पनि नयाँ चेहराकालाई दिए हाेलान्, कतिपयले राजनीतिक वितृष्णाले गर्दा ! आखिर नयाँलाई पनि त परीक्षाकाे अवसर दिनु पर्ला भनेर पनि हाेला !
बाह्य विस्थापनकारीहरूले आफ्नाे याेजनामुताबिक अदालती परमादेशी कुद्वारा नेपालमा वा ठाडै फाैजी कूद्वारा पाकिस्तानमा जस्ताे सत्ता परिवर्तन गराउन सक्लान्, तर भाेट किनेर वा किन्न लगाएर सत्तामा– राजनीतिक विश्लेषक भरत दाहालका जब्बर शब्दमा भन्नुपर्दा– “दलालहरू” काे सीधै सत्ता कायम गराउन त गाह्रै पर्दाेरहेछ भन्ने कुरा पनि यस चुनाव परिणामले देखाए ।
के यसकाे अर्थ तिनबाट त्यस्ताे खतरा टर्याे त नेपालकाे राजनीतिमा भन्ने हाे त ? अँह, हाेइन ! अपवादविना नेपाली राजनीतिक पात्रहरूलाई सत्ताकाे घुम्ने मेचमा नचाउने तिनकाे चालबाजी, तिगडम कायमै भएकाे देखिन्छ, निश्चय नै देखिन्छ ! अझ, भारतीय सत्ताले केही दिनअघि मात्र “भारतका हितमा प्रतिकूल असर नपर्ने गरी नेपालसँग अमेरिकाका सम्बन्धसूत्रहरू भएगरेमा भारतलाई कुनै आपत्ति नहुने” भनी जारी गरिएकाे एक विज्ञप्ति नेपालका लागि दीर्घकालीन सङ्कटकाे बाक्लाे बादलकाे स्पष्ट सङ्केत हाे । उक्राइनकाे माम्लामा अमेरिकासँगकाे आफ्नाे विमतिकाे क्षतिपूर्ति यसरी चुकाएकाे देखिन्छ, भारतीय सत्ताले ।
के त नेपाली जनसाधारणकाे दु:खकष्टकाे जीवन सदाकाल रहिरहने हाे त ? के यसकाे कुनै समाधान छैन त ? याे कुराकाे निर्क्याैल त मूलत: नेपालका राजनीतिक मठाधीशहरूकाे देशभक्ति तथा राष्ट्रप्रेमले मात्र गर्नसक्ला ! अनि टङ्कप्रसाद आचार्यकाे व्यापक सामाजिक सुधार तथा सन्तुलित विदेश नीतिकाे कालखण्ड फेरि फर्केला वा भारतका प्रधानमन्त्रीलाई उनकै राजधानीमा “हिमालमाथि तपाईंकाे दावी गलत छ, प्रधानमन्त्रीज्यू” भन्ने, चीनसँग “सगरमाथा अविभाज्य छ” भन्ने उद्गार व्यक्त गरिने विश्वेश्वरप्रसाद काेइरालाकाे जस्ताे कालखण्ड पनि फेरि फर्केला भन्न पनि गाह्राे छ । लामाे ऐतिहासिक प्रक्रियाकाे यात्रा सम्पन्न गर्न बाँकी नै छ, नेपाली जनताले भन्ने देखिन्छ !
अन्तत:, आजकाे विश्व अस्तित्व र सभ्यता यूराेपकाे एउटा देशमा अमेरिकी सत्ताकाे आडमा आफ्नाे आततायी महत्वाकांक्षा पूरा गर्ने एउटा बाैलाहाकाे सनकमा, घातमा परेकाे छ । आफूसँग महाविनाशकारी नाभिकीय अस्त्र नभए तापनि कुनै दुस्साहसिक उत्तेजनाद्वारा त्यस्ताे अस्त्र प्रयाेग हुनसक्ने गरी सर्वविनाशकारी तेस्राे विश्वयुद्ध गराउनसक्ने त्यस दुष्टकाे हात अहिले पनि खुलै छ । अमेरिकाकाे नेतृत्वमा पश्चिमी तथा हाम्रै जस्ता केही भराैटे सत्ताले त्यस भयावह मनुष्यहन्ता हिटलरवादी विदूषककाे “खेल”लाई “ठूलाे राष्ट्रकाे आक्रमणविरुद्ध आफ्नाे स्वतन्त्र अस्तित्व रक्षामा लडिरहेकाे” भनेर प्रचारप्रसार गराइए तापनि नेपालकाे आम निर्वाचनका परिणामपछि के हाेला, जगतकै भाेलि के हुने हाे, त्याे त शिरिडि साईँरामका शब्दमा “अल्लाह मालीक”!
आजलाई यतिमै जय नेपालकाे अभिवादन !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


