
दशैं सकियो, दशैं सकिएन
अनामिका बस्नेत
नयाँ वर्ष सुरु भए लगतै नयाँ क्यालेन्डर किनिन्छ । हामीहरु क्यालेन्डरको पहिलो महिना हेर्न नपाउँदै यसपाली दशैं कति गते, कुन महिनामा कहिले पर्दोरहेछ भनेर कत्ति उत्साहित हुन्छौ, समय कत्ति चाँडो बितेको थाहै पाउँदैनौं । दशैं आउन यति महिना बाँकी छ, उति महिना बाँकी छ भन्दै बस्छौं । दशैं आयो–आयो भन्यो, आएर गएको पनि पत्तै नहुने रैछ ।
सुरुमा कत्ति उत्त्साहित हुन्छौं, जति उत्साहित दशैं आएपछि सोचे जस्तो नहुने रैछ । त्यो त हाम्रो काल्पनिक उत्साहित मात्र हुने रैछ । नजिक चाडपर्व लागेपछि झन् हतार हतार हुने, यो काम नि भ्याको छैन, त्यो काम नि भ्याको छैन । हतारमा लतार भन्या जस्तै आएर गएको पत्तै नहुने । यसपाली त म यस्तो गर्छु, उस्तो गर्छु भनेर सोच्या हुन्छौं तर हतारले हो या परिस्थितिले खै कस्तो कस्तो हुने रैछ । सायद मेरो जस्तै अरुको नि यस्तै हुन्छ होला है । भन्दा सजिलो लागे पनि यत्ति सहज चै छैन है ।
दशैं भनेपछि सबैलाई मनपर्ने चाडपर्व मध्येको प्रमुख चाड मानिन्छ । प्राय त अष्टमीको दिनदेखि खसी, कुखुरा काटेर मिठामिठा परिकारहरु बनाएर मनाईन्छ ्र। माछा ,मासु खानेले मासुको परिकारहरु बनायो, नखानाले त्यहि अनुसार पनिर्, घिउ, दहि, दुध खाएर मनाईन्छ । अब आउँछ दशैंको टिका अर्थात् दशमी, यो दिन सानोले ठुलोको हातबाट टिका लगाएर आशिर्वाद लिने गरिन्छ । म सानो छँदा नै अचम्म लाग्थ्यो कि टिका लगाएर आशिर्वाद पाईन्छ भनेर । हुन त म पनि हिन्दु धर्म नै मान्छु । म धर्मप्रति धेरै नै आस्था र विश्वास राख्छु तर पनि अचम्म यो लाग्छ कि के टिका लगाउँदैमा आशिर्वाद पाईन्छ हो ? त्यसो भए त्यो टिका लगाएर घर फर्केकाहरु किन गाडी दुर्घटनामा परेर मरे भनेको सुनिन्छ त ? किन तिनीहरु रोग लागेर मरे भनेको सुनिन्छ त ? किन तिनीहरुलाई चैं आशिर्वाद लागेन छ हो ? आशिर्वाद त छुट्टै ठाउँमा होला तर बर्षौदेखि भेटघाट नभएका आफन्तजनहरुसँग भेटघाट गर्ने समय छुट्टयाइएको होला जस्तो लाग्छ । तर यति भन्दै गर्दा मलाई धर्मको विरोध गरे जस्तो सोच्लान् तर पनि हाम्रो धर्मरितिरिवाजमा छुट्टाछुट्टै बिशेषताहरु लुकेको पाउँछु । सामान्यतया यसो सोच्दा खसी, बोका र कुखुराहरुलाई काटेर त्यसको मासु खान्छौं, नखानेले विरोध गरेको पनि सुनिन्छ । हो, मलाई पनि लाग्थ्यो सानो छँदा, किन यस्तो अबोधको हत्या गरेर मासु खाएको होला तर पुर्खाले त्यसै धर्म बनाएका चैं हैन होलान् है । ती पशुपंछीहरु ती धर्मका नाममा खाईएन भने त संसारभरी जनावर नै जनावरले भरिन्छ होला । सायद त्यही भएर होला मनुष्यले एउटा उपाय अपनाएको होला । आजभोलि त त्यसलाई ब्यवसायिक रुपमा नै पालनपोषण गरेर किनबेच हुने गर्छ । पहिला पहिला जस्तो दशैंमा मात्र खसी, बोका र कुखुरा काटेर मासु खाएर मनाईन्छ भन्ने छैन ।

आजभोलि त खान मन लागेपछि पैसा हातमा हुनुपर्छ, सधैं दशैं । त्यसैले त पहिलाको जस्तो दशैं आजभोलि रमाइलै नलाग्ने । पहिलाको जस्तो रौनक नै छैन । दशैं सुरु हुनु अगाडिदेखि नै कत्ति खुसी भएर घर सरसफाइ गरिन्थ्यो । कसको घर धेरै राम्रो बनाउने भनेर होडबाजी हुन्थ्यो । रातोमाटो, कमेरो माटो लिन राजकुलो माथि गईन्थ्यो । घरभरि भएका लुगाफाटा सफा गर्ने भनेर अँधेरी खोलामा सब छरछिमेकी भेला भएर गईन्थ्यो । घर लिपपोत पारेर चिटिक्क पारिन्थ्यो । धान कुटेर चामल बोराभरि राखिन्थ्यो । दशैंभरि पुग्ने गरि घाँस, दाउरा जम्मा गरी राख्नुहुन्थ्यो आमाहरु । जिर धनियाँ कुटेर गाउँ नै हरहर बास्ना आउँथ्यो । कसको घरमा कत्रो खसी भनेर हेरिन्थ्यो । १ नम्बरदेखि बेत्रावतीको पाखाभरी च्यांग्रा, भेडा हेर्न भनेर हजुरबुबाको हात समातेर हेर्न गईन्थ्यो ।
यसपाली छोराछोरीले के के लगाउँछौ भनेर त्रिशुली बजारमा लगेर लुगा छान्न लानु हुन्थ्यो बुबाले । किनेर ल्याएको लुगा मेरो त यस्तो नयाँ दशैंको लुगा भनेर पहिलेदेखि लगाएर गाउँगाउँमा पिंग खेल हिनिन्थ्यो । र, पो दशैं आको जस्तो हुन्थ्यो । घरमा टिका लगाएर दक्षिणा मेरो त यति भयो भन्दै पैसा जम्मा गरिन्थ्यो । मामाघरमा टिका लगाउन जाने भन्दै रमाउथ्यौं । सबै दक्षिणा आमाको सन्दुकमा हालेर जम्मा गरिन्थ्यो । पछि आमाले आफुले थपथाप परेर गरगहना बनाएर लगाईदिनुहुन्थ्यो । आजभोलि के दशैं ? घर गयो, बजार गयो, एकै दिनमा सबै सामान किनेर ल्यायो । भोलिपल्टदेखि हतारहतार पकायो खायो । दशैंको दिन हतारहतार टिका लगायो । सबै छरपस्ट । कताकता तितरबितर। २–४ दिन कठिनले भेट हुन्छ, खुसियाली भन्दा नि बाध्यता जस्तै हुन्छ । यस्तै छ आजभोलिको दशैं ।
आजभोलिका बच्चाहरु पिंग खेल्न जाँदैनन् । खाली मोबाइलमा गेम खेल्छन् । मासु चिउरा खान जान्दैनन् । खाली मम, चाउमिन, चाउचाउ मात्र खान्छन् । पहिलाको जस्तै दशैं अहिलेको फिटिक्कै छैन । सायद म आजभोलि शहरमा बसेर पो हो कि ?
आशिर्वाद भन्ने शब्द आफैमा अर्थपूर्ण लाग्छ । सानोले ठुलोको हातबाट टिका लगाएर आशिर्वाद लिने गरिन्छ । आशिर्वाद दिँदा नराम्रो त पक्कै दिइँदैन । राम्रो भएस्, असल भएस्, ठुलो मान्छे भएस् ,फलानो जस्तो बनेस् भनेर भन्ने गरिन्छ । तर ती भनेका कुराहरु साँच्चै पाईन्छ होला त ? सायद मानिसलाई सकारात्मक कुराहरु भन्दा मन हर्षित हुन्छ भनेर पो हो कि ? मेरो मनमा यस्तै यस्तै कुराहरु उब्जिएर आफैले आफैलाई प्रश्न माथि प्रश्न गर्छु । मानिस टाढा भए नि, नजिक भए नि आशिर्वाद भनेको सधै पाई राख्ने हैन र ? आफुलाई माया गर्ने मान्छेबाट सधै नै पाईरहन्छौ हैन र ? तर हामीले टिका लगाएका जुन जुन व्यक्ति छन्, साँच्चिकै तिनीहरुले मनैदेखि आशिर्वाद दिएका होलान त ? के हामीले सबैबाट आशिर्वाद पाएका छौं होला त ?
मन हो, जे सोच्यो त्यहीँ त बहकिन्छ, त्यसैले त मनलाई सकारात्मक बनायो भने सबै कुरा राम्रै हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


