
नढाँटी भन त आमा, ‘कहाँ पुग्यौ ?’
जनार्दन अर्याल
आर्यालय, ठमेल ।
म पाल्पाबाट
अर्घाखाँची हुँदै प्यूठान छिरेको
उतिबेला बाटो अप्ठेरो थियो
तिमी कुन बाटो लाग्यौ आमा
हुन त पहिल्यै स्वर्गद्वारी पुगिसकेकी तिमी ।
म अहिले एकान्तवासमा
सोच्दैछु, बाटो त उही रहेछ
अनन्त यात्रामा हिंडिसकेपछि
पशुपति, ब्रम्हनाल
काजक्रिया र दानधर्मको के अर्थ ?
तैँले केहि गर्नु पर्दैन
खुट्टा कमजोर छ, आमाको माया ।
बाँचुञ्जेल आँसु खस्न दिइएन
कथंकदाचित केहि परेमा
आमा हुनुहुन्छ भरोसा, ढाडस
यो काम गर्ने मन छ, खान मन छ
आमाको मुखबाट कहिल्यै निस्केन ।
कुरा जति गरे पनि आमाकै हो
महाप्रस्थान गर्नु एक घण्टाअघि
बस्दाबस्दा तेरो खुट्टा दुख्यो होला
जा घुमेर आइज तर टाढा नजानु
आमाबाहेक कसैले गर्न नसक्ने माया ।
अबको तिम्रो यात्रा
त्यत्ति कठिन नहोला आमा
तिम्रै भनाइमा
स्वर्गद्वारीदेखि
धर्मराज युधिष्ठिरलाई बाटो देखाउने कुकुर थियो ।
आमा पहिलो डल्ले (कुकुर)
नाति जस्तै तिम्रो अत्यन्त प्यारो
काखमै लुटपुटिने
अलिमाथि चौतारी
चौबाटो या दोबाटोमा त्यतै कतै पर्खिरहेछ
गन्तव्यसम्म लैजान्छ ।
बत्ति बालिदिएको छु
हिँड्न समस्या नहोला
उकाली ओरालीमा अलि होस् गर्नु
बिस्तारै हिँडे हुन्छ
नर्क सांसारीक प्रपञ्चमै भोगिसक्यौ आमा
अबको तिम्रो गन्तव्य स्वर्ग मात्र हो
नढाँटी भन त आमा, कहाँ पुग्यौ ?
कतै न कतै चिन्ता लाग्ने रहेछ
कतै बाटो भुलेर अन्तै लागिन् कि
कतै रात परेर अलपत्र परिन् कि
रातभरि यस्तै यस्तै
कल्पनाले सताइरह्यो ।

…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



