‘सिए’ बन्ने सपनाले शंकरदेव

राजन सिम्खडा

गणेशकुण्ड स्कुल, च्वाडी पब्लिक स्कुल र शान्ति विद्यागृहमा पढेर विद्यालय शिक्षा पूरा गरँे । एसएलसी गरेपछि ‘अब के ?’ मेरासामु प्रश्न थियो ।

पक्कै पनि, मसँग धेरै विकल्प थिए । म गाउँमै बसेर बुवालाई कृषिकर्ममा सघाउन सक्थें, शिक्षक बन्न सक्थें वा राजनीतिमा लाग्न अथवा कलाकारितामा समर्पित हुन सक्थें । भक्तिमार्गतिर लागेर आध्यात्मिक जागरण छर्दै हिंड्ने कि भन्ने विचार समेत आएको थियो । जसरी पनि उच्च शिक्षा पढ्नैपर्ने घर–सल्लाह भयो । कलेजमा के विषय पढ्ने भन्ने छलफल हुँदा धेरैले साइन्स लिएर पढ्न सल्लाह दिएका थिए । तर त्यसमा मेरो रुचि थिएन । मावलीतिरबाट इन्जिनियरिङ पढ्न दबाब थियो । धर्मकर्म र संस्कृतप्रतिको मेरो लगाव देखेर गाउँका कसैकसैले त वनारस पठाएर पण्डित बनाउनुपर्नेसम्म सुझाएका थिए । अन्ततः मैले आफ्नो पृष्ठभूमिभन्दा बिल्कूल भिन्न विषय पढ्ने निर्णय गरें । भविष्यमा चार्टर्ड एकाउन्टेन्ट (सिए) बन्ने आकाङ्क्षा राख्दै शङ्करदेव क्याम्पसमा व्यवस्थापन विषय पढ्न पुगें ।

बालाजु पुलिस चौकीदेखि जमलसम्म पहेंलो मिनिबस चल्थ्यो । भाडा दुई रूपैयाँ थियो । मचाहिं क्याम्पस जान आउन धेरैजसो हिंड्थें नै । बाटोबाटोमा साथीहरू मिसिँदै जान्थे । सोह्रखुट्टेमा परशुराम रिजाल, सुवास पौडेलसँग भेट हुन्थ्यो । हामी सोह्रखुट्टेबाट लैनचौरतिर नलागी मस्र्याङ्दी होटल, काठमाडौं गेस्ट हाउस, नरसिंह चोक हुँदै कान्तिपथ निस्कन्थ्यौं ।

दार्खामा केही टोली टुरिस्ट देखेको थिएँ, ठमेलमा त अनेक रूपरङ्गका टुरिस्ट कति कति ! तिनलाई हेर्दै र हाँस्दै हामी कान्तिपथ पुग्थ्यौं । र, गफ गर्दागर्दै जमल, बागबजार, खसी बजार हुँदै क्याम्पस पुग्थ्यौं । शङ्करदेव पढ्दा सिन्धुलीतिरका आचार्य थरका एक व्यक्तिले मलाई ठूलो गुन लगाएका थिए । क्यान्टिनमा चिया, चप, तरकारी खाँदा धेरैपटक उनले मेरो पैसा तिरिदिएका थिए । उनी अहिले कहाँ छन्, मलाई थाहा छैन् । जीवनको एउटा मोडमा भेटिएर हार्दिक सम्बन्ध बन्ने तर पछि कहिल्यै भेट नहुने साथीमध्ये उनी पनि एक हुन् । ती मित्रसँग एकपटक भेट भइदिए कति खुसी हुन्थें म ।

Advertise
Hike & Write

कलेजमा हामी गाउँतिरबाट आउनेको बेग्लै झुन्ड हुन्थ्यो । हामी प्रायः पछाडितिरको बेन्चमा बस्थ्यौं । काठमाडौंका राम्राराम्रा केटीहरू भने फस्र्ट बेन्चतिरै मेरो ठाउँ सुरक्षित गरिदिन्थे । म उनीहरूलाई एकाउन्ट सिकाइदिन्थें, अनेक भावभङ्गीले हँसाइरहन्थें, रमाइलो गर्थें । त्यसैले उनीहरू मसँग झ्याम्मिन्थे । केटीहरूको ड्रेस खैरो साडी थियो । उनीहरू नाइटो देखाउन साडी अलि तल धकेल्थे । सरहरू कराउनुहुन्थ्यो– ढङ्ग मिलाएर साडी लगाएनन् भनेर । केटाहरूका लागि भने ड्रेसकोड थिएन । म साधारण सर्ट, प्यान्ट लगाउँथें ।

अकाउन्ट पढाउने एकजना म्याडम हुनुहुन्थ्यो । अकाउन्टका धेरै किताब पनि लेख्नुभएकी उहाँको व्यक्तित्व धेरैलाई सौन्दर्यशाली लाग्थ्यो । कलेजका उरन्ठेउला केही केटाहरू ‘च्वाँक मिस’ भन्दै जिस्क्याउन समेत पछि पर्दैनथे । त्यतिबेलाको एउटा रोचक प्रसङ्ग सम्झन्छु । पाण्डे थरको हाम्रो एउटा साथी थियो । एउटी गोरी केटी स्कुटर चढेर कलेज आउँथी । त्यतिबेला स्कुटर र मोटरसाइकल चढ्नु ठूलै कुरा थियो । हामी पाण्डेलाई भनिदिन्थ्यौं, ‘पाण्डे तँलाई त त्यो स्कुटरवाली गोरीले क्या हेरी यार…!’ पाण्डे मक्ख पथ्र्यो । अनि त हामीलाई क्यान्टिनमा चप, चिया, तरकारी फ्रि । सबको स्पोन्सर पाण्डेले गरिदिन्थ्यो । ‘आज त्यो केटीले तेरो बारेमा सोधेकी थिई’ गफ छाँटिदिएको दिन क्याम्पस छुटेपछि उसले रत्नपार्कमा लगेर बदाम खुवाउने पक्का हुन्थ्यो ।

भोक लाग्यो भने हामी यस्तै यस्तै कुरा निकालेर पाण्डेको दिमाग चाटिहाल्थ्यौं । समग्रमा भन्दा कलेज जीवन रमाइलै थियो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button