गोर्खा सेनामा जान नारायणप्रसाद सिम्खडा नाम फेरेर नरबहादुर क्षेत्री भए

जीवनको गीत

राजन सिम्खडा

देख्दा सोझो भए पनि बुवा अलि विद्रोही स्वभावको हुनुहुन्थ्यो । तामाङ बाहुल्य गाउँ, बाहुन–क्षेत्रीको घर थोरै । तामाङ समुदायमा इन्डियन र ब्रिटिस सेनामा ‘गोर्खा सैनिक’ अर्थात लाहुरे हुने प्रचलन थियो । पेन्सन वा छुट्टीमा घर आएका लाहुरेहरू बुवासँग विदेशमा देखेका र भोगेका रमाइला कुरा सुनाउँदा रहेछन् । बुवालाई उनीहरूको रवाफ र कुराले आकर्षित गर्न थालेछ । बंैशमा उहाँ पनि लाहुर जाने सपना देख्न थाल्नुभएछ ।

नभन्दै लाहुरेहरूको लहैलहैमा लागेर एकदिन उहाँ पुछारघरका तुलसी काकासँगै गाउँबाटै सुइँकुच्चा ठोक्नुभएछ । तर उहाँहरू लाहुर भागेको तत्कालै गाउँघरमा हल्ला भएछ । खोज्न निस्कनुभएका माइलाबुवाले बुवालाई बाटोमा समात्नुभएछ, तुलसी काका भने उम्किनुभएछ । लाहुरे बनेरै छाड्ने अठोट गरेर बुवा फेरि भागेर भारत जानुभएछ । गोर्खा सेनामा भर्ना हुने बुवाको चाहना कुन हदसम्म रहेछ भने त्यो पूरा गर्न उहाँले आफ्नो नाम नारायणप्रसाद सिम्खडालाई फेरेर ‘नरबहादुर क्षेत्री’ लेखाउनुभएछ । भारतीय गोर्खा सेनामा त्यसबेला सामान्यतया बाहुनलाई भर्ती गरिंदैनथ्यो रे ।

बिहे गरेर आठ वर्षपछि लाहुर हिंड्नुभएका बुवा आठै वर्षसम्म भारतीय सेनामा कार्यरत रहनुभएछ । सन् १९७० मा बंगलादेश स्वतन्त्रताको क्रममा भारत–पाकिस्तान युद्ध हुँदा बुवा भारतीय सेनाको तर्फबाट लड्नुभएको रहेछ । पछि छुट्टीमा घर आउनुभएका बेला दाजुभाइ छुट्टीभिन्न भएकाले आमाले उहाँलाई जागिरमा फर्केर जान दिनुभएनछ । त्यसपछि बुवा स्वदेशकै माटोमा सुन फलाउने सपना बुन्दै खेतीकिसानीमा लाग्नुभएछ ।

प्रकृति र संस्कृतिले धनी दार्खा गाउँका मानिसको मुख्य आयस्रोत खेतीपाती नै थियो । जागिर खाने कमै हुन्थे । तिनमा पनि कोही मास्टरी गर्थे, कोही लाहुर जान्थे । अन्य पेसा वा नोकरीका लागि भारत जाने पनि हुन्थे । अधिकांश गाउँलेको बाँच्ने आधारचाहिं कृषि थियो । हाम्रो परिवारको आर्थिक आर्जनको आधार पनि खेती किसानी नै । गाउँमा खेताला प्रशस्तै पाइने भएकाले खेती किसानी सहज थियो त्यतिखेर । बुवाले आधुनिक पद्धतिमा खेती गर्न थाल्नुभयो । खुर्सानी, आलु, प्याज, काउलीजस्ता नगदे बाली गाउँमै उत्पादन गर्नुभयो । लैनो–बगेर्नु भैंसी पालेर दूध, घिउको उत्पादन बढाउनुभयो ।

धान, मकै, घिउ, खुर्सानी र तरकारी बिक्रीबाट हाम्रो पढाइ, लत्ताकपडा र अन्य खर्च चल्थ्यो । कृषि उत्पादनका लागि बजारको समस्या थिएन । हेल्थपोस्ट र प्रहरीमा जागिर खान आउनेले नै हाम्रा उत्पादन किन्थे । लेकका मानिसले डल्ले खुर्सानी लैजान्थे । हाम्रो डल्ले खुर्सानी खेती मजैले फस्टाएको थियो । मलाई सम्झना छ, २०४५–०४६ सालतिर हामीले घरको खरको छाना फेरेर ढुङ्गाले छाएका थियौं । बुवाका अनुसार छानो छाउन त्यसबेला साढे सात हजार रूपैयाँ लागेको थियो । त्यो पैसा खुर्सानी बेचेरै कमाएका थियौ हामीले ।

बुवाको सैनिक अनुशासन र सिर्जनात्मक पौरखको प्रभाव ममा पनि सानैदेखि पर्न थाल्यो । गणेशकुण्ड निम्नमाध्यमिक विद्यालयमा म अनुशासित विद्यार्थीमा गनिन्थें । दीपक दाइ र म हरेक दिन विद्यालय पोसाकमै स्कुल जान्थ्यौं । अनुशासित भएकाले शिक्षक–शिक्षिका हामीलाई नमूनाका रूपमा प्रस्तुत गर्नुहुन्थ्यो । स्कुलमा पूर्वव्यावसायिक अभ्यासका रूपमा विद्यार्थीलाई बगैंचा बनाउन लगाइन्थ्यो । खुलाचौरमा विभिन्न वनस्पती र फूल रोपेर आ– आफ्नो नाममा बगैंचा बनाउँथ्यौं । बेलाबेला हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो । त्यसमा म सहभागी टिम प्रायः प्रथम हुन्थ्यो । नाटकमा पनि म भाग लिन्थें । पढाइको गुणस्तरमा गणेशकुण्ड जिल्लाकै उत्कृष्ट दस विद्यालयमा पथ्र्यो ।

प्रधानाध्यापक सूर्य लामा कडा मिजासका । ‘सुर्जे मास्टर’ले गल्ती गर्ने विद्यार्थीको कान निमोठिहाल्नुहुन्थ्यो । अर्को उस्तै जब्बर शिक्षक हुनुहुन्थ्यो, कृष्ण मास्टर । मेरो कान्छा काका । कृष्ण मास्टर भनेपछि सब थर्कमान । गल्ती गर्ने विद्यार्थीलाई नराम्ररी पिट्नुहुन्थ्यो । उहाँलाई देख्नासाथ विद्यार्थीहरू डन्डीबियो, खोपी, गुच्चा वा जे खेलिरहेको छ, त्यो छाडेर कक्षातिर दौडन्थे । मलाई पनि काकाले बाँकी राख्नुभएन । सोझो र अनुशासित विद्यार्थी हुँदाहुँदै पनि अरूको गल्तीको परिबन्दमा परेर कुटाइसमेत खाएको एउटा घटना म झल्झल्ती सम्झन्छु । बैनी रीता (कृष्ण काकाकै छोरी) र म शिशुकक्षामा भर्खर भर्खरै भर्ना भएका थियौं । शिशुकक्षा माथिल्लो तलामा थियो । काठका फल्याकका चेपबाट हेर्दा भुइँतलामा छ–सात कक्षाका विद्यार्थीलाई काकाले पढाइरहनुभएको देखिन्थ्यो । गोपाल तामाङ अलि चकचके थियो । तल कृष्ण मास्टरले पढाइरहेका बेला फलेकको चेपबाट धुलो खसाइ दिएछ । गल्ती गरेकाले ऊ लुक्न गएछ, कृष्ण मास्टरको रिसमा हामी दाजु–बहिनी प¥यौं । ‘माथिबाट कसले धुलो झारेको हो, समातेर लेरा त’, काकाले केही विद्यार्थीलाई माथि पठाउनुभयो । सात कक्षाका दाइहरू आएर म र बैनीलाई उचालेर तल पु¥याए । हामीले ‘हैन’ भन्दाभन्दै काकाले चप्पल खोलेर मजैले बजाउनुभयो । अनाहकमा दाजु–बहिनीले पिटाइ खाइयो ।

अर्कोपटक अलि ठूलो भएपछि पनि एकपटक पिटाइ खाएको थिएँ । स्कुलमा पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सव मनाउने तयारी भइरहेको थियो । त्यो दिन हामी फूल टिपेर विद्यालयमा लैजान्थ्यौं । पिपलमेठ र सुन्तला खान पाउँथ्यौं । अगाडि बेन्चमा राजा वीरेन्द्रको फोटो, राष्ट्रिय झन्डा थियो । जन्मोत्सव मनाउन ठिक्क परेकै बेला माइलाबुवाका छोरा महेश दाइ र मैले सानो बिठ्याइँ गरिहाल्यौं । हामी एकापसमा चल्दाचल्दै बेन्चमा ठक्कर लाग्यो । राजाको फोटो भुइँमा खस्यो । अनि त मास्टर खडेन्द्र सिम्खडा दाइले च्याप्प समातेर महेश दाइ र मलाई पिट्दै घोक्रेठ्याक लगाइहाल्नुभो । हामी बेतोड भागेर घर आयौं । त्यो वर्षको सुन्तला, मिठाइ छुट्यो । साह्रै नमज्जा लाग्यो तर आज म मेरी आमा र गणेशकुण्ड स्कुलका ‘कडा’ शिक्षकहरुप्रति श्रद्धाले शीर झुकाउछु किनभने उहाँहरुबाट मैले अनुशासित जीवनको कपुरी क सिक्न पाँए ।

एकाध उपद्रका घटनाबाहेक गणेशकुण्डमा मैले अनुशासित ढङ्गले, मिहिनेतसाथ सात कक्षासम्मको पढाइ पूरा गरें । कक्षा आठ नुवाकोटको विदुर पिपलटारस्थित मामाघरमा बसेर पढें । त्यहाँको च्वाडी पब्लिक स्कुलमा पढ्दा म जोकर, अनुशासित र राम्रो पढ्ने विद्यार्थीको रूपमा दर्ज भएको थिएँ । पढाइ राम्रो भएकैले हेडमास्टरले मलाई त्यहीं पढेर ‘एसएलसीमा फस्र्ट डिभिजन ल्याउनुपर्छ है’ भनेर हौस्याउनुभएको थियो । तर ८ कक्षाको परीक्षालगत्तै थप अध्ययनका लागि बुवा–आमाले ‘काठमाडौं जाने कि त्यहीं पढ्ने ?’ भनेर छान्न लगाउनुभयो । उहाँहरू मेरो पढाइ अझ राम्रो होस् भन्ने चाहनुहुन्थ्यो । काठमाडौं गए म एक्लै डेरा बस्नुपथ्र्यो, आफैं पकाएर खानुपथ्र्यो । तैपनि म १४ वर्षको उमेरमै काठमाडौं जान कस्सिएँ ।

२०४८ साल फागुनमा अध्ययन गर्न काठमाडौं जाने तय भयो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button