
दालरोटीका लागि पढाउने पी गुरु रुचिले फ्रि लान्सर राइटर्
प्रकाश परिष्कार
सम्पादक, मालश्री साप्ताहिक
मान्छेका आफ्नै पृथक् कथाहरू हुने गर्छन् । आफ्नो कथाको नायक प्रत्येक मान्छे आफैँ हो तर फरक के छ भने उसको कथा ऊ आफूले भोग्छ अरू अरू कसैले लेखिदिनु पर्छ । अरूले लेखिदिएको कथा भने वास्तविक पात्रलाई रोचकऔ मर्मस्पर्शी लाग्छ । यो सत्य हो ।
आज म यहाँ अक्षरका पुजारी एकजना पुराना शिक्षकको कथा बुन्दै छु । मान्छेको जीवनको कुनै लेखाजोखा हुँदैन । जन्मियो एक ठाउँ । हुर्कियो अर्कै ठाउँ र कर्म गर्ने ठाउँ आफूले कहिल्यै नचिताएको हुन सक्छ । यस्तै संयोग शिक्षक, प्रशिक्षक, साहित्यकारर पत्रकार पेशल आचार्यका जीवनमा परेको छ ।
पूर्वी तराईको आटव्य ‘चारकोसे झाडीले घेरिएको अति गर्मी हुने औलिया प्रदेश मोरङमा आचार्य जन्मिए । खासमा उनको पुख्र्यौली थलो भने मोरङ नभएर उदयपुरगढी हो । उनी आफ्ना पिताको जागिर मोरङमा भएकाले संयोगवस् त्यहाँ जन्मिए । जागिरेका लागि ‘झोला बोक्यो बसैँ र कुखुरो काट्यो दसैँ’ भन्ने उखान आकर्षित हुने गर्छ ।
तिनताक मोरङमा ‘एक रूपैयाँको अन्नले बाँचुन्जेल खान र मरेपछि काजकृया गर्न पुग्छ’ भन्थे बूढापाकाहरू । उनी त्यही औल प्रदेशमा जन्मे । जन्मिएको वर्ष देशैभरि ठूलो अनिकाल परेको थियो रे ! तराईवासीको समाज र परिवारमा उनी जन्मेका भए उनको नामै ‘रौदिया’ हुन्थ्यो कारण मैथिली भाषामा अनिकाललाई ‘रौदी’ र अनिकालमा जन्मेकालाई ‘रौदिया’ भनिन्छ ।
विराटनगर बरगाछीमा जन्मेर मोरङ, सुनसरी र झापाकोतराई परिवेशमा हुर्केर कर्मथलो रामेछापलाई बनाउने आचार्य रामेछापका पुराना भाषा शिक्षक हुन् । नेपाली भाषाका ।
उनलाई रामेछाप जिल्लाको शैक्षिक वृत्तमा उम्रेदेखि खुम्रेसम्म सबैले चिन्छन् । अझ शिक्षक विद्यार्थीमाभ्m त उनी ‘पेशल गुरु अर्थात् पी गुरु’ उपनामले चिनिन्छन् । उनले माध्यमिक तहमा पढाएका अनेक शिष्य शिष्यामध्ये कतिपय त देशको उपल्लो तहमा पुगिसके । त्यसो त उनले आफैँले आफ्ना सन्तान समेत पढाए । तिनीहरूपनि देशदेशावर पुगे । उनी भने ३० वर्षदेखि रामेछाप जिल्लाको मन्थली नगरपालिका स्थित मन्थली नमुना माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक पदमा कार्यरत छन् ।
दाल रोटीका लागि उनको पढाउने र सिकाउने जागिर हो भने रुचिले उनी फ्रि लान्सर राइटर हुन् । उनले लेखेका र कथेका रचनाहरु अहिलेको समयमा अनलाइन पत्रिकाहरुमा समेत निरन्तर प्रकाशित भैरहेका छन् । उनका देशदेशावरमा धेरै पाठकहरू छन् । मझेरी अनलाइनले विख्यात साहित्यकार सरुभक्तसँगै उनको पेज खोलेर राखिदिएको छ जसले उनका मझेरी अनलाइनमा प्रकाशित रचनाहरूलाई एकै स्थानमा पढ्न सकिन्छ ।
उनले पढाउन शुरू गरेदेखि देशले तीनपटक पाठ्यक्रम नै परिवर्तन गरिसक्यो । आगामी वर्षदेखि फेरि नयाँ पाठ्यक्रम परिवर्तनको गृहकार्य गरिरहेको छ । उनी पुरानो समयका गुरु भए पनि वैज्ञानिकविधि र प्रविधिमा फिट भएर अध्यापन कार्य अघि बढाइरहेका छन् ।
‘डिजिट्लाइजेसन शिक्षण, पेपरलेस एड्मिनिष्ट्रेसन र बुक रिडिङ् कल्चर’का यिनी आफू हिमायती हुन् र अरूलाई पनि यसै बाटोमा हिँड्न प्रेरित गर्छन् । यिनै तीन तत्वलाई शिक्षणमा स्थापित गर्न यिनको हिजोआजको दिनचर्या बन्ने गर्छ ।
उनले पढाएका केही शिष्य उनीसँगै डेढ दसकदेखि शिक्षण÷प्राध्यापन गर्ने भैसके तर उनी शिष्यलाई पनि मित्रवत् व्यवहार गर्छन् । सम्वत् २०२३ साउनमा जन्मेका साहित्यकार आचार्यले अर्धशतक (५३ वर्ष) उमेर पार गरिसके ।
पेसाले शिक्षक÷प्राध्यापक आचार्य आदतलेभने लेखक हुन् । मानिस उसको आदतले मजबुर हुन्छ । लेखन रूचिकर क्षेत्र हो । विगत् तीन दसकदेखि निरन्तर शिक्षण सेवा गर्दै आएका आचार्यले आफूले पढाएका कतिपय शिष्यलाई लेखन र पत्रकारितामा डो¥याएर दीक्षित गराए । कैँयौँ चेलाचेलीका पुस्तकमा भूमिका लेखे । कतिपयका भाषा मिलाइदिए भने कतिपय नवोदित राइटरका ‘निक नेम’ को न्वारान समेत गरे ।
आफ्ना शिष्यका कैँयौँ अनुरोधमा तिनका सन्तानको नाम समेत साहित्यिक रूपका जुराइदिए । भाषाका यिनै वैविध्य खेलमा उनलाई गर्व छ । उनी भन्छन्– ‘भाषा सेवा गर्नु मेरो कर्तव्य हो । म लेखेर, बोलेर र तालिम दिएरै पनि भाषा सेवा गरिरहेको छु ।’
शिक्षणारम्भ रामेछापको सुन्दर औ ऐतिहासिक स्थल दोरम्बास्थित ‘काकलिङ मावि’बाट गरे जहाँ १६ महिना बसे । त्यसपछि ओखलढुङ्गाको सीमामा पर्ने, चिटिक्क र सुन्दर बजारसाँघुटार ‘हिमगंगा मावि’ मा गए त्यहाँ करिब सवा वर्ष बिताएपछि मन्थली आएर निरन्तर २८ वर्षदेखि मन्थली नमुना स्कुल र मन्थली बहुमुखी क्याम्पसमा शिक्षण, प्राध्यापन र सम्पादनमा क्रियाशील छन् ।
क्याम्पस, प्लस टु, प्राविधिक धार र हाइस्कुलका गरी तीसौं हज्जार विद्यार्थीलाई नेपाली पढाइसकेका आचार्य शिक्षणमा मात्र सिमित छैनन् । शिक्षणका अलावा लेखन, प्रशिक्षण र पत्रकारितामा समेत अभिन्न रूपले जोडिएका छन् । उनी यतिखेर रामेछाप जिल्लाकै नेपाली भाषा शिक्षकहरूमा पुरानामा गनिन्छन् । गतवर्ष उनीभन्दा पुराना भाषा शिक्षकहरू दुईजना रिटायर्ड भए ।
उनले रामेछापमा ३ वटा विद्यालयमा पढाउने अवसर पाए । पढाउँदा पढाउँदै उनले मावि तह र उमावि तहका विद्यार्थीका लागि कथा, कविता र निबन्ध विधाका गरी ७ वटा सन्दर्भ पुस्तक लेखेका छन् । यी अलावा प्रौढ साहित्यतर्फ निबन्ध, अन्तर्वार्ता र समालोचना गरी ३ थान पुस्तकहरू समेत प्रकाशित गरेका छन् ।
यिनी सडक कविता क्रान्तिका उपज हुन् । यिनका कथा, कविता, निबन्ध, मुक्तक, गीत र हाइकूहरू विभिन्न पत्रपत्रिकाहरूमा तीसको दसकको अन्त्यदेखि नै प्रकाशित भएका हुन् । साहित्य लेख्न शुरू गर्दा मुलुकमा पञ्चायती शासन थियो । त्यो बेलाँ लेख्नु भनेको ठूलै जोखिम मोल्नु हुन्थ्यो । स्कुल र क्याम्पस पढ्दाका हाँच मिल्ने सँगाती र आफूलाई पढाउने असल शिक्षकको प्रेरणाले उनले साहित्य लेखनलाई निरन्तरता दिने काम गरे ।
‘मैले प्रा.बालकृष्ण पोखरेल, कवि तथा प्राध्यापक भानुभक्त पोखरेल, समालोचक नरेन्द्र चापागाईं, प्रा.कविराज न्यौपाने, प्राडा द्रोण पौड्याल, डा.बद्रिविशाल पोखरेल, कवि महेश प्रसाईं, कथाकार किशोर पहाडी, कथाकार मनु ब्राजाकी, कवि कविराज पोखरेल, कवि विवश पोखरेल र गजलगो सुुविद गुरागाईंको साहित्यिक सानिध्यतालाई लेखनमा अनन्तः ऊर्जाका रूपमा लिएँ र सोही रफ्तारमा अझ लेख्दै छु’, आफू लेखनमा टिकिरहनुको कारणबारे स्ष्ट पार्दै भन्छन् ।
विराटनगरमा जन्मे पनि बाल्यकाल केही भाव र धेरै अभावका बीच सुनसरी र झापामा बित्यो । ‘सडक कविता क्रान्ति’ (२०३६) बाट कविता लेख्ने उत्प्रेरणा पाएका कवि आचार्य आफूले सो क्रान्तिका उन्नायक कवि भवानी घिमिरेबाट ‘कविता क्रान्ति र परिवर्तनको संवाहक भएको’ कुरा प्रभावकारूपमा लिएको र घिमिरेको कविता वाचनको आकर्षक शैलीबाट प्रभावित रहेको स्वीकार्दछन् ।
विना भनसुन, लेखन स्तरीयताकै आधारमा रचना छापिएर करिब चार दसकको लेखन यात्रामा उनी निजी विद्यालयका पाठ्यपुस्तकमा लेखकका रूपमा समेत समेटिएका छन् । जसलाई उनी पुरस्कार ठान्छन् । उनको ‘ऐरावती प्रकाशन’, काठमाडौँबाट प्रकाशित कक्षा ५ को ‘नेपाली किताब’ मा ‘डुसी बाछी र भाइटीका’ नामको बालकथा र सुनगाभा प्रकाशन, काठमाडौँबाट प्रकाशित कक्षा ६ को ‘नेपाली किताब’ मा ‘किस्ताको कम्प्युटर’ नामक बालकथा गरी दुईवटा बालकथाहरू पाठ्यपुस्तकमा समेटिएर विगत् १२ वर्षदेखि विद्यालय तहमा अध्यापन भैरहेका छन् ।
रोचक कुरा उनी जहाँ पढाउँछन् सो विद्यालय नजिकमा अर्को एउटा निजी स्कुलमा उनका कथाहरू पढाइ हुँदा रहेछन् । स्कुल जाँदाआउँदा कोर्स बुकमा कथा पढ्ने ससाना नानीहरूले उनी बारे सोध्छन् । आफ्ना बारेमा हाँसीहाँसी उनी केही बताइदिन्छन् । भन्छन्– ‘लेखक हुनुको मजै यही हो ।’
माता शोभा आचार्य र पिता श्याम आचार्यका तीनभाइ छोरामध्ये जेठाछोरा पेशलको औपचारिक शिक्षा नेपालीमा एम्ए, बीएड् हो । मन्थली क्याम्पसमा १९ वर्षसम्म प्राध्यापन गरेर‘दीर्घ सेवा सम्मान’ पाइसकेका छन् ।
साहित्य लेखन (२०३६) र अखबारी लेखनमा सम्वत् २०४२ सालदेखि निरन्तर लागेका आचार्य ४० वर्षदेखि लेखनमा बेलगाम क्रियाशील छन् । अध्ययनको प्यासले पत्रकारिता रसाहित्यमा लागेका आचार्यले पुरानो प्रविधिकालेटर प्रेसमा ग्याली प्रुफ, नयाँ प्रविधिका अपसेट प्रेस र अत्याधुनिक अनलाइन पत्रकारिताको समेत दीर्घ अनुभव बटुलिसके । जीवनमा केही वर्ष सरकारी जागिर खाए, केही वर्ष प्राइवेट वकिलको कानुन सहायकका रूपमा समेत काम गरे ।
आचार्य रामेछापका तालिम प्रशिक्षक (टट) समेत हुन् । दालरोटीका लागि जागिरका सिलसिलमा आधारभूत र मावि तहका नेपाली विषयक तालिम प्याकेज लेखेका छन् । विभिन्न साहित्यिक संघसंस्थाको नेतृत्व गरेका छन् । नेपाल पत्रकार महासंघ दोलखा–रामेछाप शाखाका संस्थापक उपाध्यक्ष, अनौपचारिक साहित्यिक मञ्चका अध्यक्ष, नेपाली भाषा शिक्षक समाज, रामेछापका अध्यक्ष, एम्नेस्टी नेपाल रामेछाप –१९ समूहका सदस्य, असल शासन जिल्ला समन्वय समितिका सल्लाहकार र स्थानीय गैर सरकारी संस्था सान नेपाल, रामेछापका सल्लाहकार हुन् ।
एउटा रमाइलो कुरो के छ भने उनले रामेछापबाट निस्कने साहित्यिक र साप्ताहिक समाचारपत्रहरूमा भाषा सम्पादकको दायित्व निर्वाह नगरेका त्यस्तो कुनै पत्रिका नै छैनन् जसमा आचार्यले भाषा सम्पादनमा काम नगरेका हुन् ।
लेखनयात्रा बारे सोधिएका प्रश्नका उत्तरमा उनी भन्छन्, ‘हालसम्म मैले १० वटा पुस्तकहरू प्रकाशित गरेँ जसमा ७ वटा विद्यालय स्तरका र तीनवटामध्ये एउटा अन्तर्वार्ता, अर्को आत्मपरक निबन्धसङ्ग्रह र तेस्रोचाहिँ समालोचनाको पुस्तक रहेको छ । छापा र अनलाइनमा गरी करिब ४ हजार विविध सन्दर्भ र शीर्षकमा लेखरचनाहरू प्रकाशन र पोष्ट भएका छन् ।’
उनी अघि थप्छन्– ‘भर्खरै एउटा ‘ब्याक बेन्चर’ नामक आत्मपरक निबन्धसङ्ग्रह डिकुरा प्रकाशन, काठमाडौँबाट प्रकाशित भयो र अर्को ‘पावर, मनि र सेक्स’ नामक समसामयिक लेखसङ्ग्रह प्रकाशोन्मुख छ भने अन्य १ दर्जन पाण्डुलिपि प्रकाशनका तयारी हालतमा छन् ।’आचार्यद्वारा १ दर्जन साहित्यिक पत्रपत्रिका र १ दर्जन जति विभिन्न संघसंस्थाका मुखपत्र र स्मारिकाहरू समेत सम्पादित छन् ।
रामेछापमा लामो समयसम्म रहेर अब्बल शिक्षण गरे बापत २०६८ सालमा राष्ट्रिय शिक्षा पदक प्राप्त गरेका आचार्यले २०५१ सालको परिवेश साहित्यिक पुरस्कार, कविता महोत्सव धरान,पुरस्कार –२०५३ र २०५६ साथै बीबीसी, लण्डनबाट उत्कृष्ट कविको सम्मान समेत पाएका छन् ।
तीन सन्तानका पिता आचार्य निरन्तर लेखनमा लागिरहने इच्छा व्यक्त गर्दछन् । हाल उनी नेपाली साहित्यमा क्रियाशील स्थापित र नवोदित २ सय साहित्यकारहरूसँग साहित्यिक अन्तर्वार्ता लिइरहेका छन् भने बालसाहित्य र किशोर साहित्यको पठन÷लेखनका लागिगाउँगाउँमा गएर बालबालिका र किशोर किशोरीहरूलाई पठन संस्कृति जगाउने र सिर्जनात्मक लेखन सिकाउने छोटा तालिमहरू दिन्छन् ।
उनले सङ्ग्रह गरेका अन्तर्वार्ताको सङ्ग्रह ‘वार्ता संवार्ता’ भविष्यमा प्रकाशन गर्ने लक्ष्यराखेका छन् । साहित्य र पत्रकारितामा लागेर कुनै नराम्रो काम नगरेको ठान्ने आचार्य आफूले अझै निबन्ध र कवितामा नयाँनयाँ प्रयोग गरेर लेख्ने कोसिस गरिरहेको कुरा वार्ताका क्रममा सगौरव बताउँदछन् ।
‘अध्ययन, मनन, लेखन र प्रकाशन नै जीवनको अन्त्यहीन इच्छा भएको’ बताउने आचार्यले लेखेका गीतहरू रेकर्ड गरी यूटुबमा राखिएका छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



