लेखेर पनि लेखक बन्न नसकेको म

सुष्मा खत्री

दुई बर्षको पनि पुग्दानपुग्दै आमाले सिसाकलम हातमा थम्याइदिएर लेख्न सिकाउनु भएछ । दुई बर्ष फरककी बहिनी जन्मेकै थिइन । पहिलो सन्तान भएकोले अनि आमाको आफ्नै धेरै पढ्ने रहर पूरा नभएकोले छोरी पढाउने रहर अति नै जागेछ ।

रामायण, महाभारत र पूजा गर्दाका पाठहरू पढ्ने अनि चिठ्ठी लेख्नेबाहेक अनौपचारिक शिक्षा मात्रैमा सिमित हुन परेको आमाको छोरी राम्रै लेख्दै पढ्दै गएछु । ठाँउ सर्दै, स्कुल फेर्दै चौतारा, सिन्धुपाल्चोकदेखि ललितपुरको आदर्श विद्यामन्दिर, काठमाडौंको हिमालय विद्या मन्दिर हुँदै महेन्द्र भवनबाट प्रवेशिका परिक्षा २०३९ मा दिन पुगेँ । इन्जिनियरिङ्ग कलेजमा पढ्ने भनेर भरेको फर्म नबुझाईएर पद्मकन्या कलेजमा भर्ना गरियो ।

त्यो ताका छोरीले पढ्ने बिषय र छोरीको चाहना घर परिवारले तय गरिदिने जवाना !

भौतिक विज्ञान बिषय लिएर पढ्दै थिएँ । यौवन मन, कताकता असन्तुष्टी, भावनाका तरङ्गहरू मनमा खेल्दै कापीका पानाहरूमा कोरिन थाल्यो । केही जानिनजानी हरफे चुड्किला, कविता कोरेर कलेजको चौरमा बस्दा साथीहरूलाई सुनाउन थालें । उनीहरूको वाहवाही सँगै लेख्दै सुनाउँदै क्लासको ब्रेक वा क्लास नहुँदाको समय रमाइलो गर्ने माध्यम बन्थ्यो मेरा भावना, मेरा सृजना । नेपाली र नेपाल परिचय त कोर्समै पढ्नु पर्थ्यो । त्यो सँगसँगै फुर्सदमा उपन्यास पढ्ने रहर बढ्यो । आईएस्सी परिक्षा दिइसकेर बसेको समयमा घरैमुनिको मेरीगोल्ड प्राईमरी स्कुलमा नेपाली पढाउन थालेँ । नेपाली ब्याकरणमा राम्रो जान्न जरूरी थियो । आईएस्सीपछि पाटन कलेजमा बिएस्सी पढाई शुरू गरेँ । ईन्जिनियर बन्ने चाहना पूरा नहोला जस्तो भएर विचलित भईरहेको थिएँ । सोभियत सांस्कृतिक केन्द्रबाट छात्रवृत्ति पाईन्छ भन्ने थाहा पाएर रसियन भाषा सिक्न थालेँ । त्यहाँ अतिरिक्त कार्यकलापमा धेरै सहभागी भएँ । रूसी र नेपाली साहित्यकारहरूको जन्मजयन्ती मनाउने क्रममा कहिले नेपाली कविता, कहिले रूसी कविता वाचनको कार्यक्रम हुन्थ्यो । प्रत्येकमा म भाग लिन्थेँ । एकपटक मैले वाचन गरेको कविता प्रथम भएर त्यतिबेला निस्कने सोभियत भूमी पत्रिकामा प्रकाशित भयो । त्यस्तै अर्को पटक हामीहरूले नै कविता बाचन कार्यक्रम गरायौं । त्यहाँको पुस्तकालयमा प्रशस्त रसियन भाषाका पुस्तक पाईन्थ्यो ।

त्यहाँ बिताउने समय भनेको साँझको समय थियो । कलेजको पढाई त चलिरहेको नै थियो । होलीको दिन म र बहिनीलाई बाहिरी लोलाबाट बचाउन कोठामा बन्द गरियो । भित्र के गरेर बस्नु ? लेख्न थालेँ । लेखको शीर्षक थियो, नेपाली नारी किन पिछडिएका ? पछि सबैलाई सुनाएँ ।आफूलाई लेखक नै भए जस्तो लाग्यो ।

त्यस्तै एकदिन बहिनीको साथीले अस्मिता भन्ने पत्रिकामा सप्तरङ्गी क्यानभासमा किशोरी मनको स्तम्भको लागि प्रश्नको उत्तर लेखी पठाउनु न भनिन् ।उत्तर लेखेँ, पठाएँ । उत्कृष्ट चार जनाको भनाइ छापियो । प्राविधिक क्षेत्रमा लाग्ने विचार ब्यक्त गरेको थिएँ । उहाँहरूलाई के मन परेछ कुन्नि, भोलेन्टेरी काम गर्छौ भनेर सोध्नु भयो । मेरो बिएस्सीको दोस्रो बर्षको क्लास करिब सक्किसकेको थियो । केही परिक्षा मात्र बाँकी थियो । मैले हुन्छ भनेँ । उहाँहरूले दिएको काम राम्ररी गरेर बुझाउँथे । ए वन, अमेरिकन र भारतिय लाईब्रेरीको लागि कार्ड बनाइदिनु भएको थियो । पत्रपत्रिका, पुस्तक पढेर टिपोट, लेख लेख्नु पर्थ्यो।कहिले कता कहिले कताको रिपोर्ट भने बमोजिम ल्याउँथे । एक पल्ट एउटा नारी भएर के सेक्रेटरीको काम गर्न सजिलो छ त ? भन्ने शिर्षकको लेखको लागि सार्क सेक्रेटरीदेखि सेक्रेटेरियल तालिम दिने ठाउँसम्म एक्लै गएर अन्तरवार्ता लिएर, रेकर्ड र फोटो सङ्कलन गरेर लेख तयार पारेको याद अझै आउँछ । दिनभरी एउटा समोसा र एक कप चिया पारिश्रमिकको भरमा दौडिन्थेँ । त्यस्तै विश्वको पहिलो महिला अन्तरिक्ष यात्री रूसी भ्यालेन्टिना तेरेस्कोभाको बारेमा रसियन भाषाबाट नेपालीमा उल्था गरेर अस्मितामा लेख तयार गरेर छापिएको थियो । अर्को सम्झेको दिन भनेको इन्द्रचोकतिरै हो जस्तो लाग्छ, नेता गणेशमानको भाषण हुलभन्दा पछाडि बसेर रेकर्ड गरेर ल्याएको थिएँ । देशमा आन्दोलन चर्कदै थियो । कर्फ्यु लागेको थियो । बागबजारमा रहेको अस्मिता पब्लिकेसन्समा मैलै तयार गरेको रिपोर्ट बुझाउनै पर्ने थियो । कर्फ्यु केही घण्टाको लागि खुलेको थियो । तर घरबाट निस्कन पनि बहाना बनाउन पर्ने । रिपोर्टलाई लुगाभित्र लुकाएर साथीकोमा नोट लिन जान्छु भनेर निस्केँ । कर्फ्युमा खानतलासी गरेको भएनि पत्रकार भनेर समात्न बेर थिएन । बुझाएर घर फर्कें । लेखनमा पोख्त हुदै गईरहेको थिएँ । बाहिर काम नहुँदा भाषा शुद्धी ईडिटिङ्गको काम पनि हेर्न थालिसकेको थिएँ । मलाई सम्वाददाताको कार्ड बनाइदिएका थिए ।

तर मेरो सोभियत संघमा इन्जिनियरिङ्ग पढ्न जाने छात्रवृत्ति आयो । सब छोडेर पढ्न जाने निधो गरेँ । एकदुई ब्याक पेपर दिन भ्याउने भए पनि दिइनँ।नेपाल बसेको भए लेखक वा पत्रकार नै बन्थेँ कि ? पढ्न गएपछि नौलो ठाँउ, वातावरण, रहन सहन सब नौलो । झन् नलेख्ने त कुरै भएन । घर परिवार, साथीहरूसँगको चिठ्ठीमा म भावुक भएर पोखिन्थेँ । म पढेको शहर यूक्रेनको ओडेसामा पनि नेपालीहरूले साहित्यिक हाते पत्रिका निकाल्ने रहेछन्, पालुवा ।त्यस्तै मैले मस्कोबाट निस्कने र ओडेसाबाट निस्कने पत्रिकालाई लेख, कविता दिईरहन्थेँ । २०५१ सालतिर ईन्जिनियर बनी नेपाल फर्कें । पाटनढोकामा झण्डै ४०० जना महिला कामदार भएको ईलेक्ट्रोनिक्स फ्याक्ट्रीमा क्वालिटी ईन्जिनियर भएर काम गर्न थालेँ ।

लेख्ने काम डायरीमै सिमित भयो । त्यहिताका नजिकैको पुस्तकालय छिर्न खोज्दा परिचयपत्र माग्यो । सायद सदस्यता कार्ड खोजेको होला । मन खल्लो भयो । छिर्न लेखक हुनु पर्ने रहेछ कि जस्तो पनि लाग्यो । त्यसपछि केही महिना जर्मन ट्रेनिङ्ग गएँ । अनि फेरि अन्तरजातिय विवाहले बेहोर्नु परेका कठिनाइहरूमा आँशु झार्दै कागजमा कोर्नु सिवाय कुनै विकल्पै रहेन । फुर्सदमा फेरि केही लेख्न थालेँ । कहिलेकाँहि कुनै पत्रिकाहरूले लिएका मेरा अन्तरवार्ताका लागि केही त लेख्नै पर्यो । वेभ, नारी र विदेशी पत्रिकाका लागि समेतमा अन्तरवार्ताको उत्तर लेखेर पठाएँ । कहिले आफूले अरूको अन्तरवार्ता लिने, कहिले अरूले आफ्नो ।

फेरि एक पटक काव्य बुटिकको फोटो सुट हाम्रै घरमा भयो । त्यहीँबाट नारी म्यागेजिनको एकजना बहिनीसँग सम्पर्क भयो । हाम्रो घरको ईन्टेरियर देखेर लेख्न आग्रह गर्नु भयो । लेखेँ, नारीमा छापियो । ईलेक्ट्रोनिक्स ईन्जिनियर भए पनि रुचि भएको बिषयमा चाख लिएर पढिहाल्ने, सिकिहाल्ने अनि लेखिहाल्ने बानी पर्यो । घर हेर्दाहेर्दै वास्तु समेतमा रूचि बढ्न थाल्यो । वास्तूको क्लास पनि लिएँ । आफ्नै घरमा प्रयोग गरेँ, अरूलाई सल्लाह, सूझाव दिए, लेखे । यसरी नारीमा स्वयंसेवी सरह फोटो समेत खिचेर १५, २० वटा लेखहरू पठाएँ, छापियो पनि । अनगिन्ती पाठकहरूले पढे होलान् । महानारीका लागि पनि केही दिएँ ।

१४ बर्षपछि जब फ्याक्ट्रीको काम छोडेर श्रीमानकै अफिसमा काम गर्न थालेँ, केही समय निकालेर टेवा भन्ने संस्थामा स्वयंसेवक कार्यक्रममा केही समय दिन थालेँ । पछि त्यहीँबाट निस्कने भोलिएन्टियर भ्वाईसमा सदस्य, सहसम्पादक हुदै सम्पादकको काम गरेँ । हुन त बर्षको दुई चारवटा बुलेटिन निकाल्ने हो । तैपनि सबै ज्ञान हुन जरूरी हुने रहेछ । १० बर्ष बित्यो । सम्पादक हुँदा त्यसको लागि सम्पादकिय कसरी लेख्ने होला भन्दै खोजी गर्दै घोस्ट राईटिङ्ग नेपालमा पुगेँ । पुषमाघको बिहानी जाडोमा ३ महिने सृजनात्मक लेखन क्लास पनि लिए । त्यहाँ एउटा कुरा सिक्न गएको अझ गहिरिन पुगेँ । दिग्गज ख्याति प्राप्त परीक्षाहरू, जो कविता, निबन्ध, नियात्रा, कथा, उपन्यास, नाटक, गीत, गजल लेख्ने लेखकहरूले सिकाउनु हुदोरहेछ। त्यहि दौरानमा आफ्नै बुवाको किताब स्वाभिमान र स्वविवेक निकाल्ने क्रममा अन्तिम सुद्दासुद्धी मिलाउने काम समेत गर्ने मौका मिल्यो ।

कहिले बुढाबुढीको दिवा सेवा घरमा काम गर्दा उहाँहरूसँग बिताएका पलहरू कागजमा उतारे । कहिले कलेजमा विद्यार्थीहरूलाई सिकाउँदाको अनुभव लेखेँ ।

यति लामो यात्रामा कति भोगाई लेखे । के के लेखेँ के के । आत्मसन्तुष्टिको लागि लेखेँ । अरूको लागि समेत लेखिदिएँ, कसैलाई कविता लेखिदिएँ, कसैलाई लेख लेखिदिएँ, कसैलाई गीत भनेर समेत दिए । जे लेखेँ, पैसा बिना लेखेँ । कति समय खर्चे हुला । कति ठाउँ उल्टै तिरे हुँला । तैपनि सिकाई अझै जारी छ । यो कोरोनाको कहरमा पनि लुक्सनेपाल, नारी, उकेरा, नेपालनाम्चाहरूमा केही लेखेर दिएँ । कति पाठकका लाँगि खुराक पनि बने होलान् । लेख त भन्छन् । म लेख्छु । तर म अझै लेखक बनिसकेको छैन । किन कि मैले अझै सिङ्गो किताब लेखेकी छैन । सिंगो किताब पुस्तकालयमा पुगिसकेको छैन । छरिएका पानाहरूमा यत्रतत्र फ्याँकिएका छन् । समेट्ने फुर्सद पाएको छैन । लेखन जीवनको पूर्वाद्धमा जीवन धान्ने पेशा बन्न सकेन । लेखेर लेखक बन्न सकिएन । तैपनि यसले मलाई आत्मसन्तुष्टि दियो । चित्त दुख्दा मन बहलाउन भरपूर साथ दियो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

One Comment

  1. ओहो ! माडम म कुनै बेला एउटा नाम चलेको पत्रिकामा (audit) हिसाब चेक गर्न गएको थिए । दिग्गज दिग्गजहरुले लेखेको लेखहरुको पारिश्रमिक देखेर मेरो आंखाबाट आँसु नै आएको मेरो सम्झना छ । सायद उहांहरु पनि हजुरले जस्तै आत्मा सन्तुष्टिको लागी मात्र लेखेको हुन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button