
टेलिभिजन दिवसमा टिभीका कुरा
प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य एवं राशि स्तम्भकार
आज विश्व टेलिभिजन दिवस । नोभेम्बर २१ तारिखको दिन अर्थात् आजको दिन विश्वका प्राय: सबै देशमा आज टेलिभिजन दिवस मनाइन्छ । त्यसमध्ये हाम्रो नेपाल पनि पर्दछ । विभिन्न क्रियाकलाप गरी व्यक्तिहरूले आज यो दिवस मनाऊँछन् । मेरो मनमा पनि टेलिभिजनसित सम्बन्धित कुराहरू, एकपछि एक गर्दै दगुर्न थाल्यो र आफ्नो मनमा उठेका भावहरूलाई पानामा कोर्ने हुट्हुटी जाग्यो ।
विश्वमा टेलिभिजनको प्रादुर्भाव पहिलेदेखि नै भएको थियो । नेपालमा भने सिंहदरबारमा २०४३ सालमा नेपाल टेलिभिजनको विधिवत् रूपमा स्थापना भएको हो । पहिले नेपाल टेलिभिजन पहिलो टेलिभिजनको थलो मानिँदै आएकोमा पछि कान्तिपुर टेलिभिजनको पनि स्थापना भयो । समयसँगसँगै विभिन्न टेलिभिजन र च्यानलहरू पनि खुल्दै गए । अहिले त थरिथरिका टिभी च्यानहरू छन्, नामै सम्झिन गाह्रो छ । केही प्रचलित मध्ये उपत्यकाका नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एपी वन टेलिभिजन आदि र त्यसैगरी नेपालका विभिन्न प्रदेश र त्यस अन्तर्गत जिल्लाहरूमा पनि विविध टेलिभिजन संस्थाहरू छन् ।
United Nations नामक अन्तराष्ट्रिय संस्थाले सन् नोभेम्बर २१ तारिखको दिनलाई विश्वव्यापी रूपले टेलिभिजन दिवस घोषणा गर्ने निर्णय गरी सन् १९९६ नोभेम्बर २१ तारिखदेखि यो दिवस विश्वभरी मनाउन थालिएको हो, जुन आज नेपाली मितिले मंसीर ५ गते आइतवारको दिन परेको छ ।
म नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजन दुवैसित जोडिएकी र नजिकिएकी छु ।
नेपाल टेलिभिजनको स्थापना भएपछि धेरैजनाको घरघरमा टिभी किन्ने क्रम चल्यो । त्यतिबेला म सानै थिएँ । मेरो बालसुलभ मनले पनि टिभी हेर्ने चाहना राख्यो र मैले एक दिन बुवासित हाम्रो घरमा पनि टिभी किन्ने कुरा गरेँ । त्यसबेला बुवाले पढ्नेबेलामा किन टिभी चाहियो भन्नुभयो ! अनि फेरि एकछिन पछि मेरो झोक्राएको मुख देखेर भन्नुभयो,’हेर छोरी ! टिभी किनेर ल्याएर के गर्ने ? के हेर्ने ? टिभीमा हेर्ने कुरा पनि हुनुपर्यो । कुनै त्यस्तो उपलब्धिमूलक कार्य गर्नुपर्छ जसले गर्दा आफ्नो मुहार टिभीमा देख्न सकियोस् र आफूले आफुलाई देख्न पाउँदा मनै गद्गद् होस् !’
बुवाको कुरा सुनेर मैले केही प्रतिक्रिया गरिन ! बुवाको डर लाग्थ्यो । बुवासित केही भनेर प्रतिप्रश्न गर्ने र जिद्दी गर्ने सामर्थ्य (अहिलेका केटाकेटीले गर्नेजस्तो) ममा थिएन । त्यसपछि मलाई त्यो कुराको त्यति वास्तै भएन ।
हाम्रो बुवाले जे कुरा सोच्नुहुन्थ्यो त्यो कार्य सकेसम्म पूरा गरेरै छोड्नुहुन्थ्यो । मैले त बालमस्तिष्कले टिभी किन्ने कुरा गरेकी थिएँ । बुवाले त्यस कुरालाई गम्भीर रूपले लिनुभएछ र मेरो चाहना र आफ्नो लक्ष्य एकैसाथ पूरा गर्ने अठोट लिनुभएछ । त्यतिबेलाका नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक श्री तपानाथ शुक्ला अंकलसित टिभीमा संस्कृत भाषासम्बन्धी पाक्षिक कार्यक्रम ‘संस्कृतम्’ आफ्नै संयोजकत्वमा चलाउने कुराको छिनोफानो गरी पो आउनुभएछ । अब त आफ्नै कार्यक्रम टिभीमा आउने भयो । अनि रंगीन टिभी पनि किनियो । यसरी हाम्रो घरमा टिभीले प्रवेश पायो ।
कार्यक्रम हाम्रो बुवा प्रा. डा. विष्णुराज आत्रेय र ठुली दिदी डा. अलका आत्रेय चूडालले संचालन गर्नुहुन्थ्यो जसमा मैले र भाईले बाल कलाकारको भूमिका निभाऊँथ्यौँ । कार्यक्रमको रूपरेखा सबै बुवाले तयार पार्नुहुन्थ्यो जसमा समाचार, गीत-कविता, नृत्यका साथै विविध सामयिक गतिविधि सामेल थिए । बुवाले संस्कृत सिकाइको माध्यम बनोस् भनेर अति सरल र सुगम भाषामा कार्यक्रमको संयोजन गर्नुहुन्थ्यो जसमा दिदीले समाचार वाचन गर्नुहुन्थ्यो । कहिलेकाहिँ बुवाले पनि समाचार भन्नुहुन्थ्यो । यसरी त्यतिबेला २०४५/४६ सालमा बुवाको प्रावधानमा हामीले नेपाल टेलिभिजनको इतिहासमा पहिलो र ऐतिहासिक संस्कृत कार्यक्रम प्रदर्शन गर्न सफल भएका थियौँ । बुवा पनि देवनागरी संस्कत भाषालाई सबै समक्ष प्रस्तुत गर्न पाउँदा खुशी हुनुभएको थियो ।

त्यसै बखत नेपाल टेलिभिजनको ‘बाल कार्यक्रम’ अन्तर्गतको कुनै एक श्रृंखलामा म पनि अनुबन्धित भएकी थिएँ जसको छायांकन भृकुटीमण्डपको बाल उद्यानमा गरिएको थियो । अहिले ती कुरा सम्झिँदा रमाइलो लाग्छ ।यै गीत भनेर ठ्याक्कै ठम्याउन गाह्रो भए पनि ‘… कपुरी क खरायो ख … लेख्न पढ्न पाउनु हाम्रो अधिकार छ … अधिकार छ …’ भनेर बालगीत प्रसारित हुन्थ्यो, म यसै गीतमा छुजस्तो लाग्छ । किशोरावस्थामा पनि चलचित्र निर्देशक यादव खरेल अंकलको ऐतिहासिक चलचित्र ‘आदिकवि भानुभक्त’को ‘चपला अबलाहरू एक सुरमा …’ गीतको दृश्यमा पनि आफूलाई कैद गर्ने मौका मिलेको थियो ।
पछि नारीमा स्तम्भकारको रूपमा लेख्न थालेपछि मलाई कान्तिपुर टेलिभिजनमा ‘के आज घरमै !’ नामक कार्यक्रमको लागि अन्तर्वार्ता दिनको लागि प्रस्ताव आयो । संयोगवश मेरो अन्तर्वार्ता लिने त्यतिबेलाकी मिस नेपाल प्रीति सिटौला हुनुहुन्थ्यो । प्रीतिले प्रीतिको अन्तर्वार्ता लिन लागेको भनेर हाम्रो अन्तर्वार्ता लिने बेला हामी दुवै रमाइलो गरी हाँसेका थियौँ । त्यो कुरा सम्झिँदा अझै पनि रमाइलो लाग्छ । कार्यक्रमकोलागि निमन्त्रणा पनि मलाई एक नारीले नै गर्नुभएको थियो, कुराकानीका क्रममा मैले नारीमा लेख्ने गरेको राशिफल मिलेको र मेरो लेखनले प्रभावित भएको कुरा गर्नुभएको थियो जुन सुनेर मन अति खुशी भएको थियो ।
यसरी मेरो टेलिभिजनसितको बाल्यकालदेखिकै मिठो अनुभव छ । जुन सधैँभरी मेरो मानसपटलमा रहिरहन्छ र रहिरहनेछ । सिंहदरबारमा नेपाल टेलिभिजनको कार्यकक्षमा म कयौँपटक गएकी छु । पछि फेरि कान्तिपुर टिभीमा भएका रमाइला सम्वाद सम्झिँदा पनि मन खुशी हुन्छ । टिभीसितको यो गहिरो नाता मैले मेरा आदरणीय बुवाकै कारणले पाएकी हुँ । अहिले यी सबै सम्झनाका कुरा सिंहावलोकन गर्दा ती पुराना कुराहरू चलचित्रको रील घुमेझैँ मानसपटलमा फनफनी घुम्छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



