राम्री भएर बस्, केटो हेर्न आउँदैछ

प्रतिमा शर्मा, अधिवक्ता

झन्डै पाँच दशक अगाडिको जन्म, जमाने, धुल्लुबास्कोट भन्ने गाउँमा । यो ठाउँ बाग्लुङ जिल्लाको दक्षिण क्षेत्रमा पर्छ । ठ्याक्कै उमेर कति थियो थाहा छैन, लगभग ६ वर्षको उमेर थियो होला मेरो । बाले बाग्लुङबाट सबै परिवारलाई तराई, रुपन्देही जिल्लाको सबैभन्दा पश्चिम, रुद्रपुर भन्ने गाउँमा लग्नु भयो । टन्न जग्गाजमिन, खेतिपाती गर्ने, गाई, भैसी, र बाख्रा हेर्ने व्यक्ति समेत राखेर जमिन्दारी परिपाटी मिलाउनु भएको थियो बाले । म पनि बाख्रा हेर्न र घाँस काट्न जान्थेँ ।

छोरीहरुलाई घर, गोठ, खेतबारीको काम सिकाउने र छोराहरुलाई घरमै शिक्षक राखेर पढाउने चलन थियो त्यतिबेला । वरीपरी धेरै काकाहरुको घर, सबै घरको बिचमा अाँगन, त्यही आँगनमा परालको गुन्द्री ओछाएर पढ्न बस्थे दाजुभाइहरु । त्यो ठाउँमा बसेर पढ्ने अनुमति थिएन छोरीहरुलाई । अहिले पनि म सम्झिन्छु कि … यादव सर, … ज्ञवाली सर आदि शिक्षकहरु हाम्रो घरमा बसेर दिउसो नजिकैको स्कुलमा पढाउनुहुन्थ्यो, साँझ विहान हाम्रा दाजुभाईहरुलाई त्यही आँगनमा जम्मा गरेर निशुल्क ट्युसन पढाउनु हुन्थ्यो । छोराहरुलाई पढाइदिए वापत शिक्षकहरुलाई बस्न खान निशुल्क थियो । मैले धान तेसै दिएँ, मीतले मलाई हलो त्यसै दिए भने जस्तै ।

पहाडबाट तराई झरेको पहिलो वर्ष मलाई स्कुल पठाउनु भएन बाले । मेरो भाइ सानो थियो । त्यसैले ऊ पनि गएन । अरु दाईभाइहरु (काकाहरको छोराहरु) दिउँसोमा स्कुल जान्थे र साँझविहान त्यही आँगनमा सरहरुसँग पढ्न बस्थे । सरले दाजुभाईलाई पढाएको घरको पीढींमा बसेर सुन्थे । अनि सुटुक्क पढाउने ठाउँमा जान्थे र केके लेखेका छन् त्यो सबै मन मनमा लेख्थे । पछाडि उभिएर । दौडेर घरको पछाडितिर जान्थेँ र अंगारले भित्तामा लेखेर मन खुसी बनाउँथे । अरुले देखे भने गाली गर्छन् भनेर सुटुक्क लेख्थे । लेख्न जाने पछि आफै एक्लै खुसी हुन्थे । तर कसैलाई देखाउन पाए हुन्थ्यो, सुनाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो, त्यो बालमनोज्ञान कतै पोख्न पाइन ।

पहाडबाट झरेको पहिलो वर्ष यसरी नै बित्यो ।

अर्को वर्षको शैक्षिक सत्रको शुरुवातमा मेरो रहर पुरा भयो । मलाई स्कुलमा भर्ना गरिदिनुभयो बाले तर मेरी दिदीलाई स्कुल पठाउनु भएन । मलाई स्कुलमा भर्ना गरिदिनुको मुख्य उद्देश्य थियो म भन्दा सानो, प्यारो पुन्टे भाइलाई सुरक्षित तरिकाले स्कुल लाने र ल्याउने, भाइको झोला बोक्ने र संरक्षण गर्ने । बाआमाको उद्देश्य जे सुकै होस, स्कुलमा मेरो पहुँच पुग्यो । त्यही मौका थियो आफुले लेख्न पढ्न जानेको कुरा रुचीका साथ कक्षा कोठामा सरहरुलाई देखाउने । हरेकपटक स्याबासी पाउँथे । स्कुलले लिने हरेक परिक्षमा १०० मा १०० नम्बर ल्याउँथे । हस्तलिखित अक्षर राम्रो भएन रे भनेर अलिकति गाली पनि खान्थेँ । अंगारले भित्तामा लेख्ने बानी परेका मेरा हात, खरीले कालोपाटीमा र कलमले कापीमा लेख्दा भोल्टे अक्षर हुन्थे सायद त्यसमै गाली खान्थे मैले । अहिले पनि मेरो अक्षर राम्रो छैन । धन्न कम्प्युटरको जमाना आयो, नत्र त लेख लेख्दा पनि नम्बर काटिन्थ्यो होला । जेहोस्, स्कुलमा अन्तिम रिजल्ट आउँदा क्लास फस्ट वा स्कुल होलफस्ट भनेर नाम आउँथ्यो, अबिर, फुल, मालाले पुरिन्थेँ, सरले घरमा ट्युसन पढाएका मेरा दाइभाइहरु कोही असफल हुन्थे त कोहीकोही पासमात्र । म भने आँगनको धुलोमा अभ्यास गरेर वा अंगारले भित्तोमा कोरेर भए पनि आफुलाई अगाडि बढाउन सफल भएँ ।

बिस्तारै समय परिवर्तन हुँदै गयो । २ कक्षाको रिजल्ट आएपछि ३ कक्षामा भर्ना हुने समय आएको थियो । बाले सबै शिक्षकलाई छोरीले धेरै इज्जत बढाई भनेर खुसी साटासाट गर्ने उद्देश्यले भोजन ग्रहण गर्न भनि घरमा बोलाउनु भएको रहेछ । बाहुनका घरमा त्यो बेला खीर सबैभन्दा मीठो खाना मानिन्थ्यो । मेरो सम्झनामा त्यतिबेला दल बहादुर थापा, मुक्तिनाथ ज्ञवाली र … यादव सरहरु बाको निम्तोलाई सम्मान गर्दै भोजन ग्रहण गर्न हाम्रो घर आउनु भएको थियो । खीर खादै हुनुहुन्थ्यो उहाँहरु । त्यही बेला बाले छोरी त धेरै जान्ने भइछ, सबैलाई जितिहाली, अब यो भन्दा धेरै पढाउनु परेन, अर्काको घर जाने जात, बरु राम्रो पढेको केटो पाए चोखो जल खाएर कन्यादान दिनेमन छ भनेको सुनेँ । मेरै कानले सुन्यो । धेरै पढ्ने मन थियो मलाई । तर ९ वर्ष उमेर पनि नपुगेको, त्यति सानो उमेरमा बा केटाको खोजीमा लागेको थाहा पाएँ । ३ जना सरमध्ये १ जना अविवाहित रहेछन् । तिनै अविवाहित सरले खुसी हुँदै, ‘उसो भए म विवाह गर्छु, मलाई दिनुस्, म उसलाई १० कक्षासम्म पढाइ दिन्छु’ भनेर मागी पनि हाले । मलाई त्यतिबेला सबैलाई ध्वस्त गर्दिउँ जस्तो लाग्थ्यो ।

ध्वस्त कसरी गर्नु ? आफै सानो मान्छे । अरुको संरक्षण, माया र स्याहार चाहिने बेला । त्यही पनि बालचिन्तनले जे ठीक छ भन्यो, त्यही जुक्ती लगाएँ । सरहरु खाना खाएर बिदा हुनुभयो । आमाले भाइबैनी र मलाई पनि खाना खान बोलाउनु भयो । त्यही मौका पारेर म रोएँ । म केही खान्न, म त टन्न अगाएँ, अबदेखि म कहिल्लै खान्न, मेरो विवाह गरिदियौ भने केटाहरुले जस्तै रक्सी खाएर आउँछु, तिमीहरु सबैलाई रक्सी ल्यार खुवाउँछु अनि म मर्छु आदि आदि …..भन्दै रोएँ । बेस्सरी रोएँ । त्यो पल सम्झिँदा म अहिले पनि भावुक हुन्छु । मनमा चोट पुग्यो । कहिल्लै निको नहुने चोट जस्तो …

मेरो सानो धम्कीले विवाह भएन । म सफल भएँ । मेरो पढाई जारी रह्यो तर स्कुल जाँदा बाटोमा गाउँकै केही केटाहरुले जिस्काउँथे, वइ चेली, चेला खोइ भनेर । उनीहरु आफ्नै गाउँका केटा थिए, चिनेजानेका, म भन्दा उमेरले ठूला तर मलाई उनीहरुसँग बेहद डर लाग्थ्यो ।

Ad

३ कक्षासम्म मात्र निशुल्क थियो । ४ कक्षादेखि शुल्क तिर्नुपथ्यो । उता बालाई छोरीमाथि लगानी गर्नु वाहियात हो जस्तो लाग्थ्यो । मलाई पढ्ने मन थियो । के गर्नु ???? यस्तैमा स्कुलमा सूचना पाटीमा एउटा सूचना देखेँ । जेहेन्दार, गरिब, दलित र जनजाति विद्यार्थीका लागि छात्रवृत्तिीको अवसर खुलेको सूचना । आफु न त गरिब बाउको छोरी, न दलित र जनजाती नै परेँ । त्यसैले मैले एउटा जुक्ति लगाएँ र निवेदन लेखी स्कुलमा पेश गरेँ । मैले निवेदन दिएको कुरा घरमा कसैलाई थाहा थिएन । मलाई अहिले पनि याद छ, निवेदनमा यस्तो लेखेको थिएँ, ‘… म पढाइमा राम्रो छु, म जेहन्दार विद्यार्थी हुँ । मलाई धेरै पढ्ने मन छ तर मेरो घरमा छोरीलाई लगानी गर्नु बेकार छ भनेर मेरो विवाहको योजना बनाएका छन्, त्यसैले मेरो पढ्ने सपना पुरा गर्नको लागि छात्रवृत्ति पाउँ ।’ यो निवेदन पनि रुँदै लेखेको थिएँ । निवेदन लेख्दै गर्दा आँशुका थोपा तप्प तप्प चुहिएका थिए । मैले निवेदन दिँदै गर्दा शिक्षकहरुले मेरो आँखा पढेका थिए । मनमा झिनो आशा थियो ।

दिनहरु बित्दै गए । छात्रवृत्तिको निर्णय कहिले आउला भन्ने प्रतिक्षामा थिएँ । केके गर्दा पढ्न पाइन्छ, त्यो सबै कुरा गर्न उद्यत थिएँ म । जिन्दगी केवल पढाईमा देख्थेँ मैले । हरेक शुक्रबार सरस्वती माताको ब्रत बसेमा विद्या आउँछ, धेरै पढ्न पाइन्छ, आफुले चाहेको कुरा पुरा हुन्छ भन्थे साथीहरु । साथीहरु पनि सबै ब्रत बसेको देखेँ । त्यसपछि, म पनि कक्षा ४ मा पढ्दा हरेक शुक्रबार सरस्वती माताको ब्रत बस्न थालेँ । ब्रत बस्दा हरेक दिन सरस्वती मातासँग २ वटा कुरा माग्थेँ । एक, धेरै पढ्न पाउँ, दुई, मेरो विवाह नहोस् ।

छात्रवृतिको परिणाम त आयो तर जम्मा ५० प्रतिशत शुल्क मिनाहा भनेर । त्यही पनि खुसी हुँदै आमाबालाई सुनाएँ । जति पैसा लागे पनि मलाई १० सम्म पढाइदिनुस्, म कमाएर दिन्छु भन्दै अनुनयविनय गरेँ । म रोएँ । धेरै रोएँ । त्यो बेला आमाबामध्ये कसैले मलाई अंगालो हालेर ढाडस दिए हुन्थ्यो, माया गरे हुन्थ्यो र मेरो प्रस्तावमा सहमति जनाए हुन्थ्यो जस्तो लागेको थियो तर त्यो प्राप्त भएन । अहिले पनि आमाबाको माया सम्झिँदा रित्तो महसुस हुन्छ मलाई । सायद मैले माया चाहेको बेला महसुस गर्न पाइन, त्यही भएर होला ।

यस्तै यस्तैमा ४ कक्षा सकियो र ५ कक्षामा भर्ना भएँ । ५ कक्षा सकी ६ कक्षामा पढ्ने साथीहरुको पुस्तक खोजी गरें ताकी बाआमालाई पुस्तक किन्ने बोझ नपरोस् । पुस्तक किनिदिनुस् भनेपछि पढाइ छोड् भन्ने शब्द सुन्नुपर्छ भनेर पलपलमा तर्सिन्थेँ । स्कुल छोड् भन्ने शब्द सुन्न नपरोस् भनेर घर र खेतबारीको धेरै काम गर्थेें । बिहान ५ बजे उठेर ३०-४० वटा बाख्रा चराउन जंगल लान्थेँ कि त, खेतमा गएर एकभारी घाँस काटेर ल्याउँथें । सिजन अनुसारको काम गर्थें खेतलासँग । यस्तो काम मैले मात्र होइन, मेरा भाइ र बहिनीहरुले पनि गरेंका थिए ।

फरक यति मात्र थियो कि भाइ र बैनीलाई नपढ्, स्कुल छोड् भनेनन्, मलाई पलपलमा स्कुल छोड्, अब विवाह गर्ने हो, राम्री भएर बस्, केटो हेर्न आउँदैछ आदि इत्यादी दबाव दिइन्थ्यो । त्यही दवावका कारण पलपलमा मन दुख्थ्यो, कहिलेकाँही मर्न मन लाग्थ्यो ।

(क्रमशः)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button