
कसरी उनी रेडियो नेपालबाट बीबीसी हुँदै पाकिस्तान पुगे ?
इपिसोड-३
अशोक सिलवाल
२०१५ सालमा नेपालमा पहिलो पटक आम निर्वाचन भयो । पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको समय थियो, त्यो । यहाँ वीपीको कुरा मैले किन गरेको भने उनी ‘हाम्रै परिवार’का सदस्य हुन् । लेखन परिवारकै सदस्य ।
त्यही साल यादव (यादव खरेल)ले एसएलसी गरे ।
त्यो नेपालमा राजनीतिक मोडको समय थियो । तर, राजनीतिमा यादवको रुचि थिएन । उनी रंगमञ्च, कला, सािहत्यतिर तानिइसकेका थिए । जीवनको बाटो कलातिर क्लियर हुँदै गएको थियो । यद्यपि पछि कुन सुरमा हो कुन्नि, उनले चुनावी राजनीति पनि गरे । ०३८ सालमा काभ्रेपलान्चोक जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यका लागि चुनाव लडे । झन्डै–झन्डै जितिसकेका पनि थिए । तर, त्यही बेला उनले बोध गरे, ‘राजनीतिसँग मेरो केमेस्ट्री नै मिल्दैन । मेरो क्षेत्र यो हुँदै होइन ।’
भारतका प्रसिद्ध कलाकार अमिताभ बच्चनले पनि त्यसै भनेका थिए कुनै बेला । किनकी उनी त्यसका लागि बनेकै थिएनन् । अझ बच्चनले त चुनाव जितेका पनि थिए । जितेर पनि उनले त्यसो भने । त्यस्तै व्यवहार देखाए । किनकी उनी साँच्चैका महान कलाकार हुन्, कलाकै लागि जन्मेका ।

तर, राजनीतिको निकै धेरै गुण खरेलमा नपाइने भने होइन । साहित्य, संगीत र सिने क्षेत्रको विकासका लागि सुरुवाती चरणमा संघसस्था निर्माण र त्यसमार्फत यी क्षेत्र र विधाको विकासका लागि खरेलको सशक्त सकृयता विभिन्न कालखण्डमा प्रखर ढंगले प्रकट रुपमा देखिन्छ ।
‘भविष्यमा यस्तो बन्छु । उस्तो बन्छु ? एसएलसी पास हुनुअघि जीवनमा कुनै उद्धेश्य थियो ?’, मेरो यो सामान्य प्रश्नमा भन्छन्, ‘थिएन । र, अहिले पनि मलाई त्यस्तो लाग्दैन । दुई किसिमका मान्छेहरू हुन्छन् । एकथरी, समुन्द्रको बहाबमा आफै चलिरहेको डुँगाजस्तो । अर्को, त्यो डुँगालाई यहीँनेर पुराउँछु भनेर खियाउने ।’
म स्पष्ट पार्न खोज्छु, ‘कोही हुन्छन्, १५ बर्षपछि यहाँ पुग्छु भनेर जीवनलाई नै योजनावद्ध ढंगले अगाडि लैजान्छन् । अर्कोथरी हुन्छन्, तत्कालीन अवस्थामा चाहिं योजनाबद्ध ढंगले अगाडि बढ्छन् । जस्तो कि भोलि यो गर्ने । पर्सि यो गर्ने । तपाई दोस्रो प्रकारको हुनुहुन्छ ।’
सहमति जनाउँदै भन्छन्, ‘समय अनुसार जहिले जे मन लाग्यो, त्यही गरियो, जता जान मन लाग्यो, त्यतै गइयो । त्यसैले मेरो जीवनको गति र मति हेरियो भने धेरैतिर छरिया’ पाइन्छ । हावाले जता लग्यो, उतैउतै ।’
मानौं उनको जीवनको निर्देशक हावा हो । बहाव हो । छाल हो । प्रकृति र संस्कृति हो ।
कलाकारको जस्तो जीवन बाँचे उनले । भन्नाले एउटा कलाकारले अनेक भुमिकामा अभिनय गर्छ । ऊ डाक्टर पनि हुन सक्छ । इन्जिनियर पनि हुन सक्छ । पाइलट, शिक्षक, पत्रकार वा जे पनि हुन सक्छ ।
…
पवित्र पशुपतिबाट थोरै पर रहेको कुमारीगालस्थित उनको घरको कोठामा किताबै किताबबीच पुराना दिनका कुराकानीलाई अगाडि बढाइरहेका छौं ।
‘अनि एसएलसीको रिजल्ट कस्तो रह्यो ?’
‘साधारण ।’
‘त्यति बेला साधारण भन्नु नै विशेष हो । त्यति बेला पास हुनु नै …’
‘त्यो कुरा त ठिकै हो तर भन्न के खोजेको भने म मिहनेतै गर्दैन थिएँ । बर्ष दिनको पढाईमा सात महिना पनि पढाईमा ध्यान नै हुन्थेन । धेरैतिर थिएँ म । जस्तो फुटबल खेल्थें । पछि कलेजमा गएपछि ब्याटमेन्टेन पनि खेल्थें । टेबलटेनिस खेल्थें । पछि चाहिं मैले स्पोर्टस्लाई छाडिदिएँ ।’
स्कुल पढ्दै गर्दा उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल प्रतियोगितामा स्कुललाई प्रतिनिधीत्व गर्दै भाग लिन्थे । त्यही बेलादेखि नै मेडलहरू पाउन थालिसकेका थिए । अतिरिक्त कृयाकलापका हिरो उनी जाँच आउनु केही महिना बाँकी रहँदामात्र कस्सिएर दिनको १०, १२, १४ घन्टा पढ्थे । र, पास चाहिं भइहाल्थे ।
जीवन ऊ बेलैदेखि छरिएको थियो उनको । उनी किताबका पानाहरू त पढ्थे । तर, त्यसभन्दा बढी परिस्थिति पढ्थे । परिवेश पढ्थे । पढाई, पढाई र पढाई भन्ने एकसुरे मनोविज्ञानबाट उनी मुक्त थिए । सर्जकहरू नियमभन्दा अर्को सुन्दर नियम देख्छन् । त्यसलाई स्वतन्त्रता भनिन्छ सायद । लेखकहरू व्याकरणलाई नयाँ आयाम दिन्छन् । नयाँ व्याकरण बनाउँछन् । उनको पनि आफ्नै व्याकरण थियो ।
विद्यार्थी जीवनतिर फर्केर हेर्दा उनी आफुलाई ‘मिडियोकर’ भन्छन् । अर्थात सालाखाला विद्यार्थी ।
खेलकुद हुँदै पछि उनी रेडियो प्रसारणमा गए । गीतमा गए । लेखाइमा गए । लेखाइका अनेक विधामा गए । रंगमञ्चमा अभिनय गर्न थाले ।
एसएसली पास हुँदासम्म उनले कति र कतिवटा कविता लेखे होलान् ? कहिँ प्रकाशित भएको थियो कि थिएन ? अथवा रेडियो नेपालको बालकार्यक्रममा कविता वाचनको लागि जान्थे कि ?
‘म रेडियोमा आफै संचालक भएर मात्र गएको हुँ’, उनले भने ।
उनको एउटा मोटो कापी थियो । कविताहरू लेखेर त्यो कापी भरेका थिए । तर, त्यो कवितावाला पहिलो कापी हराएको थकथक उनलाई अहिले पनि छ । त्यस्ता थकथकहरूबाट उनी हतासिएनन् । बरु लेखनलाई अझ गति दिए । हमेसा अघि बढ्दै गए । सरस्वतीसँग अझ बढी एकाकार भए । लेखिरहे ।
०१८ सालदेखिको कविता र कविताका कापी नहराएको खुसी भने उनले मुसुक्क हाँसेको देख्दा मैले बुझिसकेको थिएँ । १२ फागुन १९९९ मा जन्मेका यादवका प्रथम कविता प्ररेक केशरी खरेल नै भए । त्यसपछि उनले निरन्तर लेख्न थाले । तर, त्यो भन्दा महत्वपूर्ण कुरा के भने त्यसपछि आदिकवि भानुभक्त आचार्य, …मोतीराम भट्ट, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, पारसमणि प्रधान आदि जस्ता शब्दश्रीहरूलाई पढ्न थाले । त्यसरी कवि र कवितासँगको संगत झन् गहिरिन थाल्यो ।
स्कुलमा जति पनि डिबेट कम्पिटिसन हुन्थे, भाग लिए । रमाइलो के भने, उनी कहिल्यै दोस्रा भएनन् । त्यो बेला डिबेट कम्पिटिसनको खुबै चलन थियो । कलम बलियो कि तरबार ? धन ठूलो कि विद्या ? आदि आदि । यी र यस्तै अनेक विषय हुन्थे । ती विषयका पक्ष र विपक्षमा तर्कसंग्रह थिए उनीसँग ।
पछि कलेज र युनिभर्सिटीमा पनि त्यसले निरन्तरता पाई नै रह्यो ।
‘कलेज कहाँ ज्वाइन हुनु भयो ?’
‘त्रिचन्द्र ।’
‘मुख्य विषय ?’
‘अर्थशास्त्र ।’
उनले अर्थशास्त्रमा एमए गरे ।
‘रंगमञ्च, संगीत र साहित्यमा भित्रैदेखि रुचि । स्कुलमै हुँदा कविताको तपाईले मोटो कापी नै तयार गरिसक्नु भएको थियो । तर, पछि तपाई अर्थशास्त्रपट्टि जानुभयो । कारण के थियो ?’
‘त्यो बेलाको अध्ययन–आदर्श भनेको पढेर ठूलो हाकिम हुने भन्ने थियो । अर्थशास्त्री भए अवसरहरू आउँछ भन्ने थियो । भाषाको भन्दा अर्थशास्त्रको बढी स्कोप छ भन्ने धारणा थियो । त्यही धारणाको प्रभाव मेरो अध्ययन छनौटमा पनि परेकै हो ।’
उनले अर्थशास्त्र पढ्न थाले । बाहिरबाट हेर्दा त्यसबाट उनीभित्रको कला÷साहित्य थिचिएजस्तो देखियो । ‘अर्थशास्त्र पढिरहेको छु कलासाहित्य पढिरहेको छैन’ भन्ने खालको छटपटिले उनमा कला÷साहित्यमा केही गर्नु पर्छ भन्ने झन् बढी चेतना, दवाव र उर्जा दियो ।
औपचारिक शिक्षामा अर्थशास्त्र पढेर पछि दुई बर्ष त्यही विषय नेशनल कलेजमा पढाए पनि । तर, त्यसबाहेक उनका सम्पूर्ण अरु गतिविधी चाहिं अर्थशास्त्रकेन्द्रीत भएनन् । भाषा, साहित्य र संस्कृतिपट्टि केन्द्रीत भए । पुतलीसडकमा रहेको अहिलेको शंकरदेव क्याम्पस त्यति बेला नेशनल कलेजको नामले चिनिन्थ्यो ।
बाल्यकालको साथी थियो रेडियो नेपाल । कलेज सुरु गरेपछि उनले रेडियो नेपालमा काम सुरु गरे ।
‘कसरी कुन मोडबाट रेडियो नेपाल पुग्नु भयो ?’
‘रेडियो त केटाकेटीदेखि नै सुनिन्थ्यो । रेडियोमा बोल्नेको असाध्यै आकर्षण थियो । एसएलसीपछि तुरुन्तै रेडियो नेपाल गएर त्यहाँ दुई चार पटक स्टुडियो हेरियो । त्यहाँकोे माहोल बुझियो । बोल्ने धोको जन्म्यो । संयोगले स्वर परीक्षाको आवेदन पनि त्यही बेला खुल्यो । स्वर परिक्षा दिएँ । पास पनि भइहालें । अनि काम सुरु गरें ।’
त्यहाँ उनले महिनाको ३ सय रुपियाँ पाउँथे ।
उनलाई रेडियोमा बोल्न सुरुदेखि नै सहज लाग्थ्यो रे । रेडियो रुपकहरूमा बोल्थे । शनिबार त्यो सुन्न मानिहरू कुरेर बसेका हुन्थे । कतिमा उनी मुल पात्र भएर बोल्थे । गीतीकथा चलाउँथे । बालबाटिका नामको बालकार्यक्रम पनि चलाउँथे । गीतकार राजेन्द्र थापा, नायक भुवन केसी, संगीतकार दीपक जंगम, संगीतकार शम्भुजीत बास्कोटा, कलाकार संतोष पन्त, प्राध्यापक कपिल श्रेष्ठ, राजनीतिज्ञ नरहरि आचार्यहरू आफ्नो बाल्यउमेरमा त्यो कार्यक्रममा आफ्ना प्रतिभा लिएर आउँथे रे । प्रायले कविता सुनाउँथे । त्यो कार्यक्रममा गएर आफुलाई प्रस्फुटित गरेका यी त केही नमुना नाम मात्र हुन् ।
अहिले पनि समाजका विभिन्न क्षेत्रका जानेमानेका व्यक्ति–व्यक्तित्वहरू भेटिँदा त्यो कार्यक्रम सम्झदैं भन्छन् रे, ‘हामी तपाईको त्यो लोकप्रिय कार्यक्रममा कविता भन्न आएका थियौं ।’ त्यस्ता प्रतिकृया सुन्दा पुराना रेडियेकर्मी खरेल कति दंग पर्लान् ! कुन्नि ?
त्यसैगरी अर्को कार्यक्रम ‘काव्य कुञ्ज’ चलाउँथे । त्यो त्यति बेला निकै चलेको कार्यक्रम थियो रे । कार्यक्रममा प्राय त्यति बेलाका सबै कविका कविता उनी पढ्थे । नेपाली आकाश उनको आवाजमा कवितामय हुन्थ्यो ।
नाम चलेका कतिपय कविहरू स्टुडियोमा आएर कविता पनि भन्थे ।
पहिलो पटक रेडियोमा बोलेर फर्कँदा अघि आफुले बोलेको सबैले सुनेकाले सबैले आफैतिर हेरिरहेका छन् जस्तो उनलाई लागेको थियो । हुन पनि त्यति बेला रेडियो नेपालको विकल्प रेडियो नेपालमात्रै थियो ।
विज्ञापन सेवासहितको पहिलो रेडियो कार्यक्रमको पहिलो प्रस्तोता पनि उनी नै थिए । त्यसअघि रेडियोको कुनै पनि कार्यक्रममा विज्ञापन बज्थेन । विज्ञापन र गीत बज्ने कार्यक्रमको बीचबीचमा उनी गीतहरूबारे कवितात्मक बोल्थे । आफै कवि न परे !
रेडियो एक प्रकारले संगीत र गीतको लाइब्रेरी थियो । कम्तीमा पनि दिनको एक पटक त उनी त्यहाँ जान्थे नै । उस्ताद भैरबबहादुर थापा, उस्ताद गोविन्दबहादुर, तारादेवी, बच्चु कैलाश, शिवशंकर, नातिकाजी, नारायणगोपाल, पुष्प नेपाली, योगेश वैद्य, प्रेमध्वज प्रधान आदिजस्ता गीतसंगीतमा जो जति थिए, सम्पूर्ण त्यहाँ जम्मा हुन्थे । गीत–संगीतकै बारेमा छलफल चल्थ्यो । संगीत परिवारको अलग वातावरण थियो त्यहाँ । गीत लेख्ने, गीतको धुनहरू सुन्ने । चर्चा परिचर्चा गर्ने । कस्तो लाग्यो भन्ने । यस्तै यस्तै … ।
उनी त्यो संगीतशालाको सघन संगतमा छिरिसकेको थिए ।
त्यति बेला उनी त्रिचन्द्र कलेज पढ्थे । तर, मनको कलेज अर्कै थियो । त्यो मनैदेखिको कलेज उही रेडियो नेपाल थियो ।
त्यति बेलासम्म उनका गीत कापी र डायरीबाट बाहिर आइसकेका थिए ।
०२० सालतिर डीबी महेश पाल्पाली र रत्नबहादुर खड्गीले गाएका उनका गीत कलकत्तामा रेकर्ड भएको थियो । नेपालमा रेकर्डिंग प्रविधी थिएन ।
‘यस्तोे पनि हुँदोरहेछ, जिन्दगीमा कैलेकैले …’, बीसको दशकमा रकेर्ड भएर ज्यादै चल्तीमा आएको फत्तेमान राजभण्डारीले गाएको यो गीतले फत्तेमान र उनी दुवैलाई प्रसिद्धिको चुली दियो । यो गीतमा नातिकाजीले संगीत दिएका थिए ।
त्यसो त ०१८ सालतिर नै उनका गीत ज्ञानबहादुरले गाएका थिए । तर, त्यति बेला रेकर्ड गर्ने प्रविधि थिएन । आयो गायो । सिद्धियो । जम्मै कुरा लाइभ । सुरुका उनका गीतहरू रेकर्डिंग भएनन् । तर, रेडियो नेपालबाट बज्न थाले ०१८ सालतिरैबाट ।
देशभरि श्रोताको मनमा उनको गीतको फर्म्याट, लय र शब्द बसिकेको हुन्थ्यो तर त्यसको वास्तविक फर्म्याट सिडी वा चक्कामा केही पनि हुन्थेन ।
त्यस्तो समयका गीतकार उनी । अत्याधुनिक डिजिटल समयका गीतकार पनि उनी । सदाबहार गीतकार खरेल चिन्ता पोख्छन्, ‘त्यस्ता कयौं गीतहरू हराएर गए । किनभने रेकर्डको चलन नै थिएन ।’
‘आर्यघाटको शुन्य चितामा आज कोही जल्यो …’, उनी दुखी हुँदै सम्झन्छन् ‘ज्ञानबहादुरले रेडियोमा गाएको यो मेरो पहिलो गीत हरायो । अरु पनि कत्ति हराए ।’
रेडियो नेपालमा कार्यरत रहँदाको फाइदा के भने गायकहरूसँग गतिलो संगत हुन पायो । जसलाई पनि गीत दिन पाइयो, गीतको जो डायरी उनीसँग थियो ।
गर्व गर्दै यादव याद गर्छन् पुराना दिनहरू, ‘नौगेडीको मेरो माला तिमीहकहाँ पो खस्यो कि ?’ भन्ने गीत नातीकाजीका संगीतमा कमलाले गाएकी थिइन् ।’ कमला त्यति बेला रेडियो नेपालमा हुने राष्ट्रिय गायन प्रतियोगितामा प्रथम भएकी थिइन् । फेरि दुखी हुन्छन्, ‘त्यो गीत पनि हरायो । अहिले उपलब्ध त्यो गीत पछि तारादेवीले रिपिट गरेर गाएकी हुन् ।’
‘तिमी आउँछौ भन्ने आशआशमै
बाटोभरि यी आँखा ओछ्याइरहन्छु ..। ’
यस्तै–यस्तै गीत गाउँदै उदीतनारायण झा संघर्ष गर्दै थिए । यादवको यो गीतले पनि उदीतनारायणलाई स्थापित गर्न धेरै मद्धत ग¥यो ।
‘नौ सय खोला तरेर जाने
बिर्सिने पो हो कि मलाई … ’,
उनको यो अर्को गीत तारादेवीले गाइन् । यस्तै अरु थुप्रै गायकगायिकाले उनलाई गाउन थालिसकेका थिए ।
रेडिया प्रस्तोताको रेगुलर जब थियो तर त्यसभन्दा बढी त्यही रेडियोमार्फत उनी उबेलै चर्चित गीतकार भइसकेका थिए । नेपाली आकाशमा यादवको नाम, स्वर र शब्द छपक्कै भइसकेको थियो । उनी पब्लिक पर्सनालिटी भइसकेका थिए ।
त्यो बेला प्रसारणको नेपाली आकाशमा रेडियोको एकाधिकार थियो । र, त्यहाँ यादव अनेक रुपले बजिरहेका थिए । गीतका शब्दमा बजिरहेका थिए । रुपकमा बजिरहेका थिए । कार्यक्रम संचालकको रुपमा बजिरहेका थिए ।
आफैले आफैलाई नयाँ अवतारमा छाउँदै गरेको देख्दै थिए, यत्रतत्र सर्वत्र । आफैले आफैलाई आफ्नो नाममा, आफ्नो काममा हेर्नुको अनुभुति कस्तो होला ? उनी त्यो हैसियत राख्थे, त्यति बेलै ।
उनी चिनाइरहनु नपर्ने मान्छे भए । कतिपय ठाउँमा नामले नै काम गथ्र्यो । कोही गीत सुनेर, कोही कार्यक्रम सुनेर त कोही नाटक सुनेर उनका फ्यान भएका थिए । उनलाई सहानुभुति, श्रद्धा र प्रेम गर्नेहरू असंख्य थिए ।
उनी रेडियोमा नौ बर्ष रहे ।
रेडियो नछोड्दै नदेखिने कलाकारिताबाट देखिने कलाकारितामा पनि आइसकेका थिए । यद्यपि त्यसअघि पनि उनले रंगमञ्चमा मञ्चित नाटकहरूमा पनि खेलिसकेका थिए । बालकृष्ण समको मुकुन्द इन्दिरामा समेत खेलिसकेका थिए । श्यामदाश बैष्णव, भीमनिधी तिवारी र विजयबहादुर मल्लको नाटकहरूमा पनि उनलै गतिलै रोलमा अभिनय गरिसकेका थिए ।
त्यहीताकाको कुरा हो । ‘माइतीघर’ सिनेमामा नायक सीपी लोहनीको साथीको भुमिकामा अभिनय गर्दै थिए । सुन्दर नगरी पोखरामा सुटिङ भइरहँदा नायिका माला सिन्हाका पिता अल्बर्ट सिन्हा र उनी गफिदै थिए ।
अल्बर्टले भने, ‘तपाई अर्थशास्त्रमा एमए गरिसकेको मान्छे । यस्तो मान्छले यस्तो सामान्य रोल गरेर के बस्नु भएको ? तपाईं डाइरेक्टर हुनु पर्छ । भारतको पुनामा फिल्म निर्देशनको अध्ययन गर्न जानु होस् ।’
‘कुरा त ठिक हो । मैले अल्बर्टले भने झैं गर्नु पर्छ । म डाइरेक्टर हुनु पर्छ’, यादवले मनन गरे ।
त्यसरी सिनेमा निर्देशक हुने सपनाको बीउ अल्बर्टले कलाकार यादवको टाउकोमा हालिदिए, जसरी गीत र कविताको बीउ अलि अघि नै केशरीले हालिदिएका थिए ।
त्यसअघि उनलाई अभिनय गर्ने रहर मात्र थियो । बढी से बढी हिरो हुने रहर थियो ।

सिनेमा पढ्न उनी भारतको पुना त गएनन् । तर, ०२५ सालतिर ब्रिटिश काउन्सिलको स्कलरसीप मिलाएर चलचित्र निर्माण र निर्देशन पढ्न बेलायत उडे ।
बेलायत जानुअघि नै नारायणगोपालले गाएको ‘पिउँदापिउँदै जिन्दगी यो …’ देखि फत्तेमान, तारादेवी, प्रेमध्वज, पुष्प नेपाली, योगेश वैद्यलगायत थुप्रैले गाएका उनका थुप्रै गीतहरू लोकप्रिय भइसकेका थिए ।
कवि, गीतकार, रेडियो प्रस्तोता, नाटक र चलचित्र कलाकार, अर्थशास्त्रमा एमएम, कानुनमा स्नातक । त्यो बीचमा उनका कविताका किताब पनि आइसकेका थिए ।
बेलायतको लन्डन युनिभर्सिटी अन्तर्गतको लन्डन फिल्म स्कुलको पूर्णकालीन विद्यार्थी थिए उनी । तर, त्यही बीचमा बीबीसी नेपाली सेवा भर्खर सुरु भएको थियो । रेडियोको चर्चित नाम भइसकेका यादव लन्डनमै उपलब्ध हुनु बीबीसी नेपालीलाई ढुँगा खोज्दा देउता मिले झैं भएछ ।
उनी पूर्णकालीन विद्यार्थी भए पनि बीबीसीले नै सबै बाधा अड्काउ फुकायो । त्यति बेला यादवलाई बीबीसी नेपाली सेवा नभई बीबीसी नेपाली सेवालाई यादव चाहिएको थियो । पूर्णकालीन विद्यार्थी यादवले बीबीसी नेपाली सेवामा पनि काम गर्न थाले । नेपाल छाडे पनि उनले नेपालमै जसरी बीबीसी नेपाली सेवामार्फत नेपाली आकाशमा आफनो स्वर फालिरहे ।
त्यहाँ उनले दुई बर्ष काम गरे । राजा महेन्द्र, युवराज वीरेन्द्र, बालचन्द्र शर्मा, ईश्वर बराल, डा. रामप्रसाद पोख्रेल र अरु थुप्रैसँग उनले अनेक विषयमा अन्तर्वार्ता गरे । वीपी कोइरालालाई भेटे पनि राजनीतिक कारणले अन्तर्वार्ता गर्न नपाएको सम्झँदा उनलाई खल्लो लाग्छ ।
बीबीसी नेपाली सेवामार्फत नेपालभित्रै कमाएको लोभलाग्दो लोकप्रियतामा उनको अर्को स्तर थपियो ।
बिदामा युरोपका विभिन्न भुगोल चहारे । बाहिरी विश्वमा पुगे । संसार त अर्कै रहेछ, व्यापक रहेछ भन्ने लाग्यो । यसरी उनले जीवन र जगतको पाठशालाबाट ज्ञानको आयतन अझ फराकिलो बनाउँदै लगे ।
बेलायतमा बस्दा उनले ‘समुन्द्रपारी’ भन्ने यात्रा किताब लेखे ।
चलचित्र निर्माण निर्देशनमा डिप्लोमा गरेपछि बीबीसीको जागिर छाडेर उनी नेपाल फर्के । उनलाई त्यहाँको ‘रेड कार्पेट’ले मोहनी लगाउन सकेन । नेपाल आएर उनलाई सिनेमा निर्देशन गर्नु थियो । आफ्नै देशको माटोमा उभिएर, हिंडेर धेरै गर्नु थियो ।
राजा महेन्द्रले बेलायतमै भेट्दा भनेका थिए रे, ‘यादव ! तिमी नेपाल आउनु पर्छ । यता आएर तिमीले केही गर्नु पर्छ । आएर मलाई भेट ।’
महेन्द्रको सोच थियो रे, ‘नेपालमा हिन्दी सिनेमाको प्रभाव छ । त्यसलाई नेपालीले प्रतिस्थापन गर्नु पर्छ । नेपाली चलचित्र बनाउनु पर्छ । उद्योगको रुपमा यो क्षेत्रलाई अगाडि बढाउनु पर्छ ।’
नेपाल आएको केही समयपछि शाही नेपाल चलचित्र संस्थान खडा भयो र उनी त्यसको कार्यकारी अध्यक्ष भए । एउटा सिनेमाको निर्देशकभन्दा पनि नेपाली सिनेमा उद्योगकै पो निर्देशक भए । राष्ट्रकवि माधव घिमिरे, नाट्यसम्राट वालकृष्ण सम, श्रीधर खनाल त्यसको सदस्य थिए ।
तर, उनमा सिनेमा निर्देशन गर्ने सोच र सपना थियो । संस्थानमै रहे पनि उनी निर्देशन र प्रविधितर्फ मात्र हेर्ने जिम्मा लिन चाहन्थे । तर, त्यो सम्भव भएन । राजाको इच्छाले उनले त्यो जिम्मेवारी लिनै परेको उनी सुनाउँछन् ।
त्यसपछि निर्देशक प्रकाश थापालाई बोलाएर उनले ‘मनको बाँध’ बनाउन लगाए । उनी भने नयाँ अड्डाको पूर्वाधार, नीति, योजना र कार्यक्रम बनाउनमै सक्रिय भए । आफैले सिनेमा निर्देशन नगरे पनि बेलायतामा सिकेको सीप उनले उद्योग बनिनसकेको सिनेमा क्षेत्रको विकासका लागि समर्पण गरे । सिने क्षेत्रमा यसरी उनी नेपाली सिने इतिहासको जगैमा देखिने नाम बने ।
उनी त्यहाँ दुई बर्ष रहे । एक खालको आधारशीला तयार गरे ।
त्यसपछि उनी सिने क्षेत्रबाट अलि पर आइपुगे । उनले विज्ञापन सेवा सुरु गरे । केही बर्ष पुतलीसडकमा कार्यालय राखेर भव्य रुपमा विज्ञापन एजेन्सी चलाए । नेपालबाट अन्तराष्ट्रिय पुरस्कार पाउने पहिलो एजेन्सी पनि बन्यो त्यो । एशियन फेडेरेसन कंग्रेसको म्याक्स लेविस् पुरस्कार । रोचक के भने त्यसको केही बर्षअघि रेडियो नेपालमा छँदा व्यापारिक सेवा प्रसारण सुरु हुँदाका पहिलो कार्यक्रम प्रस्तोता पनि उनी नै थिए ।
गीत, कलाकारिता, चलचित्र आदि थुप्रै क्षेत्रका जानेमानेका हस्ती उनी किन एजेन्सीमा आइपुगे ? भन्छन्, ‘यी सबै क्षेत्र सिर्जनाका क्षेत्र थिए तर पैसा थिएन । अहिले जस्तो सिर्जनासँग व्यापार जोडिइसकेको थिएन । अन्तिम बेलासम्ममा नारायणगोपाल भ्याटभ्याटेसम्म पुगे । कलाकारिता गरेर गाडी चढ्न सम्भव थिएन ।’
थप्छन्, ‘त्यति बेला सिर्जनामा नाम थियो । पैसा थिएन । मेरो नाम थियो । अनुभव थियो । तर, पैसा थिएन । परिवार पाल्न त पैसा चाहिन्थ्यो ।’
पछि उनी नेपाल परिवार नियोजन संघको अवैतनिक उपाध्यक्ष हुँदै महासचिव भए । १२ बर्ष परिवार नियोजन संघमा सक्रिय भए । त्यो बीचमा उनी व्यापारको धेरै क्षेत्रमा पनि सक्रिय भए । राष्ट्रिय पञ्चायतको चुनाव पनि उनी त्यही बेला लडेका हुन् । त्यही बेला हारेका हुन् । उनको स्रस्टा ओझेल परेका समय त्यही थियो ।
ती १२ बर्ष उनले सिर्जनामै केही गरेनछन् । तर, नेपालको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा जानु उनको नियमितता भएको थियो । त्यसताका ६ महिनाजस्तो विदेशमा हुन्थें उनी । कहिले अमेरिका । कहिले वेलायत । कहिले फ्रान्स । कहिले मेक्सिको । अन्तराष्ट्रिय कन्फरेन्स, सेमिनार, वर्कसप, रेगुलर मिटिङहरू । यी र यस्तैमा उनका बर्षहरू बित्दै थिए ।
त्यो बेग्लै संसारमा भुलिए उनी ।
उही मान्छे । उही नारा । विभिन्न देशबाट आउनेहरू पनि दोहोरिन थाले । त्यो जमघट एउटा क्लव जस्तो हुन थाल्यो ।
हुन त छलफलका विषयहरू गम्भीर थिए । मानव कल्याणकै कुरा थिए । मातृ शिशु कल्याणका कुरा थिए । गरिबी कसरी हटाउने भन्ने कुरा थिए । तल्लो तहमा कसरी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कुरा थिए । जन्मदर घटाउने कुरा थिए । गरिबीको रेखामुनि रहेका विपन्नको सीप विकास गर्दे उनीहरूलाई आयआर्जनमुखी कसरी बनाउने भन्ने कुरा नै थिए ।
उनी पाकिस्तानस्थित लाहोरको पाँचतारे होटल हिल्टनमा थिए । बाहिर ४६ डिग्री तापक्रमको चर्को गर्मी थियो । झ्यालबाट हेरे, बाहिर त कौवा पनि प्याकप्याक गरिरहेको थियो । तर, उनलाई त्यसको मतलबै थिएन । उनी त एसीजडित भव्य कोठामा थिए । सारा सुविधा थियो । शान्त कोठामा उनको मन भने अशान्तिको केन्द्र बनिरहेको थियो ।
उनले आफुलाई आफैभित्र खोजे । आफैले आफैलाई प्रश्न गरे ? म कुुन बाटो हिंड्दैछु ? के यो मेरो लागि सही बाटो हो ? उनी भित्रैदेखि रन्थिनिए ।
‘मैले आफैलाई न्याय गरिरहेको छैन । मेरो सिर्जना यात्राको यो विराम गलत हो । म सिर्जनाकै संसारमा फर्किनु पर्छ’, त्यहीँनेर १२ बर्षपछि फेरि उनीभित्रको स्रस्टा जागेको हो ।
त्यसरी उनी मनको धुन सुनेर ‘ब्याक टु सिर्जना’ भए ।
तर, परिवार नियोजन संघमार्फत भएका यात्रा र प्राप्त अनुभवले उनको ज्ञान र मनोविज्ञान झनै फराकिलो बनाएको थियो ।
एउटा लामो निद्रापछि व्युँझेका यादवले त्यसपछि सिनेमा बनाउन थाले । सामाजिक क्षेत्रमा सक्रिय भएकैले पनि उनले सामाजिक दायित्ववोधसहितका चलचित्रहरू बनाए ।
(भोलि क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




