७ कक्षाकी बालिकाको मोबाइल मनोविज्ञान

मेरो मोवाइल मोह र जियोनी पी फिप्टिन्

विभूति काफ्ले

गत वर्षदेखि नै लकडाउनमा परेका म र मजस्ता विद्यार्थीहरुको पीडा कस्ले बुझ्ने होला ? ६ कक्षामा पढ्दा नै समयमा रिजल्ट नआएका कारण २ पटक वर्थ डे मनाएकी म अहिले कक्षा ७ मा पढ्ने भइसकेकी छु ।

स्कुलले सबै कक्षा अनलाइनमा नै पढ्ने व्यवस्था गरेको छ । मलाई अनलाइनमा पढ्नका लागि बाबाले ल्यापटपको व्यवस्था गरिदिनु भएकै छ । म इलेक्ट्रोनिक्स समानहरुलाई चलाउन मन गर्छु । बाबाको पुरानो लेनेभोको ल्यापटप ३० डिग्रि जति उठाउँदा मात्र चल्छ । व्याट्री पनि चल्दैन । त्यसलाई मैले डेक्सटप जस्तो लाइनमै राखेर पनि चलाएँ ।

हुन त मेरो पढ्ने ल्यापटप अर्कै छ । मेरा हरेक साथीका हातहातमा फोन छन् । सबै मोवाइलबाट कक्षा ज्वाइन भएको भन्छन् । मेरोचाहिँ सामसुङको एउटा ट्याब पनि छ । ट्याबमा सिम पनि लाग्छ तर ठुलो भएका कारण वोक्न समस्या भयो । सबै साथीले आफ्नै मोवाइल बोकेको देखेर होला, मलाई पनि आफ्नै भए हुनेथियो जस्तो लाग्यो । म वडा बाल सञ्जाल इटहरी ५ को सचिवालय सदस्य र अनुशासन समितिको संयोजक भएपछि भने मैले धेरै बाहिर हिँडिराख्नु पर्ने पनि भयो । मलाई साँच्चै एउटा मोबाइलको आवश्यकता थियो ।

एक दिन मलाई राती निद्रा लागेन र मेरो दिमागमा एउटा कुरा आयो । मामुको एउटा पुरानो मोबाइल थियो । त्यसको ब्याट्री बिग्रेको थियो । मेरो दिमागमा त्यो मोबाइल कहाँ छ होला ? के त्यो मोबाइललाई बनाउन सकिन्छ ? त्यो मोबाइल त साँच्चै राम्रो छ । मभित्र आएको उत्सुकताले हो या आफ्नै मोवाइल बनाउने रहरले हो, त्यो रात सुत्दा लगभग १२ बजिसकेको थियो । त्यसै कुराले हो कि किन हो, म बिहान पनि छिटै उठेँ ।

मामु योगा गर्दै हुनुहुन्थ्यो । म भने बाबालाई खोज्न थालेँ । बाबालाई मैले गएर भनेँ, ‘बाबा त्यो मामुको पुरानो मोवाइल बनाएर मलाई ल्याईदिनु न ।’ बाबाले ‘ल म एक पटक भन्छु नि त । दिपक दाईले बनाईदिन्छु भनेको छ ।’

म मनमनै मुस्कुराइरहेकी थिएँ, मेरो पनि मोवाइल बन्ने भयो भनेर । त्यसपछि बाबाले अचानक सोध्नु भयो, ‘यही भन्नका लागि यति चाँडै उठेकी ।’ मैले मुखले त हैन भनेँ तर मनको उत्तर थियो, ‘हो ।’ बाबाले ‘हुन्छ’ भने पछि खुशी हुँदै हामी त्यो मोवाइल वनाउन छोडेको दाईको पसलमा जाने भयौं । बाबाले गाडी स्टार्ट गरेपछि प्राय मोवाइल निकालेर सिटको अगाडि राख्नु हुन्छ । त्यस दिन पनि त्यसै गर्नु भयो । मचाहिँ मेरो पनि यस्तै मोवाइल बन्छ अनि यसैगरी राख्छु भन्ने ठान्दै थिएँ ।

हामी पसलमा पुग्दा दिपकदाई काम गरिरहनु भएको थियो । बाबाले मलाई आफ्नो समस्या आफै भन्ने ‘भन्नुभयो’ र म पसलभित्र गएर अस्ति राखेको ठाउँमा मोवाइल खोजेँ तर त्यहाँ थिएन । मैले दाईलाई त्यो मोवाईल खोजेर बनाइदिनु भनेँ । दाईले ब्याट्री पाउँदैन, म मगाएर बनाई दिन्छु भनेपछि हामी घर आयौं । दाईले २-३ दिनमा आउँछ भनेकाले ३ दिन म पनि चुप लागेँ । ४ दिनकादिन फोन गर्दा भोलि भन्नुभयो । तर १२ दिनसम्म दाईको भोलि आएन । म भने बाबालाई दिनकादिन भनेको भनेकै गर्थें । हामीले त्यो मोवाइल बनाउन दिएको १२ दिन भइसकेको थियो । मैले दिएको हैरानीले होला एक दिन बाबाले ‘त्यो मोवाईल बनेन । म तिमीलाई नोकियासी टु भन्ने मोवाइल किनिदिन्छु । त्यही चलाउनु’ भन्नुभयो । तर, खासमा मलाई त्यो मोवाइल मनैदेखि मन पर्दैन थियो । बाबाले मलाई बाबाको हिँड्ने बेलामा भन्नु भएको थियो, ‘तलाईं जुन मोबाइल किन्न मन छ किन् तर १० हजार भन्दा तलको किन् ।’

मैले त्यही बेला मामुको मोबाइलमा दराज डाउनलोड गरिसकेकी थिएँ । मैले धेरै मोवाइलहरु हेरेँ तर मलाई कुनै मन परेको थिएन । मैले मेरी दिदीलाई पनि देखाएँ । मलाई पनि त्यही मोवाइल मन परेको थियो । मैले बाबालाई फोटो पठाएँ । त्यसपछि बाबा घर आउनु भयो । बाबाको गाडी रोकिएको सुन्ने वित्तिकै मेरो मनमा एउटा विचार आयो, ‘ला ! बाबाले आफै सी टू ल्याई दिनु पो भो कि ?’ म बाबालाई झ्यालबाट हेरिरहेकी थिएँ । बाबा भने घरी यताको झोला घरी उताको झोला तानिराख्नु भएको थियो । अझै मेरो मनमा डर थियो । तर बाबाले गाडीबाट आफ्नो ल्यापपटपको झोलामात्र झिकेर माथि चढ्नु भयो ।

बाबाले मलाई भन्नु भयो, ‘नानी अहिल्यै धेरै ठुलो फोन चाहिँदैन । कहिलेकाहीँ बाहिर हिँड्दालाई त हो नि । त्यसैले त्यो तिमीहरुले हेरेको सामान्य दामको नै किनिदिउँला’ भनेपछि म पनि धेरै फुर्किएँ । । बाबाले कतिखेर जाने कुरा गर्नुहुन्छ ठान्दै ल्यापटपमा क्लास अन गरेर म भने बाबाको चियो गर्न थालेँ । बाबाले मोवाइल पसलको मोहन अंकललाई फोन गरेर त्यो मोवाइल छ कि छैन भनेर सोधेपछि मलाई ढुक्क भयो ।

हामी दोकानमा गयौं र मोवाइल लिएर घर आयौं । मेरो बालसञ्जालको भोलिको हाजिरीजवाफको तयारीको काम भएका कारण म ज्योति स्कूल जानु पर्यो तर मैले मोवाइल भने लगेकी थिइनँ । म घर फर्कदै थिएँ । मलाई एक्कासी विचार आयो, ‘त्यो मोवाइल बाबाले मामुलाई पो दिनुहुने हो कि ? वा मैले मामुको पुरानो पो चलाउनु पर्ने हो कि ?’ तर, म घर जाँदा त्यस्तो थिएन । मामु आफ्नै मोवाइलमा व्यस्त हुनुन्थ्यो ।

म एकदमै खुसी भएँ किनकि मैले मेरो मोवाइलको युद्ध जितिसकेकी थिएँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button