
देश पहिले नै एक युजलेस क्लास भैसक्यो

युजलेस क्लास
रेशम रेग्मी
यो लेख युभल नोआ हरारी को किताव “सेपियन्स” र बिभिन्न लेखहरुमा आधारित छ। हरारी को किताव “सेपियन्स” मानव ईतिहासलाई रिभिजिट गर्छ।
सेपियन्सले ईतिहासको परिर्तनलाई पहिचान गरेर त्यसलाई परिभाषित गर्छ। आजको समाज,त्यसको बिश्वास र अबस्था माथि समयको पदचापलाई चिन्हित गर्छ।
मानव ईतिहासलाई हरारी आफ्नो किताव,लेखमा त्यसको भबिश्यलाई पनि आकलन गर्छन।
ईतिहासमा कृषिको खोजलाई सबैभन्दा महत्वपुर्ण मानिन्छ जसको कारण मनुष्य शिकारी, घुमन्ते र हिंस्रक असुरक्षित जिवन बाट निस्केर सुरक्षित जिवनयापन गर्न थाल्यो। पैसाको खोजले सेवा र बस्तुको ब्यापार सहज बनायो। राजाहरुको सत्ता,करको असुली र मुद्रा बनाउने हरुबाट आम मान्छेहरुमाथि नियण्त्रण राखिन्थ्यो।
तर अठारौ शताब्दी को औद्योगिक क्रान्ति ले ठुलो बदलाब ल्यायो। अब राजा र नोबल (उच्च) हरुबाट पैसा उद्योगी को हातमा पुग्यो।
नेता र उद्योगपति हरुको नेक्सस यहि बेला पहिलो पटक स्थापित बन्यो।
• यथास्थिती को प्रत्येक परिबर्तन ले त्यो समाज र आमजनको अन्तर्सम्बन्धमा असर गर्छ, रोजगारी माथि पनि गर्यो….
• उद्योगले पारम्परिक रोजगार खोस्यो एउटा पावरलुम (बिद्युतिय कपडा बुन्ने मेसिन) सयौ कामदार भन्दा सस्तोमा धेरै उत्पादन गर्न थाल्यो।
संगसंगै नयाँ नयाँ रोजगार हरु पनि आए मान्छेहरु पढे लेखे म्यानेजर,डाक्टर,ईन्जिनियर बन्न सुरु गरे।
यो सेवा क्षेत्र (Service Sector) को बिकास थियो।
अर्को खुड्किलोमा बिज्ञानले अटोमोसन (स्वचालित) मेसिनको बिकास तेजी ले गर्यो। मेसिन को दक्षता बढ्यो अधिक से अधिक उत्पादन मेसिन ले गर्न थाल्यो। अदक्ष रोजगारी को अबसर र तलब घट्न थाल्यो।
सहजै प्राप्त हुने मौसमी रोजगारी घट्यो। तर शिक्षितहरु पर्यटन,बैङ्किङ्ग,इन्स्योरेन्स,सेल्समेन र सफ्टवेयरमा नयाँ रोजगारी प्राप्त गर्न थाले।
• हर बदलाव ले जो कम दक्ष थिए तिनीहरुलाई झन झन गरिबी तिर धकेल्दै गयो। दक्ष हरुको सम्वृद्धि बढ्दै गयो। ति बिचको खाडल पुर्न मद्दत गर्ने अपेक्षा गरिएको शिक्षा पनि महंगो हुदै गयो। एकातिर जनसंख्या को तेजी ले वृद्धि अर्कोतिर स्वचालित मेसिनले रोजगारी को सम्भावनालाई कडा चुनौती दिईराखेकै छ।
• तैपनि आजसम्म सोच्ने र निर्णय लिने काम मनुष्य संगै थियो अब त्यसमा पनि आर्टिफिसियल इन्टेलिजेन्स AI (कृत्रिम बुद्धिमता) ले कब्जा जमाईसक्यो।
हरारी छिट्टै AI को बिकासमा अप्रत्यासित उछाल देख्छन। जसरी पछिल्लो ३० बर्षमा कम्प्युटर र टेलिफोनमा चमत्कारी बदलाव भयो त्यसरी नै अबका १५ बर्षमा AI कयौ पुस्ता अगाडि बढ्ने छ।
र दुखद अरु कयौ रोजगार का अबसर खानेछ।
(यस सम्बन्धमा हरारी को किताब NEXUS ; A brief history of information networks from the stone age to AI उपलब्ध छ।)

• चालक बिनाका गाडि, करोडौ चालकलाई घरमै बस्न बाध्य पार्नेछन।मेडिकल एप्स,टेलिमेडिसिन लाखौ डाक्टर भन्दा बेहतर चिकित्सकिय सल्लाह दिनेछ।
• कुनै एप्स तपाईलाई उच्च स्तरको परामर्श देला, एल्गोरिदम सहि निर्णय सुझाउला। युट्युब को माध्यमबाट हजारौ होम ट्युसन का पेसाहरु खतरा मा परेकै छन। ठुला ठुला मल, सपिङ्ग कम्प्लेक्स हरु यसैपनि गल्ली र चोकतिरका साना साना पसलहरु भन्दा राम्रा अफरहरु उपभोक्ता लाई दिएकै छन।
• त्यसो भए संसारका करिब आठ अर्ब मनुष्यहरु को भबिश्य के होला ?
दरअसल अधिकांस मानिसहरु एक युजलेस क्लास (बेकार बर्ग) मा परिणत हुनेछन। राज्य,उद्योग या समाजमा तिनको केहि उपयोगिता बाकि रहनेछैन।
त्यसो भए के गर्ने त यति ठुलो बेकार बर्गलाई ?
हरारी यो मान्छन कि राज्य का लागी भोजन दिन कुनै समस्या हुनेछैन। नयाँ नयाँ प्रबिधी अधिक अन्न उब्जनी गरि हाल्नेछ। सामान्य पकेट खर्चका लागी सरकार सामाजिक सुरक्षा या यस्तै यस्तै नाममा थोरै थोरै पैसा दिनेछ। युरोपमा त आधारभुत आम्दानी (Basic Income) को बहस पनि सुरु भैसक्यो। यी सबै कोसिस यो बर्गलाई ब्यस्त राख्नुमा हुनेछ। तिनको बिद्रोहको आवाजलाई उठ्न नदिनुमा हुनेछ।
महामारी,युद्ध,दगां यो बर्गको संख्या घटाउने उपर्युक्त माध्यम हो ।सत्ताको दमन पनि अर्को बाटो छदैछ।
यो सबै यो बर्गमाथि सहजै गर्न सकिनेछ किनभने यो बर्गसंग राजनितिक शक्ति हुनेछैन। मजदुर ले आवाज उठाए,ड्राईभर ले हडताल गरे किसान ले बिद्रोह गरे सत्ता र शक्तिको अहम् र स्वेच्क्षाचारिता लाई रोकिदिन सक्छन। सत्तालाई बाध्यताबस यिनको माग सम्बोधन गर्नुपर्ने हुन्छ तर बेकारी बर्ग,राज्यको आसमा बसिरहेको बेरोजगार संग बार्गेनिङ चिप (सौदाबाजी को शक्ति) रहनेछैन हुदैन।
फेरी निगरानी को आधुनिक प्रबिधि ले तपाई माथि चौबिसै घण्टा निगरानी गर्नेछ। एक क्लिक मा तपाई को नाम,ठेगाना देखि सम्पुर्ण जानकारी उपलब्ध हुनेछ।
सामाजिक संजाल तपाई को बायोग्राफी सहित छ। डिजिटल पेमेण्ट र मोबाईल बैंकिङ्ग का नाममा तपाईको खर्च ,आय ,आदत,र यात्राहरुको म्यापिङ्ग छ।कुराकानीको ट्रान्सक्रिप्ट मेसेन्जर,भाईबर र ह्वाट्सएप मा छरपष्टै।
यति धेरै चिजहरुमा एउटा अबैध कुरा खोजेर जेल पठाउन सत्तालाई के मुस्किल होला ?
• तर जेल कतिलाई हाल्ने ? हरारी मान्छन कि सोचमाथि पहरा को लागी आधुनिक जेलहरु को प्रयोग गरिनेछ। नशा ,डाटा , र कम्प्युटर गेमहरु सस्तो र सहज बनाईनेछ ,हुनेछन। जुन हामी दिनप्रतिदिन आजभोली देखिरहेकै छौ। मोबाईल र सामाजिक संजालको लत हाम्रो सोच्ने क्षमतालाई दिशा दिईराखेको छ।भाईरल र पपुलिस्ट को दौरमा तथ्य र तर्क कुना मा मिचिएको छ।
• क्रान्तिकारी,तथ्य र तर्कसंगत बिचारहरु बेप्रभावित छन अश्लिल , भाईरल र सत्ता समर्थित कंटेण्ट लाई एल्गोरिदम ले फेभर गरिराखेकै छ।
• युभल नोआ हरारी यी सबै कुरा भबिश्य मा हुनेछन भनेर आकलन गरिराखेका छन म हाम्रो देश नेपाल को बर्तमानमा देखिरहेको छु।
• सोच र समझको क्षमता गुमाईसकेको समाज खुशी खुशी स्वतन्त्रता पनि गुमाउदै छ ।
देश पहिले नै एक युजलेस क्लास भैसक्यो।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


