‘कांग्रेस’ दिदीलाई कांग्रेस भाइको चिठी

पशुपति कडेँल

नमस्ते !

उमेरले सायदै बराबर तपाईं र म । मभन्दा अगाडि तपाईं कांग्रेस यानिकी रगत कांग्रेस, भ्रुण कांग्रेस । मभन्दा अलि हुनेखाने परिवारमा जन्मिनुभएकी तपाईं । तपाईंको भन्दा मेरो बाल्यकाल अझै दुखमा बितेको हो । तपाईंले र मैले हुर्के खेलेको त्यो भुगोल सायदै चिनाइराख्नु पर्दैन । त्योबेलाको तपाईं र मेरो गाउँ र अहिलेको त्यो हाम्रो गाउँ पनि चिनाइराख्न नपर्ला ।

सदैव हामी परिवर्तनका कुरा गर्छौं तर भएका परिवर्तनलाई स्वीकार गर्दैनौ । विकास आकाशबाट असिना खसे झै हुने हैन, यसको नि पक्कै प्रकृया होला । भ्रुण हुँदैमा कांग्रेस हुनुभएकी तपाईं अब कांग्रेसले गरेको अहिलेको परिवर्तन स्वीकार गर्ने कि नाइ ! यत्रो लडाइँ लडेर कांग्रेसको नेतृत्व परिवर्तन गरेको बेला सबैलाई एकपटक कांग्रेस जिताउन आह्वान गर्नुपर्ने ठाउँमा घन्टीलाई भोट ! के गरेको आधारमा दिने हो घन्टीलाइ भोट ? हामी टुकी बालेर पढेको आज घर घरमा बिजुली बल्छ, पानी लिन गाग्री बोकेर तातोपानी जानुपर्थ्यो, आज घरघरमा पानीको धारो छ, हिजो हाम्रा बाउले कुकुरचौर र गैराबारीमा फलेको मासको भारी बोकेर काठमाडौ लगेर बेचेर नुन किनेर हामीलार्इ नुन हालेको तरकारी खुवाएका हुन्, आज हामीले जुन ठाउँमा बसेर अर्डर गरेनी दैलोमा सामान पुग्छ ।

मेरो साइलो बुबा सडकको दुराअवस्थाका कारण समयमा उपचार नपाएर अकालमा मर्नुपर्यो । यस्ता कयन हाम्रा बुबाआमाहरु अकालमा उपचार नपाएर मरे होलान् । यस वर्ष गाउँसम्म सडक कालोपत्रे हुँदैछ । यसो कल्पना गर्नुस त्, तपाईं काठमाडौदेखि चिल्लो कारमा आफ्नो माइतिको आगनमा सरररर । हिजो विदेशमा बसेर चिठी लेखेर घर पठाउँदा हुलाकमार्फत ३ महिना लाग्थ्यो घर र परदेशमा खबर पुग्न, आज हाम्रो हात हातमा मोबाइल छ, मोबाइल नेटवर्क छ, ईन्टरनेट छ, विश्वको जुनै कुनामा बसेर घर परिवार, आफन्त जो कोहिसँग उसको अनुहार हेरेर कुरा गर्न सकिन्छ, घाँस काट्न जङ्गल जानुभएकी तपाईं हाम्री आमा समयमा घर नपुग्दा हाम्रा बाले डाडामा गएर चर्को स्वरले मेरा छरछरीकी आमा तिमी आउनेबेला भएन भने चिच्याउनु पर्दैन, किनकी हाम्री आमाको पटुकिको बेरोभित्र टुकटुके भएनी फोन छ ।

के यो विकास हैन ? हिजो तपाईं हाम्रा आमा ढिकी जातो गर्न बिहान २ बजे उठ्नुपर्थ्यो, उहाँहरु सुत्केरी हुँदा अलि पर परालको टौवामा बस्नुपर्थ्यो (तपाईंले पनि सुत्केरी अवस्था पार गरेर आउनुभयो पक्कै, त्यो कस्तो अवस्था हो, कति पीडा हुन्छ, कस्तो खानपान चाहिन्छ मलाई भन्दा तपाईंलाई थाहा छ) । आज हरेक गाउँमा स्वास्थ्यकर्मीसहितको प्राथमिक उपचार केन्द्र छ, सुत्केरी त्यहाँ गराइन्छ ।

गैराबारी, ढोडेनी, मजुवा, बिरौटा, फाली, बडरे, ज्यामिरेस्वारा, गच्चौर, मन्टार, मस्तेखोला, एक्लेटार, तल्लोबेशी, पल्लो बेशिका खेतबारीमा मल पुर्याउन, त्यहाँका धान पराल घर ल्याउन टाउको झर्ने गरि नाम्लोले बोकेको बिर्सिनुभयो ? आज के अवस्था छ पक्कै थाहा होला ? के यो विकास हैन ? तपाईं हामीलाई आइफोन र एन्ड्रोइड फोनमा हातको औंलाले छोएर देखिने विश्व अहिले भर्खरै चाहिएको छ । त्यसैले त हामी जति भए पनि चित्त बुझाउदैनौ, जति हुनुपर्ने त्यति भएन, छिमेकी मुलुकको तुलनामा हाम्रोमा अलि कम भयो तर नभएको पनि हैन नि ।

जे जति भए २०४८ सालमा नेपाली कांग्रेस पार्टीले ल्याएको व्यवस्थामा टेकेर भएको हैनर ? नयाँ भनिएका पार्टीका नेताहरुको हर्कत नदेखिएको होर ? तपाईंले भावी प्रधानमन्त्री स्विकार्नु भएको व्यक्तिले काठमाडौ महानगरपालिकाको वार्षिक कति प्रतिशत बजेट खर्च गर्न सक्यो हेर्नुभएको छ रिपोर्ट ? ५ वर्ष महानगरपालिकाको मेयर भएको मान्छे कसैले आफ्नो पार्टीको भविष्य जोगाउन तपाईं प्रधानमन्त्री भनिदिएको भरमा कार्यकाल सक्किनु अगावै राजिनामा दिएर हिड्नु ठिक हो ? यो त उहाँलाई निर्वाचित गराउने मतदाताहरुको मतप्रतिको बेइमानी हैनर ? नयाँ भन्दैमा ठेलागाडामा किनिएको कपडाको क्वालिटी हुन्छर ? के ति नयाँहरु पुरानो पार्टीमा भाग नपाएर गएकाहरुको समूह हैनर ? कि तिनिहरु अर्को ग्रहबाट आएका हुन् ? कि तिनिहरु फरक प्रजातिका मान्छे हुन् ?\

मभन्दा हजुर धेरै जान्नेबुझ्ने हुनुहुन्छ तर एउटा मात्रै अनुरोध, अलिकति हिजोको नेपाल र आजको नेपाल पढ्नुपर्यो बुझ्नुपर्यो, सामाजिक संजाल जता लाग्यो त्यतै लाग्नु अलि सुहाउँदैन जस्तो लाग्छ । आज यो देश इतिहासको अत्यन्तै कठिन घडिमा छ, शक्ति रास्ट्रहरुको चपेटामा छ हाम्रो देश, नयाँ भनिएका सबै राजनीतिक शक्तिहरुलाई विदेशिले नेपालमा प्रयोग गरेका छन् जसका कारण यो देश नेपाल नै रहन्छ रहन्न भन्ने अवस्था छ । यति बेला देशलाइ अत्यन्तै सुझबुझ पुर्याउन सक्ने लोकतान्त्रिक पार्टीको परिपक्व नेताको खाचो छ, त्यो भनेको सुध्रिएको नेपाली कांग्रेस हो । आजको दिनमा कांग्रेस विशेष महाधिवेशनबाट सुध्रेर आएको छ ।

कांग्रेस सुध्रियो भन्ने कुरा हिजोको संघीय टिकट वितरणले पनि बताउँछ । यस पटक कांग्रेसले धेरै युवालाइ टिकट दिएको छ, पहिले पटक पटक साँसद भएकालाई टिकट रोकेको छ, सकेसम्म दाग लागेका व्यक्तिलाइ टिकट दिएको छैन । कांग्रेसले परिवर्तन शुरूवात गरेको छ ।

त्यसैले एकपटक पुरानो कांग्रेस बिर्सिएर नयाँ कांग्रेसलाई भोट गरौं , सबैलाई आह्वान गरौं, वर्षौं आफ्नै पार्टीभित्र लडेर नेतृत्वमा आएका गगनको अनुहार हेरेर कांग्रेसलाई भोट गरौँ । गगनलाई यो देशको भावी प्रधानमन्त्री बनाउने अभियानमा लागौं ।

बाकी तपाईंको कुरा ।
जय नेपाल !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button