आकाशबाट हिमाल दर्शन गर्दै पशुपति नगरी

भरत शर्मा

चार महिना १० दिनको चीन बसाइँ पुरा गरेर जाडो विदाको ५० दिने छुुट्टीमा नेपाल फर्कन लागेँ । यतिबेला म खुमनिङबाट काठमाडौं जाने जहाजमा बसेँ । जहाजमा बसेपछि नाम्चा सम्पादक मित्र अशोकलाई फोन गरेर भनेँ, ‘आज म आकाशमा बस्दा जे अनुुभव हुन्छ, त्यही लेखेर पठाउँछु ।’

आकाशमा लाखौं मानिस यात्रा गरिरहेका हुन्छन् विश्वमा । कयौं मानिसहरुले आकाशमा कयौं पुस्तक पढ्ने–लेख्ने काम गर्दछन् । यस पटक मैले पनि आकाशमा बसेर लेख्ने काम गर्न खोजेँ । मेरो सिट झ्यालमा थियो, मेरो साथमा दुुईजना विद्यार्थीहरु थिए, उनीहरु एकबर्षपछि नेपाल फर्कन लागेको चीनमा डाक्टर पढ्दै गरेका थिए । जहाजमा चिनियाँ भन्दा बढी नेपालीहरु थिए । सबै युनानमा डाक्टर पढदै गरेका विद्यार्थीहरु जाडो बिदामा घर फर्कंदै थिए । त्यसबोहक चीनका अन्य शहरमा पढ्दै गरेका विद्यार्थी र एकजना विद्यावारिधी गर्दै गरेका कृषि बैज्ञानिक समेत थिए । जहाजमा आउने सबै नेपालीहरुसँग मैले उनीहरुको परिचय सोधेँ । पत्रकारिताको विद्यार्थी भएकाले नाताले यस्ता काम गर्न कुनै लाजसरम लाग्दैन । चिनियाँ पर्यटकहरुका टोलीमा तीन वटा समूह थियो । उनीहरु बुद्ध धर्म अनुुयायी चिनियाँहरु रहेछन् । उनीहरु काठमाडौं, पोखरा र लुम्बिनी जान आएका रहेछन् । मैले पनि आफ्नो परिचय चिनियाँ भाषामा दिएँ, उनीहरु निकै खुुसी भए । उनीहरुलाई नेपाल यात्राको शुुभकामना भनेँ । उनीहरुको यात्राको प्रबन्ध नेपालको एउटा कम्पनीले गरेको रहेछ । त्यो कम्पनीको नाम भन्दा म चिन्दछुु, व्यवस्था हुन्छ भनेर भनिदिएँ, त्यसपछि उनीहरु नेपाल यात्रा झन् राम्रो हुने भनेर खुसी भए । उनीहरुले लाउस सेसे भने । चिनियाँ भाषामा लाउस भनेको अध्यापक हो, सेसे भनेको धन्यवाद ।

मेरो सिट नजिक रहेका दुुई छात्राहरु निकै खुसी थिए । एकजना एकबर्षपछि अर्को २ बर्षपछि नेपाल फर्केदै रहेछन् । काठमाडौंको रैथाने महर्जनको छोरी, उदयपुरस्थित रसाइली बहिनीहरुको घर फर्कने उत्साहको बारेमा बर्णन गर्न सक्दिनँ ।

अकंल–अंकल यो जहाज काठमाडौं कति बजे पुुग्छ ?

कति हतार भएको छ घर जानको लागि । उनीहरु एकोहोरो घरको यादमा डुुबेका छन् । उनीहरु मसँग गफ गर्न खोज्दैछन्, तर मचाहिँ के लेख्ने होला भनेर सोच्दै थिएँ । उनीहरुले मेरो परिचय सोधे अनि भने, ‘हजुरको बारे हामीलाई थाहा छ नि । खुुमनिङ मेडिकल कलेजमा तपाईको बारेमा कुरा भएको थियो,आज भेट भयो खुसी लाग्यो । नेपालको हालखबर कस्तो छ अंकल, नेपालमा जेनजी आन्दोलन, आमनिर्वाचनबारे के हुँदैछ ?’

‘हामी त छिटो कलेज फर्कनुु पर्दछ, चुनावमा भोट हाल्ने समय छैन । हाम्रो काम त पढ्ने हो ।’

उनीहरु दुवै विद्यालयमा प्रथम हुने छात्रा रहेछन् । नेपालमा डाक्टर पढन नसक्ने भएपछि चीनमा पढन आएका रहेछन् ।

‘अब चार बर्षमा हामीले एमबीबीएस, त्यसपछि एमडी गर्नु छ’, उनीहरुले आफ्नो योजना पनि सुुनाए ।

एकजना रेडियोलोजिष्ट बन्ने रे, अर्को डरमेटोलोजिष्ट । उनीहरुका भविष्यका योजना सुनेर म पनि खुसी भएँ । यस्तो राम्रो लक्ष्य लिएर अगाडि बढेको राम्रो ।

जहाज चीनको आकाशमा थियो । जहाज चीन, बंगलादेश, भारतको कोलकोत्ता हुँदै नेपाल प्रवेश गर्ने जानकारी पाइयो ।

उनीहरु भन्दै थिए, ‘अंकल हामीलाई जहाज कहाँ कहाँ पुुग्छ जानकारी दिनुु है ।’

मौसम राम्रो भएर होला यसपटकको हवाई यात्रा निकै राम्रो भयो । चीन र बंगलादेशको आकाशमा उड्दा जहाजमा कुनै हलचल थिएन । जहाज जब भारतीय भूमितिर लाग्यो, हल्लन थाल्यो । भविष्यका डाक्टर बहिनीहरु डराउन थाले । पेटी बाँधेर बस्ने सूचना आयो । पाँच मिनेटपछि फेरी जहाज सलल दौडन थाल्यो ।

जहाज बंगलादेशको आकाशमा उड्दा बंगलादेशलाई सम्झेँ । आगामी फेरवरी १२ तारिख बंगलादेशमा आम निर्वाचन हुँदैछ । बंगलादेशको राजनीतिक र आर्थिक अवस्था पनि राम्रो छैन । नेपालका नेताहरुले जेनजी आन्दोलन हुुुनुुभन्दा पहिले नेपाल बंगलादेश हुँदैछ भनेका थिए, त्यतिबेलाका सत्ताका शासकले सुनेनन् । जेनजी आन्दोलनपछि नेपाल पनि बंगलादेशको जस्तो आम निर्वाचन हुने कुरामा अगाडि बढ्दै छ । आगामी फागुुन २१ अर्थात् मार्च ५ मा निर्वाचन हुँदैछ ।

जहाज भारत प्रवेश गरेपछि भारतलाई सम्झेँ । कलकत्ताको काली मन्दिर, गंगासागर र कयौं पटक घुुमेको कलकत्ता शहरलाई नमन गरेँ । सबैतिर बारबार गंगासागर एकबार भनिन्छ । म जीवनमा एकपटक मात्र गंगासागर गएको छु । त्यहाँ रहेको प्रसिद्ध मन्दिर कपिलमुुनिको दर्शन गरेर फर्केको छु । कलकत्ता त २० पटक भन्दा बढी गएँ होला । भारतको ऐतिहासिक शहर हो कलकत्ता, त्यसको बारेमा अनेक कथाहरु छन् ।

जहाज कलकत्ताबाट नेपाल प्रवेश यात्रामा अगाडि बढेपछि जहाजको आकाशमा उडेको स्किन देखाउन शुरु भयो । अब हामी ५६ मिनेटमा नेपाल पुुग्नेछौं भन्ने सूचना आएपछि छेउमा बसेका बहिनी डाक्टरहरु खुसी भए । म पनि खुसी भए, उनीहरुलाई भनेँ, अब हिमालहरु देखिन थाल्दछन् । हाम्रो नेपाल र प्यारो नेपाल देखिन्छ, नभन्दै हिमालका दृश्य देखिन थाले । म भने हात जोडर ओम नमः शिवायको मन्त्र उच्चारण गर्न लागेछु । हिमाल भनेका हाम्रा साक्षात देवता हुन् । हिमालमा शिवजी विचरण गर्नुहुन्छ । शिव हाम्रो कुल देवता हो, हामी नेपालीको लागि शिव भनेको अभिभावक हो । मेरो जीवनमा शिव सबैथोक हो, हिमाल हाम्रो प्राण हो ।

विमान नेपाल नजिकै पुुगेजस्तो भयो । अब ३० मिनेटमा जहाज काठमाडौं उत्रने खबर जहाजभित्र सुनेपछि अझै हिमालका दृश्य यति सुन्दर देखियो कि त्यसको शब्दमा ब्याख्या गर्न सक्दिनँ ।

नेपालको मौसम पनि राम्रो रहेछ । जहाज नेपाल प्रवेश गरेपछि कुनै हलचल नगरी उडिरहेको थियो । यति सजिलो र आरामदायी यात्रा भयो कि नेपालमा पनि जहाजले समथर यात्रा गरेको अनुुभव भयो ।

जहाज समयभन्दा ३० मिनेट पहिले नेपालमा ल्यान्ड भयोे । अर्थात् नेपाली समय दिउँसोको ३ः३० बजे जहाज काठमाडौंमा अवतरण भयो । जहाज अवतरण भएका बेला नेपाली विद्यार्थीहरु खुसीले काठमाडौं भनेर कराए । काठमाडौं बाहिरको मौसम १६ डिग्री थियो, घाम लागेको थियो । काठमाडौं विमानस्थलमा भीड थिएन, हाम्रो मात्र जहाज ल्याड भएकाले सबैभन्दा पहिले मैले अध्यागमन पास गरेँ, सुरक्षाजाँचमा पनि खाली थियो । सबैकाम एकैछिनमा भयो । ब्यागको प्रतिक्षामा पनि यस पटक समय लागेन । लगभग ३० मिनेटमित्र बाहिर निस्केँ । विमानस्थल शान्त थियो, सुरक्षाकर्मी तिखा आँखा लगाएर झोला हेर्दै थिए । चीनबाट आएको हजुर, आफ्ना घरपरिवार र साथीहरुका नासो मात्र छ भनेँ । मेरो भाषा र बोलीको मिठासले होला कि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले मलाई जानुस् सर जानुुस् भने । शीरमा ढलक्क ढल्काएर नेपाली टोपी लगाएको हुनाले पनि उनले मेरो शीरको ताज टोपी देखेर सम्मान गरे । खासमा मेरो झोलामा नासो र चिनियाँ चकलेट मात्र थियो ।

विमानस्थल बाहिर मेरा चिनियाँ छात्रा महावीर खादा लिएर बसेको रहेछ । मलाई यस पटक आफ्नै चिनियाँ विद्यार्थी महावीरले विमानस्थलमा खादा लगाएर स्वागत गर्यो । पहिलोपटक मैले पनि विदेशबाट आउँदा आफ्ना विद्यार्थीको हातबाट खादा लगाएँ । चीनमा विद्यार्थीहरुबाट पाएको सम्मान त कति हो कति ! नेपालमा पनि महावीरको स्वागतले मन प्रसन्न भयो । महावीर काठमाडौं विश्वविद्यालयमा पढ्न आएका थियो । आगामी साता महावीर युनान फर्कने छ । बाहिर मलाई लिन आएका चालक मित्र नकुलले मेरो झोला गाडीमा राखेर मलाई पशुपतिनाथ प्रवेश गर्ने द्धार तीलगंगा सडकमा छोडिदियो । म मन्त्रोचारण गर्दै पशुपतिनाथ क्षेत्र प्रवेश गरेँ । मन्दिर परिक्रमा गरेँ, आफ्ना छुुट्टीमा नेपाल बस्दा गर्नुपर्ने कामको योजना बताएँ । हिजो मेरो दाजुु पदमको जन्मदिन थियो, त्यो टिपोट गराएँ ।

अनि मेरा मित्र अशोक सिलवालले आगामी सोमबारदेखि पशुपतिनाथबाट मायादेवी मन्दिर, लुम्बिनीसम्म ‘अप्प दीपो भवः’ यात्रा गर्न लागेको निवेदन पनि श्री समक्ष जानकारी गराएँ । त्यसपछि श्रीका अर्चक नारायण भट्ट निवासमा पुुगेर गुरुको दर्शन गरेर सिधै आफ्नो कर्म कार्यालय सुुन्धारा पुुगेँ । भारतबाट आउनुु भएका मेरा दाजुु गुरु पं.डा. दिवाकर शर्मा मलाई पर्खेर बस्नुु भएको थियो, । दाजुु गुरुको दर्शन गरेपछि साथीहरुको नासो कार्यालयमा राखेर घरका सदस्यका लागि केही चकलेट बोकेर घरतिर लागेँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button