चुनावमा पर्यटन

डा बिपी बडाल

धेरै लेखें जिन्दगीमा, लेख्ने रहर पनि थिएन, अन्जान मै लेखक नै भै सकेछु | के के लेखें के के लेखें – अस्तित्वको लागि संघर्ष भन्ने सानो लघुकथाबाट नै लगभग २०५० साल देखि मेरो लेखनको प्रकाशन हुन थाल्छ | लेखन मेरो सोख हो | मैले लेखें, म लेख्छु र म लेख्ने छु | कविता लेखेको छु, कथा, उपन्यास आदि लेखेकै छु | लेख्दा शब्द जीवित हुनुपर्दछ | शब्द दीयो झैं चम्कनु पर्छ | तर आधुनिक प्राज्ञिक लेखनले मेरो साहित्यिक लेखनलाई अर्थात् सृजनात्मक लेखनलाई अलि रंगहीन बनाइदिएको हो कि !

आजकाल नाइँ भन्न सिक्दैछु | अब म बिना अर्थ समय खेर फाल्दिन | समयको महत्व बुझ्दै छु | लेख्न पनि म जे पायो त्यहि लेखेर समय खेर जान दिन्न | मैले बुझेको छु – जीवन अध्ययन र अनुसन्धान नै हो | स्कुल कलेज सके पछि अध्ययन अनुसन्धान गर्ने मंच भनेकै यात्रा हो | आजकाल त नियमित स्कुल गए झैं यात्रामा निस्किन्छु | यात्रामा भेटिएका रुख लेख्छु पात लेख्छु | हजुर म निरन्तर लेख्छु | प्रेम लेख्छु, पर्यटन लेख्छु, र यात्रा लेख्छु | गोर्खाबाट फर्किंदा रातिको १२ बजी सकेको थियो | घर पुगें, नुहाएँ, देशमा चुनाव आइसकेको थियो | गोर्खाका सम्झना त लेख्नु नै थियो | ल्यापटप खोलें बिस्तारामै बसेर लेख्न थालें | कवि रोबर्ट फोर्ट्स कि श्रीमती आएझैं उनि आइन, “ यसरी सधैं घुमेर हुन्छ ?” म सित उत्तर थिएन | म मुस्कुराएँ | तातो दुध ल्याइदिएकि रहिछन | लाग्छ सबै लेखक, प्राध्यापक, अनुसन्धानकर्ता, दार्शनिकका अर्धांगिनी यस्तै हुन्छन | घर व्यवहार समाज इस्टमित्र हेर्ने फुर्सद छैन सबै उनैले हो | सुकरात, भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा सबैको कथा उस्तै उस्तै ….|

लेख्न थालें, २०८२ फागुन २१ गतेको चुनाव नजिकै आइसक्यो | सबै उम्मेदवारहरु भोट माग्न व्यस्त छन् | आफ्ना उम्मेद्वारसंगै झण्डा बोकेर भोट माग्ने जनता पनि देश भरि दौडाहामा छन् | सबैको आशा छ कि, “जेनजी आन्दोलनको चाहना बमोजिम स्वच्छ सरकार निर्माण हुने छ” | संबिधान संसोधन हुने छ र देशले विकास र समृद्धिको बाटो समाउने छ | भ्रष्टाचारको अन्त्य हुने छ | जेंजी आन्दोलन पछिको यो परिस्थितिमा भ्रष्टाचार मुक्त देश निर्माण गर्ने यज्ञ नै निर्वाचन हो | नेपालको प्रमुख समस्या, जेंजी आन्दोलनको प्रमुख कारण नै भ्रष्टाचार हो |

मैले भन्नै पर्छ, जित्ने पार्टीको निर्वाचनको टिकट नै खरिद विक्री हुने, चुनावमा मासुभातमा करोडौं खर्च हुने हुनाले सभासदहरु जनताप्रति भन्दा पनि आफ्नो खर्च उठाउन पट्टि लागे | अर्को निर्वाचन खर्च उठाउन करोडौं रकम जम्मा गर्न थाले | हालसम्म पनि कुनै एउटा सडक राम्रो छैन | कुनै ठुला विकासका योजना समयमा सम्पन्न हुँदैनन् | नेता सधै भाषण गर्थे | दिक्कलाग्ने भाषणले जनता अवाक भएका थिए | यसैको परिणाम जेनजी आन्दोलन भयो | ठुलो धनजनको क्षति भयो | कांग्रेस कम्युनिष्टको दुई तिहाइको सरकारको भागाभाग भयो | नेताहरु हेलिकप्टर चढेर भागे | यो घटनाले सबैले पाठ सिकेको हुनुपर्छ | यो राजनैतिक प्रश्न होइन समाजमा मौलाएको भ्रष्टाचारको आवाज हो | जनता भित्र उकुसमुकुस भएको भडास बिष्फोट भएको हो | बुद्धको देशमा अशान्ति टिक्दैन | यद्दपी संसद भवन, सिंहदरबार, सर्वाच्च्व अदालत जले पनि आन्दोलन सकियो, देश शान्त भै सकेको छ | निर्वाचनको माध्यमबाट देश शान्तिको मार्गमा अघि बढि सकेको छ | हामीले पर्यटनको माध्यमबाट बुद्धको शान्तिको दर्शन विश्वभरी फैल्याउनु पर्दछ | किनभने देशको भविष्य केवल पर्यटनमा मात्रै छ |

मैले बुझेको, नीतिहरुको राजा नै राजनीति हो | नीतिहरुको मुख्य नीति नै राजनीति हो | जवसम्म राज्यको राजनीति बिधि सम्मत अगाडी बढ्दैन देशले विकासको मार्ग नै समाउन सक्दैन | २०४७ साल देखि नै देशले सहि राजनैतिक मार्ग समाउनै सकेन | आशा गरौँ ०८२ सालको निर्वाचन पछि देशले सहिमार्ग लिनेछ | चुनाव हारेकाहरु ५ बर्ष शान्त वस्ने छन् | जितेकाहरुले जनचाहना बमोजिम सुशाशन कायम गर्ने छन् | कमसेकम दलाल ठेकदारहरु राजनीतिमा होइन आफ्नो व्यवसायमा लाग्ने छन् | राजनीति पेशा व्यावसाय होइन जनसेवा हुने छ | नेपालको राजनीति बुद्धको शान्ति र अहिंसाको दर्शनमा आधारित हुनु पर्दछ | राजनीति सत्यको लागि देश र जनताको लागि हुनुपर्दछ | राष्ट्रियताको केन्द्रमा राजनीति हुनु पर्दछ | पद पाउन, जागिर खान, टिकट जित्न हुने राजनीति, राजनीतिको विकृति हो | राजनीति भनेको त त्याग हो | देश र जनताको उज्ज्वल भविस्यका लागि गरिने तपस्या हो | कम्तिमा राजनीति सेवा हो |

राजनीति सधैं बक्र रेखामा चल्छ | सिधा हुँदैन | सोचेको जस्तो हुँदैन सरुवा रोग फैले झैं फैलिन्छ र एउटा दलले जित्छ | नेपालमा धेरै पटक यस्तै भएको छ | कति जनतामा धेरै आसंका थियो, के यो चुनाव होला त ? चुनाव नभए देश कता जाने, कसले चलाउने, के गर्ने, धेरै समस्या आउने हुनाले सबै राजनैतिक दलको सुझबुझले गर्दा अव चुनाव निर्विकल्प भैसक्यो | चुनाव सुनिश्चित छ, संका गर्नु पर्दैन | मुख्यकुरा चुनावमा भोट माग्ने क्रममा धेरै समुह विच झैझगडा र विवाद हुनु सामान्य हो | यो विवाद कहिलेकाहिँ निक्कै ठुलो हुने गरेको र कति धनजनको नास हुने गरेको हामीलाई थाहै छ | यो निर्वाचनमा पनि यस्तै हिंसात्मक द्वन्द भयो भने देश नै बर्बाद हुनसक्छ | यो द्वन्दले हिंसात्मक रुप लियो भने सबैभन्दा ठुलो असर पर्यटन व्यवसायमा पर्दछ | त्यसैले सबै संयमित हुनुपर्दछ – अहिंसा परमो धर्म ! यो परम धर्म नै त हामी नेपालीको आफ्नो इतिहास, सभ्यता अथवा दर्शन हो | शिव वा बुद्ध मार्ग हो | म मार्क्सवादको विद्यार्थी, दु:खका साथ भन्नु पर्दछ मैले नेपालमा एकजना पनि असली मार्क्सवादी देखिन | मानवीय समानता र पूर्ण स्वतन्त्रताको यौटै मिलनविन्दु “पाशुपत दर्शन” रहेछ | यसैलाई हामीले अफिम भन्दिएछौं | सजिलै हामीले पत्याइदिएछौं | देश अखण्ड हुनु पर्छ – हामीले सात टुक्रा पारेर ८८४ सभासद र १२० मन्त्रि बनाएर देश लुटिरहेका रहेछौं | मानवलाई दलित, जनजाती, मधेशी, महिला, तेश्रो लिंगी सबै बनाएछौं | राजाले देश लुट्यो भन्यौं, राजाले जोगाएर राखेको देशमा हामी मार्क्सवादी, लेनिनवादी, माओवादी, समाजवादी जस्ता विदेशिवादका दलाल भएछौं | देशको धर्म, संस्कृति, सभ्यता, इतिहास, र भूगोल बुझेका ज्ञानीहरुलाई मण्डले भन्न थालेछौँ | राष्ट्रिय एकताको प्रतिक सांस्कृतिक लोकतान्त्रिक राजसंस्थालाई महासमान्त भनेर निकाली दिएछौं | त्यो मेरो अनि त्यो समयको गल्ति थियो, अज्ञानता थियो | सत्य पारामार्थिक हुन्छ | सत्य परिस्थिति अनुसार परिवर्तित हुन्छ | सत्य सधैं यौटै हुन्छ भन्नु नै जड्शुत्रवाद हो |

गल्ति सुधार्नु पर्छ | संबिधान संसोधन गर्नु पर्छ | यहि संविधानले अर्थात यहि परिपाटीले फेरी त्यो सपना पुरा हुन सक्दैन | निर्वाचन नियमसंगत, शान्त भएर अगाडी बढ्नु पर्दछ | समाज बौद्धिक रुपले चलायमान हुनु पर्दछ | राजनैतिक पार्टीले आफ्नो प्रष्ट राजनैतिक प्रतिबद्धता पत्र सार्वजनिक गर्नु पर्दछ | जनताले सबै राजनैतिक दल तथा उम्मेदवारको नीति कार्यक्रम र योजना हेर्नु पर्दछ | कसैको प्रभावमा वा लोभमा पर्नु हुँदैन | पद, पैसा र शक्तिको लोभमा मानिस यौटै राजनैतिक पार्टीको दास भएर बाँचेको हुन्छ | यस्ता दास अथवा लास जस्ता कार्यकर्ताबाट न पार्टीको उन्नति हुन्छ न देशको नै | मानिस कुनै पार्टीको हनुमान होइन | मानिस कुनै दलको बन्धक पनि होइन | आफ्नो कर्मम दृढ हुनु पर्दछ | काम गरेर खानु पर्दछ | मेहेनत गर्नु पर्दछ | मानिस आफ्नो विचार र व्यवस्था प्रति स्वतन्त्र छ | मानिस, मानिस भएर बाँच्नु पर्छ | जब मानिस राजनैतिक जनावर हुन्छ तव हिम्सा सुरु हुन्छ | अहिले नेपालका शक्तिशाली कांग्रेस कम्युनिष्टहरु कम्जोर प्रतिरक्षात्मक देखिएका छन् | नयाँ राजनैतिक शक्तिहरु आक्रामक भएर आएको देखिन्छ | राजसंस्था र सनातन धर्म संरक्षण गर्ने उद्धेश्यले आगाडी बढेका दलको पनि राम्रो प्रभाव छ | नामै तोकेर भन्नु पर्दा नेपाली कांग्रेसको गगन थापाको युगान्तकारी लोकतान्त्रिक परिवर्तनले लगभग कोमामा पुगेको पार्टीमा पनि पुनर्जागरणको आशा पलाएको देखिन्छ | तर दु:खको कुरा देशलाई कसरी कुन माध्यमबाट कहिलेसम्म कुन अवस्थामा पुर्याउने कुनै दलले भन्न सकेका छैनन् | दलहरुले अझै पनि सैद्धान्तिक र व्यवहारिक रुपमा देश विकासको मोडेल दिन सकिरहेका छैनन् | विकासको रणनीति निर्माण गरेकै छैनन् | देश विकासमा स्थानीय पर्यटन विकास सबैभन्दा सजिलो र कम खर्चिलो मोडेल हो | नेताहरुले अझै पर्यटन बुझेकै छैनन् |

मेरो धर्म विकासलाई सहिमार्गमा डोर्याउने मार्ग निर्देश गर्नु हो | त्यसैले अब सबै राजनैतिक शक्ति स्पष्ट हुनु पर्दछ कि “अब नेपालको भविष्य पर्यटन व्यावसायमा मात्र छ” | सिमित स्रोतले नेपालको कायापलट गर्ने आधार भनेको पर्यटन क्षेत्र मात्रै हो | नेपालमा विश्वबाट पर्यटक आइदिए पुग्छ | हामीले आतिथ्यता गरिदिए पुग्छ | पशुपतिनाथ र लुम्बिनीको दर्शन इतिहास संस्कृति, सभ्यता र सगरमाथाको वीरताको गाथा सुनाइदिए पुग्छ | पोखरा र चितवनको चित्र चिनाइदिए पुग्छ | नेपाल पर्यटकीय राष्ट्र हो भनेर घोषणा गरे पुग्छ | खाली हुँदै गएका पहाडका घरहरुमा शान्ति पर्यटनको हिल टप रिसोर्ट बनाइदिए हुन्छ | गाउँघरमा उत्पादन हुने कोदो, मकै, फलफुल, तरकारी खुवाइदिए हुन्छ | बुद्धको जन्मभूमि शान्त नेपालमा हिमाल हेरेर ध्यान गर्न विश्व आउनु पर्छ अब … |

चुनावी घोषणा-पत्रमा सबै राजनैतिक पार्टीले पर्यटनको सम्बन्धमा स्पष्ट धारणा राख्नु पर्छ | आफ्नै स्रोतले सबै गर्न सकिने, देशलाई विश्वमा चिनाउन सकिने र जनताको आयस्रोत मनग्य बढाउन सकिने मार्ग नै पर्यटन हो | द्वन्द, संका, र घृणामा पर्यटन फस्टाउन सक्दैन | द्वन्द जंगली युगको दर्शन हो | जति झगडा युद्ध गरे पनि अन्त्यमा टेबल मै बस्नु पर्दछ | वार्ता वा छलफलबाट नै सम्पूर्ण समस्याको समाधान हुन्छ | अन्त्यमा वार्ता नै गर्नु पर्ने हुनाले द्वन्द गर्नु जंगली परम्परा हो | प्रेम, माया र करुणा नै बुद्धको संदेश हो | यहि संदेश विश्वभरी फैलाउनु आजको आवस्यकता हो | तर खै … !

म भन्छु, चुनाव लोकतान्त्रिक परिपाटी हो | जसले जिते पनि नेपालको सगरमाथा, श्रीपशुपतिनाथ, तथा लुम्बिनी नै पर्यटन विकासका आधार हुन् | यहि पर्यटन कै माध्यमबाट हामी सबै नेपालीको आर्थिक, सामाजिक, सांस्कृतिक विकास हुन्छ | हामीले विश्वलाई दिने अर्थात् विश्वलाई चिनाउने माध्यम पनि यिनै हुन् | हामीले दिने शान्तिकै संदेश हो | त्यसैले आसन्न निर्वाचन भयरहित शान्त बातावरणमा सम्पन्न गरौँ | पर्यटनको माध्यमबाट देशको समृद्धिको ढोका खोलौं | सम्पूर्ण राजनैतिक दलहरुले पनि देश विकासको मोडेल (घोषणा पत्र)लेख्दा पर्यटन विकासका अवधारणा स्पष्ट राखौं | सबै जनताले नेतालाई देश विकासको मोडेल के हो, सोधौं | प्रश्न गरौँ ! सबैले प्रश्न गरेपछि अवस्य पनि उत्तर आउने नै छ | देशले समृद्धिको मार्ग अप्नाउने छ | तर घोषणा पत्र त कस्ता आए कस्ता ! ओहो बिहानको ४ पो बजी सकेछ | अब भोलि कतिबजे उठ्ने होला फेरी उनको मीठो गाली खानै पर्ने भयो |

शुभरात्री भनौं कि शुभप्रभात !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button