
घर पुग्दा रातको ठ्याक्कै १२ बजेको थियो

सीता गुफा र बराम समुदाय
डा. बीपी बडाल
बारपाक सुलिकोट गाउँपालिकाको पवित्र सुलिकोट चुलीबाट झर्दै थियौं । विस्तारै बस्तीहरु भेटिन थाले । हामीलाई गाउँको आतिथ्यता असाध्यै मन पर्छ । फेरि हामी ग्रामीण पर्यटनकै प्रवर्धन गर्ने यज्ञमा छौं । गाउँमा यात्रा गर्दा हामी पानी बोक्दैनौं । झरना, खोला, कुवा नभए समुदायको घरमा नै प्रवेश गरेर पानी पिउँछौं । पहिला पहिला तीर्थ जाँदा स्नान अनिवार्य थियो । नयाँ ठाउँमा गएपछि त्यस स्थानको हावापानीसँग साक्षात्कार हुन सकिएन भने बिरामी परिन्छ । त्यसैले पंचतत्वले बनेको शरीर, पंचतत्व मै मिल्ने हो । पृथ्वी, जल, बायु र तेज मिलेर यो धर्तीमा जन्मेको फूल यो धर्तीमै मिल्ने हो । जहाँ पुगे पनि प्रकृतिसँग जुध्ने होइन, प्रकृतिसँग मिल्ने हो । त्यहि हावा, त्यहि पानी, त्यहि पृथ्वी तेज र आकाश अनि त्यहि समाज ।
“ए दिदि माइती कता हो ?” मित्र हरिशरण थपलियाजी ले सोध्नु भयो, के जवाफ आयो मैले मेसो पाइनँ । तर मलाई पानी पिउनु थियो । “पानी पिउन पाईन्छ नि ?”, उहाँले हार्दिकतापुर्वक बोलाउनु भयो । उहाँको घरमा हामी ५–७ जना प्रवेश गर्यौं । हामीलाई बस्न मुडा अगाडि राखिदिनु भयो । पानी दिनुभयो । हामीले आरामले पानी पियौं । हामी निस्किन खोज्दै थियौं– “पख्नुस्, चिया पाक्दै छ !” हामी छक्क पनि भयौं । हामीसंग समय थिएन । आशा पानीको थियो तर उहाँको त्यो आतिथ्यतालाई विर्सिन सकेनौं । घर रहेछ, नेपालको लोपोन्मुख अल्पसंख्यक बराम परिवारको ।
बराम समाजकी अध्यक्ष भद्रा बराम जीसँग मेरो चिनजान त थियो तर यो यात्रामा भेट्न सकिनँ । अति खतरायुक्त लोपोन्मुख बराम समुदायको बराम भाषा तिब्बेतो बर्मेली भाषा समूह पर्दछ । भोट बर्मेली भाषा परिवारको भाषा हो । तिब्बेतो बर्मेली भाषा समुह भन्नाले तिब्बतदेखि बर्मा, भारत हुँदै बंगलादेश पुग्ने यार्लुंगसांग्पो अथवा ब्रह्मपुत्र नदी किनारामा विकास भएको ब्रह्मपुत्र सभ्यताको एक प्रमुख समुह बुझिन्छ । नेपालको गुरुङ, मगर, तामांग तथा बराम भाषाको उद्गम समूह नै भोट बर्मेली भाषा समुदाय हो । सिन्धु सभ्यता, नाइल सभ्यता, गंगा सभ्यता भने झैं एशियाको सबैभन्दा लामो (३००० किमी) कैलाश मानसरोबरको ब्रह्मकुण्डबाट उत्पत्ति भएको पवित्र नदी ब्रह्मपुत्र हो । कैलाश मानसरोवर हिन्दू, बौद्ध, बोन तथा जैन धर्मालम्बीहरुको पवित्र तिर्थस्थल हो । तामांग, लामा, शेर्पा समुदायमा बौद्ध तथा बोन सम्प्रदायको प्रभाव बेसी देखिन्छ भने ब्रह्मपुत्र सभ्यताको एकमात्र सनातनी अर्थात ब्रह्मपुत्रका बराम देवताका सन्तान नै बराम हुन् । बरामहरु हरेक बर्ष कुलदेवता (बराम देवताको पुजा गर्दछन् त्यसैले बराम भाषा संस्कृतिको उद्गम विन्दु ब्रह्मपुत्र सभ्यता हो । दक्षिणतिर सिन्धु सभ्यता र गङ्गा सभ्यतामा शैव तथा वैष्णव धर्मको विकास भयो तर ब्रह्मपुत्रको ब्रह्मा धर्मको विकास हुन सकेन । सम्भवत ब्रह्मा धर्मको सानो अवशेष, बराम देवताको पुजा गर्ने प्रकृति पुजक धर्म नै बराम धर्म हो । यतिबेला बारम भाषा संस्कृति लोप हुँदै छ ।

कुनै पनि चिज सम्झनु होस्, जे सम्झे पनि हुन्छ, त्यसको सृष्टि हुन्छ, वृद्धिविकास– स्थिति हुन्छ र अन्त्य– प्रलय हुन्छ । अन्तिम सत्य हरेकको सृष्टि, स्थिति र प्रलय हुन्छ । त्यसैले हरेकमा सत्य हुन्छ । यहि सत्यलाई (सृष्टि, स्थिति, र प्रलय) नै सनातन सभ्यतामा ब्रह्मा, बिष्णु, र महेश भनिन्छ । स्थिति र प्रलयको अर्थात् बिष्णु र शिवको भव्य मन्दिर पुजा आराधना शास्त्र सब छन् तर सृष्टि अर्थात् ब्रह्माको किन छैन ? फेरि ब्रह्मालाई अर्थात सृष्टिकर्तालाई धेरै आरोप पनि लगाइएका छन् । चीन र भारतको भौगोलिक राजनीतिले ब्रह्म सभ्यता ओझेलमा पर्यो । भारतीय पण्डितहरुले चीन तिब्बतको ब्रह्मपुत्र सभ्यतालाई अध्ययन अनुसन्धान गर्नै छाडिदिए । यति मात्रै होइन ब्रह्माको मन्दिर नै बनाउन हुँदैन भन्ने उक्ति नै चलाइयो । शिवको मन्दिर हुने, बिष्णुको मन्दिर हुने तर ब्रह्माको मन्दिर किन नहुने ? ब्रह्माको अध्ययन अनुसन्धान नै हुन छाड्यो । हो त्यहि छाडिएका सनातनी, ब्रह्मका वास्तविक अनुयायी अथवा सन्तति नै बराम हुन् । नेपालको गोर्खा जिल्लमा वारपाक सुलिकोटमा अथवा यहींबाट बसाई सराई भएर रहेका केवल लगभग ८००० जना मात्रै बाँकी छन् । त्यसमध्ये पनि बराम भाषा (बालकुरा) बोल्ने व्यक्ति ४–५ जना मात्रै बाँकी होलान् । सृष्टि सृजना र ज्ञानका प्रतिक ब्रह्मा र सरस्वतीको भब्य मन्दिर (बराम समुदायको केन्द्र) निर्माण गरेर, स्थानीय बरामहरुको धर्म संस्कृति र सभ्यताको जीवित सांस्कृतिक संग्रालय निर्माण गर्नु अति आवस्यक छ । यहि ब्रह्म सभ्यताको संरक्षण र प्रवर्धन नै गोर्खा बारपाक सुलिकोटको प्रमुख पर्यटकीय गन्तब्य बनाउन सकिन्छ । धार्मिक दार्शनिक रुपले सृष्टि स्थिति प्रलय जोड्न सकिन्छ । कैलाशदेखि गंगासम्म जोड्न सकिन्छ । ब्रह्मपुत्र नदी बेसिन– सिक्किम आसामका गोर्खालीहरुलाई जोड्न सकिन्छ ।
हिन्दू धर्ममा हराएका ब्रह्मा अर्थात् बराम– बरामु समुदाय गोर्खामा भेटिएका छन् । ति बराम बैनीले दिएको चिसो पानी, मीठो चिया अनि उखुका लाक्रा जीवनभरिको गुण भयो । यो आतिथ्यताले मुटु छोयो । उखु टोक्दै हामी अगाडि बढ्यौं । यहि संस्कार र संस्कृतिलाई पर्यटकीकरण गर्नु हाम्रो हाम्रो यात्राको उद्धेश्य हो ।
त्यसपछि हामी सिता गुफा तिर लाग्यौं । स्थानीय सरकारले सबै व्यवस्थित गरेको रहेछ्र । सिँडीहरु निर्माण गरेको रहेछ । स्वांरा गाउँमा अवस्थित यो सिता गुफा लगभग २०० बर्ष अघि पत्ता लागेको बताइन्छ । तत्कालिन तमु गुरुङहरुको ज्ञान प्राप्त गर्ने स्थलको रुपमा पनि यो गुफालाई लिइन्छ । सिताको जीवन कथासँग यो भूगोल कतैबाट पनि जोडिन सक्दैन । त्यसैले यो गुफा सिता गुफा नभई ब्रह्मा कि अधिष्ठात्री देवी सरस्वतीको गुफा हुन सक्छ । यस गुफामा ज्ञान प्राप्त हुने हुनाले सरस्वती गुफा भनेर पुनः नामकरण गर्नु उपर्युक्त देखिन्छ्र । यस गुफाभित्र तिन घण्टासम्म भित्र जान सकिन्छ । यो नेपालकै एउटा सबैभन्दा लामो गुफा हुन सक्छ्र । यस गुफाभित्र प्राकृतिक कामधेनु गाई तथा शिवलिंगहरुका हजारौं आकृतिहरु रहेका छन् । सिता गुफा नामाकरण गरिएकाले राम नवमीमा यस गुफामा भव्य मेला लाग्ने गरेको छ ।
यहाँबाट उत्तरमा धार्चे लेक, पश्चिममा सौरपानीको थानीमाई मन्दिर, पुर्वमा बजेनी ताल, दक्षिणमा ताकुकोट माइस्थान, र रानिमुलको पनि अवलोकन गर्न सकिन्छ । बारपाक सुलिकोट गाउँपालिकाले यस क्षेत्रलाई समेटेर अर्थात् मुलावारी, सुलिकोट स्वांरा हुँदै पालिका भवनसम्म पुग्ने पदमार्ग निर्माण गर्नु पर्ने देखिन्छ । सुलिकोट बारपाक जाँदा कसैले पनि छुटाउन नहुने एकदमै पवित्र नेपालकै लामो गुफा भनेको सिता गुफा हो । पवित्र गुफाको दर्शनपश्चात हामी बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय पुग्यौं । पालिका कार्यालय संगै मिठो खाना खाईयो । पर्यटन विकास तथा योजनाबारे गहकिलो अन्तरक्रिया सम्पन्न गरियो । ढिला भैसकेको थियो । त्यहाँको हेर्नैपर्ने सहीद दिलबहादुर रम्तेल पार्क हेर्न भ्याइएन । राति घर फर्कियो । घर पुग्दा रातको ठ्याक्कै १२ बजेको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


