
जेभियर्स अङ्ग्रेजी विद्यालको एघारौँ वार्षिकोत्सव-अभिभावक दिवस सम्पन्न

मोरङ जिल्लाको बुढीगङ्गा गाउँपालिका – २ सख्मामा रहेको ‘जेभियर्स अङ्ग्रेजी विद्यालको एघारौँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य र सभ्य रुपले सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक श्री परेश पोखरेलको अध्यक्षता र बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बिहान करिब एघार बजेतिर सुभारम्भ कार्यक्रममा बुढीगङ्गा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, प्याब्सन मोरङका कोषाध्यक्ष, बिभिन्न निजी विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक, विराटनगरको लोकप्रिय दैनिक पत्रिका ‘न्यु सृष्टि दैनिक’सँग आबद्ध पत्रकारलगायत शिक्षाप्रेमी, बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयका स-साना भाइबहिनीहरुले सुन्दर नृत्यले कार्यक्रमलाई अझै रोचक र रमाइलो बनाएको थियो । कार्यक्रममा विभिन्न जातजातिको भेषभूषा झल्कने ‘कल्चरल सो’, फेसन सो प्रस्तुत गरिरहँदा अधिकांश अभिभावक आफ्ना नानीबाबुहरूका प्रस्तुतीलाई मोबाइलमा कैद गर्न व्यस्त देखिन्थे । विद्यार्थी भाइबहिनीहरुले ‘झुम्रा नाच’, ‘सामाचकेवा नाच’ लगायतका विभिन्न जातजातिका संस्कृति झल्किने नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए ।
बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष एवं सो कार्यक्रमका प्रमुख अतिथि जितनारायण थापा मगरले मन्तव्य दिने क्रममा जेभियर्स अङ्ग्रेजी विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेको बताउँदै अब गुणस्तरीय शिक्षाका लागि विराटनगर धाउनु नपर्ने कुरा उपस्थित अभिभावकहरुलाई आश्वस्त पार्नुभयो भने विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष परेश पोखरेलले विद्यालयको वर्तमान अवस्था र भावि योजनाबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा रक्षा बजगाईंले ‘शिक्षक’ शीर्षकको कविता सुनाएकी थिइन् त्यस्तै गरेर दीपा शर्माले अङ्ग्रेजी कविता सुनाएकी थिइन् । यसैगरी सोही विद्यालयमा कक्षा एघारमा अध्ययनरत छात्र ( जेभियर्सका साङ्गीतिक उत्पादन, उदीयमान गायक) निराजन हिङमाङले स्वर्गीय अरुण थापाको आवाजमा रहेको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ’ बोलको गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए ।
यसैगरी कक्षा सातका विद्यार्थीहरू हर्षित ठाकुर, स्वप्निम थेवेलगायतको समूहले अङ्ग्रेजी नाटक ‘द स्काइ इज फलिङ’ प्रस्तुत गरेका थिए भने खेमराज बुढाथोकी, अङ्कित कार्की लगायतको समूहले आत्माराम ओझाको ‘त्यो देशद्रोही गोर्खाली होइन’ शीर्षक एकाङ्कीमा अभिनय प्रस्तुत गरेका थिए ।

यसै क्रममा सिङ्गापुरबाट नेपाल आइ हाल सो विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्र रिदिक थापाले सिङ्गापुरदेखि नेपाल आइपुग्दाका विविध अनुभव सेयर गर्दै नेपालमै आएर नेपाली भाषा लेख्न, बोल्न सिकेर छोटो समयमै नेपाली भाषामा उल्लेख्य प्रगति गर्न सकेकामा विद्यालयका प्रधानाध्यापक परेश पोखरेल, नेपाली विषयका शिक्षक रेवन्त श्रेष्ठ (गुरुबा), कक्षागत साथीहरू लगायत जेभियर्स विद्यालयप्रति आभारी रहेको बताए ।
निर्धारित समयभन्दा ढिलो कार्यक्रम सञ्चालन भएकाले कतिपय सेगमेन्ट हटाउँदा पनि लगभग बेलुका पाँच बजिसकेको थियो । तत्पश्चात् अध्यक्षको अनुमती लिएर तुलसी खतिवडा सरले व्यस्त समयका बाबजुद उपस्थित भएर कार्यक्रम सफल बनाउने सबै अभिभावक, विद्यार्थी लगायत शिक्षक, कर्मचारीहरुलाई धन्यवाद दिँदै कार्यक्रमको औपचारिक रूपमा बिट मार्नुभएको थियो ।
शान्ता पौडेल
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



