
सुनौलो क्षितिज शिक्षालयको सम्पदा यात्रा, विद्यार्थीबाट स्वयम्भू-पाटनको उत्कृष्ट रिपोर्ट तयार

काठमाडौं । सुनौलो क्षितिज शिक्षालयका विद्यार्थीहरूले केही दिनअघि स्वयम्भुनाथ र पाटन दरबार क्षेत्रको अध्ययन भ्रमण सम्पन्न गर्दै नेपालको सांस्कृतिक सम्पदाप्रति गहिरो अनुभूति र बुझाइ हाँसिल गरेका छन् । यस किसिमको सम्पदा तथा संस्कृतिआधारित यात्राले पाठ्यपुस्तकभन्दा बाहिर गएर सिक्ने अवसर पाएको विद्यार्थीहरूले अनुभूति गरेका छन् ।

भ्रमणमा सहभागी विद्यार्थीहरूले स्वयम्भु र पाटन क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षबारे प्रत्यक्ष अवलोकन र अन्तरक्रियामार्फत ज्ञान हाँसिल गरेका थिए । उनीहरूले नेपालको सांस्कृतिक सम्पदाहरू केवल पर्यटकीय गन्तव्य मात्र नभई पहिचान, इतिहास र सभ्यताको जीवन्त दस्तावेज भएको सूक्ष्म अनुभूति गरेको बताएका छन् ।
स्वयम्भुनाथ क्षेत्रमा सूर्यदीप श्रेष्ठले थान्का कलाबारे विस्तृतमा जानकारी गराएका थिए भने पाटन दरबार क्षेत्रमा अशोक सिलवालले सभ्यता, कला, वास्तुकला र ऐतिहासिक निरन्तरताबारे विस्तृत व्याख्या गरेका थिए । ती जानकारीहरूले विषयवस्तुलाई किताबभन्दा फरक ढंगले बुझ्न मद्दत पुगेको विद्यार्थीहरूको भनाइ छ ।
स्कुल कोर्डिनेटर शकुन्तला ढकालको सृजनशील तथा प्रभावकारी नेतृत्वमा भएको यो यात्रा घुमफिरमा मात्र सीमित नभई सिकाइ, सहकार्य र आत्मविश्वास अभिवृद्धिको माध्यम बनेको उल्लेख गरिएको छ ।
भ्रमणको फिल्ड गाइडेन्स सहदेव धमला विमलले गरेका थिए । उनको मार्गदर्शनले कार्यक्रमलाई अनुशासित र शैक्षिक रूपमा अझ प्रभावकारी बनाएको सहभागीहरूको भनाइ छ ।
यस किसिमका आउटडोर शैक्षिक गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य, जिम्मेवारीबोध र संस्कृतिप्रतिको सम्मान विकास हुने विद्यार्थी स्वयं, शिक्षक तथा सम्बन्धित पक्षहरूको साझा धारणा रहेको छ । विद्यालयले यस्ता अनुभवमूलक सिकाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

तर, यो यात्रा यत्तिमै सकिएन, यात्रापछि विद्यार्थीहरुले यात्रा रिपोर्ट तयार गरे । नेपालनाम्चालाई उपलब्ध गराइएका ती सब एक से एक रहेको नेपालनाम्चा सम्पादन टीमको बुझाई छ । स्पन्दन रिजाल, प्राश्ना विष्ट, सुमित धमला, रायना बलामी र सम्राट जमकटेललाई यस्तो स्तरिय रिपोर्ट तयार गरेकोमा बधाई छ । यात्रामार्फत ज्ञानलाई यसरी लिपिवद्द गर्ने संस्कारले के प्रमाणित गरेको छ भने भविष्यमा उनीहरुको लेखन करिअरसमेत उज्यालो छ ।

…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



