
प्रविधि र स्वादको संगम: राजधानीमा ‘सिन्धुली जुनार मेला’ सुरु, क्युआर कोडबाटै बगैँचा यात्रा

सिन्धुलीको सुप्रसिद्ध जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्ने र यसको बहुआयामिक स्वादलाई उपभोक्तामाझ पुर्याउने उद्देश्यले ललितपुरमा साताव्यापी ‘सिन्धुली जुनार मेला’ सुरु भएको छ । गोलञ्जोर गाउँपालिकामा हालै सम्पन्न ‘जुनार बगैँचा उत्सव’ लगत्तै राजधानीमा यो प्रवर्द्धनात्मक मेला आयोजना गरिएको हो।
पाँच वर्षको निरन्तरता र प्रविधिमा फड्को
स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा सञ्चालित यस मेलामा यस वर्ष विशेष गरी गोलञ्जोर गाउँपालिकाको रतनचुरा र चिसापानी क्षेत्रका बगैँचाहरूको जुनारलाई मुख्य ब्रान्डको रूपमा प्रस्तुत गरिएको छ । सृजनशील कृषि फर्मका सञ्चालक योगेन्द्र थापाका अनुसार काठमाडौँमा जुनार मेला आयोजना हुन थालेको यो पाँचौँ वर्ष हो । “विगतका वर्षहरूको निरन्तर प्रयासले सिन्धुलीको जुनारलाई राजधानीमा आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको छ,” थापाले बताउनुभयो ।
यस वर्षको मेलाको मुख्य आकर्षण प्रविधिको उच्चतम प्रयोग हो । योजना टेक्नोलोजी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा यसपटक कृषकका बगैँचा र रुखहरूको डिजिटल नक्सांकन गरिएको छ । करेशा एपका निर्देशक निश्चल पोखरेलका अनुसार यो प्रविधिले कुन बगैँचामा कति उत्पादन हुन्छ भन्ने अनुमानित जानकारी किसान र सहकारीलाई पहिल्यै उपलब्ध गराउँछ ।
उपभोक्ताले ‘करेशा’मार्फत जुनारमा रहेको क्युआर कोड स्क्यान गरी फल कुन बगैँचाको हो, कहिले टिपिएको हो र कृषकको विवरणसहितको यात्रा विवरण सजिलै हेर्न सक्नेछन् ।

स्वादमा विविधीकरण: नुन–खुर्सानीदेखि ‘हट जुस’सम्म
जुनारलाई नुन–खुर्सानीमा साँधेर खाने परम्परागत शैलीभन्दा माथि उठाएर यसका अन्य व्यावसायिक प्रयोगबारे जानकारी दिनु मेलाको मुख्य लक्ष्य रहेको रैथानेका सञ्चालक जेसन शाहले बताउनुभयो । मेलामा जुनारको केक, आइसक्रिम, सलाद, क्रेप सुजेट र फ्रेस जुसको स्वाद लिन पाइनेछ । विशेष गरी चिसो मौसमलाई लक्षित गरी तयार पारिएको ‘हट जुनार जुस’ र स्थानीय जौको रक्सीसँग ‘जुनार जेस्ट’ मिसाइएको स्वाद आगन्तुकका लागि नयाँ अनुभव हुनेछ ।

विस्तारित बजार र अनलाइन पहुँच
हाट बजार सञ्चालक राजन खड्काका अनुसार यस पटक उपभोक्ताको सहजताका लागि हाटहरूको संख्या थपिएको छ। मेलाको तालिका यस प्रकार छ:
पुस ३ (बिहीबार): भनिमण्डल हाट
पुस ४ र ५ ( शुक्रबार दिउँसो १ बजेदेखि शनिबार बिहान ६ देखि ११ बजेसम्म ) साझा सहकारी हाट
पुस ६ आइतबार: जाउलाखेल हाट
पुस ५ र ६ (शुक्रबार – शनिबार ): रैथाने रेस्टुरेन्ट (परिकार मेला)
पुस ८ (मंगलबार): धाेबिघाट- झम्सीखेल
प्रत्यक्ष मेलामा पुग्न नसक्नेहरूका लागि काठमाडौँ अर्गानिक्सको वेबसाइट (https://www.kathmanduorganics.com) मार्फत अनलाइन अर्डर गरी घरमै जुनार मगाउने व्यवस्था मिलाइएको छ ।
जलवायुमैत्री कृषि र बजार विस्तार
स्टोरी साइकलकी सञ्चालक दीपिका ज्ञवालीले कृषि क्षेत्रलाई जलवायुमैत्री र प्रविधिमार्फत बजारसँग जोड्ने अभियानमा आफूहरू निरन्तर लागिरहेको बताउनुभयो । गोलञ्जोर गाउँपालिकाका प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले यस्ता मेलाले सिन्धुलीको १ हजार हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको जुनार खेती र कृषकलाई सीधै बजारसँग जोडेर आर्थिक लाभ दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सिन्धुलीका ४ स्थानीय तह सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर–१ देखि ६ सम्म र तीनपाटन–७ तोश्रामखोलामा बगैचा छ । सवैभन्दा बढी गोलञ्जोर गाउँपालिकाकाका अधिकांश क्षेत्रमा जुनार खेती गरिन्छ ।
भीमशमशेरको दरबारदेखि डिजिटल हाटसम्म
वि.सं. १९८५ तिरको कुरा हो । सिन्धुलीका कहरसिंह हायु मुद्दाको सिलसिलामा काठमाडौँ आउँदा तत्कालीन मुख्तियार भीमशमशेरको दरबारमा चाकरीदारको भीडमा थिए । दरबारमा आएको एउटा रसिलो अज्ञात फलको केस्रा उनले खान त पाएनन्, तर अरूले फालेको बिजु (गेडा) टिपेर गोजीमा हाले र सिन्धुली पुर्याए । त्यही ‘कहरसिंहको बिजु’बाट सुरु भएको सिन्धुलीको जुनार खेतीले आज झण्डै एक शताब्दी पछि राजधानीमा प्रविधि र स्वादको नयाँ इतिहास रच्दैछ ।
हिजो कहरसिंहले दरबारको चौरबाट गोजीमा हालेर लगेको एउटा बिजुले आज प्रविधिको काँध चढेर राजधानीको आधुनिक भान्सासम्मको यात्रा तय गरेको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



