तपाईं बुझ्नुहुन्न कवि ज्यू,रुपान्तरित जिन्दगीको भोगाइ बडाे दुखपुर्ण हुदोरैछ

रिटायर्ड अफिसर

देवका पन्थी

‘तपाईं बुझ्नुहुन्न कवि ज्यू,रुपान्तरित जिन्दगीको भोगाइ बडाे दुखपुर्ण हुदोरैछ,बुझाइ अझ कठिन,अनुभुती झनै कष्टकर’,कौशीमा रहेको गमलाको फुललाइ सानो कुटीले उकेरा दिदै हाकिम साप भन्छन्। मोटाेमोटाे शरीर ,ट्याक लगाएका उनी प्राय आफ्नो कपाल खुइलिएको,बचेको कपाल पनि फुलेर सेतै देखिन्थे। खिन्न मुद्रामा रहेका उनले आफ्ना जिवनका गुनासोहरु कवि समक्ष पोख्दै थिए । ‘ किन र हाकिम साप? के गार्‍हो साह्रो पर्यो,सबै सामान्य देख्छु त ! छोरा वैदेशिक रोजगारमा सफल छन् ,छोरीज्वाँइको आफ्नै इज्जत प्रतिष्टा छ । बेलाबेलामा रेखदेख गर्न आएकै छन् ।’ कुर्ता सुरुवाल र बाहिरबाट इस्टकोट लगाएका,सानो झोला भिरेका, हातमा पुस्तक समाएका कवि खासै केही नबुझेको जसरी सोध्छ्न्।

‘हेर्नुस् कवि ज्यू, मैले आफ्नो जिन्दगीको करिब साढे तीन दशक राष्टसेवामा खर्चेको छु । सतहत्तर जिल्ला नपुगे पनि आधाआधी पुगेको छु । जनताका लागि काम गरेँ,सन्तानको भविष्य सोचें । बल्लतल्ल गाउँको पखेरो बेचेर काठमाडौंमा चार कोठाको घर बनाएँ। ठूलो धोको थियो, गाउँ जाउँला, उत्तरार्धमा बुवाआमाको सेवा गरुँला आफ्नै माटाेमा खेलौंला । नसकिदो रहेछ,बदलिएको जिवनशैली लिएर गाउँ फर्कन । म सेवाकालिन हुदाहुदै बुवा आमा स्वर्गे हुनुभो । अहिले आफू रोगी छु । प्रेसर बढि छ, सुगरको औषधि खानुपर्छ । श्रीमती रोगी छन्, बेलाबेलामा दमले सताइरहन्छ । कहिलेकाही त पानी तताएर खान दिने पनि कोही हुदैन । उबेला सन्तानको लागि खटियाे । अहिले उनीहरु टाढा छन् ।’ उनी भन्छन् ।

‘जबसम्म सेवामा थिएँ । मेरो बोलीको प्रभाव कम्ता थिएन । अझै फेसबुकमा छ हजार फलोअर्स छन् । फोटाे राख्नासाथ कति धेरै लाइक कमेन्ट आउथ्यो। मेरा विचार र कर्मका प्रसंशक सयौं हुन्थे। यिनैलाइ मेरो अथाह कमाइ लाग्थ्यो,मैले सोच्थे, म धेरै धनी छु । मेरा मित्रहरु कति छन् । रहेनछ कवि ज्यू, रहेनछ । सबै बलेको आगो ताप्दा रहेछन् । जिन्दगीभर काम गरेर कमाएको यही चार कोठा मात्र रहेछ । कतिको जागिर जोगाएदिएँ । कति बाटोघाटाे,पुल-बत्ती पुर्याउन पहल गरें । हिजो प्रत्येक व्यक्ती मेरो समर्थक हुन्थ्यो । आज मेरै सहयोगी भएकाले फोन सम्म उठाउदैनन् अझ सहयोगको त अपेक्षा नै नगरे भो । धेरै गरेजस्तो लाग्छ देशको लागि तर जिवनको उत्तरार्धमा आफ्नै छाँयाले छोड्दो रैछ। ‘ हाकिम आफ्नो दुखेसो विस्तार लगाउछ्न्। कविलाइ अचम्म लाग्छ,हिजो र आजमा कति फरक । हिजो उच्च ओहोदामा रहेका उनी सबैका लागि उत्प्रेरक हुन्थे। आज किन नैराश्यताका कुरा गर्दैछन् ! उनी बडाे आश्चर्यका साथ सोध्छन् ,’ होइन हाकिम साप, हिजो बाच्नका लागि सीप र जिवनउपयोगी उर्जा दिने हजुर आज किन यस्तो निरासावादी कुरा गर्नुहुदैछ?’

हाकिम थप्छन् ,’ हो, कुनै बेला जीवन विज्ञान र दर्शनका कुरा गर्ने, सकारात्मक सोचको विकास गर्नुपर्छ भनेर वकालत गर्दै हिड्ने म आफै नकारात्मक सोचले ग्रसित हुन पुगेंछु । काम गर्दाको बखतका सेवा सुविधा सहित देखावटी जिन्दगीले पनि मलाइ गाउँ जान दिएन त्यसैमा रोगी भइयो ।

आज गाउँमै बसेर केही गर्थे भने आफ्नाले चिन्थे,छिमेकी हुन्थे। यो शहरिया जीवनशैली पनि अनौठो हुदो रहेछ। यहाँ साथीभाइ,नातागोता भन्ने नै नहुने । आँगन जोडिएका पनि एक अर्कोमा अपरिचित छन् । अझ त्यति मात्र कहाँ हो र ?हिजो मेरै रोबरोहरमा काम गरेका,सहयोग मागेका हरु पनि ठाेक्किएरै जालान् तर बोल्न चाहदैनन् । कस्तो कस्तो मन बिछिप्त हुदो रैछ । म रिटायर्ड अफिसर हुँ कवि ज्यू जसको कुनै औचित्य छैन, मन्दिरमा चढाएको फुल कसिङगरमा उठे जस्तै ।’

यत्तिकैमा हाकिमनी साप चियाको ट्रे लिएर कौसीमा आउछिन् । साधारण पहिरन ,अनुहारमा बुढ्यौलीका प्रष्ट संकेत । पहिले जस्तो चमक उनको मुहारमा देखिदैन । पहिले सहयोगीले गर्ने काम आज आफै गरेको देख्दा कवि अचम्म मान्छ्न् । कविलाइ चिया दिदै ‘ लिनोस बाबू चिया,आज कसरी बाटो बिर्सनुभएछ’ उनी भन्छिन् । ‘ होइन नि भाउजू, यो बाटाे हिड्दा त म पसिहाल्छु नि! नमस्कार छ है !’ ‘ नमस्कार बाबू ,आउदै गर्नू कहिलेकाही सरको पनि मन भुल्ने बाटाे हुन्छ ।’ उनी थप्छिन र काम भएको जनाउदै बिस्तारै तल ओर्लन्छिन् ।

पुरानै कुराको निरन्तरता दिदै कवि हाकिमसङ्ग आफ्नो जिज्ञासा राख्छन् ,’त्यसो भए म जस्ता सामान्य मान्छेले के भनेर चित्त बुझाउने त,हाकिम साप?’

‘तपाईं र मेरो जीवन धेरै फरक छ । तपाईंको बोली बिक्छ,कविता र गजल बिक्छ्न् त्यो मरणासन्य रहिरहन्छ अझ भनौ मृत्युपछी पनि । म त राष्टको निम्ति समर्पित एक सेवक जिवितै मेरो औचित्य हुदोरहेनछ। आखिर जन्म, मृत्यु,कर्म प्राकृतिक चक्र हो,किन सहज हुदैन । राष्टसेवक त अन्त्यमा मानसिक रोगी पो बन्दा रैछ्न ।’ हाकिम एक अर्कोको कामको तुलनात्मक टिप्पणी गर्छन् ।

‘हाकिम साप समय एउटै रहदैन । वसन्त ऋतु मात्रै जीवन कहाँ हो र, शिशिर पनि त हो । उतार चढाव आइ नै रहन्छन् । समयसापेक्ष आफू पनि परिवर्तित हुनुपर्छ । हिजो पद, प्रतिष्टा थियो । स्वार्थका लागि मान्छे पछ्याउँथे । सबैले हरियो र घना रुखकै छहारी ताप्ने हो । कसैको लागि कुनै दिन काम लाग्नु पनि ठुलो कुरा हो । यद्यपि आफ्नो धरातललाइ बिर्सिएर पदको शानले वर्ग छुट्टाउनु गलत हो । दिनभरि उज्यालो दिने रवी पनि रातमा डुब्नुपर्छ,रातभरी शितलता छर्ने जुन पनि उज्यालोमा लुक्नुपर्छ। सबैले आफ्नो बेला र बर्कत रहुन्जेल यो धर्तीमा आफ्नो भुमिका निभाउनुपर्छ। गरेको कर्म खेर कदाचित जादैन,तिनका बिम्ब कृतिमा हुन्छन् । गीत र गजल मात्र होइन,अड्डा अदालतमा रहने हरेक ढड्डामा तपाईंको छवि रहनेछ,महासय । तपाईं सधै अरुको निम्ति उत्प्रेरक नै रहनूहोला। ‘ कवि आफ्नो भावनामा डुब्दै हाकिमलाइ मानसिक ढाडस दिन्छन् ।

कविको मोबाइलमा घण्टी बज्छ। ‘आइहाले’ भन्ने जवाफका साथ उनी फोन काट्छ्न् । हाकिम सापलाइ आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्ने सल्लाहका साथ उनी निस्कन्छन् । हाकिम चियाको कप लिएर ओर्लन्छ्न् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button