
यात्राअगाडि साइकलको अवस्था कस्तो छ भनी राम्ररी जाँच गर्नुपर्छ

चीनको युनान विश्वविद्यालयका दक्षिण एसिया र दक्षिण पूर्वी एसिया भाषा विभाग प्रमुख प्रा डा. वाङ चु्ङ चीनमा नेपाली भाषाका एक मात्र प्राध्यापक हुन् । प्रा डा. वाङले नेपाली भाषा अध्ययन–अध्यापनमा ४ दशक बिताइसकेका छन् । सन् १९९० मा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा नेपाली भाषा अध्ययन गरेका वाङ साइकलयात्री समेत हुन् । हरेक साता सहकर्मीहरुलाई नेतृत्व गर्दै साइकल यात्रा गर्ने उनको तालिका नै छ । नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ साइकलमा उनै प्राध्यापक वाङसँग नेपाली भाषामा सोधिएको प्रश्न र उनले नेपाली भाषामै लेखेर दिएको उत्तर प्रस्तुत छः
साइकल चलाउन थाल्नुको पहिलो कारण के थियो ? आवश्यकता, रहर कि स्वास्थ्य ?
मैले साइकल चलाउन सिकेको समय माध्यमिक स्कुल पढ्दाताका हो । र, साइकललाई मैले आफ्नो दैनिक यातायातको साधनको रूपमा प्रयोग गरेको थिएँ । स्नातक भएपछि जागिर खाएको बेलामा सबैभन्दा पहिले एउटा सेकेन्ड हान्डको पुरानो साइकल किनें । र, नेपालमा अध्ययनको लागि जाँदा सन् १९९० को सेप्टेम्बरमा पहिलो पटक नयाँ साइकल किनें र साइकलबाटै काठमाण्डौं सहरभित्र राम्ररी घुम्थें । तर, एक रात त्यो साइकल चोरियो । चीन फर्केपछि मैले दुई महिनाको तलब खर्च गरी फेरि अर्को नयाँ साइकल किनेँ । र, त्यसलाई मेरो दैनिक जागिर जीवनको यातायातको साधन बनाएँ । त्यसैले भन्न सकिन्छ, मेरो साइकल चलाउन थाल्नुको पहिलो कारण त कामको आवश्यकता नै हो ।
आजको जीवनशैलीमा साइकलको महत्व तपाईं कसरी देख्नुहुन्छ ?
पहिला चीनलाई साइकलको अधिराज्य भनिन्थ्यो, मानिसहरू जता, जहाँ पनि साइकल चलाएरै जान्थे । तर, अहिले साइकल कामको आवश्यकताभन्दा रहर, स्वास्थ्य र खेलकूदको लागि समेत प्रयोग भइरहेको छ । मानिसहरू टाढा जानुपर्दा गाडीमा र नजिक जानुपर्दा विद्युतीय साइकल चलाएर जाने गर्छन् । आजको जीवनशैलीमा साइकल यात्रा एक प्रकारको हरित यात्राको साधन बनेको छ, । र, मानिसहरूको लागि फुर्सदको बेलामा प्रकृतिसँग नजिक्याउने एउटा खास शैलीको रुपमा विकास भइसकेको छ । मलाई मन पर्ने खेल साइकल यात्रा नै हो । मेरो विचारमा तपाईं हिँडेर जाँदा ५ देखि १० किलोमिटर जान सक्नुहुन्छ, साइकल चलाएर जाँदा दिनमा ५० देखि १०० किलोमिटर टाढा जान सक्नुहुन्छ, र मोटरमा जाँदा दिनमा हजार किलोमिटरसम्म जान सकिन्छ । त्यसैले साइकल यात्रा भनेको आफ्नो गतिविधिको दायरा फराकिलो बनाउने खेलकूदको ढाँचा हो ।
साइकल चलाउँदा तपाईंले पाउने सबैभन्दा ठूलो मजा के हो ?
साइकल चलाउँदा मैले पाउने सबैभन्दा ठूलो मजा भनेको आराम र आनन्द हो । पहिले हामी साथीहरू प्रायः प्रत्येक दिन बेलुका केही घण्टाको साइकल यात्रा गथ्र्याैं, कुनै दिन पानी परेकोे बेला त केही निराश पनि हुन्थ्यौं । अहिले हामी प्रायः हप्तामा एक पटक साइकल यात्रा गर्छौं । केही दिनको काम गरेर मानिसलाई शारीरिक र मानसिक थकाइ लाग्छ । साइकल यात्राले गर्दा शरीरलाई फुर्तिलो बनाउँछ भने मानसिक हतारबाट मुक्ति पाउन सकिन्छ । साइकल चलाएर शहरी तथा ग्रामीण क्षेत्रमा जाँदा विभिन्न प्रकारका रमणीय दृश्य देख्न सकिन्छ, विभिन्न प्रकारका सामाजिक घटना देख्न सकिन्छ, त्यो हो साइकल यात्राको सबैभन्दा ठूलो मजा ।

पहिलो साइकलयात्राको अनुभव कस्तो थियो ? अझै सम्झन लायक छ ?
साइकलयात्रा केवल एउटा साइकल भएर मात्र हुने कुरो होइन । त्यसको लागि सुरक्षाको लागि चाहने विभिन्न सामग्रीहरू गर्नुपर्छ, जस्तैः साइकल यात्राको लागि लगाउने सुहाउँदो लुगा, मोजा, हेल्मेट इत्यादि । पहिलो साइकलयात्रा गर्दा अग्रज साइकलयात्री साथीहरूसँग गएको हुँ । सुरुमा साइकल चलाउन शारीरिक शक्ति र साइकल चलाउने अनुभव पनि कमजोर ! त्यसैले दुध खाएर बलियो भएर मात्र बल्ल उनीहरुलाई पछ्याउनसकेँ । हामी प्रायः दस किलोमिटरमा केही समयको लागि आराम गथ्र्यौं । तर, सबैभन्दा ठूलो चुनौती भनेको उकालो बाटो नै हुन्थ्यो । केही लामो उकालो चलाउँदा बिचमा साइकल धकेलेर जानुपथ्र्यो । कहिले त दाँत किटेर एकैचोटि उकालो पनि चढाइन्थ्यो । बिस्तारै आत्मविश्वास बढ्दै गयो ।
साइकलले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा के–कस्ता परिवर्तन ल्यायो ?
मैले साइकल यात्रा गरेको झन्डै दस बर्ष भइसकेको छ । साइकल चलाएर गरेको दूरी दस हजार किलोमिटर भन्दा ज्यादा छ । साइकल यात्राले मलाई बलियो र फुर्तिलो बनाएको छ । यतिका वर्षहरू बितिसक्दा पनि मेरो बजन बढेको छैन, ६५ किलोमा नियमित नयन्त्रित छु । अघि नै भनेजस्तै साइकल यात्राले मानिसलाई मानसिक हतारबाट छुटकारा दिलाउँछ, चुनौतिको सामना गर्ने बल दिन्छ, सुन्दर प्राकृतिक दृश्य देखेर आराम र आनन्दको भावना आउँछ ।

चीनमा साइकलमैत्री वातावरण छ ?
चीनमा साइकलमैत्री वातावरण छ । सहरहरूमा प्रायः मुल सडकको दुवैपट्टि साइकल लेन राखिएको छ । धेरै सहरहरूमा त तालको वरिपरि पनि साइकल मात्र गुुडाउने बाटो (पथ) बनाइएको छ । जस्तै, खुनमिङ सहरको डियन छि तालको किनारमा एउटा १ सय किलोमिटर लामो साइकल परिक्रमा बाटो (पथ) बनाइएको छ । ग्रामीण क्षेत्रमा साइकल यात्रा गर्नु पनि रमाइलो लाग्छ ।
साइकल चलाउँदा भोगेको कुनै रमाइलो, चुनौतीपूर्ण वा प्रेरणादायी घटना साझा गर्न चाहनुहुन्छ ?
साइकल चलाउँदा सबभन्दा पहिले आत्मचुनौतिको सामना गर्नु हो । साइकल चलाउँदा मैले भोगेको अनुभव के छ भने जति जति उकालो चलाउँदा दुःख कष्ट खानुपरेको छ, ओरालो लाग्दा त्यति त्यति आनन्दको महसुस गर्छु । त्यसैले साइकल चलाउनु भनेको एक किसिमको चुनौति नै हो । प्रकृतिको चुनौति गर्ने, आफूलाई चुनौति गर्ने, आफ्नो अल्छीपनलाई चुनौति गर्ने, आफ्नो शारीरिक क्षमताको चुनौति गर्ने । पहिले हामी दिनमा बढीभन्दा बढी साठी, सत्तरी किलोमिटर चलाउँथ्यौं । एक दिन त १ सय ४० किलोमिटरसम्म चलायौं । खुनमिङ सहरमा आएपछि एक शनिवार एकजना सहयात्रीसँग खुनमिङ सहरबाट साइकलयात्रा गरेर छङजियाङ सहरसम्म एक दिनमा १ सय २० किलोमिटरको दूरी चलाएका थियौं । र, राति छङजियाङ सहरमा वास गर्नुपरेको थियो । त्यस दिनको साइकल यात्रा साह्रै रमाइलो थियो, किनभने हाम्रो साइकल यात्रा फुसियान तालको परिक्रमा गरेर ९० किलोमिटर भएको थियो । प्राकृतिक दृश्य साह्रै मनोहर थियो । हामी साइकल चलाउँदै सुन्दर दृश्यहरूको मोबाइलमा फोटो खिँच्दै आराम गथ्र्यौं । तर, दोस्रो दिन चाहिँ मेरो तिघ्रा र चाक निकै दुखेको रहेछ र फर्कने बाटो हेर्दा मेरो मनमा हात उठाउने विचार उठ्यो । किनभने, खुनमिङ सहर र छङजियाङ सहरको बीचमा एउटा पहाड छ, छङजियाङबाट फिर्ता हुँदा एउटा निकै भिरालो उकालो हुँदो रहेछ । आउँदाखेरि त निकै सजिलो थियो, फर्कँदाखेरि त साह्रै गाह्रो भयो । त्यसैले भोलिपल्ट मैले एउटा डिडिको भ्यान बोलाएर हामी साइकललाई भ्यानमा राखेर खुनमिङ सहरमा फर्कियौं । त्यो साइकल यात्रा सधैंको लागि रमाइलो र हाँसउठ्दो घटना बनेको छ ।

साइकलयात्राका लागि तपाईंलाई सबैभन्दा मन पर्ने ठाउँ कुन हो र किन ?
साइकलयात्राका लागि मलाई सबैभन्दा मन पर्ने ठाउँ त ग्रामीण क्षेत्रका सडक नै हो । किनभने, त्यस्ता सडकमा गाडी कम हुन्छ, वातावरण सफा हुन्छ, धूलो खानु पर्दैन, र सधैं सुन्दर र रमणीय प्राकृतिक दृश्य देख्न सकिन्छ, र विभिन्न प्रकारका ग्रामीण जीवन देख्न सकिन्छ ।
साइकललाई जीवनसँग तुलना गर्नुपर्दा, तपाईंका लागि यसको अर्थ के हुन्छ ?
साइकल यात्रा गर्दा हामीले विभिन्न प्रकारका खतरा र चुनौतिहरू सामना गर्नुपर्छ । हाम्रो जीवनमा पनि विभिन्न प्रकारका खतरा र चुनौतिहरू सामना गर्नुपर्छ । साइकल यात्राले हाम्रो जीवनमा धेरै सकारात्मक अनुभवहरू प्रदान गरिदिन्छ र हामीलाई शक्तिशाली, सहनशील, लगनशील र साहसी बन्न प्रेरित गर्छ । साइकलयात्रा जीवनको साथी हो, हाम्रो जीवनलाई रङ्गीन बनाइदिन्छ । दस वर्षको साइकल यात्राले मलाई बलियो र स्वास्थ बनाएको छ ।

नयाँ पुस्तालाई साइकल सन्देश के होला ?
साइकल चलाउनु एक किसिमको जीवनशैली हो, त्यसले स्वस्थ र हरित यात्राको सन्देश ओगटेको छ । नयाँ पुस्तालाई साइकल चलाउन प्रेरित गर्दा मेरो केही राय छ । सबभन्दा पहिले सुरक्षामा ध्यान दिनुपर्छ । नयाँनयाँमा छिटो चलाउँदा खेरी विभिन्न प्रकारका खतराको सामना गर्न सक्छ । साइकल यात्रा गर्दा पनि यसको नियम छ । जस्तैः दुई जना एकै साथ कुरा गर्दै चलाउनु हुँदैन, त्यसले अरू मान्छेलाई प्रभाव पार्न सक्छ । सडकका गाडीहरूबाट होसियार गर्नुपर्छ, तिनीहरूबाट उचित दूरी राख्नुपर्छ । रातो बत्ती हुँदा जहिले पनि बाटो काट्नुहुँदैन । उचित उपकरणहरू साथमा राख्नुपर्छ, उचित खानपिनको तयार गर्नुपर्छ । यात्रा गर्नु पहिले उचित योजना बनाउनुु राम्रो हुन्छ, आज कहाँ जाने, कति टाढाको दूरी जाने, आजको मौसम कस्तो छ, के तयारी गर्नु छ इत्यादि । साइकल यात्रा गर्नुअगाडि साइकलको अवस्था कस्तो छ भनी एक चोटि राम्ररी जाँच गर्नुपर्छ । सबै कुरा तयारी भइसकेपछि मात्र बाहिर जानुहोस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



