हरेक घर पाँचतारे सांस्कृतिक होटेल !

सुलिकोट सम्झना

डा. बीपी बडाल

भिटोफ नेपालको यात्रा संयोजनमा अध्ययन, अवलोकन, ग्रामीण पर्यटन विकास तथा प्रवर्धन कार्यक्रममा भागलिने क्रममा हामी सल्यानटार आरुघाट हुँदै गोर्खा देविदेउराली गाविस पुगेका थियौं | पाँचखुवा देविदेउराली वारपाक सुलिकोट गाउँपालिका वार्ड न सातको कार्यालयकै छेउमा हाम्रो बस रोकियो | सबैजना झर्यौं | लगभग दिउँसोको तिन बजेको थियो | पश्चिमतिर ढल्केको घाममा सबैजना फोटो खिच्न नै ब्यस्त थियौं |

आजकालको यात्राको ५० % उद्धेश्य फोटो भिडियो खिच्नु र पोस्ट गर्नु नै हुन्छ | कसले राम्रो फोटो खिच्छ, कसको मोबाइल राम्रो छ – आजकालको यात्राको महत्वपूर्ण पार्ट नै भएको छ | कसको लाइक कमेन्ट बढी छ | कसले बुस्टिंग राम्रो गरेको छ त्यहि व्यक्तिको सामाजिक प्रोफाइल उच्च भएको मानिने समय आएको छ | वास्तवमा विषय कन्टेन्ट क्रिएसनकै हो | कसले राम्रो विषयबस्तु राम्रोसंग प्रस्तुत गरेको छ भन्ने नै हो | जे गर्दा पनि हुन्छ – तर राम्रो मन लगाएर गर्नु पर्दछ | मन लगाएर गरेको काम राम्रो हुन्छ | सृजनात्मकता हुन्छ | राम्रो काम गर्ने बानी नै हुन्छ | यो यात्राको कन्टेन्ट क्रिएसनमा पनि भूमिराज तिवारी, राधा ढुंगाना, इन्दिरा रिमाल, अशोक सिलवाल तथा शकुन्तला देवकोटा नै अब्बल हुनुहुन्थ्यो | नयाँ स्थान, नयाँ यात्रा, नयाँ साथी कन्टेन्ट त कति कति ! बास्तवमा यो यात्रा निक्कै मनमोहक थियो | हाम्रो यात्राले अलिकति उकालो बाटो रोज्यो | हामी लाग्यौं मुलाबारी होम स्टे तर्फ ! देविदेउराली भाकेर सुलिकोट, रुपाकोट, बजिनी ताल, सिता गुफा हुँदै पालिका जाने हाम्रो योजना थियो |

यो यात्राका व्यवस्थापक, भिटोफ नेपालका दुई उपाध्यक्ष हरिशरण थपलिया तथा मनहरी दाहाल हरपल कार्यक्रम सफल पार्न खटिनु भएको थियो | हँसिला, गोरा, दुई जना यूवा पर्यटन व्यवसायी देशमा केहि गर्नु पर्छ भन्ने जोश जाँगर र हिम्मत लिएर अघि बढी रहेका देख्दा, धेरै आशा लाग्छ | पर्यटनमा देशको भविष्य उज्ज्वल छ | आजकाल धेरै मानिसमा फ्रस्टेसन नै आएको देखिन्छ | काम छैन, देशले सहिबाटो लिएको छैन भन्ने गुनासो चिया पसलको गफ मात्रै हो | यस्ता यूवा देख्दा कसले भन्छ पर्यटनको भविष्य छैन भनेर | नेपालको भविष्य केवल पर्यटनमा छ | सम्पूर्ण नेपालीलाई घुमी घुमी खान पुग्छ | बस घर आँगन सफा राख्नु पर्छ | अतिथिलाई ज्वाईं सरह मान्नु पर्दछ | नेपालका हरेक डांडा काँडा पर्यटकीय क्षेत्र बन्ने छन् | हरेक घर पाँचतारे सांस्कृतिक होटेल बन्ने छन् | तर इमान्दार मेहेनत चैं चाहिन्छ |

“फुलवारी डांडामा हावा सरर, जता छ निरमाया उतै नजर”; आउनुभयो यो नौलो ठाउँमा, स्वागत छ है यो हाम्रो गाउँमा, हावा सरर जता छ निरमाया उतै नजर | यो मिठो सुरिलो भाकाले स्थानीय घले-गुरुङ तथा मगर दाजुभाई दिदीबहिनीहरुले हामीलाई स्वागत गर्नु भएको थियो | हामीले झोला पनि विसाउने मौका नै पाएनौं | सायद झोला बोकी बोकी नाचेको हाम्रो पहिलो अनुभब थियो | मुलाबारी डांडामा बसेर खाएको त्यो मकै भटमास, पिरो गुन्द्रुक, कालो मसला चिया अनि कोदोको तीनपाने रक्सि जीवनमा कहिले पनि बिर्सिन सक्दिन | साथमा पर्यटन बोर्ड गण्डकीका कार्यकारी निर्देशक मणिराज लामिछाने, टानका सदस्य अम्बिर गुरुङ, पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोखरेल र भिटोफ नेपालकी अध्यक्ष शकुन्तला देवकोटा हुनुहुन्थ्यो | त्यस्तै संजय देबकोटा, घन आमगाई, ठाकुर धिताल, केपी धिताल, दिपक वस्ताकोटी जस्ता मुर्धन्य पर्यटन व्यवसायीहरु हुनुहुन्थ्यो | बिनोद वस्तीजी र सुरेन्द्र भट्टजी हामीसंगै हुनुहुन्थ्यो | यी सबै सुन्दर पलहरुलाई फोटोमा कैद गर्दै हुनुहुन्थ्यो चिर परिचित फोटो पत्रकार जनार्दन अर्याल दाइ ! फोटोमा थिए भाई माधव ढुंगाना | कम्ता रमाइलो थिएन यो खाजा बसाई ! साँझमा हामीलाई स्वागत गर्न बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुबेदी नै आउनु भयो | बेलुकाको नृत्य सहितको भब्य दोहोरीमा म्यान अफ द सिरिज – दिपक दाहाल जी नै हुनुहुन्थ्यो | वहांको दोहोरि र नृत्यको त म फ्यान नै भएँ | त्यस्तै बिन्दु थपलिया, सुनिता पौडेल, निरु धमला, र राधा ढुंगाना साथै अन्य म्याडमहरुको उपस्थिति पनि भब्य थियो | निशेष थापा जीको सौम्यता र मुस्कान अद्धितीय थियो | बेलुकाको खानामा पस्किएको भात, ढिंडो, साग, मासु, अचार, मुलावारिको मुला, र सुन्तला भब्य थियो | मिठो थियो लोकल थियो खोजेको जस्तै थियो | आहा !

सुलिकोट डाँडा अहिले बारपाक सुलिकोट गाउँपालिका, गोरखा जिल्लामा पर्छ, यो गाउँपालिका २०७३ वि.स.मा गठन भएको हो, जसले साविकका बारपाक, स्वारा, सौरपानी, ताकुमझा लाँकुरिबोट, ताकुकोट, पाँचखुवा देविदेउराली र पन्द्रुङ गाउँ विकास समितिलाई समेटेको छ | आजको हाम्रो बास यहि सुन्दर देविदेउरलीको सिरान मुलावारी होम स्टेमा भयो | घरहरु अझै भनौं सम्पूर्ण गाउँ नै प्राय खाली थियो | यूवा विदेसिएका छन् | गाउँमा विकासका सबै लहर पुग्न थालेका छन् | तर गाउँ सुनसान हुन थालेको छ | यी सुनसान घरहरुमा ध्यान शान्ति पर्यटनको शान्ति आश्रम संचालन गर्ने समय आएको छ | गाउँमा बसेर, हिमाल हेरेर, घाम तापेर, स्थानीय अर्ग्यानिक खाना खाएर योगा मेडिटेसन गर्ने हो भने अब नेपालका पहाडका गाउँ बस्ति तयार भएका छन् | नेपाल सिंगै पर्यटकीय होम स्टे – आराम र आरोग्य प्राप्त गर्ने पवित्र स्वर्ग भएको छ | अलिकति सोच बदलौं स्रोत गाउँ मै छ | गोर्खामा गोर्खा भएर जन्मिएर कोहि सुलिकोट पुगेको छैन भने उ गोर्खा नै होइन | गोर्खाली नै होइन | गोर्खा नदेखी मर्ने गोर्खा के को गोर्खा ? गोर्खाली हुन एक चोटी गोर्खा पुग्नै पर्छ |

बेलुका ढिलासम्म नाचगान भयो | एउटा घरमा हामीलाई लगियो | तिन वटा घरमा एक परिवार मात्रै हुनुहुँदो रहेछ | वहाँहरुसंग धेरै भालाकुसारी गर्ने मौका त मिलेन | सुरेन्द्र जी त सुतिहाल्नु भयो | दिपक वस्ताकोटी जीको पर्यटन यात्रामा राजनीतिले दिएको दिक्दारीको कहानी सुन्न लायक थियो | एमफिल गरेको व्यक्ति २१ बर्षदेखि पर्यटनमा लागेको, पर्यटन बुझेको व्यक्तिलाई नेपालको राजनीतिले बुझ्न सकेन | पर्यटन बोर्डको सीईओको लागि तिन चोटी प्रतिस्पर्धा गर्नु भएछ तर नेपालका नेताहरुले वाहंलाई उचित व्यवस्थापन गर्न सक्नु भएनछ | हो नेपालमा क्षमतावान हुनु पनि दुर्भाग्य भएको छ | चाप्लुसी गर्ने र भनसुन गर्ने कै मात्रै आवाज सुनिन्छ | सत्य सधैं छायाँमा पर्ने रहेछ | निकैबेर हामीले गफ गर्यौं | अन्त्यमा हाम्रो निष्कर्स थियो नेपालको रुपान्तरणको एक मात्र मार्ग पर्यटन नै हो |

स्वास्थ नै जीवन हो | यस्तो यात्रामा वर्कआउट-एक्सरसाइज गर्ने चलन नै थिएन मेरो | यस्तो पवित्र गाउँमा योगसाधिका योगगुरु राधिका पन्त ज्युको संयोजकत्वमा विहानै योग साधना गर्ने अवसर जुट्यो | हामी सबै यात्रीहरुले भाग लियौं | यात्रा सुलिकोट हाइकिंग कै थियो | यो भक्तिपूर्ण वार्मअप साह्रै उर्जामूलक भक्तिपूर्ण थियो | गाउँमा आएका पर्यटकलाई यसरि गाउँमै योग साधना सिकाउन पाए त , आहा ! योग साधना सकेर खाजा खाएर हामी लाग्यौं सुलिकोट चुली तिर | बाटोमा भब्य भिर देखियो – यो भिर चैं नेपालको सबैभन्दा ठुलो तामाखानी हो | संघीय सरकारले नियन्त्रणमा राखेको छ | उत्खनन छैन | डरलाग्दो भिर छ | यो भिर छिचोलेर हामी अगाडी बढ्यौं | त्यो वोर्कआउटले कस्तो राम्रो काम गर्यो |

पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नु भन्दा अगाडी लगभग १६ औं शताब्दी तिर सुलिकोट तथा रुपाकोटबाट घले र गुरुङहरुले ससाना क्षेत्र समेटेर राज्य गर्दथे | कोट भन्ने बितिक्कै एउटा युद्ध गर्ने उच्च स्थल बुझिन्छ | सुलिकोट पुर्व तिर फर्केको र रुपाकोट पश्चिम तिर फर्केको जस्तो देखिन्छ | भनिन्छ सत्य युगमा रुपा र सुली दिदीबहिनी थिए रे | एक दिन झगडा परे पछि दुबैले मुन्टो फर्काए रे |

किम्बदन्ती अनुसार अकला भनेको अनियमित, अप्रत्याशित शक्ति, र बकला भनेको नियम, सीमा र सन्तुलन हो | घले–गुरुङ समाजमा विश्वास थियो कि यदि अकला बढ्यो भने विपत्ति आउँछ,र बकला हरायो भने अन्याय फैलिन्छ | त्यसैले देवीको नामै दुई विपरीत शक्तिको मिलन हो | सन्तुलनको प्रतीक हो | कोट अर्थात दुर्ग, अर्थात दुर्गाको स्थान हो | दुर्गालाई बलि दिएर आराधना गरेर दुर्गा जागे पछि मात्रै युद्ध सुरु हुन्छ | त्यसैले सुलिकोट र रुपाकोट दुइवटा चुली अकला र वकला माईको प्राकृतिक वासस्थान हुनु पर्दछ | यहीं बसेर घले-गुरुङ राजाहरुले युद्धको रणनीति बनाउने गर्दथे | यतै कतै उनीहरुको दरवार पनि हुनु पर्छ | नजिकैको सुक्दै गरेको बजिनी तालमा घले गुरुङ राजाका रानीहरु नुहाउन जाने गर्दथे भन्ने पनि जन विश्वास छ | यी कोटहरु यता भएका दरवार तथा बजिनी तालको पुनर्निर्माण गर्नु आजको आवस्यकता हो | घले गुरुङ राजा कस्ता हुन्थे ? कसरि ति ढुंगाको चिसो र तातो छामेर न्याय निरुपण गर्ने गर्दथे ? देविदेउरालीको शिरका अकला बकला देवीको कसरी पुजा आराधना गरिन्थ्यो ? युद्धका रणनीति तथा छलफल कसरि गरिन्थ्यो ? देवी रिसाउँदा के के भयो ? उनीहरुले कसरी हार स्वीकार गर्नु पर्यो ? बस्ति कसरि तल सर्यो ? आदि विषयमा अनुसन्धान नै गर्नु पर्ने देखिन्छ | पवित्र सुलिकोट कतै शाहकालिन युद्धमा सुली चढाउने स्थल त थिएन ? गाउँले भन्छन्, “देवीले दण्ड होइन, चेतावनी दिनुहुन्छ |” यो कथा देवीलाई रक्षाकवचका रूपमा बुझ्ने सामाजिक मनोविज्ञान हो, कुनै रुढिवादी होइन |

मन भरि यिनै प्रश्न बोकेर लगभग एक घण्टामा सुलिकोट चुली पुगियो | हर्षले मन फुरुङ्ग थियो | माछापुछ्रे, अन्नपूर्ण, लम्जुंग, बुद्ध, मनासुलु, र गणेश हिमाल देख्दा मन प्रसन्न भयो | उकालो चड्दा भएको गर्मीमा यहाँ चलेको सितल हावा अमृत सरह नै थियो | चुलीमा रहेको ढुंगा जति स्थिर, देवी त्यति नै न्यायप्रिय थियिन | वास्तव मै सानो स्वर्ग पुगेको अनुभूति भयो | यहाँ बसेर फोटो खिचियो | नाचगान गरियो | ३६० डिग्रीमा नेपालको हिमाल पहाड र तराई देखियो | शाहकाल सुरु भएपछी वस्ती तल सरे छ देवी माथि नै बस्नु भयो रे – हामी पनि विस्तारै मन भरी सुलिकोटको सम्झना लिएर तल झर्यौं |


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button