
सरस्वती पूजाको दिन कसरी जन्मियो श्रीपर्यटन ?

डा विपी बडाल
‘डा. साब हजुरले नेपालनाम्चामा नियमित एउटा स्तम्भ लेख्नु पर्यो’, अशोक सिलवाल जीको यो वाक्यले म अलिकति झस्किएँ । के लेख्ने, कसरी लेख्ने कति लेख्ने, कहिले लेख्ने ? सबै ‘क’ प्रश्न एकैचोटी मेरो दिमागमा ओइरिए ।
माघको महिना, काठमाडौंको बिहानको चिसो ठिही, झिसमिसेमै उठेर झोला तयार पारेर निस्कें । माघ ९ र १० गते भिटोफ नेपालको गोर्खामा एउटा पर्यटन अध्ययन भ्रमण थियो । वसन्त ऋतुको आगमन सुर्यको उत्तरायण मात्र नभै ज्ञानकी देवी सरस्वतीको पुजा र महिमाको दिन थियो । ३३ जनाको सवारी थियो– सवारी पनि ठ्याक्कै हाम्रो ‘देविदेउराली’ गोर्खाको थियो । आखिर नेपालका सबै देउराली देवीकै स्थान न हुन् । सायद अशोक जीले मेरो मनमा उठेका प्रश्नहरुको स्वयं अनुभूति गर्नु भयो, ‘डा. साब तपाइंले साप्ताहिक डायरी त लेख्नै पर्छ, यसैलाई नेपालनाम्चामा किन नलेख्ने ?’ मैले मौन स्वीकृति दिएँ ।

सरस्वती पुजाको दिन श्रीपर्यटनको उदय भयो । तत्काल ललितपुर जिल्लाको ठेचो नगरको सांस्कृतिक सम्पदासम्बन्धी लेखबाट नै अनुष्ठान शुभारम्भ भयो । गोर्खा मातामनकामनाको जिल्ला फेरि यात्रा पनि देवीदेउराली, सुलिकोट, रुपाकोट, सीता गुफाकै थियो । वारपाक सुलिकोट गाउँपालिकाको स्थानीय पर्यटन विकासको अध्ययन, अनुसन्धान, प्रवर्धन तथा अवलोकन भ्रमण थियो । एक से एक पर्यटन व्यबसायी, सबै पर्यटन विज्ञ अथवा आफ्नो क्षेत्रमा पोख्त, सायद अशोकजी र म अलि फरक थियौं । म यति चैं लेख्न सक्छु– पर्यटन हाम्रो रगत रगतमा, नशा नशामा छ ।

पेशा व्यवसायको समय हुन्छ, गन्तब्य लक्ष उद्धेश्य हुन्छ, यात्रीको केहि हुँदैन, कता जाने कता बस्ने कहिले फर्किने कुनै योजना हुँदैन । यदि योजना छ भने त्यो योजना यात्रा हुँदैन व्यावसाय हुन्छ । प्रश्न उठ्न सक्छ– व्यवसाय विना यात्रा सम्भव छ ? छ भने छ, छैन भने छैन– देउता छ ? मुख्य विषय आफुभित्र बलियो इक्षाशक्ति हुनु पर्छ, व्यवसाय गर्ने इच्छा भए व्यवसाय गर्ने, घुम्ने इच्छा भए घुम्ने, धेरै जसोको विचार घुम्ने पनि व्यवसाय पनि गर्ने हुन्छ, मन बाँडिन्छ । तर आजको मेरो मन यात्रामा छ । म मन बाँड्न चाहन्न । मनलाई प्रकृति र संस्कृतिसंगै जोड्न चाहन्छु । म मनको लयमा होइन, मनलाई आफ्नो लयमा लैजान्छु । यो मनलाई सम्झाउँछु, बुझाउँछु । तैपनि घुम्ने भने पछि समय निकाली हाल्छु । समय आफ्नो नहुनेको केहि आफ्नो हुँदैन ।

कालधारामा सबै जम्मा भएर कलंकी, थानकोट, मलेखु, धादिङबेसी, सल्यानटार, आरुघाट हुँदै देवी देउराली पुग्यौं । बसको यात्रा अशोकजीको साथ गज्जब थियो । चुनाव आएको छ तर राजनीतिको र पनि उच्चारण भएन । नेताको भाषण र आश्वाशनले हामी पुरै अघाई सकेका थियौं । यद्यपि चिन्ता देशको विकास, यात्रा र पर्यटनमै केन्द्रित थियो । उहाँका भर्खरै निस्केका दुई पुस्तक ‘एभरेस्ट’ र ‘अप्प दीपो भवः’कै चर्चा भयो । के लेखेर–घुमेर जिन्दगी चल्छ ? स्वरसम्राट नारायण गोपाललाई यहि प्रश्न सोधिएको थियो । यसरी सबै काम छोडेर गाएर जिन्दगी चल्छ ? उहाँले भन्नु भएको थियो, ‘यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी ।’ यसैमा शब्द, स्वर र संगीत थपेर कालजयी गीत नै बन्यो ।
घुमेर नै जिन्दगी बित्छ । घुम्न धर्यता चाहिन्छ । सधैं सिक्ने लगाब हुनु जरुरी छ । घुमाई जिन्दगीको लगानी हो । घुमाई कथा हो ।
यात्रामै नाच्न सिकाए, यात्रामै लेख्न सिकाए, यात्रामै रमाउन सिकाए, खुशी हुने उहाँको सुत्र झन् मज्जाको लाग्यो । जस्तो दृष्टि उस्तै सृष्टि हुन्छ । दृष्टि चाहिन्छ,्र यात्राका मोड मोडमा कथा भेटिन्छन् । रुख, पात, नदी, पहाड, पन्छी सबैको कथा हुन्छ । सबैले आ–आफ्नो कथा उनीहरुकै भाषा र संगीतमा भनिरहेका हुन्छन् । प्रकृतिको भाषा हुन्छ । प्रकृतिको लय र संगीत हुन्छ । त्यो लयभित्र कथा हुन्छ, जीवनका कथा, प्रेमका कथा, पीडाका कथा अनेक अनेक ्र त्यहि ताल त्यहि लय त्यहि प्रेममा परे पछि– प्रकृतिसँगको मायाजाल जीवन पर्यन्त हुन्छ, अप्प दीपो भवः हुन्छ । आफ्नो जीवनको ज्योति खुद आफै हुन्छ, ऊ आफैसँग रमाउँछ, आफैंसँग बोल्छ, हाँस्छ रुन्छ– साक्षी अथवा साथी भनेको नै प्रकृति, आहा !

वारपाक सुलिकोट गोर्खाको ग्रामीण पर्यटन प्रवर्धनको कार्यक्रम विषय यात्रा पर्यटनकै थियो । ५० बर्ष भयो यो बाटो हिंड्न थालेको, बाटो कहिल्यै राम्रो भएन, नौबिसे थानकोटको दिक्क लाग्दो जाम कहिल्यै हटेन । यो दिक्दारीको रिस सबैले नेतालाई नै पोख्छन् । हामीले पनि परिणाम दिन नसक्ने खाली गफ दिने नेतालाई सम्झ्यौं– आजकाल नेता देख्दा सम्झिँदा मन खुम्चिन्छ । नेताले देश, भूगोल, भविष्य, विकास प्रकृति संस्कृति समाज केहि पनि चिन्न सकेनन् । ४–५ करोड खर्च गर्यो चुनाव जित्यो, गरेको खर्च उठायो, फेरि अर्को चुनावको लागि जम्मा गर्यो । सबै ८८४ वटै सभासद तथा १२० जना मन्त्री सबैको ध्यान जिम्मेवारी, जवाफदेहीता र जनताप्रति हुनै सकेन– चुनावी लागानीप्रति भयो । यो व्यवस्थाबाट जनताको अवस्था सुध्रिन्न । भारतको एउटा प्रदेशजत्रो नेपाललाई सात प्रदेश, यति धेरै मन्त्री, सभासद आवश्यक होइन– वैधानिक भ्रष्टाचार हो । देशका नेताहरुमा नैतिकताको खडेरी नै पर्यो । कुनै ठुला बहुआयामिक विकास योजनाहरु अगाडि बढ्न सकेनन् ।

नेपालमा बिक्री हुने प्रत्येक लिटर पेट्रोलमा रु ५ बुढी गण्डकी जलविद्युत् परियोजनाको लागि जम्मा हुने गरेको छ । स्रोत स्वतः जुटेको छ । बाबुराम, प्रचण्ड, राजेन्द्र पाण्डे जस्ता प्रभावशाली नेताहरुको राजनैतिक भूमिमा नेपालको कायापलट हुने योजना रोकिएको छ । नेपालमा विकास भनेको भागबन्डा, कमिसनको खेल हुन थाल्यो ।

हामी सल्यानटारमा हरायौं । हाम्रो बस टार माथि माथि घुम्दै थियो । हामीले भब्य उत्पादनशील भूमि तथा बस्ती अनुभूत गर्यौं । बाटो आरुघाटतिर झर्यो । यहाँ नेपालको भब्य गौरवको योजना बुढीगण्डकी बन्न लागेको रहेछ । बुढीगण्डकीमा डाँडामाथि बनाइने होमस्टे, इको–लज र रिसोर्टहरूबाट तल फैलिएको जलाशय देखिने दृश्य विदेशी पर्यटकका लागि अत्यन्त आकर्षक हुने रहेछ । यसले ‘हिल–लेक भ्यु टुरिज्म’को नयाँ ब्रान्ड जन्माउन सक्छ । १२०० मेघावाट विद्दुत उत्पादन हुन्छ । ६० वर्ग किमीको भब्य पहाडी ताल निर्माण हुन्छ । धादिङ–गोरखा कम्तिमा ५० प्रतिशत जनताको रोजगारी सुनिश्चित हुन्छ । कमिसन र भ्रष्टाचारको कुरा नमिलेर यस्तो भब्य योजना अड्किएको रहेछ । जग्गाको मुवाब्जा दिएको पनि १० बर्ष भैसके छ । नेताहरुको अकर्मण्यताले नै जेनजी आन्दोलन भएको हो । अझै चेतना आएको देखिंदैन । आशा गरौँ, आउँदा दिनहरुमा बुढीगण्डकी योजना छिटै पुरा हुनेछ । समाज विकासको नयाँ आयाम खुलेको हुनेछ । पोखरा जस्तै बुढीगण्डकी अर्को भब्य पर्यटन क्षेत्र भएको हुने छ ।
आरुघाट काटेर अगाडी लागेपछि भिटोफ नेपालकी अध्यक्ष शकुन्तला देवकोटाले आफ्नो जन्मभूमि देखाइन् । वास्तवमा गोरखा चानचुने होइन । विश्वले चिनेको गोर्खा सभ्यता र पृथ्वीपथको उद्गमस्थल नै गोर्खा हो । न्याय नपाए गोर्खा जानु भन्ने नाम कहलाएको न्यायको भूमि हो । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, विश्वप्रसिद्ध न्युरो चिकित्सक उपेन्द्र देवकोटा तथा पूर्वीय दर्शनका अद्वितीय गुरु नारायण पोखरेलको जन्म भूमि गोर्खा हो । सिक्किम, दार्जीलिङ र भुटानका जनता (गोर्खा)हरुको स्वप्न भूमि हो गोर्खा । गोर्खालाई गोर्खाले निम्ता मात्रै गरे पनि गोर्खाको पर्यटन नयाँ उचाइमा पुग्छ । गोर्खा नयाँ ब्रान्ड होइन ।

हाम्रो यात्रा देववीदेउराली पुग्यो । धेरै कुरा सिकियो । आखिर जीवन एक सिकाइ न हो । सरस्वती पुजाको दिन अर्थात् ज्ञानकी देवी सरस्वतीलाई पुजा गर्ने दिन भाग्यले देववीदेउराली नै पुगियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



