बाग्लुङका खोलाहरूले पनि लोकगीत गाउँछन्

देशको समग्र चित्र कोर्ने ‘नेपालनाम्चा’को राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोप्रति अगाध प्रेम प्रकट गर्नुभएकोमा भूपिनलाई धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
कालीगण्डकी, पाटेभीर, खोटोको सुवास फैलिएको सल्लेरी, जहाज ग्राउण्ड र मेरो जन्मस्थल खडकाथर । मभन्दा नौ वर्ष जेठो मेरा बाआमाको घर, जसलाई हामी बूढोघर भन्छौँ । जहाँ अब बाआमा हुनुहुन्न, तर उहाँहरूसँगका सर्वप्रिय स्मृतिहरू खातका खात बसेका छन् मौनतामा ।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
जननी जन्मभूमिस्च स्वर्गादपि गरीयसी, त्यसै कहाँ भनिएको रहेछ र ? जन्मस्थलभन्दा सुन्दर स्वर्ग पनि नमान्ने गाउँप्रेमी मानिस मध्य एक हुँ म । अभिमान छैन तर मनमा एक बुँद पनि गुनासो छैन यहाँ जन्मिएकोमा ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
उत्पातै सुन्दर प्राकृतिक दृष्यहरू सायद नभेट्न सक्छन् साथीहरूले, तर म साथीहरूलाई सकेसम्म सल्लेरी घुमाउन मन पराउँछु । त्यहाँबाट देखिने कालीगण्डकीको गहिरो गल्छी र पूर्वतर्फको फैलावट हेरेर मन्त्रमुग्ध भएको छु जीवनभरि । जीवनको गहिराई र फैलावट हेर्न मलाई त्यसले सिकाएको जस्तो लाग्छ । त्यसबाहेक समय भए मूलाबारी पुगेर बिहानको सूर्योदय र एकतीसवटा हिम चुचुराहरूको दर्शन गर्न प्रेरित गर्छु । बाटोमै चितुवा सुतेको भिडियो भाइरल हुने बाग्लुङ बजारको कालीका मन्दिरको जङ्गल र धवलागिरीको सुन्दर नजारा देखिने पञ्चकोटसम्मको भ्रमण मेरो अनुरोध हुन सक्छ । पर्याप्त समय लिएर आएका भ्रमणप्रेमी साथीहरूलाई ढोरपाटन पुर्याउनु झनै राम्रो हुन्छ । सबैले सुन्ने गरेको सिकार आरक्ष भएका कारण पटक्कै होइन । त्यसले मलाई विसङ्गतिबोध हुन्छ । १६४ प्रजातिका चराचुरुङ्गी, नाउर, झारल, घोरल, रेड पाण्डा, हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तु पाइने ढोरपाटन बाग्लुङमा अवस्थित भूस्वर्ग हो ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
अविरल अविछिन्न समाज परिवर्तनका लागि किसान मजदुर र भुइँमान्छेहरूका गीत गाउने जीवन शर्मा बाग्लुङका सास्कृतिक गौरव हुन् । नेपाली दलितहरूको मुक्तिको लागि पहिलो आवाज भर्ने र चेतना फैलाउने सर्वजीत विश्वकर्मा जन्मेको जिल्ला पनि हो बाग्लुङ । वि.सं. १९९७ सालमा उनले ‘विश्व सर्वजन संघ‘ स्थापना गरि नेपालमा व्याप्त सामाजिक महामारीको उन्मूलन अभियान सुरु गरेका थिए । अत्यन्त निकृष्ट र घिनलाग्दो जातिय विभेद विरुद्धको त्यो महान् अभियान थियो ।
नेपाली राष्ट्रिय टिममा रहेर महत्वपूर्ण योगदान दिइरहेका करन केसी बाग्लुङका गौरव हुन् । क्रिकेटप्रेमीको रुपमा उनको अलराउण्ड प्रदर्शन हेर्दा गर्वको अनुभूति हुन्छ । मेरै गाउँमा जन्मिएका भूवनसिँह विश्वकर्मा अन्टार्टिका पुग्ने प्रथम नेपाली हुन् । गर्व लाग्छ कि मेरै गाउँका कृष्ण कार्कीले समाजसेवामार्फत अनि युवा चित्रकार मनिष हरिजनले चित्रकारितामार्फत हाम्रो गाउँलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
बाग्लुङको नक्सा नेपालको नक्सासँग मिल्छ । त्यसैले कतिपय सामान्य ज्ञानका किताबमा नेपालको नक्सासँग मिल्ने जिल्लाको नाम के हो भनि प्रश्न राखिएको पाइन्छ । बाग्लुङ झोलुङ्गे पुलको जिल्ला पनि हो । हल्ला नारायणस्थानको सल्लेरीमा बसेर वरिपरि नजर डुलाउँदा ७/८ वटा झोलुङ्गे पूल देखिनुले पनि यसलाई प्रमाणित गर्छ ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, कस्तो स्वभावको हुन्छ ?
मेरो जिल्लाको कथ्य भाषा नेपालभरि प्रसिद्ध छ । कतिपयले उडाउने नियतले टिप्पणी गरेको बुझ्दछु, तर मलाई मेरी आमाले बोल्ने गरेको पर्वतेली लवज निकै मीठो र आत्मीय लाग्छ । सुनिरहुँ जस्तो एकदम मौलिक लाग्छ । ठट्टा गर्ने गरेको छु, बाग्लुङको कथ्य भाषामा हिंसालाई ठाउँ छैन । जस्तो: श्री मा काटमार छ, शीरीमा छैन । हामी सिरिमान, सिरिमति भन्दिन्छौ । ब्राकेट, ग्राफिक, क्रस, ट्रकलाई हामी बराकेट, गराफिक, करस, टडक भन्छौ हामी । हाम्रो भाषा यति अहिंसात्मक छ । बाग्लुङलाई मानिसको रुपमा कल्पना गर्दा मौलिक कथ्यभाषा त आइहाल्ने भयो ।
बाग्लुङेलाई एकदमै परिश्रमी मानेको सुनेको छु । बाग्लुङेका छोरीलाई बुहारी बनाउनु तर छोरी नदिनु भन्ने त चलनै रहेछ । त्यसैले बाग्लुङलाई मानिसको रुपमा कल्पना गर्दा परिश्रमी मानिस पनि आइहाल्ने भयो ।
बाग्लुङेहरू अत्यधिक लोकगीत प्रेमी छन् । नेपाली लोकगीत गायनमा यहाँका गायकहरूको बाक्लो उपस्थिती र लोकप्रियता छ । जीवन शर्मादेखि वसन्त थापा हुँदै प्रकाश सपुतसम्म । देवी घर्ती मगरदेखि विष्णु खत्रीसम्म । लोकप्रिय सङ्गीतकार बिबि अनुरागी मेरा क्याम्पसकालीन मित्र । यस्तो लाग्छ, बाग्लुङका खोलाहरूले पनि लोकगीत गाउँछन् ।
त्यसैले बाग्लुङलाई मानिसको रुपमा कल्पना गर्दा ‘देश विदेशमा लोकगीत गाउँदै धेरै परिश्रम गर्न मन पराउने, आइच्च गइच्छवाला रैथाने एवम् अहिंसात्मक संवाद गर्ने कुनै टिपिकल मानिसजस्तो मानवाकृति‘ उपस्थित हुन्छ मेरो मनमा ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
बाग्लुङबाट विदेश पलायन हुनेहरूको सङ्ख्या अत्यधिक छ । यस्तो लाग्छ, इतिहासको महत्वपूर्ण गलकोट राज्य जापानमा रमाएको बसेको छ । मेरो गाउँ बलेवा खतरनाक मृत्युमार्ग हुँदै अमेरिका पस्न बाध्य भएको छ । धेरै प्रियजनहरू युरोप र अष्ट्रेलिया पुगेका छन् । गाउँहरू खाली भएका छन् ।
उग्र दक्षिणपन्थी आँधी चलेको अमेरिकाले नेपालीहरूलाई डिपोर्ट गरिरहेका समाचार आइरहेछन् दिन्दिनै । कुनै पनि समय राष्ट्रमा आउन सक्ने संकटको बेला कोही विदेशीले हामी नेपालीलाई माया गर्ने छैनन्, यसरी नै देश निकाला गर्ने छन् । सधैँ रेमिट्यान्सले मात्र चल्दैन देश । देशलाई चाहिने बुद्धि र पाखुराहरू यसरी बाध्यताले विदेश पलायन हुँदै गए कसले बनाउँछ समाज ? कसरी बन्छ देश ?
म त्यस्तो बाग्लुङ देख्न चाहन्छु, जहाँ बसोबास गर्ने अत्यन्त्त परिश्रमी मानिसहरूले लोकगीत गाउँदै आफ्नै गाउँमा आनन्दमय, स्वस्थ र सक्रिय जीवन बिताउन पाउन् । वर्तमानमा त सम्भावना देखिन्न, तर म चाहन्छु बाध्यताले विदेश गएकाहरू स्वदेशमै मङ्गल देखेर फर्किएको देख्न पाइयोस् । जन्मिदै विदेशको आकाश ताकेर जन्मिएजस्ता लाग्ने नेपाली सन्तानहरूले स्वदेशी माटोमा सुनौलो भविष्यको बगैचा बनाउने अवसर पाउन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button