लमजुङ आमाको काखमा बसेको बालकजस्तै

देशको समग्र चित्र कोर्ने ‘नेपालनाम्चा’को राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोप्रति अगाध प्रेम प्रकट गर्नुभएकोमा लमजुङकी अन्जना पौडेललाई धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
मेरो जन्म स्थान दुराडाँडाको जन्म घर, च्यानपाटा,खजे पार्क, घले गाउँ, भुजुङ्, गाउँशहरको लमजुङ दरबार अनि लमजुङ हिमालको दृश्य सरसरती आँखामा र मनमा रिल जसरी आउँछन्।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
प्राकृतिक सुन्दरता , कला र संस्कृतिले भरिपूर्ण मेरो जन्म स्थान सम्झंदा मलाई धेरै गर्व महसुस हुन्छ र आनन्द अनुभूति हुन्छ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
घले गाउँ, भुजुङ, सिदुरे ढुङ्गा, गाउँशहर ,लमजुङ हिमाल, खजे पार्क,ईशानेस्वर महादेव,साम्बा चोक, हामखोला झरना, वुङ् झरना,गाइखुरे झरना, मर्स्याङ्दी ड्याम,मर्स्याङ्दी नदी, अक्टोपस झरना ,मर्स्याङ्दी जलविद्युत आयोजना र ङ्यादी हाइड्रो पावर ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
राष्ट्रकवि माधवप्रसाद घिमिरे , हर्क गुरुङ ,खजे दुरा, कलाकारहरू माया गुरुङ,विमा कुमारी दुरा, राजु परियार , जस्ता हस्तीहरु जन्मेको जिल्लामा जन्मेको हुँ भन्न पाउँदा गर्व लाग्छ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
यहाँको हावापानी धेरै राम्रो छ। संधै बस्नको लागि अनि आन्तरिक र बाह्य पर्यटनको लागि धेरै राम्रो छ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, कस्तो स्वभावको हुन्छ ?
आमाको काखमा बसेको बालक जस्तै मातृबात्सल्यले भरिपूर्ण । प्रेमी जस्तै प्रेमिल, स्नेही, शितल र मायालु स्वभावको मेरो लमजुङ जिल्लाको बयान गरेर साध्य छैन।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
मेरो जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारले पूर्ण भएको र चौतर्फी विकास भएको हेर्न चाहन्छु। विदेशीएका दाजुभाइ, दिदीबहिनी र सन्तानहरू सबै आफ्नो गाउँ ठाउँमा आएर रित्तो भएका गाउँ , बस्तीमा खुसीयाली मनाएको,घाँटु, सोरठी नाचेको र ठाडो भाकामा रमेको, झुमेको हेर्न चाहन्छु। हरेक आमाको मन खुसी भएर रमाएको हेर्न चाहन्छु।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button