सान्त्वना पुरस्कार प्राप्त गर्न सफल ‘नेपाल मेरो घर’

कविता: नेपाल मेरो देश

प्रजिना गौतम

तराईको मझेरी छ, पहाडभन्दा तल
हिमालको छानो मेरो सधैँ झलमल,
डाँडाकाँडा रसाउँछन् बग्छन् निरन्तर
संसारमै सुन्दर छ नेपाल मेरो घर ।१।

अनेक जाति भाषा धर्म मिली बस्ने घर
खाँचो पर्दा ऐँचोपैँचो, एकअर्काको भर
चाडबाड मनाउँछन् डुल्छन् वरपर
एकताको फूलबारी हो : नेपाल मेरो घर ।२।

कतै अग्लो कतै होचो भूगोलको देश
लवाइ खवाइ जीवनशैली भिन्दै परिवेश
जस्तो जस्तो हावापानी उस्तै उस्तै भेष,
अनेकतामा सजिएको नेपाल मेरो देश ।३।

सगरमाथा हाम्रो गौरव संसारको शिर,
लुम्बिनीले गर्दा शान्ति पुग्यो चारैतिर
जनक, सीता, भृकुटी र बुद्धको यो देश
संसारकै महान् भूमि नेपाल मेरो देश ।४।

जति हेर्छु उति राम्रो मेरै डाँडापाखा
जति गाउँछु मीठो लाग्छ मेरै गीतका भाका,
जहाँ जान्छु यी आँखामा नाच्छ मेरै देश
संसारमै प्यारो लाग्छ, नेपाल मेरो देश ।५।

सम्पदाले सम्पन्न यो नेपाल मेरो देश,
अनेकतामा एकता र सहिष्णुताको देश
चन्द्रसूर्य अङ्कित झण्डा सजिएको देश
संसारमै प्यारो मलाई नेपाल मेरो देश ।६।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button