
म भिलेन होइन तर तिमीहरुले मलाई भिलेन बनायौ

ओजश्वी किरण दवाडी
म भिलेन होइन,
तर तिमीहरूले
मेरो सत्यलाई
डर ठानेर
मलाई भिलेन बनायौ।
मैले चुप बस्नलाई
कमजोरी ठानिन,
तर बोलेँ भने
मेरो स्वर नै
अपराध बनाइयो।
माया
मिठासमा होइन,
घाउमा हालिएको औषधि जस्तै थियो
जल्थ्यो,
तर निको पार्थ्यो।
तिमीहरूले
जलन मात्रै देख्यौ,
निको हुनु होइन।
जब तिमीहरू हिँड्यौ,
मलाई भिलेन ठानेर,
म भित्र
मान्छे मरेको थियो।
र जब तिमीहरू फर्कियौ
आँखा भरिएको पछुतो बोकेर,
त्यतिखेर
मभित्र
मायाको ठाउँ
पहिल्यै खरानी भइसकेको थियो।
एकचोटि अमिलो भइसकेको सम्बन्ध
फेरि मिठो हुन्छ
भन्ने कुरा
सपनामा त ठीकै होला,
जाग्राम नै भनें भने
आत्म–धोका हो।

म अझै सोचिरहेँछु
के भिलेन ठानेर छाडेकाहरूलाई
म फेरि
मेरो जीवनमा
स्थान दिन सक्छु?
तर
मैले अब बुझिसकेँ
सबैलाई फेरि भित्र्याउने मान्छे
कहिल्यै नायक हुँदैन,
ऊ
सधैँ
फेरि मारिन तयार भएको
भिलेन मात्रै हुन्छ।
त्यसैले
अब म
तिमीहरूको कथाकाे
भिलेन नै सही,
तर
म मेरो कथामा नै
म बाँच्न चाहन्छु।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



