
किताबले मलाई प्रश्न गर्न सिकायो

रामेश्वरी पन्त
आज म किताबका कुरा गर्दैछु । किताबका कुरा गर्नुअघि किताबसँग कहिलेदेखि मेरो दोस्ती भयो भनेर सम्झनुपर्ने हुन्छ । किताबसँग सम्बन्ध गाँसिएको त सायद अक्षर चिन्न थालेदेखि नै होला । किताब बिना त अक्षर पनि कसरी चिनिएहोला खै ! जे होस्, अक्षर चिनेपछि किताब पढ्ने रहर त लाग्ने नै भयो । दाइहरूले अक्षर चिनाइदिनुभयो । उहाँहरूले पढ्नेगरेका किताब सजिलै पढ्न सक्ने भएँ । पाँच दशक भन्दा अगाडि पढेका सबै किताबको याद गर्न त सक्दिनँ । तर पनि दाइहरूले पढ्ने गरेका गद्य संग्रह र पद्य संग्रह मैले औपचारिक रुपमा स्कुल जानुअघि नै पढिसकेकी थिएँ । शिशिर बसन्तका कथा पढेँ । यस्तै थुप्रै कथाका किताबले मेरो बालहृदयमा संवेदना भरिंदै गयो ।
अलि पछि जब दाइहरूबाट स्वस्थानीको कथा पढ्ने जिम्मा हस्तान्तरण भयो, मैले पढेर सबैलाई सुनाउन थालेँ । यो कथा पढ्दैजाँदा बालिका गोमाको भाग्य र भोगाईले मनमा गहिरो छाप पारि नै रह्यो । स्वस्थानीको कथाले कतिसम्म प्रभावित थिएँ भन्ने कुरा मैले आफ्नो पुस्तक ‘स्वस्थानी व्रतकथाः नारीशक्तिको महिमा, नारीकै शोषण’मा आफ्नो भूमिकामा उल्लेख गरेकी छु । आँसु झार्दै र भक्कानिंदै पढ्ने गरेको स्वस्थानीको कथाले भन्न खोजेको र देखाउन खोजेको कुरा अलिअलि बुझ्न थालेपछि स्वस्थानी पढ्न छोडिदिएँ । तर यसले वर्षौंसम्म पनि मेरो पिछा गरि नै रह्यो र अन्ततः यसको चिरफार गरेरेै छोडेँ अनुसन्धानात्मक कृतिको रुपमा ।
एस.एल.सी. परीक्षा दिएपछिको फुर्सदमा मैले सर्वप्रथम् ‘सुकसागर महात्म्य’ पढेर सकेँ । त्यतिबेला ‘आईमाईले गीता पढे बहुलाइन्छ’ भन्थे । स्वस्थानी र ऋषि पञ्चमीका कथाले मेरो मस्तिष्कमा बिद्रोहको बीज छरिसकेको थियो । ‘कसरी बहुलाइन्छ हेरुँ त !’ भन्दै बुबाले कपडामा पोको पारेर राखेको सुकसागर निकालेर पढेँ । व्यासपुत्र सुकदेवले राजा परीक्षितलाई सुनाएको ज्ञानसागर पढेर त्यो बाल उमेरमा कति नै ज्ञान लिन सकेँहुँला र ! तर गीता पढेर बहुलाइने चाहिँ होइन, बरु यस्ता ज्ञानका कुरा किन ‘आईमाई’लाई पढ्न नदिएका होलान् ? भन्ने प्रश्न चाहिँ गर्नसक्ने भएँ ।
शिक्षाको दियो बाल्न मात्रै सक्नुपर्छ, त्यसले बाल्नेलाई मात्र होइन, वरपरका सबैलाई प्रकाशित बनाउँछ । सुकसागर पछि माइल्दाइले एम.ए. पढ्दा आफूले पढेको महाभारत (गद्य) ल्याइदिनुभयो, त्यो पढेँ । कलेजको पढाई शुरु हुनुअघि प्रकाश कोविद र रानूका उपन्यास खुब पढेँ । सेतो बाघ र मन पनि पढेँ । डायमण्ड शमशेरका सबैजसो उपन्यास त्यतिबेलै पढेर सकेँ । सायद किशोरवयको कारणले पनि होला उपन्यासले तान्दै लग्यो । स्कुल पढ्दाको कुरा हो, मेरी एकजना साथी मभन्दा अलि बढी नै उमेरकी थिइन् । सायद उनले पनि दाइहरूले पढेका उपन्यास पढ्न थालिन् क्यारे ! आफूले पढेपछि मलाई पनि पढ्न कर गर्थिन् र किताब दिन्थिन् । शुरुमा त उपन्यासमा भएका माया, प्रेमका कुरा पढ्दा कस्तो कस्तो अप्ठ्यारो लाग्यो तर विस्तारै म पनि उपन्यासतिर तानिंदै गएँ । उनले दिएका किताब घरमा ल्याएर लुकाएर राख्थेँ र लुकाएरै पढ्थेँ । एकदिन घरको माथिल्लो तलामा बसेर लिलध्वज थापाको मन उपन्यास पढ्दै थिएँ एकोहोरो भएर । कतिखेर बुबा आइपुग्नुभएछ पत्तै पाइनँ । अनि त बुबाले ‘नाइटो नझर्दै उपन्यास पढ्ने’ भनेर यस्तरी हकार्नुभयो कि त्यसपछि बुबाको जीवन रहुन्जेलसम्म फेरि उपन्यास पढ्ने हिम्मत आएन । अझै पनि बुबाका यी शव्द याद आइरहन्छन् । दूर्भाग्य, मैले एस.एल.सी. दिएकै महिना बुबाको अचानक देहान्त भयो । त्यसपछि त यसरी मायाले हकार्ने पनि कोही भएन ।
किताब, कुनैबेला रहरले पढियो, कुनैबेला करले पढियो । अचेल किताब मेरो साथी नै बनेको छ भन्दा पनि हुन्छ । किताब त्यस्तो असल साथी हो जसले ज्ञान पनि दिन्छ, मान पनि दिन्छ र एक्लोपनको साथी पनि बन्दोरहेछ । अहिले त डिजीटल युग आयो मान्छे किताब छोडेर भर्चुअल दुनियाँमा रमाउन थाले । सबैभन्दा त मोबाईलले आज किताबलाई विस्थापित नै गर्नलागेजस्तो लाग्छ । तर आफ्नो समयमा निकै किताब पढियो । किताबसँगै रोइयो, किताबसँगै हाँसियो । किताबले बोल्न सिकायो मलाई । प्रश्न गर्नसक्ने बनायो । लेख्न सिकायो । दुईचारजनासँग परिचित गरायो । घरगृहस्तीमा नै भुलेकी मलाई किताबले नै गर्वकासाथ् ‘म’ भएर बाँच्न सिकायो ।

आई.ए.सम्म गाउँमै पढियो । त्यतिबेला जुनजुन पुस्तक उपलब्ध हुन्छन् तिनै पढियो । बी.ए. पढ्न शहर पसेपछि भने कोर्स बाहिरका किताब खासै धेरै पढिएन । बी.ए.को पढाई सकेर गाउँ फर्कने बेलामा राजनीतिशास्त्र पढाउने एकजना गुरुले एउटा किताब मेरो हातमा थमाउँदै ‘ल, अबको फुर्सदको समयमा यो किताब पढ है !’ भन्नुभयो । मैले चुपचाप किताब लिएर गाउँ गएँ । उक्त किताब थियो रुसोको ‘एमिल’ । जसमा मुख्यतः महिलालाई अर्तिउपदेश दिइएको थियो । जहाँसम्म मलाई याद भएसम्म त्यसमा घर कसरी सम्हाल्ने, बालबच्चा कसरी हुर्काउने आदिइत्यादि कुरा थिए । खासै रुचिकर लागेन तैपनि पढेर सकेकी थिएँ ।
समयले पनि धेरैकुरा सिकाउँदो रहेछ । परिवार र समाजमा छोरा र छोरी, महिला र पुरुषबीच हुने बिभेदपूर्ण ब्यवहारले बच्चैदेखिको बिद्रोही चेतलाई उकासिरह्यो । यसै विषयमा पत्रपत्रीकामा लेख्न थालेँ । लेखन र अध्ययनको निरन्तरतामै सिमोन द वौवारको ‘द सेकेण्ड सेक्स’ र मेरी उलस्टोनक्राफ्टको ‘भेण्डिकेसन अफ द राइट्स अफ उमन’ जस्ता महिला हक अधिकारमा केन्द्रित केही किताबको अध्ययनले चेतनाको स्तरमा पाईन भ¥यो । लेखन र चिन्तनलाई फराकिलो बनाउँदै लग्यो । कताकता यी किताब मैले अलि ढिलो पढेँ कि भन्ने लागिरह्यो र त्यो बेला राजनीतिशास्त्रका उनै गुरुलाई सम्झन पुगेँ– किन मलाई त्यो ‘एमिल’को सट्टा ‘द सेकेण्ड सेक्स’ पढ भन्नुभएन ? सोचेँ, आखिर उहाँ पनि त हामै्र समाजको पुरुष हो !
श्रृङ्गारमा होइन किताबमा खर्च गर्नुपर्छ भन्ने सोच आजको होइन मेरो । सकेसम्म किनेरै किताब पढ्छु । किनेर पनि पढ्न नभ्याएर थन्क्याएका धेरै किताबले दराजबाट जिस्क्याईरहन्छन् अचेल मलाई । उमेर, स्वस्थ्य, घरव्यबहार, यस्तै अनेक कारणले अचेल लगातार पढ्न सकेकी छैन । कति त मोबाइल र सामाजिक सञ्जालले पनि मेरो पढेने समय खाइदिएको छ । कुनैबेला जसरी मलाई किताब पढ्ने लत लाग्थ्यो, अहिले त्यस्तै मोबाइलको लत लागेजस्तो भएको छ । अलिकति फुर्सद पायो कि हातमा मोबाईल लिएर औंला घिसार्न मन लागिहाल्ने । कसले के भन्यो, कहाँ के भयो सबै यसैले भनिदिन्छ ! तैपनि चर्चामा आएका किताब किनेर जुनैबेला पनि पढ्ने गर्छु । किताबलाई खासै यही समय भनेर छुट्याउँदिन कहिल्यै पनि । कुनै किताब शुरु गरेपछि नसकिउन्जेल रातभरि पनि पढ्नेगर्छु । कुनै किताब ब्यर्थै किनेजस्तो लाग्छ ।
प्रायः म पूर्वीय दर्शनमा आधारित किताब पढ्न रुचाउँछु । तर संस्कृत भाषाको अज्ञानताले मेरो यो भोक अतृप्त नै छ । बजारमा हल्ला चलेका सबै किताब किन्ने बानी छैन । यसो चर्चामा आएका गहन विश्लेषण सहितका किताबका साथै प्राचीन इतिहास र सभ्याताले पनि मन तान्ने गर्छ । अहिले डिजिटल किताबको जमाना आए तापनि डिजिटलमा मेरो रुचि छैन किनकी कागजी किताब पढ्दा आउने आनन्द र एकाग्रता त्यसमा पाउँदिनँ । प्राचीन मिथकीय साहित्य मेरो रुचिको अग्र पंक्तिमा पर्छ । किनकी मिथकले त्यो बेलाको समाजलाई प्रतिबिम्बित गरेको हुन्छ । मदनमणि दीक्षितको ‘माधवी’ यस्तै एउटा महत्वपूर्ण मीथकीय उपन्यास हो । जसलाई तीनपटक पढिसकेकी छु र पनि अझै पढुँ पढुँ लाग्छ । यस्तै कृष्ण धरावासीको ‘राधा’ले पनि अमीट छाप पारेको छ । यसैगरि आम्रपालीको कथा र तत्कालीन वैशाली गणराज्यको इतिहास समेटिएको उपन्यास ‘वैशालीकी नगरवधू’ ले पनि नारी के हो र उभित्र कस्तो शक्ति लुकेको हुन्छ भन्ने ज्ञान प्राप्त गर्न मद्दत ग¥यो ।
आध्यात्मिक चिन्तन र आत्मज्ञान दिने किताब सायद अब मेरो जीवनको आवश्यकता पनि होला । त्यसैले अचेल यस्ता किताबतिर मन जान थालेको छ । म आफूले पढेका किताब सकेसम्म अरुलाई पनि पढ्न प्रेरित गर्छु र दिन्छु पनि । सकेसम्म अरुसँग मागेर किताब पढ्ने बानी छैन । मागिहालेँ भने पनि पढेर जतिसक्दो छिटो फिर्ता गर्न पाए आनन्द लाग्छ । आजसम्म मसँग एउटा मात्र त्यस्तो किताब छ जुन किताब मैले पढिसकेर पनि फिर्ता गर्न पाएकी छैन । यस्तो लाग्छ, त्यो किताब मेरो लागि ऋणको भारी हो । अरुलाई किताब पढ्न दिंदा मलाई निकै आनन्द आउँछ तर इमान्दारितापूर्वक पढिसकेर फिर्ता नगरी किताब नै पचाइदिने धेरै छन् । दया लाग्छ तिनीहरूलाई देखेर । खासगरि महिलामा चेतना जगाउने खालका किताब आफूले पढेपछि अरु महिलालाई पनि दिउँ दिउँ लाग्छ ।
यसै प्रसंगमा केही वर्षअघि एकदिन नजिकैको किराना पसलमा दिनभर त्यत्तिकै गफ गरेर बसिरहने एकजना बैनीले मैले सधैं हातमा किताब बोकेर आउने गरेको देखेर ‘दिदी, मलाई पनि दिनुस् न राम्रा किताब भए, यसो पसलमा बस्दा पढ्छु’ भनिन् । मैले भोलिपल्ट पसल जाँदा एउटा किताब लगेर दिएँ । उनका श्रीमान् त्यहीँ रहेछन् । भने ‘आईमाइलाई किताब पढ्न नदिनुस् है मेडम ! बिग्रिन्छन् ।’ पढालेखा स्नातक ती पुरुषको सोच देखेर म त अवाक् भएँ । के गरुँ गरुँ भयो । किताब हातमा लिइसकेकी थिइन्, ‘पढेर फिर्ता दिनुस् है’ भन्दै हिंडें । फेरि तिनलाई किताब दिने हिम्मत गर्न सकिनँ । अझै पनि हाम्रो समाजमा यस्ता पुरुष छन् । यिनलाई देख्दा दया लागेर आउँछ । ज्ञान बाँड्ने कुरा हो तर जसलाई रुचि हुन्छ उसलाई बाँड्ने हो, जबर्जस्ती कसैलाई ज्ञान दिन्छु भनेर भन्नु पनि मूर्खता हुन्छ ।
किताब पढ्ने भन्दैमा जस्तो पायो उस्तै किताब पढेर न मनलाई सन्तुष्टि हुन्छ न ज्ञान । समयको मात्रै बर्बादी गरेर के काम ! कुन विषयको, कस्तो किताब पढ्ने भन्ने कुरा व्यक्तिको आ–आफ्नै रुचिको कुरा हो । सबैको रुचि एउटै हुँदैन । तर किताबले दिने ज्ञान, आनन्द र सन्तुष्टिजत्तिको स्थायी अरु कुनै कुराको हुँदैनजस्तो लाग्छ । अनावश्यक कुरामा खेर जाने समयलाई अध्ययनमा लगाउन सक्यो भने मनको चञ्चलताले पनि विश्राम पाउँछ ।
अहिलेको पुस्ताको तनावयुक्त जीवनशैलीले धेरैलाई एङ्जाइटी र डिप्रेसनको अवस्थामा पु¥याएको छ र यो समस्या अहिले भयावह अवस्थामा पुगेको छ । युवापुस्ताका असीमित महत्वाकांक्षा र असन्तुसष्टिले उनीहरूलाई आत्महत्याको अवस्थासम्म पु¥याएको देखिन्छ । उनहिरू किताब छोडेर भर्चुअल दुनियाँमा रमाइरहेका हुन्छन् । झन मोबाईल र सामाजिक सञ्जालको लतले त अहिलेको पुस्तालाई ‘घोप्टे पुस्ता’ भनेर चिनाउन थालेको छ । यस्तो लतलाई कम गर्न पुस्तक पनि एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । यस्ता समस्यालाई सम्बोधन गर्नेखालका थुप्रै ‘मोटिभेसनल पुस्तकहरू’ बजारमा पाइन्छन् । त्यसैले आफ्नो मन मस्तिष्कलाई पुनर्ताजगी दिनको लागि पनि पुस्तक पढ्ने बानी बसाल्न म आजको पुस्तालाई आग्रह गर्दछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



