किशोरीले लेखेको देशको कथा

कथा: ‘अन्त्यहीन दोषारोपण’

मञ्जिमा सापकोटा, कक्षा ९ क, स्वर्णिम स्कुल

दुई ठुला मुलुकबिचमा थियो एउटा सानो राष्ट्र । सौन्दर्यले भरिपूर्ण । हरेक ठाउँ रमणीय । हरेक स्थान सुन्दर । गौरवपूर्ण इतिहास बोकेको थियो यसले । विश्वभरि शिर उचाली, वीर गाथा रचेको थियो यसले । तर अफसोस ! आजको समयमा आइसक्दा सो मुलुक सम्पूर्ण रूपमा परिवर्तन भइसकेको थियो । इतिहास त यसले बोकेको थियो, तर तत्कालीन अवस्थाका कारण नयाँ इतिहास रच्ने क्षमता भने योसँग थिएन ।

हो, भ्रष्टाचारले यो राष्ट्रलाई हरेक क्षण बर्बादीतर्फ धकेलिरहेको थियो । लाग्थ्यो कि सो देश दानवले राज गरेको स्वर्ग थियो । हरेक वर्ष बजेट त पारित गरिन्थ्यो । तर त्यहाँबाट वितरित पैसा विकासमा भन्दा धेरै नेताहरूका झोलामा गएको यहाँका जनताले देखेका थिए । यो देशमा त एउटै चक्र चलिरहथ्यो, गन्तव्य पनि उही, यात्रा र बाटो पनि त्यही, परिवर्तन हुन्थे त केवल हाँक्ने नेता । जनताहरू वाक्कै भइसकेका थिए । केही गर्न चाहन्थे तर सक्दैनथे । हुन त त्यस देशमा राम्रो गर्ने र राम्रो सोच्ने भन्दा पनि सत्ताका लागि होडबाजी गर्नेहरूको बढी चल्ने गर्दथ्यो । जनताको काम पनि एउटै थियो । गलत नेतालाई चुन्ने अनि आफै पछुताएर गाली गर्ने । चुनाव नजिक आएपछि नेताका भाषण त उनीहरू सुन्थे, तर तिनले जित्तेपश्चात्त काम गर्लान् भनेर सपनामा पनि कल्पना गर्न सक्दैनथे ।

हिमाल र ह्रदय अनि यात्रा र यात्रीको गीत गाउँदै तपाईंको आत्मालाई स्पर्श गर्ने यो किताब यदि पढ्न चाहनुहुन्छ भने 9841391555 मा सीधै वा यही नम्बरको वाट्सअपमा वा इमेल ashoksilwal@gmail.com मा सम्पर्क गर्नुहोला । 

यस्तो मुलुकमा बसेर पनि देशविकासको कल्पना र प्रयासमा निरन्तर लाग्दै थिए : मुख्य दुई पात्र । एकजना बच्चै थियो, २०–२२ वर्षको रमन अनि अर्का भने ३८–३९ का प्रनिशबहादुर, आफ्नै घरपरिवार बसाइसकेका अनि पेसाले एक प्रहरी ।

रमनको दैनिकीअन्तर्गत कलेज जाने र आउने मात्र पर्थ्यो भने प्रनिशबहादुर दिनभर ड्यूटीमै खट्टिन्थे । सबै चिज राम्ररी नै चलिरहेको थियो कि, त्यसैबेला त्यहाँको सरकारले आफ्नो फैसला सुनायो । ‘सोसल मिडिया ब्यान’ । सायद एउटा जाबो फैसलाले निम्त्याउन सक्ने यो भयावह स्थितिको कसैले पनि अनुमान गर्न सकेका थिएनन् ।

जेन-जी समूह अर्थात् उमेरले स्यानै तर विचारमा पाका र अडिग (१३ देखि २८ वर्ष समूह) । उनीहरू नै थिए, सोसल मिडिया प्रेमी । लगभग कसैको पनि दिन इन्स्टाग्रामा नखोली, विचारहरू नसाटी बित्दैनथ्यो होला । पहिलेबाट नै भ्रष्‍टाचारीहरूले आफ्नै मुलुकको सत्यानाश गरेको देखी क्रोधित भइरहेका जेन-जीलाई झन् यो फैसला त घाउमा नुन छर्के झैँ भयो । लामो समयदेखि चुपो लागेका यिनीहरू, अब गर्जनेवाला थिए । यसरी गर्जने थिए कि कैयौँ दिनसम्म त्यो गर्जनको असर मनमस्तिष्‍कमा रहनेवाला थियो । यही क्रोधित समूहभित्र रमन पनि पर्दथ्यो । उसको रिस त नाकको टुप्पोमै थियो भने पनि हुन्छ ।

हैन है, हामी युवागणले केही त गर्नुपर्छ मातृभूमिको लागि भन्ने सोचेर अरू मुलुकबाट प्रभावित हुँदै, जेनजी समूहले एक शान्तिपूर्ण आन्दोलनको घोषणा गर्‍यो । स्कुल तथा कलेज ड्रेसमा सहभागी हुनु है भन्दै खबर फैलियो । सबैजना जेन जी त तयार थिए, तर उनीहरूका आमाबुवा भने बेखबर ।

“बाबा, सुन्नुभयो होला नि है, आन्दोलनको बारेमा ।” रमनले भन्यो ।

“अँ ! सुन्न त सुनेँ बाबु । राम्रै कुरा हो हुन त ।”, उसको बुवाले जवाफमा भन्नुभयो ।

“त्यही त, म पनि जान्छु है भोलि । सहभागी हुनै पर्ने कुरा हो यो त ।”

“हैन बाबु, हुँदैन । तिमी नजाऊ, जानु हुँदैन । नेपाल हो । जे पनि हुन सक्छ । मैले बुझेको छु, तिमी जाँदै नजाऊ है ।”, उसका बुवाले रोक्ने प्रयास गर्नुभयो ।

“ह्या, घुम्न जान लागेको हो र भन्या ! देश परिवर्तन गर्न जान पो लागेको त । तपाईँ त जहिले यस्तै भन्नुहुन्छ । म त जसरी पनि जाने हो । जेसुक्कै गर्नु ।”, रमनले बाबाको कुरा काट्दै आन्दोलनमा जाने कुरा दोहोर्‍यायो ।

रमनको बुवा हार मानेर चुप लाग्नुभयो र भोलिपल्ट आफ्नो छोरा तयार हुँदै आन्दोलना गएको मौन बसेर हेरिरहनुभयो ।

अर्कातिर प्रनिसबहादुरको पनि यसै आन्दोलनमा ड्युटी लागेको थियो ।

“नगए हुँदैन र, के हुने हो थाहा छैन ।” उसकी बुढीले चिन्ता लिएर बोली ।

“हैन, कहाँ त्यस्तो हुन्छ । के म आफ्नो जागिर नै छाडिदिऊँ त अब ? जानुपर्छ नि । केही हुँदैन चिन्ता नगर न । यस्ता आन्दोलन त मैले कति सम्हालेँ सम्हालेँ ।“, प्रनिशबहादुरले ढाडस दिँदै श्रीमतीलाई सम्झायो ।

आन्दोलन शान्तिपूर्ण रूपमा सुरू भयो । माइतीघरबाट बिस्तारै जुलुस सांसद भवनतर्फ बढ्यो । यसै दौरान निकै निर्दही घटना घट्यो । गोली चल्यो विद्यार्थीमाथि । टाउको मै ताकिए र हानिए गोलीहरू । यसले भीडमा भागाभागको अवस्था सिर्जना भयो । धेरैले ज्यान गुमाए । बिस्तारै यो खबर सबले सुने । बच्चा मार्ने हत्यारा सरकार कसैलाई मन्जुर थिएन अब । निर्दोष बच्चाको ज्यान गएको देखेर, सबैको आँखा आँसुले भरिएका थिए । सारा दोष पुलिसलाई दिइयो । गोली जसले चलाए पनि हरेक पुलिसमाथि हत्याराको दाग लाग्यो ।

त्यसै त आन्दोलनमा बच्चा पठाएका सम्पूर्ण आमाबुवाहरू आत्तिएका थिए । कतै फेसबुकमा आफ्नै बच्चा मृत अवस्थामा देखिने त हैन ? कैयौँका बच्चा त्यस दिन सकुशले फर्के त कसैको घाइते अवस्थामा । तर कत्तिका चाहिँ फर्कँदै फर्केनन् । रमन पनि फर्केन ।

रमनका आमाबुवाको आँखामा कहिल्यै नरोकिने आँसु थियो, दिमागमा डर, तर मनमा चाहिँ बदलाको ज्वाला बलिरहेको थियो । भोलिपल्ट फेरि आन्दोलन भयो । तर अब त्यहाँ जेन जी मात्र थिएनन् । मनमा बदला र राम्रो नेपालको आशा बोकी अब त्यहाँ हरेक घाइते मन भएका बुवाआमा पनि थिए । सरकारले यस शान्तिपूर्ण आन्दोलनलाई भङ्ग गरिसकेको थियो । जनता किन चुप लाग्थे र ? आन्दोलनले उग्ररूप लियो, तोडफोड भयो, नेताका घरहरू जले, कत्ति त पिटिए पनि । हुन पर्ने कुरा त भयो, तर आवश्यक भन्दा बढी भयो । देशकै गौरव जले, कत्तिका सपना जले, कसैका आवास जले तर अन्त्यमा सम्पूर्ण देश नै जल्यो ।

पुलिसले नै मारेको हो हाम्रो बच्चालाई भन्दै जनताले पुलिसलाई दोष लगाए । माथिको आदेश भन्दै पुलिसले सरकारलाई दोष लगायो तर क्षणिक विजय एकाएक पराजयको भावले धुमिलिँदै चिसो भयो ।

प्रनिसबहादुर त सोझो थियो । बच्चा मार्नु हुँदैन भनेर उसले सबैलाई भनिरहेको थियो । उसले त गोलीलाई आफैले हात लगाउनु टाढाकै कुरा, अरूलाई समेत केही गर्न दिएको थिएन । तर कसैले नमानेपछि अन्त्यमा हार मान्दै ऊ एकपछि अर्को बच्चा ढलेको देख्दा पनि चुप लाग्न बाध्य थियो । आँसु झार्दै केही नगरे पनि, आफूलाई पनि हत्यारा ठहराएको थियो उसले । एक राष्‍ट्रभक्त भए पनि सायद त्यस दिन पुलिसको बर्दी लाउनु नै उसको गल्ती ठहरियो । यही हो हाम्रो हत्यारा भन्दै विचरा निर्दोष प्रनिसबहादुरले जनताको हातबाट अत्यन्तै कठोर मृत्युवरण गर्‍यो ।

आन्दोलनले ठुलो परिवर्तन ल्यायो, देशलाई उज्यालोतर्फ पनि धकेल्यो तर देश कता जाँदै छ भनेर कसैले अनुमान पनि गर्न सकेन ।त्यस दिन हजारौँ निर्दोष परिवारको विजोग भयो । आन्दोलनमा कसैले आफ्नो छोरा गुमाए, कसैले आफ्नी छोरी, कसैले दाइ त कसैले बुबा । देशमा यत्रो क्षति भयो तर सबैले एकअर्कालाई दोष मात्र लगाइरहे । तर, अन्त्यहीन दोषारोपण चाहिँ भइरह्यो । जित कसको भयो अनि दोषी को थियो ? अनुत्तरित सबाल चलिरह्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button