
खुम गए, निलहरि आए कुर्सीमा, ‘रिफ्रेन्स’का लागि घोषणापत्र पनि
टानमा पदभार हस्तान्तरण-ग्रहण
भदौ १७, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिले मालीगाउँस्थित आफ्नो कार्यालय परिसरबाट लगभग १५ मिनेटको पैदल दुरीमा रहेको होटल र्याडिसनमा पदभार ग्रहण गरेको छ । गएको साउन ३० गते निर्वाचित नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको हो ।
निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नवनिर्वाचित अध्यक्ष निलहरि बाँस्तोलालाई कार्यालयको ‘कागजे’ साँचो सुम्पिए । पदभार ग्रहण गर्दै बाँस्तोलाले प्रत्येक महिनाको अन्त्यमा अन्तकृयात्मक कार्यक्रम गर्ने मात्र बताएनन्, घोषणापत्र अनुसार दुई बर्षमा गर्नुपर्ने सबै काम फत्ते गर्ने वाचा पनि गरे ।
के थियो निलहरि प्यानलको २० बुँदे घोषणापत्रमा ?
१. ट्राभल–ट्रेकिङ कम्पनीहरुका लागि बागमती प्रदेश सरकारद्धारा जारी पर्यटन ऐनमा व्यवस्था गरिएको रु. पचास लाखको चुक्ता पुँजीलाई घटाएर पुरानै चुक्ता पुँजी रकम कायम गर्न परिणाममुखी पहल गरिनेछ ।
२. करको दायरा नबढाइएको कारण दुर्गम क्षेत्रको पदयात्रामा करयोग्य बीलबिजक जारी हुने अवस्था छैन । सामान ढुवानी तथा भरिया कामदारहरुलाई गरिने भुक्तानीसम्बन्धी नीतिगत व्यवस्था अत्यन्त अव्यवहारिक छ । यसर्थ यसबारेमा सम्बन्धित सरकारी निकायहरुसँग समन्वय गरी समस्या समाधान गरिनेछ ।
३. पदयात्रा व्यवसाय धरासायी हुने र आन्तरिक राजश्वसमेत छली हुने गरी भइरहेका अनियन्त्रित, अव्यस्थित र अवैधानिक पदयात्रा संचालनमाथि रोक लगाई जिल्ला सदरमुकाम भएका स्थानहरुबाहेक ३ हजार मिटर माथिका उचाईमा गरिने पदयात्रालाई नो ट्रेकिङ विथआउट कम्पनीको नीति लागु गर्न अधिकतम प्रयास गरिनेछ ।
४. पदयात्रासँग सम्बन्धित अनुमतिपत्रहरुको झन्झटपुर्ण व्यवस्थालाई अन्त्य गरी पर्यटमैत्री एकद्वार प्रणालीमार्फत व्यवस्था गर्न प्रभावकारी पहल गरिनेछ ।
५. विदेशीहरुका लागि निषेधित क्षेत्रहरुलाई नियन्त्रित क्षेत्रको रुपमा खुला गरी बढीभन्दा बढी पर्यटकहरुलाई नयाँ–नयाँ गन्तव्यहरुको पदयात्रामा आकर्षित गरिनेछ । नियन्त्रित पदयात्रा क्षेत्रहरुमा एक जनामात्र विदेशी पदयात्रीलाई पनि पदयात्रा अनुमति दिने व्यवस्था गर्न पहल गरिनेछ ।
६. पदयात्री सुचना व्यवस्थापन प्रणाली (टिम्स)सँग सम्बन्धित टान अन्तर्गतको बेरुजु फस्र्यौटका लागि नियमसंगत तरिकाले हरसम्भव प्रयत्न गरिनेछ । र, टिम्सबाट आर्जित टानको भागमा छुट्याइएको तीस प्रतिशत र टान तथा नेपाल पर्यटन बोर्डको संयुक्त खाता अन्तर्गतको तीस प्रतिशत रकमलाई पर्वतीय पर्यटनको विकास र बजारीकरण तथा पर्वतीय पर्यटन मजदुरहरुको हित तथा सामाजिक सुरक्षामा अधिकतम उपयोग हुने गरी कार्यान्वयन गर्न प्रयत्न गरिनेछ ।
७. पदयात्रा क्षेत्र र व्यवसायमा विभिन्न कारण र अवस्थाले सिर्जना हुनसक्ने जटिल समस्याहरुलाई तत्काल समन्वय र समाधान गर्न टान कार्यालयमा क्राइसिस ¥यापिड रेस्पोन्स टिम स्थापना गरिनेछ । र, यसै प्रयोजनका लागि हिमाली जिल्लाहरुमा कम्तीमा एकजना क्राइसिस ¥यापिड रेस्पोन्स टान रिप्रिजेन्टेटिभको व्यवस्था गरिनेछ ।
८. प्राकृतिक विपदजन्य असुरक्षाबाट पदयात्री तथा कामदारहरुलाई जोगाउन हिमाली क्षेत्रको मौसमसम्बन्धी अग्रिम सूचना व्यवस्थापनको लागि प्रभावकारी उपाय अवलम्बन गरिनेछ ।
९. नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रभावकारी प्रवर्धन गर्न साहसिक पर्यटन क्षेत्रमा अन्तराष्ट्रिय रुपले कृयाशील एड्भेन्चर ट्राभल–ट्रेड एशोसिएसन (आटा)सँग सम्पर्क, समन्वय गर्दै नेपालभित्रै एड्भेन्चर ट्राभल मार्ट (एटिएम)को आयोजना गर्न प्रयास गरिनेछ ।
१०. आर्थिक पारदर्शिता र प्रशासनिक दक्षतासहितको जिम्मेवार टान कर्मचारी संयन्त्र विकास गर्न टानको ओ एन्ड एम गरी संघको कामकारबाहीलाई चुस्तदुरुस्त र प्रभावकारी बनाइनेछ ।
११. संघको हरेक दुई कार्यसमितिको बैठकहरु बीचको समयमा आवश्यक निर्णय र दैनिक कार्यसञ्चालन गर्न कार्यसमितीप्रति उत्तरदायी हुने एक सचिवालयको व्यवस्था गरिनेछ ।
१२. टानको कार्ययोजना र कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै परिणामहरुको आधारमा सदस्य कम्पनीहरुबीच समयसमयमा साक्षात्कार गर्दै आवधिक समिक्षा विवरण प्रस्तुत र सुझावहरु ग्रहण गरिनेछ ।
१३. लोकप्रिय पदयात्रा क्षेत्रह्ररुमा विस्थापित भएका पदमार्गहरुको सट्टामा वैकल्पिक पदमार्ग निर्माणका लागि पहल गरिनेछ ।
१४. जोखिमपूर्ण पदयात्रा मार्गहरुलाई सुरक्षित बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकार, स्थानीय समुदाय र राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्र परियोजनाहरुसित सहकार्य गरिनेछ ।
१५. केन्द्रीय, प्रादेशिक र स्थानीय निकायहरुलाई पदयात्रा मार्गहरुमा आवश्यक पूर्वाधार विकास गर्न राय सल्लाह दिनुको साथै बजेट विनियोजन गर्न–गराउन आवश्यक पहल गरिनेछ । साथै टानको समन्वय र अगुवाईसहित सातै प्रदेशमा पदयात्रा पर्यटनको गतिविधी बढाउन सात प्रदेश सातै ट्रेल विकास गरिनेछ ।
१६. नेपालको पर्वतीय पर्यटनसँग सम्बन्धित प्रविधीमैत्री बृहत सुचना तथा जानकारी सम्प्रेषण गर्न टानको मिडिया सेन्टरलाई व्यवस्थित बनाइनेछ । पर्वतीय पर्यटनसँग सम्बन्धित महत्वपूर्ण दृश्य, तस्विर, सुचना, पदयात्रा क्षेत्रको पछिल्लो जानकारी तथा तथ्यांक अभिलेखालयको रुपमा इ–लाइब्रेरीको विकास गरिनेछ ।
१७. टानका सदस्य व्यवसायीहरुको व्यवस्थापकीय तथा प्रतिस्पर्धात्मक बजारीकरण क्षमता अभिवृद्धिका विशेष कार्यक्रम ल्याइनेछ ।
१८. टानका सदस्य व्यवसायीहरुलाई संस्था दर्ता, नवीकरणदेखि अन्य प्रशासनिक झन्झट र अप्ठ्यारो हटाउन टान हेल्प डेस्क स्थापना गरिनेछ ।
१९. अग्रजहरुको अनुभव तथा मार्गनिर्देशनद्धारा पर्वतिय पर्यटनको विकास र टानको प्रभावकारितामा महत्वपूर्ण योगदान पुग्ने भएकोले हालसम्मका पूर्व अध्यक्षहरु रहने गरी टान पूर्व अध्यक्षहरुको परिषद् (टान पीपी काउन्सिल)को गठन गरिनेछ ।
२०. पर्वतीय पर्यटनको क्षेत्रमा विद्यमान समस्याहरुको पहिचान, समाधानको उपाय र सम्भावनाहरुको खोजीका साथै पर्वतीय पर्यटनको विकास, प्रवर्धन र बजारीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्न पदयात्रा व्यवसायी, अग्रजहरु र पर्यटन विज्ञहरु सम्मिलित कार्यदल बनाई प्रतिवेदन तयार गरिनेछ । उक्त प्रतिवेदनलाई नेपाल सरकारलगायत सरोकारवालाहरुसँगको सहकार्यमा कार्यान्वयनमा ल्याइनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

