‘दाउन्ने देवी’मा अप्प दीपो भवः यात्रालाई मन्दिर समितिको स्वागत

पशुपतिनाथबाट लुम्बिनीस्थित मायादेवी मन्दिरसम्मको अप्प दीपो भवः यात्रालाई ‘दाउन्ने देवी’मा स्वागत गरिएको छ । दाउन्ने देवी मन्दिर संरक्षण तथा व्यवस्था समितीले मन्दिर परसिरमा यात्रालाई स्वागत गरेको हो । समिती अध्यक्ष हरिप्रसाद सुवेदीले पवित्र यात्रामा जोडिन पाउँदा खुशी लागेको बताए । ‘आफ्नो प्रकाश आफै बन भन्ने गौतम बुद्धको सूत्र वाक्य बोकेर म यो यात्रामा निस्केको हुँ’, अप्प दीपो भवः यात्री अशोक सिलवालले भने ।

त्यसअघि ‘अप्प दीपो भवः यात्रा’लाई देवघाटस्थित गलेश्वर आश्रमले पनि स्वागत गरेको थियो । त्यसक्रममा आश्रमद्धारा संचालित वेद वेदाङ्ग संस्कृत विद्यापीठमका वटुकहरुले स्वस्तिवाचन गरेर यात्राका सफलताको कामना गरेका थिए । आश्रमका रेशम सिम्खडाले स्वागत कार्यक्रम सहजीकरण गरेका थिए । साथै देवघाटमै रहेको श्रीरामकुटीमा पनि यो यात्रालाई स्वागत गरिएको थियो ।

त्यसैगरी अप्प दीपो भवः यात्रालाई धुनीबेसी नगरपालिका, तथा नौबिसे हेल्थपोस्ट (प्रस्तावित नगर अस्पताल) र मलेखुस्थित मलेखु टिचिङ हस्पिटलले पनि स्वागत गरेका थिए ।

दाउन्ने गुम्बा, राममणि बहुमुखी क्याम्पस, न्यु इन्भायरन्मेन्ट इंग्लिस सेकेन्डरी स्कुल, होटल संघ लुम्बिनी, राजकिय बोद्ध बिहारलगायतले पनि अप्प दीपो भवः यात्रालाई स्वागत गरेका थिए ।

उपत्यका छोड्नुअघि ‘अप्प दीपो भवः यात्रा’लाई चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा स्थानीयले स्वागत तथा विदाई गरेका थिए । त्यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले पनि यात्रा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

पशुपतिनाथबाट सुरु भएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर यात्रा समापन भइसकेको छ । यात्राक्रममा स्थानीय विद्यालय, स्थानीय पालिका, धार्मिक केन्द्र, आध्यात्मिक आश्रम, सामाजिक संघसंस्थामात्र होइन, विभिन्न क्षेत्रका व्यक्तिव्यक्तित्वसँग साक्षात्कार तथा अन्तरक्रिया गरिएको सिलवालले बताए ।

‘सत्यम् शिवम् सुन्दरम्बाट अप्प दीपो भवःसम्मको चेतना यात्रा हो यो’, यात्रामा निस्कनुअघि ‘अप्प दीपो भवः’ का लेखक समेत रहेका अशोकलले भनेका थिए, ‘यो हिमालयबाट मधेशसम्मको यात्रा हो । लेखनलाई भुईं र भुईको सम्वाद र सम्वेदनासँग जोड्ने यात्रा हो अनि यो सद्भाव र सहअस्तित्वको अनि आफैभित्र आफ्नै लागि र सबैको लागि उज्यालो खोज्ने यात्रा हो ।’ ‘यो यात्रामा भौतिक रुपमा म एक्लै भए पनि मनमा अनेक साथीका माया, सहयोग, आर्शीवाद र हौसला पनि मसँगै हुनेछ’, उनले भनेका थिए, ‘यात्राका खण्डखण्डमा जोडिने साथीहरु पनि थुप्रै हुनुहुनेछ ।’

अशोकले आफ्नो किताब ‘अप्प दीपो भवः’को दोस्रो संस्करण मायादेवी मन्दिरमा सार्वजनिक पनि गरेका छन् । यसअघि तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको यो किताबको पहिलो संस्करण तिब्बतको ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको थियो ।

लाङटाङ सद्भावनादूत समेत रहेका लेखक सिलवालका ‘अप्प दीपो भवः’बाहेक यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ र संसारशिर सगरमाथा आधारित भुईंतिर फर्किएको ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ लगायत प्रकाशित छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button