
गलेश्वर आश्रममा ‘अप्प दीपो भवः यात्रा’लाई स्वागत
पशुपतिनाथबाट लुम्बिनीस्थित मायादेवीसम्मको ‘अप्प दीपो भवः यात्रा’लाई देवघाटस्थित गलेश्वर आश्रमले स्वागत गरेको छ । त्यसक्रममा आश्रमद्धारा संचालित वेद वेदाङ्ग संस्कृत विद्यापीठमका वटुकहरुले स्वस्तिवाचन गरेर यात्राका सफलताको कामना गरेका थिए । आश्रमका रेशम सिम्खडाले स्वागत कार्यक्रम सहजीकरण गरेका थिए ।
त्यसअघि अप्प दीपो भवः यात्रालाई मलेखुस्थित मलेखु टिचिङ हस्पिटल, धुनीबेसी नगरपालिका, तथा नौबिसे हेल्थपोस्ट (प्रस्तावित नगर अस्पताल)ले यात्रालाई स्वागत गरेका थिए ।
उपत्यका छोड्नुअघि ‘अप्प दीपो भवः यात्रा’लाई चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा स्वागत गरिएको थियो । नगेन्द्र लामा, लीना खड्गी, कर्ण प्रधान, शिला गोले, राजकुमार बुर्लाकोटीलगायतको टोलीले यो यात्रालाई स्वागत गरेको हो ।
‘आफ्नो प्रकाश आफै बन भन्ने गौतम बुद्धको सूत्र वाक्य बोकेर म यो यात्रामा निस्केको हुँ’, अप्प दीपो भवः यात्री अशोक सिलवालले भने । पशुपतिनाथबाट सुरु भएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर यो यात्रा समापन हुनेछ । यात्राक्रममा स्थानीय विद्यालय, स्थानीय पालिका, धार्मिक केन्द्र, आध्यात्मिक आश्रम, सामाजिक संघसंस्थामात्र होइन, विभिन्न क्षेत्रका व्यक्तिव्यक्तित्वसँग साक्षात्कार तथा अन्तरक्रिया पनि हुनेछ । ‘सत्यम् शिवम् सुन्दरम्बाट अप्प दीपो भवःसम्मको चेतना यात्रा हो यो’, यात्रामा निस्कनुअघि ‘अप्प दीपो भवः’ का लेखक समेत रहेका अशोकलले भने, ‘यो हिमालयबाट मधेशसम्मको यात्रा हो । लेखनलाई भुईं र भुईको सम्वाद र सम्वेदनासँग जोड्ने यात्रा हो अनि यो सद्भाव र सहअस्तित्वको अनि आफैभित्र आफ्नै लागि र सबैको लागि उज्यालो खोज्ने यात्रा हो ।’ ‘यो यात्रामा भौतिक रुपमा म एक्लै भए पनि मनमा अनेक साथीका माया, सहयोग, आर्शीवाद र हौसला पनि मसँगै हुनेछ’, उनले थपे, ‘यात्राका खण्डखण्डमा जोडिने साथीहरु पनि थुप्रै हुनुहुनेछ ।’ देवघाटबाटै जोडिएका रेडियो पत्रकार दीपक अर्यालले यात्रामा सहयात्री हुन पाउँदा निकै आध्यात्मिक भाव उत्पन्न भएको बताए ।
अशोकले आफ्नो किताब ‘अप्प दीपो भवः’को दोस्रो संस्करण मायादेवी मन्दिरमा सार्वजनिक पनि गर्नेछन् । यसअघि तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको यो किताबको पहिलो संस्करण तिब्बतको ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको थियो ।
लाङटाङ सद्भावनादूत समेत रहेका लेखक सिलवालका ‘अप्प दीपो भवः’बाहेक यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ र संसारशिर सगरमाथा आधारित भुईंतिर फर्किएको ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ लगायत प्रकाशित छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



