बनेपाली होटलअगाडि धुनीबेसी उपमेयर सुरज उप्रेतीले गरे ‘अप्प दीपो भवः यात्रा’लाई स्वागत

पशुपतिनाथबाट लुम्बिनीस्थित मायादेवीसम्मको ‘अप्प दीपो भवः यात्रा’ नौबिसेस्थित बनेपाली होटलअगाडि पुग्दा धुनीबेसी नगरपालिकाका उपमेयर सुरज उप्रेतीले ‘अप्प दीपो भवः यात्रा’लाई स्वागत गरेका छन् ।

‘देशलाई प्रेम, सद्रभाव र अध्यात्म जोड्ने अप्प दीपो भव यात्रामा जोडिन पाएकोमा खुशी लागेको छ’, स्वागत तथा शुभकामना व्यक्त गर्दै उनले भने, ‘धुनीबेसी नगरपालिका यस्ता सिर्जनशील कर्मलाई जहिल्यै प्रोत्साहन गर्न चाहन्छ ।’ पर्यटनकर्मी हरि उप्रेतीले पनि अप्प दीपो भवः यात्री अशोक सिलवाललाई स्वागत गरेका थिए । त्यसअघि नौबिसे हेल्थपोस्ट (प्रस्तावित नगर अस्पताल)की प्रमुख गीता भट्ट, डा. अमृत उप्रेती, नर्सिङ अधिकृत अमृता लगायतले पनि ‘अप्प दीपो भवः’ यात्रालाई गरेका थिए ।

उपत्यका छोड्नुअघि ‘अप्प दीपो भवः यात्रा’लाई चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा स्वागत गरिएको थियो । नगेन्द्र लामा, लीना खड्गी, कर्ण प्रधान, शिला गोले, राजकुमार बुर्लाकोटीलगायतको टोलीले यो यात्रालाई स्वागत गरेको हो ।

‘आफ्नो प्रकाश आफै बन भन्ने गौतम बुद्धको सूत्र वाक्य बोकेर म यो यात्रामा निस्केको हुँ’, अप्प दीपो भवः यात्री अशोक सिलवालले भने । पशुपतिनाथबाट सुरु भएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर यो यात्रा समापन हुनेछ । यात्राक्रममा स्थानीय विद्यालय, स्थानीय पालिका, धार्मिक केन्द्र, आध्यात्मिक आश्रम, सामाजिक संघसंस्थामात्र होइन, विभिन्न क्षेत्रका व्यक्तिव्यक्तित्वसँग साक्षात्कार तथा अन्तरक्रिया पनि हुनेछ । ‘सत्यम् शिवम् सुन्दरम्बाट अप्प दीपो भवःसम्मको चेतना यात्रा हो यो’, यात्रामा निस्कनुअघि ‘अप्प दीपो भवः’ का लेखक समेत रहेका अशोकलले भने, ‘यो हिमालयबाट मधेशसम्मको यात्रा हो । लेखनलाई भुईं र भुईको सम्वाद र सम्वेदनासँग जोड्ने यात्रा हो अनि यो सद्भाव र सहअस्तित्वको अनि आफैभित्र आफ्नै लागि र सबैको लागि उज्यालो खोज्ने यात्रा हो ।’ ‘यो यात्रामा भौतिक रुपमा म एक्लै भए पनि मनमा अनेक साथीका माया, सहयोग, आर्शीवाद र हौसला पनि मसँगै हुनेछ’, उनले थपे, ‘यात्राका खण्डखण्डमा जोडिने साथीहरु पनि थुप्रै हुनुहुनेछ ।’

अशोकले आफ्नो किताब ‘अप्प दीपो भवः’को दोस्रो संस्करण मायादेवी मन्दिरमा सार्वजनिक पनि गर्नेछन् । यसअघि तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको यो किताबको पहिलो संस्करण तिब्बतको ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको थियो ।

लाङटाङ सद्भावनादूत समेत रहेका लेखक सिलवालका ‘अप्प दीपो भवः’बाहेक यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ र संसारशिर सगरमाथा आधारित भुईंतिर फर्किएको ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ लगायत प्रकाशित छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button