
‘एभरेस्ट’ का लेखक अशाेक थेरापिस्ट पनि !
सुशीला शर्मा
नेपालनाम्चा अनलाइन मिडियामार्फत भर्चुअल चिनजान भएका पत्रकार, लेखक, पर्यटनकर्मी अशोक सिलावालजीसँग लेख, कविता, कथा लेख्दै नेपालनाम्चामा पठाउँदै परिचित भएको ५ वर्षपछि भौतिक रुपमा नै भेटघाट हुन पुग्यो ।
भेट पहिलो भए पनि धेरै लेखहरुमा अन्तरक्रिया गरिसकेको हुनाले उहाँ परिचित नै लाग्नुभयो । भेट हुने वित्तिकै हामीले खासै औपचारिक अनौपचारिक कुरा गरेनौं । तर मैले उहाँलाई एक मिजासिलो र मानवीयपन भएको मान्छेको रुपमा पाएको थिएँ भनेर भन्न मन थियो । र, अलिकति भनिहालेँ पनि । खासमा कोरोनाको कहरमा उहाँको नेपालनाम्चामार्फत हामी परिचित भएका थियौं । मैले म मात्र नभएर मेरा साथीहरुलाई पनि नेपालनाम्चामा आफ्ना कहरका मनोवाददेखि लिएर साहित्य रचनाहरु पठाउन आग्रह गरेको थिएँ । नेपालनाम्चाले नयाँ या सिकारु लेखकहरुलाई अर्ग्यानिक लेखनको लागि एउटा प्लेटफर्म नै दिएको थियो र आजसम्म पनि निरन्तर छ भन्दा अन्यथा हुँदैन् ।
कोरोनाकालमा अशोकजीले आफू पनि क्वारेन्टाइनमै बसेको समयमा पनि कोरोना प्रभावितहरुलाई लेख्नको लागि उत्प्रेरणा दिईरहनुभएको थियो । मैले पनि दैनिक डायरी लेखेर पनि आफ्नो कोरोनाको कहर भुलाउने प्रयास गरिरहेकी थिएँ । एक प्रकारले उहाँले थेरापिस्टको काम पनि गर्नुभयो भन्न चाहन्छु । म अन्त पनि पत्रपत्रिका र अनलाइनहरुमा लेखिरहेकै थिएँ । कतिपय साथीहरुले मलाई यसरी धेरै पनि लेख्नु हुन्न, खासै पढिन्नन र भ्यालु पनि घट्छ भन्ने सल्लाह पनि दिईरहेका थिए । तर लेखन मेरो दिनचर्या बनेको थियो त्यतिबेला त्यसैले सानोतिनो, झिनोमसिनो नै किन नहोस् लेखिरहेँ । हाल मेरो लेखनमा समयसँगै कमी आएको छ, भएका लेखहरुलाई एउटा पुस्तकको आकार दिन पाए हुन्थ्यो भन्ने रहर पनि पलाएको छ । तर पनि लेख्न चाँहि छोडिहालेको छैन् ।
अशोक सिलवालजी जो आधादर्जन पुस्तकका लेखक पनि हुनुहुन्छ, उहाँसगँको भेटघाटले पनि फेरि लेखन क्षेत्र, प्रकाशनबारे पनि उत्प्रेरणात्मक सल्लाह पनि पाईयो ।
उहाँको पुस्तक ‘एभरेष्ट, एन अनफिनिस्ड स्टोरी’ हात पर्यो । म उहाँको “अप्प दीपो भवः” भन्ने पुस्तक पढ्न लालायित थिएँ तर सो पुस्तक भने पाईएन तर अशोकजीले सारमा ‘अप्प दीपाे भव:’मा व्यक्त अनुभूतिहरु सुनाईदिनुभयो । यस एभरेष्ट, एन अनफिनिस्ड स्टोरी’मा हिमालय, पहाड, प्रकृति, जीवनशैली, हिमालयका भरिया श्रमिक, लेखकको प्रकृति र उस्तै भावना भएका प्रकृतिप्रेमीसँगका भावनात्मक सम्बन्धबारे निकै कलात्मक तरिकाले वर्णन गरिएको पाएँ । मानिसहरुभित्रको विविधता, व्यवहार र आफ्नोपन सबैमा उस्तै हुँदैन् । व्यक्ति व्यक्तिपिच्छे फरक हुन्छन् । मान्छेले प्रकृतिलाई माया गर्न जानेपछि प्रकृतिलाई नै प्रेम गरी बस्छन् । हिमालयसँगको प्रेमले अवसादले मृत्यु रोज्न लागेकालाई पनि जीवनतिर फर्काइदिन्छ भन्ने भावना पनि यस पुस्तकभित्र समेटिएका छन् । लाग्छ, यो पुस्तक नियात्रा हो कि, उपन्यास हो कि या अरु नै केही । आफ्नै जीवनका अनुभूति, रोमाञ्चकता, प्यासन, बेलाबेला लेखक आफैंलाई लाग्ने आत्मग्लानी? जस्ता वर्णनहरु, यात्रा टुङ्गिनै पर्छ भन्ने छैन, यात्राहरु मोडिन पनि सक्छन् । यात्राहरु स्मृति पनि हुन् । यस्ता यस्ता कथाहरु हिमालयका दृश्यहरुसहित अझ डाटाहरुसहित उल्लेख गरिनुले यो यथार्थपरक नियात्रा हो भन्ने पनि लाग्छ । अलिकति पढ्न पनि बाँकि छ । पूरै पढेपछि अझ केही लेखिएला कि !

लेखकको ‘एभरेस्ट, एन अनफिनिस्ड स्टोरी’को डिस्कोर्स कार्यक्रममा म र साथी सुशीला चौरेलजीलाई पनि निम्ता आएको थियो । हामी उक्त कार्यक्रममा सहभागी पनि भयौं । अशोकजीले अलराउन्डर भूमिका निभाईरहनु भएको थियो । त्रिविका प्राध्यापक डा.निर्मलाले कार्यक्रमको अध्यक्षता गर्नु भएको र अशोकजीको सकारात्मक पाटोहरुबारे चर्चा गर्नुभएको एकदम राम्रो पनि लाग्यो । उहाँको छोरीले निकै मीठो शैलीमा ‘एभरेस्ट’ पुस्तक तयारीको कथा सुनाउनुभयो । उहाँले आफ्ना सिर्जनाहरुलाई परिवारभित्र पनि उत्तिकै सेयर गर्नुहुँदो रहेछ कस्तो राम्रो बानी भन्ने मनमा लागिरह्यो । उपस्थित अतिथिहरुले उहाँका बहुआयामिक व्यक्तित्वबारे वर्णन गरेको सुनेर हामीलाई पनि उहाँबारे थप जान्ने अवसर मिल्यो ।
अशोकजीको मित्रवत् व्यवहारप्रति आभारी छु । उहाँको पुस्तक ‘एभरेस्ट’ किनेर पढिदिनुहुन पनि पाठकहरुलाई अनुरोध गर्दछु । अशोकजीले हामी दुई सुशीलालाई परिचय गराउँदा “नेपालनाम्चाका आमाहरु” भनेर भन्दा उपस्थित दर्शकहरु हाँसेको पनि पाईयो । हामीलाई भने आमा हुन पाएकोमा गर्व नै लागेको थियो ।
फेरि पनि लेखक अशोकजीलाई यस्ता पुस्तकहरु निरन्तर प्रकाशित गर्नुहोला र आफ्नो युनिकखालको सिर्जनशिलतालाई निरन्तरता दिनुहोला भन्दै शुभकामना दिन चाहन्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



