अशोकको ‘अप्प दीपो भवः’ पढेपछि हरेकलाई कैलाश जाने चाहना हुन्छ

अप्प दीपो भवः नेपाल र चीन यात्रा

प्रा. डा. वाङ चुङ

नेपाली भाषाको अक्षरहरूसँग मितेरी साइनो लगाउन थालेको ४० बर्ष पुग्दैछ । त्यसभन्दा पहिले नेपाल भन्ने देशको नाम र नेपाली भाषाको कुरा मेरो भिनाजुको मुखबाट सुनेको थिएँ । सन् १९८४ तिर लक्का जवान युवा थिएँ, युवा जोश, जाँगर भएको बेला भविष्यमा नेपाली भाषा सिकेर चीन नेपाल सम्बन्धमा सेवा गर्ने इच्छा थियो । सन् १९८६ सालमा संयोगले विश्वविद्यालयमा नेपाली भाषा सिक्न थालें । नेपाली भाषा पढ्दा नेपाल भन्ने देशको बारेमा त्यस बेला सामग्री एकदमै कम थियो । एक दिन मेरो एक जना सहपाठीले पुस्तकालयबाट फर्केर एकदम खुसीका साथ भने, “मैले एउटा निबोअर भन्ने किताब सापटी लिएको छु!” हामी सबैले उनको वरिपरि घेरेर किताबको नाम हेर्दाखेरि त्यो निबोअर (नेपाल) होइन, निरिअर (नाइजर) हुँदो रहेछ पत्ता लगायौं। चिनियाँ भाषामा यी दुई शब्द उस्तै उस्तै देखिन्छ । सहपाठीले राम्ररी किताबको नाम नहेरीकन हतारमा किताब लिएछन् । अहिले नेपालको विषयमा विभिन्न स्रोतबाट लेख किताबहरू प्रकाशित छन्, तर त्यसै बेलाको घटनाले सधैं मलाई रमाइलो सम्झना आउँछ ।

नेपाल-चीन सम्बन्धमा केही योगदान गर्ने इच्छा थियो, त्यो काम मैले विश्वविद्यालयको कक्षा कोठाबाट गरिरहेको छु । सन् २०२६ सम्म आइपुग्दा विगतका दिनहरूलाई यसो फर्केर हेर्छु, मैले जीवनमा सबैभन्दा पुण्य काम गरें भन्ने लाग्छ । हिजोआज विश्वविद्यालयका कक्षा कोठामा बस्दा युवा जोश भएका मेरा छात्र, छात्रालाई देखेर यिनीहरूले भविष्यमा नेपाल चीन सम्बन्धमा भाषा, साहित्य र संस्कृतिको माध्यमबाट दुवै देश बीचको सम्बन्धमा राम्रा काम गर्नेछन् भनेर मनमनै खुसी हुन्छु ।

हिजोआज मलाई नेपाल र नेपाली भाषामा लेखिएका पुस्तक पढने रुचि झन् पहिले भन्दा बढ्दो छ । सन् १९९० र २००४ मा नेपाल गएको बेला, चीन फर्कदा सबैभन्दा बढी मेरो झोलामा किताब नै थियो । सन् २०२५ मा नेपाल यात्राका क्रममा र नेपाली मित्रहरूले मलाई दिनुभएका अनेकन नेपाली भाषाका पुस्तकहरू मेरा घरमा दराजमा सजाइएका छन् । मेरो जीवनमा सबैभन्दा प्रिय कुनै छ भने त्यो हो, नेपाली अक्षरमा लेखिएका पुस्तकहरू ।

चिनियाँ भाषा मेरो मातृभाषा हो, नेपाली भाषा मैले जीवनमा घोडाँ धसेर, दिल लगाएर र मनभित्रैबाट पढेको भाषा हो । अग्रेजी भाषा पनि पढेको छु, तर मेरो लागि अग्रेजी तेस्रो भाषा हो ।

आज म नेपाल र चीन बीचको सम्बन्धलाई नजिकबाट चिनाउने एउटा पुस्तकको चर्चा गर्दैछु । गत अगष्ट महिनामा नेपाल यात्रामा गएका बेला नेपाली साथीहरूसँग भेट्दा सबैभन्दा बढी उपहार पाएको पुस्तक नै हो । सायद मेरा साथीहरूले मेरो काम र जिम्मेवारी बुझेर होलान् मेरो प्रिय चीज पुस्तक हो, पुस्तक दिदाँ मेरो मनमा खुसी हुन्छ होला भनेर प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र होटलमा भेट्न आउनु भएका साथीहरूले पुस्तक र नेपाली चिया उपहार दिनुभयो । नेपालबाट चीन फर्कने बेलामा पुस्तकले लगेज भरियो । सहकर्मी भरत शर्मासँग सापटी लिएको पुस्तकले भरिएको लगेजबारे विमानस्थलमा नेपाली प्रहरीले प्रश्न सोधे, मेरो झोला छानविन गरे, कतै पुस्तक भित्र यो चिनियाँले डलर राखेर ल्याएको होला भनेर हो कि निकै जाँचबुझपछि मेरो पुस्तकको झोलालाई छोडे, यसबारे अर्को रोचक कथा छ ।

होटल मल्लको चौथो तलामा लेखक, पत्रकार र घुमफिरे मित्र अशोक सिलवालसँग भेट भयो । उनले पनि आफूले लेखेको पुस्तक उपहार दिए, अप्प दीपो भवः ।

सिचाङ प्रान्तमा रहेको पवित्र स्थल कैलाशको यात्रा गर्दाका अनुभवलाई समेटेर लेखिएको पुस्तक रहेछ । पुस्तकबारे लेखक अशोक सिलवालले भने, ‘यो नेपाल र चीनलाई जोड्नु पुल किताब हो । यात्रामा जे देखे, जे भोगे, त्यसबेला जे अनुभव गरेँ, त्यही लेखेको छु ।’

पुस्तक पाएपछि लेखक सिलवाललाई मैले वचन दिएँ, म यो पुस्तक राम्रोसँग पढ्छु, केही कुरा मनमा लाग्यो भने लेखेर पठाउँछु । म चीन फर्कने बेला यो पुस्तकलाई मेरो सानो झोलामा राखेको थिएँ । काठमाडौंदेखि खुनमिङ्गसम्मको हवाई यात्रामा सुरु गरेर र चीन फर्केपछि यो पुस्तक पढिसकाएँ।

लेखक सिलवालले आफ्ना अनुभवलाई सरल नेपाली भाषामा लेखेका छन् । साहित्यिक भन्दा पनि बोलीचालीको भाषा शैलीमा लेखेको कारण पुस्तक मलाई मन पर्यो ।

नेपालबाट यात्रा शुरु गरेदेखि नेपाल नपुगेसम्म बाटोभरिका अनेक कथाहरू लेखका छन् । कैलाश भनेको नेपाली, चिनियाँ, भारतीय, हिन्दु र बौद्ध धर्मका अनुयायीहरूको सबैभन्दा महत्वपूर्ण तपस्थली हो । जीवनमा एक पटक कैलाश जाने इच्छा राख्नेहरू धेरै छन् भनेर सुनेको छु । मेरा कयौं नेपाली साथीहरू कैलाश जाने इच्छा देखाउँछन् ।

म पनि नेपाली भाषा अध्ययन गरेको चिनियाँ हुँ । म कुनै धर्म मान्दिनँ, तर मेरो मनमा म हिन्दु, बौद्ध धर्म मान्ने भन्दा पनि म सबै धर्मलाई सम्मान गर्ने चिनियाँ नागरिक हुँ । म पनि दुई पटक कैलाश यात्रा गएको छु । एकपटक आफैले मोटर चलाएर त्यस क्षेत्रमा पुगेको छु । त्यसक्षेत्रमा जाँदा मैले अनुभव गरेका आत्मिक शान्तिको क्षण भुलेको छैन । त्यस क्षेत्रका दृश्य देखेपछि, त्यस क्षेत्रमा पाइताला राखेपछि मन भित्र शान्ति, आत्मिक आनन्द र सकारात्मक सोचको सञ्चार भएको अनुभव गरेको थिएँ ।

मैले जे अनुभव गरेँ त्यसबारे त कुनै कुरा लेखेको थिइनँ, अशोक सिलवालको पुस्तक पढेपछि कैलाश यात्रा अनुभवका पुराना दिनहरू मलाई पनि याद भयो ।

चिनियाँहरू पनि कैलाश यात्रा गर्न रुचाउँछन, तर त्यहाँ जानको लागि अलिकति बढी तयारी गर्नु पर्दछ । त्यस क्षेत्रमा जाने पनि निश्चित समय छ, त्यसैले सिचाङमा बस्ने चिनियाँहरूका जति सजिलो छ, अन्य चिनियाँका लागि अलि फरक छ ।

चीनमा पनि बौद्ध धर्म मान्ने चिनियाँहरू कैलाश यात्रामा जान्छन् । त्यस क्षेत्रमा पछिल्लो समय चीन सरकारले राम्रा सडक, पर्यटन पूर्वाधारहरू निर्माणमा ध्यान दिएको छ । त्यस क्षेत्रमा पुग्ने पर्यटकहरूका लागि आवश्यक बस्ने, घुमफिरको प्रबन्ध मिलाएको छ ।

चीनको आन्तरिक पर्यटन सबैभन्दा राम्रो छ । चिनियाँहरू छुट्टी हुने वित्तिकै घरबाट घुम्न निस्कने संस्कार बनेको छ । यो चिनियाँ र चीन सरकार दुवैको लागि राम्रो कुरा हो । यात्राले मानिसलाई सक्रिय र उत्साहित बनाउँछ । त्यसैले हामी चिनियाँहरू फूर्सद भएपछि तुरुन्तै नयाँ ठाउँ र पर्यटकीय क्षेत्रको अवलोकन गर्न निस्कन्छौं । त्यसबाट ब्यक्ति, समाज र देशको आर्थिक, सामाजिक उन्नति हुन्छ ।

अप्प दीपो भवः पुस्तक पढेपछि मलाई पनि यात्राका क्रममा अनुभव गरेका कुरा लेख्ने जाँगर चल्न थालेको छ । म पनि एक चिनियाँ यात्री हुँ । म घुम्न जान पाए खुसी हुने वर्गको नागरिक हुँ । साथीहरूसँग साइकल यात्रा, समय र अवसर मिलेसम्म देश घुम्नु पर्छ भन्ने सोच राख्ने भएकाले यो पुस्तक पढेपछि घुमेपछि लेख्नु पर्दोरहेछ भन्ने अनुभव गर्दैछु ।

कैलाश यात्रामा सयौं भारतीय, नेपाली र चिनियाँहरू भेट्दा र लेखक सिलवाल स्वयं शिव र शक्ति बीचमा उभिएर आफूलाई भगवानको भक्त ठानेर जुन दिन, जुन समय, जति बेला जे अनुभव गरे त्यही कुरालाई डायरीमा टिपेर जस्ताको तस्तै लेखेका छन् । उनको यात्रा लेखनकलामा आफ्नै पन छ । मैले कयौं नेपाली र चिनियाँ यात्रा साहित्य पढेको छु त्यसभित्र साहित्यक भाषाले मिठो बनाउन खोजिन्छ, तर सिलवालले यो पुस्तकमा देखे भोगेका कुरालाई जस्ताको तस्तै आफ्नै शैलीको बोलीचालीको भाषामा लेख्ने प्रयास गरेका छन् ।

नेपाल र चीनको तिब्बतबीच सांस्कृतिक, धार्मिक र ब्यापारिक सम्बन्धको लामो इतिहास छ । ल्हासामा सुन छ कान मेरो बुच्चै, यो नेपाली उखान यसै बनेको होइन, महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेखेको पात्र, पृष्ठभूमि र परिवेश पनि नेपाल र सिचाङ हो । इतिहासमा तिब्बत र नेपाल सम्बन्धका कयौं गाथाहरूमा पछिल्लो समय विश्वको छानो भनेर चिनिएको सिचाङ क्षेत्रमा रहेको कैलाश संसारमा रहेका सनातनी हिन्दु र बौद्धमार्गीहरूको आस्थाको केन्द्र हो ।

अप्प दीपो भवः गौतम बुद्धले भनेको वाक्य हो । आफ्नो जीवनमा दीप प्रज्वलन गर्ने काम आफैले गर्ने हो । तर मेरो विचारमा दीप प्रज्वलन गर्ने हो भने यात्रा गर्नुपर्छ, नयाँ ठाउँ घुम्नु पर्छ, अनि नयाँ कुरा सिक्नु पर्छ । यो पुस्तक उपहार दिनुहुने लेखक अशोक सिलवाललाई चिनियाँ भाषालाई माया गर्ने एक चिनियाँ पाठकको तर्फबाट ह«दयदेखि धन्यवाद ।

यो पुस्तकको दोस्रो संस्करण प्रकाशन हुने कुरा लेखक स्वंयले भन्नुभएको जस्तो लाग्छ, । उहाँको यो पुस्तक पढेपछि हरेक मानिसलाई कैलाश यात्रा गर्ने चाहना हुन्छ भन्ने आशा गरेको छु । मलाई पनि फेरि एक पटक कैलाश यात्रा गर्ने मन छ, हेरौं, समय मिलाएर म पनि एक पटक कैशाल यात्रामा निस्कने छु । यात्राबाट फर्केपछि यात्राको अनुभव लेख्ने छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button