होइन फेसबुकको भित्तामा, गुरु मुटुको कित्तामा

श्रीकृष्ण शर्मा

सामान्य अर्थमा गुरु भनेका ज्ञान दिने व्यक्ति हुन् । गुरु भन्नाले कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति यद्वा शिक्षक भन्ने बुझिन्छ तर व्यापक अर्थमा जीवनका हरेक पलमा असत्बाट सन्मार्गमा ल्याउन शिक्षा वा अर्ती उपदेश दिने जो कोहीलाई पनि गुरु मान्न सकिन्छ । यसर्थ यस चराचर जगत्का यावत् चिज गुरु बन्न सक्ने देखिन्छ । दुई अक्षरको गरिमामय शब्द ‘गुरु’को अर्थलाई हेर्दा गु भनेको अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । यस हिसाबले हेर्दा अज्ञानको अन्धकारबाट ज्ञानको उज्यालो प्रदान गर्ने व्यक्ति नै गुरु हुन् । त्यसैले त भन्ने गरिन्छ:

‘ॐ असतोमा सद्गमय
तमसोमा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्ति: शान्तिः शान्तिः ।।’

अर्थात्

हे भगवान् ! मलाई सदैव सत्यतालाई आत्मसात गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ । यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र आध्यात्मिक शान्ति होस् ।

बृहदारण्यक उपनिषद्बाट साभार गरिएको उपर्युक्त मन्त्रको अर्थले नै ज्ञानरूपी उज्यालो र महत्त्वलाई चित्रण गरेको छ । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग रहेको गहिरो सम्बन्धलाई यसले उजागर गरेको पाइन्छ ।

आषाढ शुक्ल पूर्णिमा अर्थात् आजकै दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति असीम श्रद्धा र सम्मान प्रकट गरी एक विशेष पर्वका रूपमा गुरु पूर्णिमा मनाइन्छ । आजको दिनलाई वेदव्यास जन्मजयन्तीका रूपमा पनि लिइन्छ । वेद व्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुभएको थियो । साथै यसको महत्त्व र अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुभएको थियो । त्यस्तै आजकै दिन भगवान् गौतमबुद्धले धम्मपद वा त्रिपिटक लेख्नुभएको जानकारी पाइन्छ । यसअर्थमा पनि यो दिन अति पवित्र र महत्त्वपूर्ण छ ।

बिना गुरु जीवनले सफलता पाउनु बडो मुस्किल हुन्छ । यस जगत्का सारा प्राणीको एउटा न एउटा गुरु अवश्य हुने गर्दछ । वास्तवमा अन्य प्राणीमा गुरुको चर्चा हुने कुरै भएन । उनीहरुमा त्यो चेतना र भाषिक स्तर पनि हुँदैन । मानव जगतमा गुरुको ठुलो महिमा रहेको छ । हुन पनि मानव, दानव र स्वयम् देवताका पनि गुरु हुने गर्छन् । यस कुरालाई स्वयम् श्रीकृष्णले पनि आफ्ना गुरुका रूपमा सान्दिपनीलाई मानेको कुराले पुष्टि गर्दछ । उनले महामुनि सान्दिपनीसँग वेद, योग र ६४ कला र १४ विद्याको ज्ञान ६४ दिनमा लिएका थिए । नेमिनाथ, घोर अङ्गीरस, वेद व्यास लगायतलाई पनि उनले गुरु बनाएका थिए ।

आत्मज्ञानी मर्यादा पुरुषोत्तम रामले पनि गुरु वशिष्ठसँग ज्ञान लिएका थिए । भगवान्लाई त गुरुको आवश्यकता खड्किन्छ भने त्यस्तो कुन मानव होला र जसलाई गुरुको सामीप्यता नचाहियोस् ? हरेक समुदायमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी सम्मान गरिन्छ । संसार जति नै आधुनिकताको सिँढी चढे पनि आखिर गुरुत्वको दियो अझै बलिरहेको छ । हरेकको जीवनमा पहिलो पाठशाला घर र पहिलो गुरु आमा नै हुन् । चाहे गुरुकुलमा पढाउने आचार्य हुन्, चाहे मदरसमा सिकाउने मोल्बी साप हुन्, या बौद्ध विहारमा शान्ति जप्ने भिक्षु आचार्य हुन् वा चर्चमा ज्ञान बाँड्ने पादरी नै किन नहुन् सबै गुरु नै हुन् । उनीहरूले सिकाएको ज्ञान दिएको मार्गनिर्देशले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना भर्न सकेका हौँ र आजको स्थानसम्म आइपुगेका हौँ ।

ज्ञानका सागर गुरु जीवनको बाटो देखाउने, नैतिकता सिकाउने र असल शिक्षा दिने भएकाले गुरुबिना मानिसले सहज ज्ञान प्राप्त गर्न सक्दैन । ज्ञानको उत्कर्षमा पुग्न गुरु र चेला दुवै सकारात्मक हुन आवश्यक छ । दुवैको हार्दिक सम्बन्धबाट नै शिष्यले लक्ष्यभेदन गर्न सक्छ । महाभारतमा अर्जुनलाई अर्जुन बनाउन द्रोणाचार्यको प्रमुख भूमिका रहेको थियो । यसर्थ वेद वा ज्ञानको जति महत्त्व छ त्यत्ति नै गुरुको महत्त्व छ । भनिन्छ एउटा कापी, एउटा कलम र एउटा गुरु नै एउटा जीवन परिवर्तन गरिदिन काफी हुन सक्छ । मानिस जङ्गलबाट मङ्गलमा पनि यही ज्ञानकै उपयोग गरेर नै पुगेको हो । त्यसैले पनि गुरुलाई गड (न्इम्) मानिन्छ ।

गड अर्थात् जनेरेटर, अपरेटर र डिस्ट्रोएर । गुरुलाई कर्म दिने पिता मान्ने हुनाले नव जीवनका सृष्टिकर्ता वा जेनेरेटर भनिन्छ । साथै जीवन दिनु मात्र ठुलो कुरा होइन, त्यसलाई उचित वातावरण दिएर पालनतालन गर्नु झनै महिम कार्य हो । यस अर्थमा गुरुलाई अपरेटर भनी सम्बोधन गर्न सकिन्छ । त्यस्तै शिष्यमा रहेको अज्ञानको अन्धकारलाई नाश गरी ज्ञानको उज्यालो भर्ने काम गर्ने हुनाले गुरुलाई संहारकर्ता अर्थात् डिस्ट्रोएरका रूपमा पनि लिइन्छ । यसलाई यस पतित पावनी मन्त्रले पनि थप स्पष्ट पार्न सकिन्छ:

‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस्’

अर्थात्

‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’

गुरुलाई सम्मान गर्नु शिष्यको कर्तव्य मात्र होइन, हाम्रो संस्कार पनि हो । वर्षभरि वास्ता नगरी गुरुको सम्मान गुरुपूर्णिमाका दिन मात्र गरेर पुग्दैन । गुरु प्रत्येक पलका सहयात्री हुन् । यसकारण जीवनका हरेक कठिनाइमा या भनौँ हरेक चुनौतीलाई अवसरमा बदल्न गुरुको साथ र सहयोग आवश्यक हुन्छ । गुरुलाई सम्मान गर्ने आ आफ्नै तरिका हुन सक्छन् । कतै आधुनिक तरिकाले त कतै धार्मिक सांस्कृतिक तरिकाले मानाइएला काँचो माटो रूपी जीवनलाई एउटा निश्चित आकार दिनका लागि जीवनमा गुरुको आवश्यकता पर्दछ ।

सद्मार्ग, सद्विद्या, सद्बुद्धि, सत्य, न्याय र धर्मको बाटोमा हिँडाउन जीवनमा गुरुको आवश्यकता रहन्छ । सहज र सरल तरिकाले ज्ञानआर्जन गर्न गुरुको मार्गदर्शन अति नै आवश्यक हुन्छ । सिकाइमा गुरु गुण र चेला चिनी बन्न सक्नुपर्छ, नत्र यो संसारमा विकासको गति कसरी अगाडि बढ्न सक्ला ? शिष्यकोे लक्ष्यप्राप्तिका लागि शिष्य मात्र होइन, अपितु गुरु पनि सदाचारी हुनुपर्छ । असल आचारण भएको गुरुले मात्र शिष्यलाई सच्चरित्रता प्रदान गर्न सक्छ । रातभर सोमरस पान गरेर बिहान ठुस्स गनाउँदै कक्षामा पस्ने आजका मान्छेलाई कसरी गुरु भन्ने ?

गुरुलाई एक वचन शुभकामना पनि नदिनेहरू नै ठूलाठूला आध्यात्मिक चित्र विचित्रका तस्बिर राखेर सामाजिक सञ्जालको सरगर्मी बढाउन तत्पर देखिन्छन् । गुरुलाई फेसबुकको भित्तामा होइन मुटुको कित्तामा सजाउनुपर्छ ।

आजको पुस्ताले गुरुलाई त्यति आदर गरेको पाइँदैन । दुःखको कुरा गुरुदेव, गुरुवर, आचार्य, शिक्षक, मास्टर, टिचर, माडसाप हुँदै गुरु शब्द माडसाँप पनि बनिसकेको पाइन्छ । कमजोरी दुवैमा पाइन्छ । यसबाट सच्चिएर सम्बन्धलाई सुमधुर पार्न अब हाम्रो संस्कारलाई परिष्कृत रूपमा निरन्तरता दिनुपर्छ ।

कसैका आँखा फुटाउनु, कसैको आत्महत्याको कारण बन्नु, कसैको हात भाँच्ने देखि जीवन उठाउने काममा पनि गुरु जोडिन थालेपछि यहाँ गुरु शब्द नै ओइलाएका फूल बनेको छ । एकातिर कृष्णले महामुनि सान्दिपनीका मृत पुत्रलाई जीवित बनाएर गुरु दक्षिणा पूरा गरे भने अर्कातिर आचार्य द्रोणले एकलव्यको औँला काटेर स्वार्थ पूरा गरे । यस्तो भयो भने गुरुमा उदारता शिष्यमा विनम्रता कहाँ हुनु ?

अतः लोभलालचमा शिक्षा प्रदान गर्ने गुरुलाई पनि वास्तविक गुरु मान्न सकिन्न । दक्षिणाको प्यासी गुरुको शिक्षामा जीवनको शाश्वत रहस्य खुल्न सक्दैन, तरपनि शिष्यलाई आचार्यऋणबाट मुक्त गर्न थोरै धेरै लिनै पर्छ । जे होस् गुरुबाट सिकेको शिक्षा जनकल्याणका लागि प्रयोग गरियोस् । सबैलाई गुरुको प्रेरणा मिलोस् र जीवन सफल तथा समुज्ज्वल होओस् मेरो कामना छ ।

एकपटक आफूलाई जीवनका हरेक क्षणमा हात, साथ र गाथ दिने सम्पूर्ण गुरुहरुमा ससम्मान नमन गरौँ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button