
परिब्राजक पुष्पलालसँग पहिलाे क्षणमै प्रेम
१७ औं शताब्दीकाे मनस्थितिबाट आधुनिक २० औं शताब्दीमा फड्काे मार्न मलाई सक्षम बनाइदिने मेरा कम्युनिष्ट गुरुमा श्रद्धासुमनसहित छाेटाे तर अन्तरङ्ग सम्झना उनकाे
स्मृतिदिवसकाे उपलक्ष्यमा
अरविन्द रिमाल
याे त्यतिबेलाकाे कलकत्ताकाे कुरा हाे । २००७ सालकाे मध्यम दशकतिरकाे कुरा । हिक्मतसिँह भण्डारी तथा टाेले मित्र मधुसूदनसँगै म कलकत्ताकाे बाै बजारमा पर्ने oriental home नाम गरेकाे कामकाजी हाेष्टेलमा बसेर आ-आफ्नाे पढाई गर्दथ्याैँ । एकदिन हिक्मतजीले अति साधारण पहिरनमा– हल्का क्रिम कलरकाे कमीज, खाकी रङ्गकाे प्यान्ट र टेनिस शूज जुत्ता लगाएका, तर जाज्वल्य चेहरा भएका व्यक्तिलाई हामीसँग चिनाउन ल्याए । उनीसँग मेराे, कथा- कहानीमा भनिने जस्तै गरी,पहिलाे क्षणमै प्रेम भयाे। अनि २००४ सालकाे विद्यार्थी आन्दाेलनताका उनलाई काठमाडौँका सडकहरुमा गाेपालदास श्रेष्ठ, विजयबहादुर मल्ल, हाेराप्रसाद जाेशी, तिलकराज शाही, नूतन थपलिया अादिसहित टडकाराे देखेकाे सम्झना भयाे । यसले गर्दा उनीप्रति मेराे आकर्षण झन बढ्याे । उनी पुष्पलाल — नेपाली कम्युनिष्ट आन्दाेलनका प्रथम अभियन्ता, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक – महासचिव — परम लाेकप्रिय पी. एल., कमरेड पीएल थिए ।
पहिलाे भेटमै पुष्पलालले नेपालमा क्रान्तिकाे महत्त्व र उद्येश्यबारे बताए। म लट्ठिएर सुनेकाे सुन्यै भएँ।परिणामस्वरूप, हामी तीनैजना आ-आफ्नाे पढाई छाडेर नेपाल फर्क्याैँ, क्रान्तिलाई पूर्णता दिन भनेर। हिक्मतजी त पहिला नै पीएलकाे सम्पर्कमा थिए। उनी पश्चिमतिर लागे। पीएलकाे निर्देशनमा मधुसूदन र म काठमाडौँमा प्रगतिशील अध्ययन मण्डल स्थापना गर्नमा र म अखिल- नेपाल विद्यार्थी फेडरेशनकाे केन्द्रीय सचिवालय सदस्य भएर थप काममा जुटेँ ।
कलकत्तामा छँदा डा. केशरजङ्ग रायमाझी , डी. पी. अधिकार, भाेजपुरका लक्ष्मीबहादुर हलवाई , कलकत्ता रैथाने रामबाबु, धरानका ज्ञानेन्द्रबहादुर कार्की, पाल्पातिरका चूडाबहादुर हमालआदिसित पार्टी सहकार्यसहित अरु कुराकाे विस्तारपूर्वक वर्णन ‘१९९७ सालदेखि २०१७ साल- एक अवलाेकन’ तथा ‘डिल्लीबजारकाे लप्टनकाे हाेटेलआ निबन्ध संग्रहमा छ । यसै सन्दर्भमा याे लेखक आफू पुष्पलालकाे कलकत्ता काडरमा परेकाेमा स्वाभाविक रूपले गाैरवान्वित छ ।
मेरा पछिल्लो अवधिका वामपन्थी मित्र रहेका हरिश्चन्द्र आचार्य नेपालका चार सुपुत्रहरुमा भगवान वेदव्यास,भगवान बुद्ध ,विश्वेश्वरप्रसाद काेइरालाकाे नामपछि पुष्पलालकाे नाम उल्लेख गर्न कहिल्यै चुक्दैनथ्ये। यस अर्थबाट पीएल क्रान्तिकारी परिब्राजक हुन् । उनकाे याे भूमिका नेपालमा कम्युनिष्ट आन्दाेलनकाे श्रीगणेश गर्नेगराउने अभियानमा पूर्णरूपले परिलक्ष्यित हुन्छ ।
पीएलकाे राजनीतिकाे अर्काे मुख्य विशेषता अदम्य निष्ठावान अन्तर्राष्ट्रियतावादी कम्युनिष्ट भइकन, विश्व, महादेशीय तथा देशीय घटनाक्रम वा विवेचना- विश्लेषणमा त्यतिबेलाकाे अनिवार्य बाह्य वर्गीय दृष्टिकोणका अनुनयन एवम् परिपालन हाे । यसकाे साथै आफ्नाे राजनीतिक गुरुदाजु गङ्गालालकाे राणाशासनविरुद्धकाे क्रान्तिकारी संघर्ष तथा शहीदत्वकाे प्रेरणाबाट नै पुष्पलाल नेपालमा राष्ट्रियताकाे प्रश्नलाई अन्तर्राष्ट्रियतावादसँग मिलाउने विलक्षण प्रतिभाका नेताकाे रूपमा विशेष उल्लेख्य छन् । त्यसैकारण नेपाली कांग्रेसकाे नेतृत्वमा भएकाे २००७ काे प्रजातान्त्रिक क्रान्तिकाे मूल्याङ्कन- विश्लेषण – परिभाषा वर्गीय दृष्टिकोणबाट कडा आलाेचक हुँदाहुँदै पनि महासचिव पीएले कम्युनिष्ट कार्यकर्ताहरुलाई क्रान्तिमा भाग लिनबाट राेकेनन् । अनि कम्युनिष्ट याेगदान पनि ठाँउठाउँमा विशिष्ट रहेकाे साक्षी नेपाली इतिहास छ । प्रकारान्तरबाट,क्रान्तिका उपलब्धिहरुकाे रक्षार्थ कम्युनिष्ट याेगदानकाे प्रभावमाे उदाहरण नेपालका प्रधानमन्त्री मातृकाप्रसाद काेइराला तथा भारतीय प्रधानमन्त्री जवहरलाल नेहरुबीचका पत्र आदानप्रदानले दिन्छन् । (A Role in the Revolution: Matrika Prasad Koirala)।
अत: नेपाली जनकल्याणहेतु बहुआयामिक सुधारका लागि प्रजातान्त्रिक तथा कम्युनिष्ट सचेतताकाे मिलन गर्दै राष्ट्रिय सार्वभाैमिकता एवम् स्वाधीनताकाे संरक्षण गर्नमा भारतीय हैकमवादी हस्तक्षेपविरुद्ध अटूट संघर्ष, विश्वशान्तिसुरक्षाका लागि अङ्ग्रेज- अमेरिकाली साम्रज्यवादी आक्रमण, युद्ध तथा शाेषणविरुद्ध, एशियाली- अफ्रिकाली- ल्याटिन अमेरिकी राष्ट्रिय मुक्ति आन्दोलनकाे समर्थनमा नेपाल कम्युनिष्ट पार्टीलाई सतत: उभ्याउनु नै पुष्पलालकाे विशिष्ट नेतृत्त्वकाे परिचायक हाे ।
यस दायित्त्वलाई आफ्नाे जीवनध्येय ठानेर याे लेखक र अन्य निष्ठावान पार्टी कार्यकर्ताहरुले झिकेका जुलूस- प्रदर्शनका पदचापहरु , लगाएका नारा, गरेका भाषणका शब्दहरु अहिले पनि काठमाडौँ चार भञ्झ्याङ्गका शहरका सडक र भित्ताहरुमा अङ्कित छन् भनेमा अत्युक्ति हुनेछैन ।
पार्टीमाथि घातक प्रतिबन्धपछि जन अधिकार सुरक्षा समितिकाे नामबाट देशव्यापीरूपमा यिनै ध्ययपूर्तिमा सतत: प्रतिबद्धता तथा देशमा १७ साले शाही कूले ल्याएकाे एकतन्त्रीय शासनलाई ढाल्नका लागि पहिलेकाे वर्गीय शत्रुसमानकाे राजनीतिक दल नेपाली कांग्रेससँग मिलेर प्रजातन्त्र पुनर्स्थापना गर्नगराउनमा मुलुकका पञ्चायतइतरसमूह एकजुट गराउनु नै पुष्पलालकाे राजनीतिक- ऐतिहासिक पर्याय हाे।
अनि, कुशल सङ्गठनकर्ता, प्रखर वक्ता, गम्भीर चिन्तक, एकनिष्ट अध्ययनशीलता, साह्रै सहृदयी , पार्टी कार्यकर्ताका हितप्रति अत्यन्त संवेदनशील तथा गुण देख्नासाथ तिनलाई नेतृत्त्व तहमा उठाउने अद्भुत काैशल पीएलका थप चारित्रिक – राजनीतिक गुण हुन्।
पीएल आफू शब्दाडम्बरी ‘सिद्धान्त’काे आडमा षडयन्त्रात्मक तवरले सर्वाेच्च पार्टी नेतृत्तबाट हटाइए । तर उनी पार्टीप्रतिकाे निष्टाबाट कहिल्यै डगमगाएनन् । यस निष्टाकाे शिक्षा पीएलले आफूले नैपार्टी महासचिवकाे हैसियतले पाेलिटब्युराे सदस्यद्वय तुलसीलाल अमात्य तथा डी. पी. अधिकारीमाथि अनुशासनकाे कार्वाइ गर्दा ती नेताहरुकाे अनुशासन- उदाहरणबाट पाएकाे भन्नुमा अनुचित हुनेछैन ।
आजलाई यति नै । जय नेपाल !
तथापि, अन्त्यमा भन्नुपर्दा, नेपाली कांग्रेसमा लाेकतन्त्रवादीहरुले माैलिक तवरकाे प्रजातन्त्रवादलाई ओझेलमा पारेता पनि, वि. प्र. प्रतिष्ठान सङ्गलै हुनु खुशीकाे कुरा हाे । तर दुर्भाग्यवश, आज पुष्पलालकाे नाम र यिनै धराेहरलाई विदेशीहरुकाे अह्राेटपह्राेटमा हत्या-हिँसाकाे वकालत गर्ने तथा विश्वासघातलाई ‘अग्रगमन’ भनी राजनीति गर्ने तत्त्वहरुले हाईज्याकमा पार्ने खतरा बढेकामा पुष्पलालका इमान्दार समर्थकहरु अत्यन्त चिन्तिन भएकाे स्वत: स्पष्ट देखिन्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



